सुन्दर पोर्चुगलको रमणीय यात्रा

डा. डीबी सुनुवार

भौगोलिक दृष्टिले नेपालजस्तै लाग्ने पोर्चुगल कम सुन्दर छैन । पोर्चुगल राष्ट्र युरोपका असाध्यै पुराना मुलुकहरूमध्येको एउटा हो । यस मुलुकलाई कुनै बेला निकै ठूलो शक्तिराष्ट्रका रूपमा समेत लिइन्थ्यो ।

त्यसो त पोर्चुगलको परिचय एकै वाक्यमा वर्णन गर्न सम्भव हुने कुरै भएन । विश्वचर्चित फुटबल खेलाडी रोनाल्डो यसै मुलुकका नागरिक हुन् । नेपाली विद्यार्थी लागि समेत आकर्षणको केन्द्र हो, यो मुलुक ।

यसपालिको यात्रा यही सुन्दर मुलुक पोर्चुगलका लागि तय भएको छ । यात्राको सेड्युल पोर्चुगलको मिलान, मड्रिट हुँदै लिस्बोनसम्म तय भएको छ । लिस्बोन पोर्चुगलको क्यापिटल सिटी हो ।

हवाइयात्रामै बित्छ पूरा दिन । एक ठाउँबाट अर्को ठाउँको हवाई ट्रान्जिट हुँदै लिस्बोन पुगेको छु यतिबेला । लिस्बोन एयरपोर्टमा पुग्दा बेलुकीको छ बजेको छ । झमक्क साँझ परिसकेको छ ।

झिलिमिलि सुन्दर दृश्यावलोकन गर्दै एयरपोर्टबाट बाहिर निस्कन्छु । मलाई लिन एयरपोर्टमा आइपुगिसकेका छन् साथी । लिस्बोन सिटीमै हुने भएको छ आजको बास ।

एयरपोर्टबाट बाहिरिँदै गर्दा गाडीबाट निकै सुन्दर दृश्यहरू देखिरहेको छु । यात्रा अगाडि बढिरहँदा ठूला र पुराना युनिभर्सिटी देखिइरहेका छन् । यहाँका मनोरम प्राकृतिक दृश्य त्यत्तिकै सुन्दर छन् । प्राकृतिक संरक्षणमा कति ध्यान दिइएको !

जता हेर्‍यो उतै, उत्तिकै सुन्दर । करिव आधा घन्टाको यात्रापछि आज बास बस्ने होटलमा पुगियो । रमाइलो वातावरण अनि थकित ज्यान । बिसाइएको छ, होटलको रुममा ।

मलाई लिन एयरपोर्ट पुग्नुअघि नै पोर्चुगी खाना अर्डर गरिसकेका रहेछन् साथीले । यात्राका कारण ज्यान थकित छ । भोक पनि लागेको छ । होटलमा पुग्नेवित्तिकै पोर्चुगी खाना सुरु भयो ।

बकालहाउ, अल्हेरा, काकाप्लाना, फान्सेसिन्हा, कोजिडोसोपादाजस्ता परिकार छन् मेरा अगाडि । यिनै परिकार खान सुरु गरियो । परिकारहरू हेर्दै बडो लोभलाग्दा देखिन्छन् । तर, नेपाली जिब्रो न पर्‍यो ! खानाको च्वास्स स्वाद भने लिइरहेको छैन मेरो जिब्राले ।

नेपालमा खानपानका परिकार आफ्नै किसिमका हुन्छन् । यहाँका परिकारहरूमा भुटुन, मसला, पिरो, अमिलो प्राय छुट्दैनन् । तर, पोर्चुगी खाना मसलेदार नेपाली परिकारभन्दा फरक स्वादका छन् । फरक स्वादलाई फरक नै अनुभूति गर्दै यहाँका परिकारको मज्जा लिइरहेको छु ।

खानपानपछि आराम गर्न थालें । साथीसँग एकै छिन गफिएँ । दिनभरिको थकान छ, ओछ्यानमा पल्टिएपछि एकैछिनमा निदाएँछु ।

भोलिपल्ट सखारै उठेको छु । ब्रेकफास्ट गरेपछि साथीसँग लिस्बोन घुमघाममा निस्किएको छु । लिस्बोनको प्राकृतिक सुन्दरताको त वर्णन नै गरिसाध्यै छैन । विश्वकै पुरानो ऐतिहासिक दृश्यहरूले मलाई लोभ्याएका छन् ।

लिस्बोनबाट साथीसँग गाडीमा आजै पोर्टो सिटी जाँदैछु । बाटामा हेर्दै जाँदा ठाउँ–ठाउँमा नेपाली होटल तथा पसलहरू समेत देखिन्थे । नेपालकै कुनै पहाडी भागतिरको यात्राजस्तै उकालो–ओरालो सडकयात्रा अघि बढिरहेको छ । यात्राको क्रममा कतै डाँडाकाँडा देखिँदैछन् । ठाउँ–ठाउँमा देखिने झरना तथा थुम्काहरूको दृश्यले तानेको छ मेरो मन ।

नतानोस् पनि कसरी र यस्तो सुन्दर दृश्यले ! यात्राका क्रममा फतिमा क्याथेडलको दृश्य देखिन्छ । यो एउटा ठूलो चर्च हो । गाडी रोकेर रिफ्रेसमन्टका लागि केहीबेर बसिएको छ यहाँ ।

यहाँ आइपुग्ने पर्यटकको सङ्ख्या कम्ति थिएन । यो एउटा टुरिस्ट सेन्टर नै हो । केही बेरको मनोरञ्जन र आरामपछि यात्रा अघि बढ्छ । केही बेरमा नै पोर्टो सिटी पुग्दैछु ।

पोर्टो छिर्ने बेलामा विश्वकै पुराना मध्येको एउटा पुल तर्नुपर्छ । यस पुलको नाम भास्कोदिगामा नामक व्यक्तिको नामबाट नामकरण गरिएको रहेछ । अर्थात्, यस पुलको नाम हो– भास्कोदिगामा ब्रिज ।

लिस्बोनबाट तीन घन्टाको गाडी–यात्रापछिट यो पुल तरेर पोर्टो सिटी पुगिन्छ । पोर्टो सिटीको दृश्य त्यत्तिकै लोभलाग्दो छ । यहाँका विभिन्न सुन्दर दृश्य र मनोरम वातावरण तथा सरहको सुन्दरताले लोभ्याएको छ ।

कति सफा र सुग्घर सहर ! कति शान्त सहर ! यो सिटी पोर्चुगलको ठूलो सहरमध्येमा पर्छ । यो पुरानो सहरमध्येमा पर्छ ।

पोर्टो पोर्चुगलको औद्योगिक क्षेत्र पनि हो । मनै लोभिएको छ । दिभरि साथीसँग पोर्टो सहर घुमघाम भइरहेको छ ।

यहाँको वाइन निकै लोकप्रिय छ । पोर्टोमा रहेका उद्योगहरूको अवलोकन पनि आजको सेड्युलमा परेको छ । पोर्टो वाइनको स्वाद लिने काम पनि आजको सेड्युलमै त परेको छ ! आज यहाँको ‘वाइन टेस्टिङ सेरेमोनी’ मा सहभागी हुने अवसर मिलेको छ ।

वाइन टेस्टिङ सेरेमोनीमा सहभागी भएको छु । पोर्टोको विभिन्न ठाउँहरूका मनै तान्ने दृश्यावलोकनको यात्रामा छु ।

सयौं वर्ष पुराना यहाँका भवनहरू आफैंमा बडो रोचक र अनौठा छन् । पुराना भवनहरू रहेको यो सहरको सुन्दरता कम्ति लोभलाग्दो छैन ।

समर सिजनमा पोर्चुगलका विभिन्न भागको समुद्री किनारमा खानपानलगायतका मनोरञ्जन गरेर रमाउने ठाउँ रहेछ यो स्थल । र, त्यो अवसर मैले पनि पाएँ । यसपछिको यात्रा भने पोर्चुगलकै ब्रागा सिटीलगायतमा तय भएको छ ।