लयले बाल्यकालदेखि नै समातेको लय

बीएन अधिकारी

लय सङ्ग्रौला । नेपाली टेलिशृङ्खला, चलचित्र, गीत–सङ्गीत र कला–साहित्यका पारखी एवम् साधकहरूका निम्ति अपरिचित र नौलो होइन÷छैन यो नाम र व्यक्तित्व । तीन दशकभन्दा लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका अधिकाङ्श टेलिशृङ्खलाका लेखन, अभिनय र निर्देशनकर्ममा जोडिँदै आएका छन् लय सर । उनलाई झन् बढी परिचित गराएको छ, लयकै लेखन तथा निर्देशनमा बनेको ‘देवी’ शृङ्खलाले ।

दर्जनौ टेलिशृङ्खलाको लेखन तथा निर्देशन र अभिनय गरेका लयले चार दर्जनभन्दा बढी चलचित्रमा समेत अभिनय गरिसकेका छन् । आफैंले लेखन तथा निर्देशन र अभिनय समेत गर्नु उनको विशेष खुबी हो । चलचित्र तथा टेलिचलचित्र हुँदै गीतिलेखन तथा साहित्यसाधनामा समेत डुबेका सङ्ग्रौलाले नेपाल टेलिभिजनमा निकै लामो समय बिताए ।

वि.सं. २०१३ मा तेह्रथुमको आठराईमा जन्मिएका लयले बाल्यकालदेखि नै कलाकार बन्ने छाँटकाँट देखाइसकेका थिए । कलिलै उमेरदेखि लेखन तथा अभिनय एवम् गायनमा समेत रुचि देखाएका लयले थुप्रै नाटकहरूमा समेत अभिनय गरेका छन् । आठराईमै बाल्यकाल बिताएका लय वि.सं. २०२० मा झापाको बुधबारे बसाइँ सरे । तराई झरेपछि कलाकारितामा अगाडि बढ्न र साहित्यमा लाग्न उनलाई थप हौसला मिल्यो ।

‘मेरो कलाकारिता–यात्रा झापाबाट नै सुरु भएको हो, झापामा हुँदा नै मैले नाटक लेखन र अभिनय थालेको थिएँ,’ उनी भन्छन्– ‘त्यहाँ मैले निकै नाटक लेखें र अभिनय गरें । मेरो नाटक हेरेका र अभिनय देखेका सबैले मलाई कलाकारितामा अगाडि बढ्न हौस्याइरहे ।’

झापाबाटै एसएलसी दिइसकेपछि उच्च शिक्षा अध्ययनको सिलसिलामा उनी काठमाडौं झरे । यहाँ आएपछि अनेकौं नाट्यकर्मीहरूसँग उनको जमघट हुन थाल्यो । कलाकारितामा अघि बढ्न उनलाई थप ऊर्जा मिल्यो । ‘काठमाडौं आएपछि कृष्ण मल्ल, मोहन निरौला, रमेश बुढाथोकीहरूसँग राम्रै चिनजान थियो,’ लयले सुनाए– ‘त्यसपछि मेरो नाटक–यात्रा केही वर्ष उहाँहरूसँगे बित्यो । त्यो समयमा मैले अभिनयका साथसाथै पढाइलाई पनि निरन्तता दिइरहें ।’

अभिनयसँगसँगै मास्टर्स डिग्री

काठमाडौंको बसाइ सहज थिएन त्यसबेला उनलाई । नाटकमा काम गरेर जीविका चलाउन गाह्रो पर्दै गयो । नाटकको पारिश्रमिकले नधानेपछि जागिरको खोजीमा भौंतारिए । स्नातकोत्तर तहको पढाइ चलरिहेको थियो । पढाइ धान्न समेत थप खर्चको जरुरत पर्‍यो ।

वि.सं. २०४१ तिर लयको दोस्ती नीर शाहसँग सुरु भयो । नेपाल टेलिभिजनको स्थापनाकाल नै थियो । लयलाई नीरले नै जुराइदिए नेपाल टेलिभिजनमा जागिर खाने अवसर । ‘आफ्नो भविष्य कोरल्न भन्दै गाउँबाट आएको यो केटाले चन्द्रशमशेरको दरबारमा अधिकृतस्तरको जागिर पनि खायो र त्यहींबाट प्रशस्तै टेलिफिल्म निर्माण गर्ने मौका पनि पायो,’ ऊ बेलाको स्मृति सुनाउँदै लय भन्छन्– ‘तिनै सिरियलमा आफूले समेत खेल्यो र आफ्ना फिल्महरूको यात्रालाई केही वर्ष रोकेर त्यतै केन्द्रित भयो ।’

त्यस बेलासम्म उनले सानातिना भूमिकामा रहेर थुप्रै चलचित्रहरूमा अनुहार देखाइसकेका थिए । तैपनि उनलाई चिनाउने माध्यमचाहिँ टेलिशृङ्खला नै बन्यो । ‘सानातिना भूमिकामा रहेर मैले थुप्रै फिल्ममा काम गरिसकेको थिएँ,’ उनी भन्छन्– ‘तर, मलाई राम्ररी चिनाएको र दर्शकमाझ परिचित गराएको भने २०५२ देखि प्रशारित ‘देवी’ टेलिशृङ्खलाले नै हो ।’

यो सिरियलमा काम गर्न थालेपछि उनको आर्थिक अवस्था निकै सुध्रियो । ‘त्यही शृङ्खलाले मेरो आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै लय सङ्ग्रौला भनेर मलाई व्यापकरूपमा चिनायो’– उनले सुनाए ।

प्रचण्ड आए, लय गए

चलचित्र र टेलिचलचित्र बनाउँदै र खेल्दै नेपाल टेलिभिजनमा रमाइरहेका लयले २३ वर्ष ७ महिना १० दिन काम गरिसकेपछि जागिर छाडे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री बनेका बेला जागिर छाडेका हुन् उनले ।

‘नेपाल टेलिभिजनमा मैले २३ वर्ष ७ महिना १० दिन जागिर खाएँ र २०६५ देखि बिदा लिएँ,’ लय भन्छन्– ‘त्यो समयमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर आए । उनी प्रधानमन्त्री भएपछि त्यो सरकारसँग मेरो तालमेल हुन्छ जस्तो मेरो अन्तरआत्मामै लागेन । झापाको मान्छे, अलि कडा स्वभावकै छु । कहीं दोब्रिनुभन्दा बरु भाँचिनु निको ठानेर नै टेलिभिजनबाट म बाहिरिएको हुँ ।’

टेलिभिजनबाट बाहिरिएपछि पनि उनले अभिनय र लेखनलाई भने निरन्तरता दिइरहे । आफू हास्यकलाकार भएकाले टेलिभिजनमा नै जोडिएर भने बसिरहनु चाहिँ उचित ठाने । ‘म त कवि–कलाकार मान्छे । रुँदै गरेकालाई एकै छिन मात्र भए पनि हँसाउन हाम्रो प्रयास हुनुपर्छ,’ भावुक हुँदै उनले भने– ‘रोइरहेको मान्छे फिस्स हाँसेको तस्बिर त विश्वमै कसैको र कुनै पनि सुन्दर देखिँदैन । त्यसैकारण म आफ्नो पदबाट राजीनामा दिएर बाहिरिएँ ।’

टेलिभिजनपछि ‘कल्पवृक्ष’ एल्बम

जागिरबाट बाहिरिएपछिको फुर्सदिलो समयलाई उनले गीतिलेखनमा सदुपयोग गरे । स्रोता तथा दर्शकमाझ लयले पस्किए ‘कल्पवृृक्ष’ एल्बम । आफ्नै लगानीमा निर्माण भएको यस एल्बमका गीत र तिनको भावले स्रोताको मन छोएको उनको ठम्याइ छ । ती गीत अहिले पनि स्रोतामाझ उत्तिकै लोकप्रिय छन् ।

आफ्ना भावनाहरू जनमानसबीच पोख्न उनले त्यसपछि गीत लेखेनन् बरु किताबमार्फत पाठकबीच हाजिरी जनाए । जागिर छाडेको केही समयपछि नै उनको ‘कालचक्र’ भन्ने उपन्यास आयो । उनले अभिनय, कला, गीत र उपन्यासमार्फत आफ्नो सिर्जनायात्रा जारी नै राखे ।

‘अन्य क्षेत्रबाटभन्दा लेखनबाट नै बाँच्न सकिन्छ जस्तो लाग्छ,’ लय भन्छन्– ‘त्यसैकारण अझै केही किताब लेख्नेतिर नै मेरो ध्यान जाला कि जस्तो छ । शायद छिट्टै नै अर्को एउटा किताब सार्वजनिक गर्छु होला । टेलिफिल्म र फिल्म लेखनमा पनि राम्रैसँग लागिपरेको छु ।’

बिर्सनै नसक्ने त्यो क्षण

उनैको भनाइअनुसार लय बाल्यकालदेखि नै छुच्चो र झगडालु स्वभावका थिए । कसैसँग झगडा नपरेको र कुनै न कुनै तरिकाले दुःख नपाएको–नदिएको त प्रायः दिन नै हुँदैनथ्यो ।

आफ्ना पुराना दिनहरू सम्झँदै लयले भने– ‘पहाडमा जन्मिएको म, मुखियाको नाति । एकजना छिमेकी पाठकका छोरा थिए । उनलाई काले भन्थे । कालेकी बहिनीलाई पोकली भन्थे । पोकली हाम्रो घर नजिकैको कुवामा पानी भर्न आउँथी । जब उसले गाग्रामा पानी थाप्थी, मचाहिँ माटो उठाएर त्यसमा हालिदिन्थें । लौ बुझ्नोस्, कतिसम्मको मान्छे थिएँ त म !’

करिव ६० वर्षअघिको बाल्यकालका केही स्मृति उनले सुनाए । आफ्नो बाल्यकालका ती हर्कत त्यसबेला रमाइला लागे पनि यतिबेला भने तिनलाई सम्झँदा उनलाई नरमाइलो लाग्दो रहेछ । ‘पोकली भन्थी, उपद्रो नगर न काइँला, माथि घरबाट आमाले बोलाउने बेला भइसक्यो,’ पुराना स्मृति सुनाउँदै लयले भने– ‘नभन्दै माथिबाट ‘ए पोकली, कता मरिस् तँ ? पानी लिएर छिटो आइज’ भन्दै पोकलीकी आमाले बोलाउँथिन् ।’

गर्नै नहुने काम बाल्यकालमा आफूले गरेको भन्दै लय आफ्ना ती गल्ती अहिले सच्याउन चाहन्छन् । पोकलीले उनकी आमालाई उजुरी लगाउँदै भनेका कुरा लय अहिले पनि झल्झल्ती सम्झन्छन्– ‘यहाँ काइँलाले गाग्रामा माटो हालिदिएर गाग्राको पानी घोप्ट्याएँ । फेरि भरें, फेरि पनि माटो हाल्दिएर घोप्याएँ अनि फेरि भरें ।’

त्यसबेला पोकलीले लयको उपद्रो उनकी आमालाई सुनाउँदै गर्दा तिनका दाइ कुदेर आई ‘के गरेको काइँला’ भन्दै हप्काएको सम्झँदै उनले सुनाए– ‘कुदेर आएकाले होला, काले निकै स्वाँ–स्वाँ… गरिरहेका थिए तर ‘तैंले के गर्छस् त’ भन्दै मैले उल्टै थर्काएँ; त्यसबेला चर्कै झगडा परेको थियो ।’

त्यसबेला कालेसँग परेको झगडा सम्झँदा लयलाई अहिलेसम्म पनि पोलिरहेको छ । उनी भावुक हुँदै भन्छन्– ‘अहिले मलाई ती काले भेटेर गालामा म्याइँ खान मन छ । त्यसबेला मैले नराम्रो काम गरेको थिएँ ।’