भिटामिन डी: स्रोत, उपयोग र जोखिम

डा. डीबी सुनुवार
शरीरका निम्ति अत्यावश्यक तत्व हो, भिटामिन डी । भिटामिन डीले शरीर तथा शरीरका हड्डीलाई मजबुत बनाउँछ । यसले क्याल्सियमको मात्रालाई नियन्त्रित गर्ने काम गर्छ । भिटामिन डीले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन मद्धत गर्छ । शरीरमा भिटामिन डीको कमी भयो भने विभिन्न समस्या देखा पर्दछन् ।
अतः भिटामिन डीयुक्त खानपानमा जोड दिनुपर्छ । भिटामिन डीको कमीका कारण शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुने जोखिम हुन्छ । मेलानिन नामक पिगमेन्टका कारण छाला गहिरो रङ्गको हुुने गर्दछ । मेलानिन अत्यधिक भएमा घाम लाग्नासाथ छालामा भिटामिन डीको निर्माण ठीक ढङ्गले हुन पाउँदैन ।
उमेर पाको हुँदै जँदा गाढा छाला हुनेहरूमा भिटामिन डीको कमी हुने गरेको पाइन्छ । मोटोपन तथा भिटामिन डीको कमीले गर्दा मधुमेहको जोखिम समेत हुन्छ । मोटोपन र भिटामिन डीको समस्या भएमा शरीरमा इन्सुलिनको मात्रा असन्तुलित हुन पुग्दछ, जसले गर्दा मधुमेहको जोखिम हुन्छ । बालबालिकामा भिटामिन डीको कमी भएमा रक्तअल्पताको जोखिम हुन्छ ।

कहाँ, केमा पाइन्छ भिटामिन डी ?

भिटामिन डीको प्राकृतिक स्रोत घाम हो । अर्थात्, घाम तापेर नै शरीरले भिटामिन डी प्राप्त गर्न सक्दछ । सालमण्ड माछा, टुना, समुद्री खाना, अण्डाको पहेंलो भाग, च्याउ, गाईको दूधलगायतका खाद्य सामग्री भिटामिन डीका स्रोत हुन् । दूध भिटामिन डीको सवैभन्दा राम्रो स्रोत हो ।
शरीरलाई दिनभरमा आवश्यक पर्ने भिटामिन डीको करिव २० प्रतिशत दूधले नै पूर्ति गर्न सक्दछ । अण्डामा पनि भिटामिन डी प्रशस्त पाइने भएकाले अण्डा सेवन गर्नु उचित हुन्छ । फोर्टीफाईड सुन्तलाको रसमा पनि भिटामिन डी प्रशस्तै पाइन्छ ।

भिटामिन डीको कमी हुँदाका लक्षण

भिटामिन डीको कमी हुँदा निम्नानुसार लक्षणहरू देखा पर्न सक्दछन्–
  • भिटामिन डीको कमी हुँदा हड्डीमा दुखाइ महसुस हुन सक्छ ।
  • माङ्शपेशीको कमजोरी महसुस हुन सक्दछ ।
  • थकान तथा कमजोरी महसुस हुन सक्दछ ।
  • आवश्यकता भन्दा बढी निद्रा लाग्न सक्दछ ।
  • मानसिकरूपमा तनाव महसुस हुन सक्दछ ।
  • टाउकामा चिट्चिट् पसिना आउन सक्दछ ।
  • पटक–पटक विभिन्न किसिमका रोगको सङ्क्रमण हुने जोखिम हुन्छ ।
  • स्वास–प्रश्वासमा अप्ठ्यारो महसुस हुन्छ ।

भिटामिन डीको कमीले निम्त्याउने जोखिम

भिटामिन डीको कमीका कारण शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने जोखिम हुन्छ । भिटामिन डी शरीरका निम्ति अत्यावश्यक तत्व नै हो । यसले हड्डी मजबुत बनाउँछ र हड्डीको वृद्धि एवम् विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दछ ।
हड्डी मजबुत हुँदा स्वभावतः शरीर मजबुत हुन्छ । भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरस कायम राख्दछ ।
भिटामिन डीको कमीले क्यान्सर हुनेसम्मको जोखिम हुन्छ । शरीरमा हुन सक्ने अनेकौं किसिमका सङ्क्रमण नियन्त्रण गर्न र दुखाई कम गर्न समेत भिटामिन डीको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले आन्द्राबाट क्याल्सियम साेस्न पनि सहयोग पुर्‍याउँछ । यसले शरीरमा क्याल्सियम र फस्फोरस एवम् रगतको मात्रा कायम राख्न पनि मद्धत गर्छ ।
शरीरमा भिटामिन डीको मात्रा पुगेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ । रोग प्रतिरोधात्मक क्षमता मजबुत हुँदा विभिन्न किसिमका रोगको जोखिमबाट बच्न सकिन्छ । भिटामिन डीको कमीका कारण हर्मनमा उत्तारचढाव हुने जोखिम पनि हुन्छ । भिटामिन डीको कमी हुँदा बढी नै थकान महसुस हुने, माङ्शपेसीको समस्या हुने, माङ्शपेसी कमजोर हुने, सङ्क्रमण हुने, हाडजोर्नी दुख्नेजस्ता समस्या उत्पन्न हुन्छन् । भिटामिन डीको कमीका कारण हाइपोक्याल्सेमिया, क्याल्सियमको कमीका कारण हुने विभिन्न रोगहरू, हाइपरप्याराथाइरोइडिज्मजस्ता समस्या निम्तने पनि जोखिम हुन्छ ।
विभिन्न कारणले शरीरमा भिटामिन डीको कमी हुन सक्दछ । करिव ५० देखि ९० प्रतिशतमा सूर्यको किरणमार्फत छालाबाट भिटामिन डी शरीरमा शोषित हुन्छ । त्यसैले जाडो मौसममा बढी नै घाम ताप्नु उचित हुन्छ ।
नेपालमा पनि भिटामिनको कमीबाट निम्तने समस्या व्यहोरिरहेका नागरिक निकै नै पाइन्छन् । ज्ञानको अभाव तथा अन्य विभिन्न कारणले नेपालमा यस्तो समस्या देखिइरहेको छ । शरीरमा हुने भिटामिन डीको परिपूर्तिका लागि विभिन्न किसिमका फुड सप्लिमेन्ट सेवन गर्न सकिन्छ । होलिस्टिक हेल्थले पनि यस किसिमका सप्लिमेन्ट बजारमा उपलब्ध गराएको छ ।