मौसम परिवर्तनसँगै फ्लुको जोखिम
डा. शेरबहादुर पुनमौसम परिवर्तनसँगै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मौसमी फ्लुका सङ्क्रमित बिरामीको सङ्ख्या बढेको देखिएको छ । यसबेला विशेषतः रुघा–खोकी तथा ज्वरोका लक्षण बोकेर बिरामीहरू आउने क्रम बढेको छ ।
‘इन्फ्लुएन्जा’ लाई छोटकरीमा ‘फ्लु’ भनिन्छ । यो एक किसिमको भाइरस–सङ्क्रमण नै हो । मौसमी फ्लुले नेपालमा वर्षेनि धेरैलाई सताउने गरेकाले सजगता अपनाउनु जरुरी छ । यस वर्ष पनि मौसम परिवर्तनसँगै फ्लुको जोखिम बढेकाले बेलैमा सजगता अपनाउनु आवश्यक छ ।
इन्फ्लुएन्जाको सङ्क्रमण भएमा सुरुआती दिनमा ज्वरो आउने, खोकी लाग्ने, माङ्शपेशी दुख्ने आदिजस्ता लक्षण देखिन्छन् । टाउको दुख्ने, शरीर दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, रुघा–खोकी लाग्नेजस्ता लक्षणहरू समेत इन्फ्लुएन्जाका कारण देखा पर्दछन् । कसै–कसैलाई भने पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेजस्ता लक्षण पनि देखिन सक्छन् ।
विशेषतः बालबालिकामा पखाला लाग्ने तथा बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । इन्फ्लुएन्जाको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण गराएर स्वास्थ्योपचार गराउनु पर्छ ।
इन्फ्लुएन्जा हुँदा सामान्यतया लक्षणमा आधारित उपचार विधि अपनाइन्छ । रुघा–खोकी तथा मौसमी फ्लुको सङ्क्रमण भएको अवस्थामा झोलिला तथा पोषिला खाद्य पदार्थ सेवन गर्नुपर्छ; उमालेर सेलाएको मनतातो पानी प्रशस्त पिउनुपर्छ । यस्तो बेला सरसफाइमा मनग्गे ध्यान दिनुपर्छ; भीडभाडमा हिँडडुल कम गर्नु पर्छ ।
इन्फ्लुएन्जाको वर्गीकरण
इन्फ्लुएन्जालाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमले वर्गीकरण गरिएको हुन्छ । ‘ए’, ‘बी’ र ‘सी’ ले सङ्क्रमण गराउँदछ । विशेषतः ‘ए’ र ‘बी’ इन्फ्लुएन्जाले कडा स्वास्थ्य समस्या निम्त्याउन सक्दछ ।
‘ए’ इन्फ्लुएन्जाको सङ्क्रमण विश्वव्यापी रूपमा फैलन्छ । यसप्रकारको इन्फ्लुएन्जा एक ठाउँबाट अर्को ठाउँमा सजिलै फैलन सक्छ । इन्फ्लुएन्जा ‘बी’ भने सीमित क्षेत्रमा मात्रै सर्न सक्ने भएकाले यो सामान्यतः एक ठाउँबाट अर्को ठाउँमा अर्थात् टाढा—टाढा फैलँदैन ।
इन्फ्लुएन्जा ‘ए’ भाइरसको जीनले छिटो—छिटो स्वरूप परिवर्तन गर्दछ । यसैकारण यसले कडा रूप लिन सक्छ र मृत्यु गराउनेसम्मको जोखिम हुन्छ । ‘बी’ को तुलनामा ‘ए’ इन्फ्लुएन्जाको जीन निकै छिटो र धेरै पटक परिवर्तित भइरहन्छ । निरन्तर रूप परिवर्तन भइरहने भएकैले यसलाई शरीरको रोग प्रतिरोधात्मक प्रणालीले पहिचान गर्न सक्दैन र ‘ए’ इन्फ्लुएन्जाले सहजै शरीरमा प्रवेश पाउँछ र कडा रूप लिन सक्ने जोखिम हुन्छ । एन्फ्लुएन्जा ‘ए’ को सङ्क्रमणले कडा रूप लिँदै गएमा निमोनिया हुने र शरीरका विभिन्न अङ्ग–प्रत्यङ्गहरू फेल भए ज्यानै जान सक्ने जोखिम हुन्छ ।
इन्फ्लुएन्जा ‘ए’ अन्तर्गत ‘एचवानएनवान पीडीएम– ०९’ र ‘एचथ्रीएनटु’ पर्दछन् । ‘एचवानएनवान पीडीएम–०९’ को सङ्क्रमण ‘स्वाइन फ्लु’ का नामले चिनिन्छ र ‘एचथ्रीएनटु’ लाई चाहिँ ‘हङकङ फ्लु’ भनिन्छ । ‘ए’ अन्तर्गत अन्य किसिमका इन्फ्लुएन्जाका भाइरस पनि हुन्छन् । नेपालमा हरेक वर्ष इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतका यिनै दुई भाइरस देखिँदै आएकाले सजगता अपनाउनु आवश्यक छ ।
सजगता नै मुख्य उपाय
नेपालमा ‘एचवानएनवान पीडीएम– ०९’ र ‘एचथ्रीएनटु’ इन्फ्लुएन्जाका सङ्क्रमितहरू प्रायः चैत–वैशाख र भदौ–असोजतिर देखापर्ने गरेका छन् । जाडो मौसम सुरु भएदेखि चैत–वैशाखसम्ममा इन्फ्लुएन्जा उच्च विन्दुमा पुग्ने गरेको देखिन्छ । त्यसैले यस मौसममा बढी नै सजगता अपनाउनु जरुरी देखिन्छ ।
इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतका भाइरसले हजारौं कुखुरालगायतका पक्षीमा सङ्क्रमण गर्दै आएकाले यसप्रति पनि विशेष सजगता अपनाउनु जरुरी छ । ‘एचफाइभएनवान’ पक्षीबाट मानिसमा सर्ने भएकाले कुखुरालगायत पक्षीजन्य मासु खाँदा विशेष सजगता अपनाउनु पर्छ । सन् १९९७ मा पहिलोपटक हङकङमा ‘एचफाइपएनवान’ इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको पुष्टि भयो । त्यसपछि यो सङ्क्रमण विश्वभर नै देखापर्यो ।
मानिसमा बर्डफ्लु सङ्क्रमण भएमा सङ्क्रमितमध्येका करिव ६० प्रतिशतको मृत्यु हुन्छ । त्यसैले सङ्क्रमित व्यक्तिको हेरचाह, संरक्षण र उपचार गर्दा तथा घरपरिवार, शिक्षण संस्था वा कार्यस्थलमा सङ्सर्ग गर्दा विशेष सावधानी अपनाउनु पर्छ । पक्षीको निरन्तर सम्पर्कमा रहने व्यक्तिमा यस किसिमका भाइरस सङ्क्रमण हुन सक्ने बढी जोखिम भएकाले सावधानी अपनाउनुपर्छ ।
बर्डफ्लुको जोखिमबाट बच्नका लागि सङ्क्रमित पक्षीको नजिक बस्ने गर्नु हुँदैन । सङ्क्रमणको सामान्य लक्षण मात्रै देखिए पनि तुरुतै स्वास्थ्य परीक्षण गराउनु पर्छ । राम्ररी मास्क र हातमा पञ्जा (ग्लोब्स) लगाएर मात्र कुखुरालगायतका पक्षीको हेरविचार, मलको व्यवस्थापन र मासुको काम गर्नुपर्छ । मासु काटिसकेपछि पनि भाँडाकुँडा, अचानो र हतियारलाई राम्ररी निर्मलीकरण गर्नुपर्छ र साबुन–पानीले राम्ररी हात धुनुपर्छ । पक्षीसँग र पक्षीजन्य मासुको काम गर्दा आँखामा हात लगिरहनु हुँदैन । पक्षीको मासु पनि राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्