कोरोना महामारीबीच चिकित्साशास्त्रका विद्यार्थीमा डिजिटल खेलको प्रभाव

प्रा.डा. सुनिलकुमार जोशी

कम्प्युटर, मोबाइल, ट्याबलेटजस्ता साधनको प्रयोग गरेर खेलिने खेललाई डिजिटल गेमिङ भनिन्छ । यिनलाई सामान्य भाषामा डिजिटल खेल भन्न सकिन्छ । डिजिटल खेल इन्टरनेटको सहायताले वा इन्टरनेट प्रयोग नगरीकनै पनि खेल्न सकिन्छ ।

कुनै पनि खेल सामान्य हिसाबमा कहिलेकहीं खेल्नु स्वाभाविकै हो । तर, डिजिटल खेललाई निरन्तरता दिएर लत नै बसेको खण्डमा भने यसले शारीरिक तथा मानसिक समस्या निम्त्याउने जोखिम हुन्छ । डिजिटल खेलको लत बसेमा मानसिक समस्या भई तनाव उत्पन्न हुने, एन्जाइटी हुने, रिस उठ्ने, धैर्यता टुट्नेजस्ता जोखिम हुन सक्छन् । डिजिटल खेलको लत बस्दा रक्सी, चुरोट सेवन इत्यादिको कुलत समेत बस्न सक्ने जोखिम हुन्छ । यस्ता खेलको लत बस्नबाट बच्न लामो समयसम्म खेल्ने गर्नु हुँदैन ।

कोरोनाभाइरस सङ्क्रमणको महामारीका बेला भौतिक दूरी कायम गर्नुपर्ने भएकाले डिजिटल रूपमा नै विद्यार्थीको पठनपाठन भयो । यसबेला अन्य धेरै कामकाजका लागि समेत डिजिटल माध्यमको प्रयोग ह्वात्तै बढ्यो ।

महामारीका कारण लकडाउनको प्रभावस्वरूप विद्यार्थीलगायत समाजका विभिन्न तप्का र पुस्तामा मानसिक तनाव उत्पन्न हुनु स्वाभाविकै हो । कोरोनाभाइरस महामारी तथा लकडाउनको समयमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीको पठनपाठन पनि डिजिटल माध्यमबाटै भयो । विद्यार्थीले डिजिटल माध्यमबाट अध्ययन गर्ने मात्र नभई डिजिटल खेल खेल्ने प्रवृत्ति र अवस्था कस्तो रह्यो त ? अनि डिजिटल खेलले विद्यार्थीको मनोविज्ञानमा कस्तो प्रभाव पारेको छ त ? यिनै प्रश्नहरूको उत्तर खोज्ने सिलसिलामा केन्द्रित रहेर असार–साउन, २०७८ मा एक अध्ययन सम्पन्न गरिएको थियो । यस अध्ययनको शीर्षक हो ‘गेमिङ डिसअर्डर एमोङ मेडिकल कलेज स्टुडेन्ट्स ड्युरिङ कोभिड– १९ प्यान्डेमिक लकडाउन’ । काठमाडौं मेडिकल कलेजका चिकित्सकको टिमले गरेको यो अध्ययनमा यस पङ्क्तिकार पनि सङ्लग्न थियो ।

अध्ययनको सिलसिलामा विभिन्न मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका ४ सय १२ विद्यार्थीहरूलाई ‘स्याम्पलिङ’ गरियो । अनलाइन सर्वेक्षणलाई अध्ययनको मुख्य विधि बनाइयो । सवै ४ सय १२ विद्यार्थीलाई प्रश्नावली फर्म पठाइएकामा तीमध्ये ३ सय ७७ विद्यार्थीले उक्त फर्म भरेर उत्तर पठाए । यसरी, प्रश्नावली भरेर पठाउने विद्यार्थी ९१.५ प्रतिशत रहे । यस अनुसन्धानमा ५२.३ प्रतिशत छात्रा र ४७.७ प्रतिशत छात्र सहभागी बने ।

३ सय ७७ सहभागीमध्ये २ सय ६० अर्थात् ६९ प्रतिशत विद्यार्थीले इन्टरनेटको माध्यमबाट डिजिटल खेल खेल्ने बताए । यीमध्ये ४० प्रतिशत विद्यार्थीले दैनिक दुई घन्टासम्म डिजिटल खेल खेलेको पाइयो । ६९.२ प्रतिशत विद्यार्थीहरूबाट ‘कोरोनाभाइरस सङ्क्रमणको तनाव भुल्न डिजिटल खेल खेलेको’ जवाफ पाइयो ।

डिजिटल खेल खेल्ने २ सय ६० अर्थात् ६९ प्रतिशत विद्यार्थीमध्ये २२ जना विद्यार्थीमा डिजिटल खेलको लत नै बसेको पाइयो ।

यो तथ्याङ्कले डिजिटल खेल खेल्नेमध्ये ८.५ प्रतिशतमा डिजिटल डिसअर्डर निम्तिएको देखाउँछ । यस अनुसन्धानको सिलसिलामा विद्यार्थीहरूमा ‘इन्टरनेट गेमिङ डिसअर्डर (आईजीडी) स्कोर’, ‘पेसेन्ट हेल्थ क्वेसनार (पीएचक्यु– ९) स्कोर’ र ‘जेनरलाइज एन्जाइटी डिसअर्डर (जीएडी) स्कोर’ समेत अध्ययन गरियो ।

अध्ययनमा सहभागी कतिपय विद्यार्थीमा डिजिटल खेलको लतका कारण डिप्रेसनको लक्षण समेत देखियो ।

निचोडमा भन्नुपर्दा, चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूमा कोरोनाभाइरस सङ्क्रमणको महामारीका बेला डिजिटल खेल खेल्ने प्रवृत्ति ह्वात्तै बढेको देखियो । डिजिटल खेलको लतका कारण विद्यार्थीमा शारीरिक तथा मानसिक प्रभाव समेत परेको देखियो । डिजिटल खेलका कारण मानसिक स्वास्थ्य समस्याको क्षेत्रमा समेत चुनौती थपिँदै गएको तथ्य यस अध्ययनले पुष्टि गरेको छ ।