होलिस्टिक हेल्थ: केन्द्र एक, उपचार सबै
होलिस्टिक टिमजनसङ्ख्याको क्रमिक वृद्धि, खानपान र जीवनशैलीमा आएको व्यापक परिवर्तन तथा मानिसको जीवनचर्यामा आएको गुणात्मक परिवर्तनको वर्तमान अवस्थामा शारीरिक एवम् मानसिक स्वास्थ्य चुस्त–दुरुस्त राख्नु निकै ठूलो चुनौतीको विषय बनेको छ । यस सिलसिलामा आधुनिक तथा परम्परागत विभिन्न किसिमका स्वास्थ्य सेवा, उपचार पद्धति र स्वाथ्योपचार प्रविधि प्रयोग भइरहेका छन् । यीमध्येको एक हो– होलिस्टिक उपचार पद्धति । र, होलिस्टिक उपचार पद्धतिको संस्थागत अभ्यासमा क्रियाशील एउटा संस्था हो– होलिस्टिक हेल्थ । होलिस्टिक हेल्थको अवधारणा अर्थात् होलिस्टिक अभियानको विकास किन र केका लागि भन्ने कुरामा स्पष्टताका निम्ति निम्न तथ्यहरूमाथि ध्यान दिनु वाञ्छनीय छ:
मूलतः पश्चिमा मुलुकहरूमा परम्परागत उपचार विधिका रूपमा ‘होमियोपेथी’ र ‘नेचुरोपेथी’ पद्धति प्रचलित थिए । एसियन मुलुकहरूले भने ‘आयुर्वेद’ र परम्परागत ‘चिनियाँ’ उपचार पद्धति (टीसीएम) अपनाउँदै आएका थिए । अफ्रिकन तथा मध्यपूर्वी मुलुकहरूले चाहिँ ‘युनानी’ जस्तो परम्परागत उपचार पद्धति अपनाइरहेका थिए । यसरी विभिन्न देशहरूले आफ्नो मुलुकको भूगोल तथा वातावरण एवम् सामाजिक–सांस्कृतिक परिवेशअनुसार आ–आफ्नै किसिमका उपचार पद्धतिको अभ्यास गरिरहेका थिए ।
अहिले जस्तो पर्याप्त खोज–अनुसन्धान नभएको अवस्थामा पाको उमेरका एवम् धेरथोर ज्ञान बटुलेका व्यक्तिले अभ्यास एवम् विकास गर्ने उपचारविधिमा भर पर्नु र त्यसैलाई अनुसरण गर्नुको विकल्प नै थिएन । यातायात तथा सञ्चार प्रविधिको विकास नभएको त्यो समयमा स्थानीयस्तरमै जे–जस्ता स्रोत–साधन, विधि–पद्धति र सुविधा उपलब्ध छन्, सोही अनुसारको उपचार पद्धति अपनाउनुको विकल्प थिएन ।
तर, सत्य यो थियो कि मानव स्वास्थ्य समस्या आइपर्दा परम्परागत उपचार विधि–पद्धतिले आवश्यकताअनुसार सम्पूर्ण उपचार सेवा दिन भने सम्भव भइरहेको थिएन । परम्परागतरूपमा अपनाइएका उपचार पद्धतिकै भरमा मात्र त जटिल किसिमका रोगको उपचार सम्भव नै थिएन । जटिल किसिमका रोग लागेको खण्डमा उपचारको अभावकै कारण मानिसको ज्यान जाने अवस्था थियो ।
तर, बिस्तारै विभिन्न चिकित्सकीय खोज–अनुसन्धन हुँदै गए । अनेकौं उपचारविधि र पद्धतिको विकास हुँदै गए । यसै सिलसिलामा धेरैजसो ‘असाध्य’ भनिएका रोगहरूको समेत उपचार सम्भव हुँदै गयो । फलतः आजसम्म आइपुग्दा उपचार नैै नपाएर मानिसको मृत्यु हुने अवस्थामा निकै नै कमी आइसकेको छ ।
त्यसो त कतिपय एसियाली मुलुकका कयौं राष्ट्रमा अहिले पनि परम्परागत उपचार पद्धतिमा मात्रै विश्वास गर्ने र आधुनिक चिकित्सा विज्ञानलाई नै अस्वीकार गर्नेसम्मको अवस्था समेत विद्यमान रहेको कुरा खोज–अनुसन्धानहरूले देखाएका छन् । स्पष्टै छ, यो राम्रो/सकारात्मक कुरा होइन । परम्परावादी÷परम्परागत अवधारणाको उपचार पद्धतिमै मात्र भर पर्नाले मानिसको अकालमै ज्यान जाने गरेको तीतो यथार्थ सबैका सामु छँदै छ । उपचारका अनेकौं विधि–पद्धतिको विकल्प उपलब्ध हुँदाहुँदै स्वास्थ्योपचारको अवसरबाट वञ्चित भएर आधुनिक समयमा समेत मानिस मृत्युको मुखसम्म पुग्न बाध्य हुनुमा राष्ट्रका नीति एवम् नीति निर्माता नै जिम्मेवार छन् । अर्कातिर, एकै थलोमा स्वास्थ्योपचारका सबै विकल्प उपलब्ध नभएकाले उपचार/सुविधाबाट वञ्चित हुनुपरेको अर्को विडम्बना पनि आफ्नै ठाउँमा छँदैछ ।
यी र यस्तै आवश्यकता एवम् परिवेशका कारण एकै थलोमा सम्पूर्ण सेवा/उपचार दिने नयाँ उपचार विधि/पद्धतिको अपरिहार्यता भयो । परिणामतः ‘होलिस्टिक अवधारणा’ जन्म्यो, हुक्र्यो र प्रभावकारी बन्दै गयो ।
विशेषतः अमेरिकी एवम् युरोपेली मुलुकहरूबाट होलिस्टिक अवधारणाको प्रारम्भ भई तिनै मुलुकहरूबाट व्यावहारिक अभ्यास गर्ने क्रम विकसित भएको पाइन्छ । उपचारका विविध विकल्प खोज्ने, अभ्यास गर्ने र रोज्ने क्रममा पश्चिमा मुलुकहरूले आधुनिक चिकित्सकीय विधि–पद्धतिमा फड्को मारे । र, आधुनिक चिकित्सा विधि–पद्धतिको विकाससँगसँगै उनीहरूले होलिस्टिक उपचार विधि–पद्धतिलाई समेत प्रभावकारी रूपमा अपनाउँदै आए ।
पछिल्लो समय होलिस्टिक अवधारणा उपचार पद्धतिमा मात्र नभई दैनिक जीवनशैलीमा समेत अपनाउने प्रचलन बढिरहेको छ । होलिस्टिक अवधारणाले नेपालमा समेत राम्रो स्थान पाउन थालिसकेको छ ।
पाँच विधामा होलिस्टिक
होलिस्टिक अवधारणाले मूलतः त्रि–फला, एलोपेथीमा जीवाणु तथा विषाणु, होमियोपेथी शक्ति, प्रकृतिक/नेचुरोपेथी र चिनियाँ टीसीएमजस्ता उपचार विधि समेटेको हुन्छ । यी उपचार विधिको अस्तित्व तथा प्रभावकारितालाई स्वीकार गरेर नै आवश्यकताअनुरूपको प्रभावकारितामा जोड दिनु होलिस्टिक अवधारणाको विशेषता हो ।
त्रि–दोष र त्रि–फला
मानिसको स्वास्थ्यमा समस्या पैदा हुने अर्थात् मान्छे बिरामी हुने सामान्यतः तीन कारण हुन्छन् । स्वास्थ्य समस्या सिर्जना गर्ने यिनै तीन कारणलाई ‘त्रि–दोष’ भनिन्छ ।
आयुर्वेदिक उपचार पद्धतिको मुख्य अवधारणा भनेकै ‘त्रि–दोष’ र ‘त्रि–फला’ हुन् । त्रि–दोषअन्तर्गत ‘कफ, बाथ र पित्त’ पर्दछन् । ‘कफ’ भनेको स्वास–प्रश्वाससम्बधी समस्या हो; ‘बाथ’ भनेको हाडजोर्नी तथा नसासँग सम्बन्धित समस्या हो र ‘पित्त’ भनेको पाचन प्रक्रियासँग सम्बन्धित समस्या हो ।
त्रि–फलाको अर्थ ‘हर्रो, बर्रो र अमला’ हो । यी तीन वनस्पतिलाई आवश्यकताअनुसार बेग्लाबेग्लै वा एकापसमा मिश्रण गरेर औषधीय हिसाबले प्रयोग गर्ने प्रक्रिया नै ‘त्रि–फला’ हो ।
कुनै पनि स्वास्थ्य समस्या नभएका अर्थात् स्वस्थ–तन्दुरुस्त व्यक्तिले समेत त्रि–फलाको सेवन गर्दा शारीरिक एवम् मानसिकरूपमा स्वस्थ, सबल र हृष्टपुष्ट रहन मद्धत मिल्छ । आयुर्वेदिक उपचार पद्धतिको आधारभूत सिद्धान्त नै यही हो ।
एलोपेथीमा जीवाणु तथा विषाणु
एलोपेथिक चिकित्सा विधिको अवधारणाअनुसार जीवाणु तथा विषाणु (ब्याक्टेरिया र भाइरस) को सङ्क्रमणका कारण नै मानव शरीरमा रोग लाग्छ । जीवाणु तथा विषाणुले शरीरमा आक्रमण गरेको खण्डमा उत्पन्न हुने रोगविरुद्ध जीवाणु तथा विषाणुअनुसारकै औषधि प्रयोग गरेर उपचार गर्ने विधि नै एलोपेथिक उपचार विधि हो ।
यो विधिमा शरीरमा देखापर्ने स्वास्थ्य समस्याको लक्षणअनुसारकै औषधोपचार गरिन्छ । जुन किसिमको जीवाणु तथा विषाणुका कारण शरीरमा रोग लागेको छ, त्यही जीवाणु तथा विषाणुविरुद्धको ‘एन्टिबायोटिक’ तथा ‘एन्टिभाइरल’ औषधिहरू प्रयोग गरेर उपचार गर्नु एलोपेथिक पद्धतिको आधारभूत सिद्धान्त हो । विभिन्न किसिमका इन्फुलुएन्जा, भाइरसजस्ता समस्याको उपचारमा एलोपेथिक पद्धति प्रभावकारी देखिँदै आएको छ ।
बिफर, मलेरिया, कालाजार, कलेरा (हैजा) जस्ता भाइरसजन्य महामारी फैलिएको अवस्थामा सम्बन्धित भाइरसविरुद्ध तयार पारिएका खोप (भ्याक्सिन) प्रयोग गरेर भाइरसलाई निष्कृय बनाएपछि त्यस्ता रोगको उपचार हुन्छ । विभिन्न सरुवा रोगजन्य महामारीको प्रकोपविरुद्ध खोपको प्रयोग हुँदै आएको देखिन्छ । सरुवा रोगको महामारीका बेला एलोपेथिक उपचार विधिका औषधिहरूको जथाभावी प्रयोग गरेर नकारात्मक नतिजा निकाल्ने खतरा पनि देखिँदै आएको छ । यो अवस्थामा मानव शरीर ‘औषधिको प्रयोगशाला’ बन्ने जोखिम हुन्छ ।
होमियोपेथी शक्ति
होमियोपेथिक उपचार पद्धतिको मुख्य अवधारणा भनेकै शक्तिसञ्चय वा सशक्तीकरणमा जोड दिनु हो । यो विधिमा रोग लाग्नुको कारण पत्ता लगाई त्यसैबाट तयार पारिएको औषधिद्वारा उपचार गरिन्छ ।
उदाहरणका निम्ति भन्नुपर्दा सर्पले टोकेको व्यक्तिलाई उपचार गर्न सर्पकै विषबाट तयार पारिएको ‘भेनम’ नामक औषधिको प्रयोग गरिन्छ । दादुरा, रुबेला, हात्तीपाइलेजस्ता रोगविरुद्ध लगाइने खोप होमियोपेथिक उपचार पद्धतिका उदाहरण हुन् ।
नेचुरोपेथी: प्रकृतिको उपहार
नेचुरोपेथिक उपचार विधिको अवधारणा भने प्रकृतिसँग नजिक छ । नेचुरोपेथिक विधिअनुसार क्रियाशील–प्रक्रियाअन्तर्गत प्राकृतिक किसिमले उपचार प्रक्रिया अपनाइन्छ ।
शरीरका विभिन्न प्रणाली स्वचालितरूपमा चलायमान हुन्छन्, चलिरहन्छन् । शारीरिक तथा मानसिकरूपले स्वस्थ्य रहनका लागि शारीरिक प्रणाली क्रियाशीलरूपमा चलायमान हुनु आवश्यक हुन्छ । शारीरिक तथा मानसिक प्रणाली जैविक चक्र (बायोलोजिकल क्लक) अनुसार निरन्तर चलायमान हुन्छन् । स्वचालितरूपमा चलायमान हुने यो जैविक चक्रमा अवरोध आएको खण्डमा अस्वस्थता निम्तन्छ । यही जैविक चक्रमा यसरी अवरोध आउनुलाई नै स्वास्थ्य समस्याका रूपमा बुझिन्छ ।
सारतः प्राकृतिरूपमा उपलब्ध स्रोत–साधनबाट उपचार गर्ने मात्र नभई जीवनपद्धति अर्थात् जीवनशैली चलायमान राख्ने कुरामा ध्यान दिनु नै यो पद्धतिको आधारभूत पक्ष हो । नेचुरोपेथिक उपचार पद्धतिअनुसार प्राकृतिक रूपमै उपलब्ध हुने प्राकृतिक तङ्खवका माध्यमबाट उपचार गरिन्छ; यस्ता तङ्खव प्रायः सित्तैंमा (निःशुल्क) पाइन्छन् ।
यिनै प्राकृतिक तङ्खवलाई व्यावसायिकीकरण गर्दा आजकल प्रकृतिप्रदत्त कयौं वस्तु किन्नुपर्ने अवस्था निम्तिएको छ । प्रकृतिप्रदत्त यस्ता वस्तु तथा सेवालाई आजकल विभिन्न आधुनिक विधि–प्रविधि अपनाएर सञ्चित गरी उपचारात्मक विधिमा प्रयोग गरिन्छ । अक्सिजनको सञ्चिति, बिक्री–वितरण र प्रयोगलाई यसैको उदाहरणका रूपमा लिन सकिन्छ ।
चिनियाँ टीसीएम
परम्परागत चिनियाँ चिकित्सा पद्धति (टीसीएम) संसारकै प्राचीनतम चिकित्सा विधामध्येको एउटा विधि हो । विशेषतः चीनमा आज पनि यो विधिको अत्यधिक प्रयोग भइरहेको छ । तर, चीनमा मात्र नभई अन्यत्र समेत यसको धेरथोर प्रयोग भइरहेकै छ ।
टीसीएम विधिलाई आजकल पश्चिमा मुलुकहरूले समेत थप वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानका साथ प्रयोग गर्ने क्रम बढ्न थालेको पाइन्छ । अक्कुपञ्चर, चिगोङ, कपिङ, मोक्क्षिविसन, मसाज इत्यादि चिनियाँ परम्परागत विधिहरूकै उपज हुन् ।
टीसीएम विधिलाई आधुनिक चिकित्सा विधाले समेत स्वीकार गरेको छ । विश्वभर नै टीसीएम विधिको प्रयोग बढ्दो क्रममा छ ।