रिना थापा मगरको नृत्य–यात्रा

भोलानाथ अधिकारी

नेपाली लोक तथा दोहोरी क्षेत्रमा मौलिक गीतलाई प्राथमिकता राखेर नृत्य तथा अभिनय गर्ने नृत्यकार एवम् मोडल हुन्, रिना थापा मगर । नेपाल टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘प्रतिभाको आँगन’ मा दशकअघि की विजेता हुन् उनी ।

पाँचखाल– १३, काभ्रेमा जन्मिएकी रिनाले कक्षा १० सम्मको अध्ययन गाउँमै पूरा गरिन् । त्यसपछि उनले राजधानीस्थित पशुपति कलेजमा कक्षा ११ र १२ सम्मको अध्ययन पूरा गरिन् । अनि नृत्य विषय नै अध्ययन गरेर उनले पद्ममकन्या क्याम्पसबाट स्नातक गरिन् ।

तस्बिर सौजन्य: रिना थापा मगर र उनको संजाल

रिनाले प्रायः मौलिक सयौं गीतमा नृत्य–अभिनय गरिसकेकी छन् । उनलाई प्रायः अफर नै मौलिक गीतहरूमा नै आउने गरेका छन् । यतिबेला उनको नृत्य–अभिनय समेटिएका ‘चुल्ठी हल्लाउँदै, मौलिक कौराह गीत लाफा ज्यु, बन्दीपुरैमा, ढुङ्गे धाराको, गाउँमा हल्ला चल्यो’ लगायतका गीतिभिडियो सार्वजनिक भएका छन् ।

हालसम्म रिनाले अभिनय गरेका दुई हजार तीन सय वटा म्युजिक भिडियो रिलिज भइसकेका छन् । उनका धेरै भिडियोहरूले त रिनालाई अवार्ड नै दिलाइसकेका छन् । उनले सातौं म्युजिक खबर अवार्ड, एपिक अवार्ड, नाट्यश्वर म्युजिक अवार्ड, नेपाली आर्ट–कल्चर एण्ड म्युजिक अवार्ड, राष्ट्रिय लोकदोहोरी अवार्डलगायत हात पारिसकेकी छन् । रिना तनहुँ गट ट्यालेन्ट, सल्यान डान्स आइडल, स्याङ्जा नृत्य प्रतियोगी र पोखराव्यापी स्कुल नृत्य प्रतियोगीताकी निर्णायक समेत हुन् । उनी आधा दर्जनभन्दा बढी नृत्य प्रतियोगितामा निर्णायक बनिसकेकी छन् । रिना भिडियोका साथसाथै देश तथा विदेशमा हुने मेला–महोत्सवमा समेत व्यस्त रहने गरेकी छन् ।

‘प्रतिभाको आँगन’ बाट चढेको खुट्किलो

हरेक प्रतिभाहरू प्रष्फुटित हुनका लागि केही न केही माध्यमको जरुरत पर्छ । रिनाका निम्ति भने दशकअघि नेपाल टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘प्रतिभाको आँगन’ नै यस्तो प्लेटफर्म बन्न पुग्यो ।

तस्बिर सौजन्य: रिना थापा मगर र उनको संजाल

नाच्ने सोख सानै उमेरदेखि सँगालेकी रिना उक्त रियालिटी शोको विजेता बनिन् । त्यस नृत्य प्रतियोगितामा एक लाख एघार हजार एक सय एघार रुपियाँ जित्न उनी सफल भइन् । लाखौं दर्शकको मन जितेर ‘प्रतिभाको आँगन’ विजेता बनेकी रिनाको करिअर त्यहींबाट सुरु भयो ।

रियालिटी शोको विजेता बनेपछि उनी स्टेज कार्यक्रमहरूमा निकै व्यस्त हुन थालिन् । विभिन्न ठाउँमा हुने मेला–महोत्सवहरूमा नृत्यका लागि निरन्तर अफर आउन थाले । त्यसपछि गीत र भिडियोमा पनि अफर आउन थाले ।

‘प्रतिभाको आगँनमा विजेता बनेपछि विभन्न स्टेज कार्यक्रमहरूमा अफर आउन थाले । यही सिलसिलामा नृत्य निर्देशक शङ्कर बीसी दाइसँग भेट भयो,’ रिनाले सुनाइन्– ‘उहाँसँग भेट भएपछि तीजको गीत छमछमी बजाइदेऊ ताली’ मा भिडियो खेल्ने अवसर पाएँ र मेरो पहिलो म्युजिक भिडियो नै यही हो; त्यसपछि त भिडियोहरूमा मैले लगातार काम पाएँ ।’

‘छमछमी बजाइदेऊ ताली’ मा नाच्नुअघि नै उनले एउटा भिडियोमा काम गरिसकेकी थिइन् । तर, त्यो गीत समयमै रिलिज भएन । त्यसअघि आफूलाई गीतिभिडियोमा देखाउन नपाएकी रिनाले यही तीजीगीतको भिडियो आफ्नो पहिलो भिडियो मान्ने गरेकी छन् ।

आफू टिभीमा आएको बा–आमालाई देखाउने रहर

तस्बिर सौजन्य: रिना थापा मगर र उनको संजाल

भनिरहनै परेन, नृत्य गर्न रिनालाई औधी मन पर्छ । नाचेर नै केही गर्छु भन्ने अठोट सानैदेखि सँगालेकी उनलाई आफू टेलिभिजनको पर्दामा देखिएको बा–आमालाई देखाउन मन थियो । ‘मैले थाहा पाउँदादेखि नै मेरा बुबा–आमा एकदमै राम्रो नाच्नुहुन्थ्यो र अहिले पनि उत्तिकै राम्रो नाच्नुहुन्छ,’ रिना भन्छिन्– ‘म सानी छँदा घरमा हुने विभिन्न कार्यक्रममा बुबा नाच्नुहुन्थ्यो । बुबा नाचेको देखिपछि म पनि उहाँसँगसँगै नाच्थें । मेरी आमालाई मैले टिभीमा नाचेको हेर्ने रहर थियो । आमाको त्यही रहर पूरा गर्नका लागि नै मैले डान्स कम्पिटिसनमा भाग लिएकी हुँ ।’

टेलिभिजनबाट आउने डान्स कम्पिटिसनमा रिनाले नाचेको देखेपछि घरपरिवार र छरछिमेकमा रौनक नै छाएको थियो । यो कम्पिटिसनमा भाग लिएपछि भने अब मैले डान्समै केही गर्न सक्छु भन्ने आत्मविश्वास उनमा पलायो । त्यसै शोमा भाग लिएपछि नाच भनेको यस्तो हुनुपर्ने रहेछ र मैले पनि गर्न सक्ने रहेछु भन्ने अनुभव भयो उनलाई ।

‘प्रतिभाको आँगन’ मा नाच्दै गर्दा उनले स्कुलहरूमा समेत नृत्य सिकाइरहेकी थिइन् । आफूसँगसँगै उनले विद्यार्थीलाई समेत नृत्य सिकाइरहेकी थिइन् । आफैंले त जम्मा दुई महिना मात्र नृत्य सिकेकी हुन् उनले । ‘मैले डान्स कम्पिटिसनमा भाग लिनुभन्दा दुई महिनाअघि मात्रै कक्षा लिएकी हुँ’, उनले सुनाइन्– ‘त्यसपछि रियालिटी शोमै सिकाइएको हो, करिव छ महिना त्यहाँको अभ्यासका क्रममा त मैले राम्रैसँग नाच्न सिकें ।’

ऊबेलाका भिडियो अहिले कतै नपाउँदा

तस्बिर सौजन्य: रिना थापा मगर र उनको संजाल

उनलाई यतिबेला भने त्यसबखत आफू विजेता घोषित भएको भिडियो हेर्ने इच्छा छ । त्यो समयमा आफू कसरी नाचें भन्ने जिज्ञासाले उनलाई यतिबेला कुत्कुत्याइरहेको छ । ती भिडियो कतै युट्युबमा पो भेटिन्छन् कि भनेर यतिबेला खोजिरहेको उनले सुनाइन् ।

‘त्यसबेला पनि अहिले जस्तो छ्यापछ्याप्ती युट्युब च्यानलहरू भइदिएका भए त्यतिबेला आफूले नाचेको अहिले अवश्यै हेर्न पाइन्थ्यो,’ उनी भन्छिन्– ‘मैले अहिले यति धेरै खोजिरहेकी छु तर, ती भिडियो कतै पनि पाइएका छैनन् ।’

रियालिटी शोका आयोजकले उतिबेला ‘भिडियो लिन आऊ’ भनेर बोलाएको कुरा सम्झँदै रिनाले भनिन्– ‘केही वर्षअघि भक्तपुर डुबानमा पर्दा त्यहाँस्थित अफिका सबै सिडीहरू भिजेर कामै नलाग्ने भएको सुनें । धेरै नरमाइलो लाग्यो ।’

नाच्नकै लागि देश–विदेशको यात्रा

नेपालमा हुने प्रायः मेला–महोत्सवमा पुगिसकेकी छन् रिना । उनी नपुगेका र उनले ननाचेका शायदै थोरै ठाउँ र मेला–महोत्सवहरू मात्रै होलान् नेपालमा ।

उनी काठमाडौं बाहिरको स्टेज कार्यक्रमको सिलसिलामा पहिलो पटक दाङ पुगेकी थिइन् । त्यसकारण आफूले दाङलाई अलि बढी माया गर्ने गरेको उनी बताउँछिन् । नेपालका अधिकाङ्श जिल्ला घुमिसकेकी रिनाका विदेशयात्रा पनि निकै भइसकेका छन् ।

तस्बिर सौजन्य: रिना थापा मगर र उनको संजाल

कार्यक्रमकै सिलसिलामा ६ महिनाअघि उनी युके पुगेकी थिइन् । करिव तीन महिनाको बसाइमा उनले त्यहाँ ६० भन्दा बढी ठाउँमा प्रस्तुति दिइन् । त्यसबेला कामको चापका कारण आफ्नो स्वास्थ्यमा हल्का समस्या समेत देखिएको उनले सुनाइन् । महिलामा हुने समस्याका कारण केही कार्यक्रममा त सोचेअनुसार प्रस्तुति दिन समेत नसकेको उनले बताइन् ।

उनको विदेशयात्रा भने बङ्गलादेशबाट सुरु भएको हो । नृत्य प्रस्तुत गर्न नौ वर्षअघि उनी त्यहाँ पुगेकी थिइन् । त्यसपछि उनी हङकङ, मलेसिया, दुबई, कतार, जापान, कोरिया र युकेसम्म पुगिसकेकी छन् ।

फिल्मी–लोकभन्दा टिपिकलमा सोख

प्रायः चलेका फिल्मी शैलीका लोकगीतहरूभन्दा रिनालाई चाहिँ टिपिकल गीतमा नाच्न बढी मन पर्छ । फिल्मी शैलीका गीतभन्दा टिपिकल नेपाली दोहोरीमा नाच्न आफूलाई बढी सुहाउने उनको भनाइ छ । लगानीकर्ताहरूले पनि आफूलाई प्रायः मौलिक र परम्परागत नृत्यमा नै अभिनय गराउने गरेको उनी बताउँछिन् ।

भिडियो निर्देशक र लगानीकर्ताहरूले सालैज्यू, कौडा, टप्पा, डेउडालगायत ठाउँविशेषका लोकप्रिय गीतहरूमा प्रायः आफूलाई खोज्ने गरेको रिनाको बुझाइ छ । एकै दिन पाँचवटासम्म गीतको भिडियोमा नाचेको उनको अनुभव छ । बिहानदेखि साँझ परुन्जेलसम्म नाचेको नाच्यै गरेर कुनै बेला त एकै दिनमा पाँचवटा गीतको भिडियो सकेको रिनाले बताइन् ।

दुई महिनाको अन्तरालमा रिनाले ८६ वटा भिडियोमा काम गरेकी छन् । उनले अब भने नृत्यबाहेक समाजसेवाका क्षेत्रमा समेत सक्रिय हुने सोच बनाएकी छन् । आफ्नो श्रम, सिप र कमाइलाई समाजसेवामा समेत खर्चनेबारे सोचिरहेको उनी बताउँछिन् ।

(सबै तस्बिर सौजन्य: रिना थापा मगर र उनको संजाल)