प्रजनन क्षमता बढाउने अश्वगन्धा

डा. डीबी सुनुवार

अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पतिजन्य जडीबुटी हो । अश्वगन्धाको बिरुवा तीनदेखि पाँच फिट उचाइको हुन्छ । झट्ट हेर्दा आँकजस्तो देखिने अश्वगन्धाको पातलाई सेतो झुसले ढाकेको हुन्छ । यसका पात चारदेखि छ इन्चसम्मका हुन्छन् ।

अश्वगन्धा सामान्यतः कात्तिक आसपास गुच्छाका रूपमा फुल्छ । यसका चोपयुक्त जरा आधा फूटदेखि एक फिटसम्म लामा र डेढ इञ्चसम्म मोटाइका हुन्छन् । बाहिर हेर्दा खरानी रङ्गको देखिने यसका जरा भित्र भने सेतो रङ्गका हुन्छन् ।

संस्कृत शब्द ‘अश्वगन्धा’ को अर्थ ‘घोडाको गन्ध’ हुन्छ । यसको जराबाट घोडाको गन्ध आउने भएकाले नै यसको नाम अश्वगन्धा रहन गएको मानिन्छ । आयुर्वेदमा अश्वगन्धालाई नासुयुक्त औषधिका रूपमा वर्गीकरण गरिएको छ । नासुयुक्त औषधिको अर्थ समग्र जडीबुटीको सुगन्ध र शक्ति बढाउने दुवैखाले क्षमता हो ।

अश्वगन्धा नामक यस वनस्पतिको वैज्ञानिक नामचाहिँ ‘बिटानिया सोम्निफेरा’ हो । यो ‘भारतीय जिन्सेङ’ र ‘विन्टर चेरी’ का नामले समेत चिनिन्छ । अश्वगन्धा ठाउँअनुसार अरु विभिन्न नामले पनि चिनिन्छ ।

अश्वगन्धाको बोट तीनदेखि पाँच फिटसम्म अग्ला हुन्छन् । यसको जरा र पात औषधीय प्रयोगमा प्रयुक्त हुन्छन् । यद्यपि अश्वगन्धाका अन्य भाग समेत औषधीय प्रयोजनम प्रयोग नहुने भने होइनन् । यो निकै महत्वपूर्ण प्राकृतिक वनस्पतीय जडीबुटीमध्येमा पर्छ । अश्वगन्धा परम्परागत कालदेखि नै प्रयोग हुँदै आएको छ ।

अश्वगन्धाको सेवन/प्रयोगले शारीरिक तथा मानसिक रूपमा मजबुतीमा निकै मद्धत पुर्‍याउँछ । यसको प्रयोगले मानसिक आनन्द दिलाउँछ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछ । अश्वगन्धाको पात तीतो हुन्छ । ज्वरो तथा शरीर दुख्नेजस्ता समस्या समाधानका लागि यो निकै लाभदायक मानिन्छ ।

यसको सेवनले मूत्रजन्य समस्या समाधान गर्न समेत मद्धत पुर्‍याउँछ । प्रजनन् तथा यौनजन्य समस्या समाधानका लागि समेत अश्वगन्धा निकै उपयोगी मानिन्छ । यसले पुरुषमा शुक्रकीटको सङ्ख्या बढाउन महत्वपूर्ण भूमिका खेल्दछ । टेस्टोस्टेरोन बढाउन र प्रजनन क्षमता बढाउन मद्धत गर्छ । अश्वगन्धाको सेवनले कामोत्तेजना बढाउन सघाउँछ । यो पुरुषका लागि मात्र नभई महिलाको प्रजनन क्षमता बढाउन पनि त्यत्तिकै लाभदायक हुन्छ । यसले स्त्री प्रजनन अङ्गमा हुने सुख्खापन हटाएर चिल्लोपन कायम गर्न सहयोगी भूमिका निभाउँछ । अश्वगन्धाको सेवनले यौनजन्य हर्मन सन्तुलित कायम राख्न मद्धत पुर्‍याउँछ ।

बाथ, नसासम्बन्धी समस्या, शारीरिक कमजोरी आदिको समाधानमा पनि अश्वगन्धाले निकै ठूलो सहयोग पुर्‍याउँछ । गर्भाशय र गुप्ताङ्ग सुन्निने, स्त्री गुप्ताङ्गबाट सेतो पानी बग्नेजस्ता समस्या समाधानका लागि पनि अश्वगन्धा निकै नै लाभदायी हुन्छ । गर्भधारणका निम्ति समेत यसले राम्रो लाभ पुर्‍याउँछ । यसको नियमित यसको सेवन गरेमा बाँझोपनको जोखिमबाट बच्न सकिन्छ ।

अश्वगन्धाको प्रयोगले शरीरमा आउने सेतो दाग हटाउन मद्धत मिल्छ । यसको सेवनले मानसिक तनाव कम गर्न सघाउ पुर्‍याउनुका साथै डर–चिन्ता हटाउन पनि मद्धत पुग्दछ । यसले स्मरणशक्ति बढाउन पनि सहयोग पुर्‍याउँछ ।

अश्वगन्धाको जरालाई शक्तिबर्द्धक, कामोत्तेजक, नार्कोटिक, मूत्रबद्र्धक, एन्थेल्मिन्टिक, एस्ट्रिन्जेन्ट, थर्मोजेनिक र उत्तेजक प्राकृतिक जडीबुटी मानिन्छ । अश्वगन्धामा सोम्निफेरा अल्काल्वाइडहरू (आइसोपेलेटियरिन, एनाफेरिन, क्युसोहाइग्रिन, एनाहाइग्रिन, कुस्कोहाइग्रिन, ट्रपिन, सिउडोट्रपिन इत्यादि) जस्ता लाभदायक तत्व पाइन्छन् । यसमा पाइने स्टेरोइडल ल्याक्टन्स ( बिथ्नोलाइड्स, बिदाफेरिन्स, सेपोनिन्स इत्यादि) जस्ता सक्रिय जैविक तत्वले शरीरमा भएको हर्मनलाई सन्तुलित राख्न मद्धत पुर्‍याउँछन् ।

खाना नरुच्ने तथा भोक नलाग्ने समस्या समाधानका लागि पनि अश्वगन्धा निकै लाभदायक हुन्छ । स्वास–प्रश्वाससम्बन्धी रोगहरू, उच्च रक्तचाप, रक्तविकारजस्ता समस्या समाधानका लागि अश्वगन्धाको जराको चूर्ण सेवन निकै लाभदायक हुन्छ ।

अश्वगन्धाको पातलाई चियाका रूपमा सेवन गर्न सकिन्छ । यो बालबालिकाका लागि समेत प्रयोग गर्न मिल्छ । अश्वगन्धाको धुलो दूधमा मिसाएर बालबालिकालाई खुवाउँदा शारीरिक दुर्बलता हटाउन र मानसिक वृद्धि–विकासमा राम्रो मद्धत मिल्दछ । यसले अधिक निद्रा भगाउन पनि भूमिका खेल्छ । शरीरका कुनै अङ्ग वा पूरै शरीर दुखेको ठाउँमा अश्वगन्धाको मलम लगाउँदा धेरै हदसम्म सञ्चो हुन्छ । छालामा देखिएका घाउ–खटिरा तथा पिम्पल्स हटाउनका लागि पनि यो त्यत्तिकै लाभदायक हुन्छ । कब्जियत, पाइल्स, फिसर, फिस्टुलाजस्ता समस्या समाधानका लागि समेत अश्वगन्धा निकै लाभदायक मानिन्छ ।

विभिन्न किसिमका प्रतिस्पर्धात्मक खेल खेल्नेहरूका लागि शक्ति बढाउन पनि अश्वगन्धाले निकै मद्धत पुर्‍याउँछ । यसले रक्तशुद्धीकरण पनि राम्रै सहयोग पुर्‍याउँछ । मस्तिस्कको सक्रियतामा पनि अश्वगन्धाले राम्रो सहयोग पुर्‍याउँछ ।

अश्वगन्धा सेवन गर्ने विभिन्न तरिका छन् । यसलाई दूधमा फिटेर, महमा फिटेर र मनतातो पानीमा फिटेर सेवन गर्न सकिन्छ । अरु विभिन्न जडीबुटीजस्तै अश्वगन्धालाई पनि औषधीय रूपमा प्रयोग गर्दा भने प्राकृतिक चिकित्सक, सम्बन्धित डाक्टर वा विशेषज्ञको परामर्श लिनुपर्छ ।