कोदोे: सम्पदामा धनी, सम्भाव्यताले भरिपूर्ण
हुकुमराज पौडेलकोदोे ‘पोएसिएई’ परिवारसँग सम्बन्धित अन्नको एक समूह हो । यस परिवारलाई सामान्यतया घाँस परिवार भनिन्छ । यो अफ्रिका र एसियाभरिका विकासशील देशहरूमा व्यापकरूपमा खपत हुने अन्न बाली हो । लगभग तीन हजार सात सय वर्ष अगाडिदेखि नै भारतमा यसको बिऊलाई चिनाइएको पाइन्छ । जनचेतना जगाउने र कोदोको उत्पादन र खपत बढाउने उद्देश्यका साथ भारत सरकारको अनुरोधमा संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय मिलेट वर्ष’ घोषणा गरेको छ । विभिन्न अन्तरक्रियात्मक गतिविधिहरू नै गरेर यसलाई मनाउने तयारी छ ।
००
भारतमा कोदोे ‘खरिफ बाली’ का रूपमा चिनिन्छ । यसले राष्ट्रिय अन्न बालीको झन्डै सवा पाँच प्रतिशत ओगटेको तथ्य भारतको ‘राष्ट्रिय खाद्यान्न टोकरी’ ले देखाउँछ । कोदोेलाई आहारमा समावेश गर्ने सन्दर्भलाई भारतका केन्द्रीय कानुनमन्त्री किरेन रिजिजुले पनि जोड दिएका थिए भने कोदोे पौष्टिक र स्वादिस्ट रहेको जानकारी पनि गराइएको थियो ।
००
१ जनवरी, २०२३ देखि ‘अन्तर्राष्ट्रिय बाजरा वर्ष’ भारतमा विधिवत् सुरु भएको छ, जसको उद्घाटन त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको थियो । मार्च, २०२१ मा नै यूएनजीएले २०२३ लाई बाजराको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो । यसको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका थिए । १ जनवरी, २०२३ पछि विभिन्न प्रान्तका ठूलठूला सहर र गाउँ–वस्तीमा जनचेतनाका साथ कोदोले दिने पोषणबारे वर्षभर नै विभिन्न कार्यक्रम गरिने भएका छन् ।
००
अब कुरा गरौं, कोदोलाई ७२ भन्दा बढी देशमा किन महत्वपूर्ण मानिँदै छ ? किनकि, यसमा डायटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । कोदोमा घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर हुन्छन् । अघुलनशील फाइबरले हाम्रो पाचन प्रणालीमा रहेका फोहोर वस्तुहरूलाई हटाउन सहयोग गर्छ । यस प्रकारको फाइबरले मलमा बल्क थप्नका लागि महत्वपूर्ण भूमिका खेल्छ र पेटको क्यान्सरको जोखिमलाइ पनि कम गर्दछ । यस्तै–यस्तै गुनिला फाइदाहरूकै कारण कोदोको सम्मानस्वरूप सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय मिलेट वर्ष’ का रूपमा मनाउन लागिएको हो ।
००
नेपालमा पनि परापूर्वकालदेखि नै कोदोको खेती गरेर यसलाई महत्वपूर्ण अनाजका रूपमा प्रयोग गरिँदै आएको छ । मुख्यतः यसका चार प्रजातिलाई अति नै उपयोगी मानिन्छ । यी चार प्रजातिमा (कोदोे) फिङ्गर मिलेट, जुनेलो (जोवार मिलेट), कागुनो (फक्सटेल मिलेट) र चिनो (प्रोस्रो मिलेट) पर्दछन् । यीबाहेक पनि कोदोका अन्य विभिन्न प्रजातिहरू समेत नेपालको कृषिजन्य हावापानीयुक्त क्षेत्रहरूमा उत्पादन गरिन्छन् । कास्की र लमजुङमा मुख्यतया पाइने कागुनो (फक्सटेल मिलेट) पोषण र फाइबरले भरिपूर्ण मानिन्छ ।
००
यसरी, हिजोदेखि आजसम्म नै कोदोे उत्तिकै महत्वपूर्ण खाद्यबालीका रूपमा रहेको छ । नेपाली जनमानसमा, अझ कडा शारीरिक परिश्रम गर्ने ढाक्रे दाइ वा कुटो–कोदोलो गर्ने ज्यामी दाइ, भाइ, दिदी–बहिनि जोसुकै किन नहुन्, उनीहरूको नम्बर एक आडिलो खाना तथा खाजा मानिन्छन् कोदोका परिकारहरू । अहिले आएर त ‘सम्पन्न’ भनिने परिवारहरूमा समेत औषधीय गुण भएको साथी नै बनेको छ कोदोे ।
००
खोले खाएर बाँच्नेहरूको रहर बनेको छ कोदोे । यसैकारण पनि सन् २०२३ लाई अन्तर्राष्ट्रिय मिलेट वर्ष भनेर मनाइँदै छ । भारतमा त विभिन्न राज्यहरूमा ठूलठूला इभेन्टहरू नै चलाइएको छ । नेपालका पोखरा, लमजुङ र कर्णाली प्रदेशका हिमाली एवम् मध्यपहाडी भेगमा एक नम्बर खाद्यबाली मानिने कागुनोको खेती धेरै हुने गर्छ । यहाँ नगदेबालीका रूपमा समेत यसको खेती गरिँदै आएको छ ।
००
कोदोे (फिङ्गर मिलेट) लाई नेपालमा यस प्रजातिको एक नम्बर खाद्यबाली मानिन्छ । नेपालका झन्डै ७२ वटा जिल्लामा कोदोको खेती हुने गर्दछ । हुम्ला र मुगुमा त एक नम्बर खेती नै कोदोे हो । त्यस क्षेत्रमा यो बाली अति नै राम्ररी फल्दछ । जुम्लामा पनि कोदोेलाई दोस्रो महत्वपूर्ण बालीका रूपमा लिइन्छ । कोदोेका अन्त्यन्तै महत्वपूर्ण गुणहरू छन्, जसमा अत्यधिक मात्रामा पौष्टिक आहार, ग्लुटिन फ्री, गैरचिपचिपा र गैरएसिड बनावट हुने भएकाले यो आन्द्रामा टाँसिन्छ र खानाले गर्ने असारबाट मुक्ति दिलाउँछ ।
आफ्नो स्वास्थ्यप्रति समवेदनशील व्यक्तिहरूका लागि त कोदोे ‘बरदान’ नै सावित भएको छ । निर्वाहमुखी कृषि उपजका रूपमा गाउँघरमा लोकप्रिय बन्दै गएको छ यो अनाज । पोषणको पावरहाउस नै रहेको कोदोेमा १५–२० प्रतिशत त आहारपूरक फाइबर नै पाइन्छ । कोदोका परिकार रक्तअल्पता, कलेजोको विकार र दमजस्ता समस्यालाई डिटक्सिफाई गर्न सहयोगी हुन्छन् भने यो खाद्यान्न मोटोपना र टाइप टु डायबिटिजबाट पीडितहरूका लागि समेत असाध्यै फाइदाजनक रहेको विज्ञहरू बताउँछन् । डा. खादर वलीको पनि यस विषयमा गहकिलो दाबी रहेको छ ।
००
विभिन्न तथ्याङ्कहरूले देखाएअनुसार अहिले विश्वका १३० भन्दा बढी देशमा कोदो खेती गरिँदैछ । यसैकारण कोदोेलाई विश्वव्यापी उत्पादन भनिन्छ । नेपाल सरकारले पर्याप्त कृषि अनुदान, कृषि ऋण तथा मलखाद उपलब्ध गराउँदै कृषकमुखी भएर अगाडि बढ्ने हो भने नेपालले विश्वबजारमा यस उत्पादनको राम्रो हिस्सा कायम गर्न सक्ने देखिन्छ ।