कोरोनाभन्दा छिटो फैलने दादुरा भाइरस
डा. शेरबहादुर पुनकोरोनाभाइरस सङ्क्रमणले विश्वजगत्लाई नै अत्यायो । दादुरा पनि सबैलाई त्यसरी नै अत्याउने किसिमको भाइरस हो । दादुरा त झन् कोरोनाभन्दा पनि उच्च गतिमा फैलने भाइरस हो ।
केही साताअघि नेपालगञ्ज (बाँके) मा प्रकोपकै रूप लिएपछि दादुरा भाइरसले धेरैको ध्यानकृष्ट गरेको छ । यो भाइरस एक सङ्क्रमितबाट अठार जनासम्ममा सर्ने तथ्य विभिन्न अनुसन्धानहरूले देखाएको छ । त्यसैले कसैमा दादुरा देखिएमा त्यसले सहजै प्रकोपको रूप लिने गरेको देखिन्छ ।
दादुरा सङ्क्रमण भएको दसदेखि बाह्रदिनसम्ममा त्यसका लक्षणहरू देखापर्ने गर्दछन् । विशेषगरी यो सङ्क्रमणले बालबालिकामा प्रकोपको रूप बढी लिने गरेको देखिए तापनि बेलाबखतमा भने वयस्कमा पनि दादुरा देखिने गरेको छ ।
ज्वरो आउनु, आँखा रसाउनु तथा रातो देखिनु, नाकबाट पानी बग्नु, खोकी लाग्नु, गालाको भित्री भागमा दाग देखिनु आदि दादुराका मुख्य लक्षण हुन् । अनुहार र घाँटी हुँदै शरीरभरि बिमिरा फैलिएपछि दादुरा भाइरसको सङ्क्रमण भएको बुझिन्छ । यद्यपि दादुरा नै हो वा होइन भन्ने कुराचाहिँ प्रयोगशाला परीक्षणपछि मात्र यकिन गर्न सकिन्छ । रोगको पहिचान गरिएपछि मात्र सोहीअनुसार औषधोपचार गरेर निको पार्न सकिन्छ ।
दादुरा भाइरसका सङ्क्रमितले खोक्दा निकाल्ने र्यालको छिटा तथा सङ्क्रमितसँग सँगै बस्दा वा उस/उनले प्रयोग गरेका सरसामानबाट यो रोग सर्न सक्दछ । दादुरा भाइरस कुनै पनि सतह वा हावामा झन्डै दुई घन्टासम्म सक्रिय रहन सक्दछ । त्यसैले दादुरा सङ्क्रमित रहेको कोठाका अन्य व्यक्ति सहजै सङ्क्रमित हुन सक्ने जोखिम हुन्छ । आफ्नो शरीरमा बिमिरा देखिनुभन्दा चार दिनअघिदेखि बिमिरा सुकिसकेको चार दिनपछिसम्म दादुरा सङ्क्रमितले अन्य व्यक्तिलाई भाइरस सार्न सक्दछ ।
समयमा नै उपचार नपाएमा दादुराका एक हजार सङ्क्रमितमध्येका दुई बालबालिकाको मृत्यु हुने गरेको पाइन्छ । दादुराका बीसजना सङ्क्रमितमध्येका एकमा निमोनिया देखिने गरेको पाइन्छ । दादुराका कारण कडा निमोनिया, मष्तिस्क सुन्निने, पखाला लाग्ने तथा जलवियोजन हुने र कतिपय सङ्क्रमितमा आँखाको ज्योति पनि गुम्नेजस्ता जटिलताहरू निम्तन सक्दछन् ।
दादुरा निको पार्नका लागि यसविरुद्धको खोप अत्यन्तै प्रभावकारी देखिएको छ । दुई मात्रा खोप लगाएमा करिव ९७ प्रतिशत प्रभावकारी हुने गरेको देखिन्छ । सङ्क्रमण भएको ७२ घन्टाभित्र खोप वा छ दिनभित्र इम्युनोग्लोबुलिन दिन सकेमा दुदुराबाट बच्न सकिन्छ ।
यसर्थ, दादुरा सङ्क्रमणबाट बच्न र विशेषतः बालबालिकालाई बचाउन खोप लगाउनु अनिवार्य हुन्छ । दादुरा विरुद्धको खोप लगाउनका निम्ति जनचेतना फैलाउनु समाजका सबै पक्षको दायित्व हुन आउँछ । बालबालिकामा दादुरा देखिएमा सङ्क्रमितको यकिन गर्ने, दादुरा सङ्क्रमित बालबालिकालाई आइसोलेसनमा राख्ने र यथासिघ्र उपचार गर्नेजस्ता काम गर्नुपर्छ ।
डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्