मानसिक स्वास्थ्य: कार्यस्थलको प्रतिबिम्बन
गोपाल ढकालप्रायः हामी सबैले दैनिक आठ–दस घन्टा अर्थात् जीवनको सवैभन्दा ठूलो हिस्सा कृषि, उद्योग, वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, प्रहरी–प्रशासन, अरु कुनै सुरक्षा निकाय, कलकारखाना, सरकारी तथा गैरसरकारी सङ्घ–संस्था आदिजस्ता कार्यस्थलमा काम गरेर नै बिताउँदछौं । कार्यस्थलको वातावरणले त्यहाँ काम गर्नेहरूको शारीरिक एवम् मानसिक स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । प्रायः नकारात्मक असर नै पारिरहेको हुन्छ । तर, यस विषयमा खासै ध्यान दिने गरिएको पाइँदैन ।
हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यप्रतिको बुझाइ, धारणा र सोच सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्य समस्यालाई ‘कलङ्क’ का रूपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न तथा उपचारको खोजी गर्न डराउने र अप्ठ्यारो मान्ने गरिएको छ । आफ्नो मानसिक स्वास्थ्य समस्या कसैलाई सुनाउँदा सहयोग पाउनुको सट्टा साथीभाइ र सहकर्मीबाट अपमानित हुनु परेका र कामबाटै हात धुनु परेका उदाहरण पनि प्रसस्तै भेटिन्छन् ।
कामदार, कर्मचारी र मजदुरको मानसिक स्वास्थ्य सबल नहुँदा उनीहरूको काम गर्ने जाँगर र क्षमतामा कमी आउँछ । यस्तो अवस्थामा काम गर्न जाँगर नचल्ने, बिदामा मात्र बस्न खोज्ने वा जागिर छाड्ने, अनुपस्थित रहने, दुर्घटनामा पर्ने, जाँड–रक्सीको कुलतमा फस्ने, रिसाउने, झगडालु हुने, सेवाग्राहीसँग राम्रो व्यवहार नगर्ने र झकर्नेजस्ता लक्षणहरू देखापर्ने गर्दछन् । हाम्रो समाजमा कामलाई समेत उतिसाह्रो सम्मान गर्ने गरेको पाइँदैन । कसैले गर्ने काम र उस/उनको पद या ओहोदाका आधारमा व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक–फरक रहँदै आएको छ । कामकै आधारमा ‘सानो जात’ वा ‘ठूलो जात’ भनेर समेत वर्गीकरण गरिँदै आएको अवस्था छ । लुगा सिलाउने, जुत्ता सिउने, फलाम/धातुको काम गर्ने आदिजस्ता व्यक्तिहरूलाई ‘अछुत’ भनिन्छ/ठानिन्छ र सोहीअनुरूपको व्यवहार समेत गरिन्छ । यस्तो व्यवहारले स्वभावतः त्यस्ता काम गर्नेहरूको आत्मसम्मानमा चोट पुग्छ; तनाव र कामप्रतिको निराशा बढाउँछ; मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दछ ।
कार्यस्थलमा निम्तने मानसिक समस्या
विश्व मानिसक स्वास्थ्य सङ्घका अनुसार कलकारखाना तथा विभिन्न कार्यालयहरूमा काम गर्ने पाँच जनामध्येका एकलाई कुनै न कुनै मानसिक समस्या हुने गरेको छ । रोजगारीमा रहेका धेरैमा हुने मानसिक स्वास्थ्य समस्या भनेको तनाव, एन्जाइटी र उदासिनता नै हो । यद्यपि कामदारमा देखिने गरेको मानसिक समस्याको उपचार भने पचास प्रतिशत मात्र हुने गरेको विभिन्न तथ्याङ्कहरूले देखाउँछन् ।
कार्यस्थलको वातावरणका कारण तनाव बढ्नु र मानसिक स्वास्थ्य समस्या देखा पर्नुका पछाडि धेरै कारक तत्वहरू रहेका हुन सक्दछन् । कार्यस्थलमा हुने बुलिङ र ह्यारेसमेन्ट, हाकिम तथा व्यवस्थापकले गर्ने व्यवहार, कामको प्रकृति, एउटै कामका ज्याला÷पारिश्रमिकमा महिला–पुरुषबीच हुने असमानता, कार्यसम्पादनको भार, महिला कर्मचारीप्रति गरिने यौनशोषण वा यौनजन्य हिंसा, आर्थिक शोषण, सेवा–सुविधामा कमी, उत्प्रेरणायुक्त व्यवहारको अभाव, नयाँ–नयाँ प्रविधिको अभाव या असामन्जस्यता, प्राप्त तलबबाट आफ्ना आधारभूत आवश्यकता पूरा नहुने अवस्था, आराम र मनोरञ्जनको अभाव, अनुभव र सिपको कमी, रोजगारी अवधि सुनिश्चितताको अभाव, रुचिभन्दा फरक काम गर्न बाध्य हुनुपर्ने अवस्था, व्यक्तित्व विकासको अवसरको अभाव, पर्याप्त बिदाको अभाव, क्षमताभन्दा बढी र कठिन काम गर्नुपर्ने बाध्यता, कार्यस्थल सफा–स्वस्थ नभई धुवाँ–धुलो र कोलाहालपूर्ण हुने स्थिति, ‘ठूलो’ र ‘सानो’ पदका आधारमा गरिने भेदभाव, प्रमोसनको अभाव, चाकडी–चाप्लुसी तथा दलाली प्रथा, नातावाद–कृपावाद आदिजस्ता कारणले कार्यस्थलमा मानसिक स्वास्थ्यलाई असर पुर्याउने काम हुन सक्दछ ।
नेपालको परिप्रेक्षमा पनि कार्यस्थलमा हुने यस्ता बाधा, अवरोध र कठिनाइका कारण धेरैको मानसिक स्वास्थ्यमा असर र प्रतिकूल प्रभाव पर्न गएको यत्रतत्र देखिन्छ । अझ हामीकहाँ त भनाइ नै छ– ‘सरकारी काम, कहिले जाला घाम !’ प्रायः सरकारी कर्मचारीहरूमा काम गर्ने जोस–जाँगर र उत्प्रेरणाको निकै कमी भएको यो भनाइले देखाउँछ । सरकारी कर्मचारीले तुरुन्त भइहाल्ने काम समेत नगरिदिएको, सेवाग्राहीहरूसँग राम्ररी नबोलेको, रुखो व्यवहार गरेको, पैसा खान खोजेको आदिजस्ता आरोप बारम्बार र यत्रतत्र सुनिने गरेका छन् । हामीमध्येका धेरैले सँगालेको तितो अनुभव पनि हो यो ।
ठूला भनिएका मिडिया हाउसहरूले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम परिश्रमिक पनि नदिएको, अस्पताल/स्वास्थ्य संस्थाहरूले नर्सहरूलाई पारिश्रमिक नदिई काममा लगाएको, सलाम नहानेको निहुँमा हाकिमहरूले सिपाहीहरूमाथि निर्घात कुटपिट गरेको, हाकिमहरूले सिपाहीहरूलाई जुत्ताको तुना बाँध्न र बुट पालिस गर्न लगाएको, घरेलु बालश्रमिक तथा घरेलु महिला कामदरमाथि यौन तथा शारीरिक हिंसा हुने गरेको, कार्यालय/कार्यस्थलभित्रै यौन शोषणका घटना हुने गरेको, जागिर लगाइदिन्छु भन्दै यौनशोषण गरेको आदिजस्ता समाचार बारम्बार पढ्न–सुन्न बाध्य भइने गरेको छ । यी खबरहरूले कार्यस्थलहरूमा हुने मानसिक समस्याहरूको सहज अनुभूति दिलाउँछन् ।
वैदेशिक रोजगारी: अवस्था झन् विकराल
वैदेशिक रोजगारीमा गएका नेपालीहरू मानसिक समस्याबाट झनै बढी प्रभावित हुने गरेको पाइएको छ । कामको जटिल र कठिन प्रकृति, साहुको दुव्र्यवहार, मानसिक टर्चर, शारीरिक एवम् यौनशोषण, कार्यस्थलको खराब वातावरण आदिजस्ता कारणबाट मानसिक समस्यामा पर्ने, आत्महत्या गर्ने, दुर्घटनामा पर्ने, गएको छोटो समयमै नेपाल फर्कन बाध्य हुने आदिजस्ता घटनाहरू बारम्बार देखिने/सुनिने गरेका छन् । वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका महिलामा गरिएको एक अध्ययनअनुसार झन्डै ६८ प्रतिशत महिलाहरूमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ ।
कर्मचारी, कामदार वा मजदुरहरूको मानसिक स्वास्थ्य स्थिति स्वस्थ, सबल र मजबुत भए मात्र उनिहरूले राम्रोसँग काम गर्न सक्छन् । यसो हुन सक्दा उत्पादकत्व र मुनाफामा समेत वृद्धि हुन्छ । कर्मचारी, कामदार वा मजदुर मानसिक रूपमा स्वस्थ नहुँदा उनीहरूको कार्यक्षमतामा कमी आउँछ । यसो हुँदा एकातिर उत्पादन लागत बढ्न जान्छ भने अर्कातिर उत्पादकत्व र मुनाफा समेत घट्छ ।
डिप्रेसन, तनावलगायतका मानसिक समस्याका कारण मजदुर, कर्मचारीको कार्यक्षमतामा कमी आई प्रत्येक वर्ष एक ट्रिलियन डलर बराबरको उत्पादकत्व ह्रास आउने गरेको एक अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्यका निम्ति एक डलर बराबरको लगानीले चार डलर बराबरको प्रतिफल दिन सक्ने तथ्य समेत अर्को एक अध्ययनले देखाएको छ । यसर्थ, मानसिक स्वास्थ्यको सुरक्षामा लगानी गर्नु, आफ्ना कर्मचारी–कामदारको मानसिक स्वास्थ्य अवस्थामा ख्याल पुर्याउनु र कसैमा कुनै मानसिक स्वास्थ्य समस्या देखिए बेलैमा उपचारको पहल गर्नु तथा उपचारको खोजी गर्न उत्प्रेरित गर्नु अनि मानसिक स्वस्थतालाई सबैको चासो र सरोकारको विषय बनाउनु अत्यावश्यक छ ।
जिम्मेवारी र समाधान
मजदुर–कर्मचारीहरू खुसी, सन्टुष्ट र मानसिक रूपले स्वस्थ भए मात्र तिनले राम्रोसँग काम गर्न सक्दछन् र राम्रो परिणाम/प्रतिफल दिन सक्दछन् । कम्पनी/कार्यालयले गरेको प्रगतिका पछाडि कामदार–कर्मचारीहरूको निकै ठूलो हात हुन्छ भन्ने कुरालाई बिर्सनु हुँदैन ।
कार्यस्थलको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि व्यवस्थापक, हाकिम तथा साहु र मानसिक स्वास्थ्यकर्मी, पैरवीकर्ता एवम् कामदार स्वयम् र सरोकारवाला, समाज अनि राष्ट्र– सवै–सवैको उत्तिकै महत्वपूर्ण भूमिका र जिम्मेवारी हुन्छ । कर्मचारी–कामदार र व्यवस्थापकबीचको सम्बन्ध सुमधुर बनाएर पारिवारिक वातावरण सिर्जना गर्ने, निर्णय प्रक्रियामा कर्मचारी–मजदुरहरूलाई समेत सहभागी गराउने, सबैको काम र भूमिकालाई उत्तिकै महत्व दिने र सम्मान गर्ने, स्वास्थ्य बीमाको व्यवस्था गर्ने, बेला–बेलामा कर्मचारीहरूलाई सम्मानित एवम् पुरस्कृत गर्ने, प्रमोसन गर्ने, उनीहरूको व्यक्तित्व विकासका लागि तालिमहरू सञ्चालन गर्ने, भ्रमण तथा पिकनिकमा लैजाने, तनाव व्यवस्थापनसम्बन्धी तालिम दिने, आवश्यकता र सम्भाव्यताअनुसार सेवा–सुविधा उपलब्ध गराउन ध्यान दिने, प्रविधिको अधिकतम सदुपयोग गरेर कामको बोझ घटाउने आदिजस्ता कार्यमार्फत मजदुर–कर्मचारीको तनाव घटाउन सकिन्छ । यसो गरेर नै उनीहरूको मानसिक स्वास्थ्यको संरक्षण गर्न सकिन्छ ।
‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक लेखक मनोविद् हुन्