सिङ्गापुरे समृद्धिका सूत्रहरू
केदार सिटौलासिङ्गापुरका कूटनीतिज्ञ किशोर महबुबानीले उक्त देशको सफलताका रहस्यहरू बताउँदै आफ्ना विद्यार्थीहरूलाई भन्ने गरेका थिए– ‘यदि तपाईंहरूले यो गोप्य सूत्र लागू गर्नुभयो भने तपाईंहरूको देश पनि सफल हुनेछ ।’
महबुबानीले उल्लेख गरेको उक्त ‘गोप्य’ सूत्र हो– ‘एमपीएच’ । ‘एमपीएच’ को पूर्णरूप या अर्थ हो– ‘मेरिटोक्रेसी’ अर्थात् योग्यताक्रम, ‘प्र्याग्म्याटिज्म’ अर्थात् व्यवहारवाद र ‘अनेस्टी’ अर्थात् इमानदारिता ।
‘एम’ अर्थात् मेरिटोक्रेसी भन्नाले देश चलाउनका लागि योग्यतम् मानिसहरूको छनोट गर्नु हो । तेस्रो विश्वका धेरैजसो देशलाई के कुराले बर्बाद पार्दछ भने सरकारका अर्थमन्त्री वा बित्तीयमन्त्री नियुक्त गर्दा आफ्नै भाइ–भतिजा र आफन्तलाई प्राथमिकता दिइन्छ; योग्य मानिसलाई होइन । सिङ्गापुरले भने यसको ठीक विपरीत काम गर्यो । सिङ्गापुरमा अर्थमन्त्रीको पद सबैभन्दा योग्य मानिसलाई दिइयो ।
सिङ्गापुरमा एक पटक अपवादस्वरूप एकजना आफन्तलाई नियुक्त गरियो; ती व्यक्ति थिए– ली सियन लुङ । ली सियन लुङ बेलायतस्थित क्याम्ब्रिज युनिभर्सिटीमा पढ्दा आफ्नो ब्याचका सर्वोत्कृष्ट विद्यार्थी थिए । गणितमा उनको दक्षता देखेर प्रोफेसरहरूले लुङलाई ‘गणितज्ञ बन्न’ नै प्रेरित गरेका थिए । क्याम्ब्रिजको अध्ययनपछि थप अध्ययनका लागि उनी अमेरिकास्थित हार्वर्ड युनिभर्सिटी पुगे । लुङ हार्वर्ड युनिभर्सिटीको विद्यार्थीका रूपमा अध्ययनरत रहँदा अर्थशास्त्रसम्बन्धी विश्वकै नम्बर एक मानिने ‘टिएर वन जर्नल’ मा उनको आलेख प्रकाशित भयो । यस तहको जर्नलमा धेरै कम मात्र विद्यार्थीका लेखहरू प्रकाशित हुन्छन् ।
अतः प्रधानमन्त्री ली क्वान यु को छोरा भएकाले होइन, आफ्नै योग्यता र पेशागत दक्षताका कारण ली सियन लुङ सिङ्गापुरको अर्थमन्त्री बनेका थिए । भलै त्यसबेला उनका आफ्नै पिता प्रधानमन्त्री थिए । सारतः सिङ्गापुरको सफलताका लागि पहिलो सूत्र थियो– ‘मेरिटोक्रेसी’ ।
सिङ्गापुरको सफलताको दोस्रो सूत्र हो– ‘प्र्याग्म्याटिज्म’ अर्थात् व्यवहारवाद । ‘प्र्याग्म्याटिज्म’ अङ्ग्र्रेजी शब्द त हुँदै हो, साथसाथै यो अङ्ग्रेजी अवधारणा समेत हो । तर, यसको सवैभन्दा राम्रो व्यख्याचाहिँ चिनियाँ नेता देङ सियाओपिङले गरेका छन् । यसै सन्दर्भमा देङले भनेका थिए– ‘बिरालो कालो होस् वा सेतो, केही फरक पर्दैन; यदि मुसा पक्रन सक्छ भने त्यो नै राम्रो बिरालो हो ।’ यस बिम्बात्मक भनाइलाई अझ प्रस्ट्याउँदै देङले भनेका थिए– ‘तपाईंको विचारधारा के छ, त्यसले खासै फरक पार्दैन; यदि त्यो विचारले काम गर्छ भने प्रयोग गर ।’ यथार्थतः सिङ्गापुर धेरै नै व्यावहारिक देश थियो । त्यस देशले केही त्यस्ता नीतिहरू अपनायो, ती पुँजीवादी नीति थिए; अनि अरु केही नीतिहरू अपनायो, तीचाहिँ समाजवादी नीति थिए– सिङ्गापुरले ती दुवैथरी नीतिहरूलाई मिश्रण गरिदियो । सारतः ‘व्यवहारवाद’ भनेको त्यही हो कि, तपाईं कुनै पनि विचारधाराको कैदी बन्नु हुँदैन ।
सिङ्गापुरको सफलताको अर्को अर्थात् अन्तिम खम्बा हो– इमानदारिता । यो हासिल गर्न सवैभन्दा कठिन हुन्छ । किनकि, तेस्रो विश्वका अधिकाङ्श देशहरूलाई गिराउने र विकासलगायत समग्र क्षेत्रमा असफल तुल्याउने मुख्य कारक तत्व भनेकै भ्रष्टाचार हो । लि क्वान यु सिङ्गापुरको प्रधानमन्त्री बनेपछि भ्रष्टाचार नियन्त्रण गर्न उनले तल्लो तहका साना कर्मचारीहरूलाई होइन, उच्च ओहोदाका अधिकारीहरूलाई निशाना बनाइने उद्घोष गरे । एकपटक लि क्वान युको मन्त्रीमण्डलका एक सहायकमन्त्री उनका व्यवसायी मित्रसँग छुट्टी मनाउन गए । ती मन्त्री फर्केर आएलगत्तै उनलाई गिरफ्तार गरियो । मन्त्रीले प्रतिकारस्वरूप प्रश्न गरे– ‘किन गिरफ्तार गरिँदैछ मलाई ? के अपराध गरेको छु र मैले ?’ लि क्वान युले जवाफ दिए– ‘तपाईं एउटा व्यापारीसँग छुट्टी मनाउन जानुभयो । तपाईंको त्यस भ्रमणको सबै खर्च तिनै व्यापारीले तिरे, त्यो भ्रष्टाचार हो । त्यसैले तपाईं अब जेल जानोस् ।’
जब सहायकमन्त्रीले नै त्यसरी जेल जानुपर्छ भने अरु कर्मचारीहरूले अनियमितता र भ्रष्टाचार गर्दा झन् के पो होला ? आफू तत्कालै जेल पर्न सक्ने डरका कारण सवै सतर्क भइहाल्छन् । इमानदारिता कायम राख्ने यही विधि र शैली नै मुख्य कारण हो, जसले सिङ्गापुरलाई सफल राष्ट्रका रूपमा विश्वसामु उभ्यायो ।
सारतः योग्य व्यक्तिहरूको शासन, व्यवहारवाद र इमानदारिताको संयोजन नै सिङ्गापुरको सफलताका सूत्रहरू हुन् । ‘दस वर्षभित्र नेपाललाई सिङ्गापुर बनाइदिन्छौं’ भन्दै गफ दिन थालिएको तीस वर्ष भइसक्यो । तर, यी तीस वर्षमा नेपालमा के–कति उन्नति र प्रगति भए, सबैलाई थाहै छ । किशोर महबुबानीले बताएका सिङ्गापुरको सफलताका यी सूत्रहरूको कसीमा दाँजेर हाम्रा नेताहरूलाई हेरौं । कत्तिको योग्य मानिसहरूले शासन गरिरहेका छन् त हामीलाई ? हाम्रा नेताहरूले ओढेका फोस्रा सैद्धान्तिक आवरण र उनीहरूको व्यावहारिकताबीच कत्तिको तादात्म्यता छ त ? व्यवसायीको घरमा डेरा लिएर बस्ने र उपचार गर्न समेत उनीहरूकै पैसामा विदेश जाने हाम्रा नेताहरूको जीवनशैली हेर्दा सहजै ठम्याउन सकिन्छ– किन बनेन नेपाल !