यस्तो अवस्थामा यौनक्रीडा नगर्ने…

प्रा.डा. दिनेश बाँस्तोला

रजश्वला प्राकृतिक प्रक्रिया हो भन्ने विषयमा दुईमत भएन । रजस्वलाको अवस्थामा अधिकाङ्शजसो महिलाको शरीरमा हर्मनको उतारचढाव हुन्छ; हर्मनको असन्तुलन हुन्छ । त्यसो त रजश्वलाको समयमा महिलामा तनाव समेत बढ्छ ।

यस्तो अवस्थामा महिलाहरू सामान्य अवस्थामा जसरी नै सहबासका लागि शरीरिक तथा मानसिकरूपले तयार हुने कुरै भएन । रजश्वला भएका बेला योनी, पाठेघर, स्तन र मस्तिष्क समेत प्रभावित हुन्छन् । यस्तो अवस्थामा यौनाङ्गबाट रगत तथा श्लेष्मा निस्कन्छ ।

सामान्यतया अवस्थामा रजश्वला भएको पहिलो दिनदेखि सुरु भएर पाँचौं दिनसम्म यस्तो क्रम चल्छ । यस्तो अवस्थामा यौन सम्पर्क राखिहाले पुरुषलाई त यौन सन्तुष्टि मिल्ला, तर महिलालाई भने निकै असहजता हुन्छ । पुरुषले यो विषय बुझ्नु जरुरी हुन्छ ।

रजस्वला भएको अवस्थामा महिलाहरू आवेशमा आउन सक्दछन् । किनकि, यसबेला उनीहरूमा अन्य समयको तुलनामा अलि बढी नै शारीरिक समस्या तथा मानसिक तनाव उत्पन्न हुन्छ । यसबेला स्तन दुख्ने तथा पीडाको अनुभूति हुने समेत स्थिति हुन्छ । रजश्वलाको अवस्थामा महिलाको पेट र शरीर बढी नै दुख्छ । त्यसैले रजश्वलाको समयमा यौन सम्पर्क गर्नु किमार्थ राम्रो हुँदैन ।

रजस्वला भएको अवस्थामा एस्ट्रोजेन, प्रोजेस्टेरोन, ल्युटेनाइजिङ र फोलिकल स्टिमुलेटिङ हर्मनको उतारचढाव भइरहेको हुन्छ । रजश्वला भएको सामान्यतया चौधौं दिनमा महिलामा यौनजन्य उत्तेजना बढी हुन्छ । अर्थात् यो अवस्थामा यौनेच्छा वा यौनाकाङ्क्षा बढी हुन्छ । यस्तो अवस्थामा यौनजोडी सहमत र तयार भएमा यौनसम्पर्क हुनु स्वाभाविक हुन्छ । रजश्वला भएको पाँच दिनसम्म भने यौनसम्पर्क गर्दै नगर्नु राम्रो हुन्छ ।

रजस्वला भएको अवस्थामा पाठेघरभित्र रगतका स–साना नली फुट्छन् । रजस्वला भएको अवस्थामा कतिपय महिलामा भने यौनाङ्गमा सङ्क्रमण हुने सम्भावना समेत हुन्छ । त्यसैले पनि रजस्वलाका बेला यौन सम्बन्ध नराख्नु नै उत्तम हुन्छ । रजस्वलाकै बेला कथम् यौनसम्पर्क गरिहाल्ने काम भएमा कण्डमको प्रयोग गरी सम्भावित सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ ।

सामान्यतः रजस्वला भएको अवस्थामा महिलाहरू शारीरिक तथा मानसिक रूपले नै यौनका लागि तयार नै हुँदैनन् । दुखाइलगायतका कारणले पनि यस्तो अवस्थामा यौनक्रीडा सहज हुने कुरै भएन । रजश्वलाको अवस्थामा आपसी सहमतिमै यौनसम्पर्क भइहालेमा पनि त्यस्तो यौन सम्बन्ध सामान्य अवस्थाको जस्तो पक्कै हुँदैन । यस्तो अवस्थामा यौनसम्पर्क गर्नुको सट्टा यौनजोडी संयमित भएर मिठा गफ गरी एकार्काको सहयोगी बन्नु उचित हुन्छ । यस्तो अवस्थामा यौन सम्पर्ककलाई प्राथमिकता दिनु हुँदैन ।

यौनका लागि त जोडीका दुवैजना शारीरिक तथा मानसिकरूपले तयार हुनुपर्‍यो । यौनका लागि उचित वातावरण समेत आवश्यक हुन्छ । यौनक्रीडाका लागि सुरक्षित वातावरण समेत मिल्नुपर्छ । रजश्वलाको अवस्थामा यौनसम्पर्क गर्दा महिलामा दुखाइ हुनुका साथै मानसिकरूपमा समेत पीडा थपिन सक्ने भएकाले विशेषतः पुरुषले सचेतता अपनाउनु, संयमित हुनु र धैर्य रहनु जरुरी हुन्छ ।