बासनादार फ्रिजियाको सुन्दरता

होलिस्टिक संवाददाता

फ्रिजिया निकै सुन्दर फूल हो । होचो बोटमा फुल्ने यो फूल फुल्दा कसको पो मन नलोभिएला र ! फ्रिजिया सुन्दर अनि बासनादार फूल हो । यो फूल फुलेको समयमा वरिपरिको वातावरण नै मगमगाउने गरी बासना आउँछ, मनै लोभ्याउँछ ।

फ्रिजिया फुलेको समयमा सो फूलको नजिक बस्दा यसले मान्छेको ध्यान केन्द्रित गर्छ । फ्रिजियालाई गार्डेनको गमला अथवा जमिनमा रोपेर निकै सुन्दर ढङ्गले आकर्षक रूपमा फुलाई सजाउन सकिन्छ ।

फ्रिजियालाई कट फ्लावरका रूपमा समेत सजाउन सकिन्छ । यसको बोटलाई डाँठमा काटेर विभिन्न किसिमका भाँडामा पानी हाली त्यसमा डुबाएर पनि सजाउन सकिन्छ । यसलाई कट फ्लावरका रूपमा विभिन्न किसिमका भाँडामा राखेर घरभित्र समेत आकर्षक रूपमा सजाउन सकिन्छ । कट फ्लावरका रूपमा सजाइएको फ्रिजिया केही सातासम्म नै राम्ररी टिक्दछ ।

आँखाको सुन्दरका निम्ति मात्र होइन, मिठो बासना आउने भएकाले यस फूललाई विभिन्न सुगन्धित प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । फ्रिजिया विभिन्न रङ्गका हुन्छन् । यो सेतो, क्रिम रङ्गको, पहेंलो, सुन्तले, स्कार्लेट, गुलाबी, नीलो (रोयल ब्ल्यु) लगायत बहुरङ्गी फुल्दछ । रङ्गीविरङ्गी फ्रिजिया फुल्दा बडो सुन्दर र मनमोहक देखिन्छ ।

नेपालमा हिउँदको जाडो र त्यसपछिको गर्मीमा समेत यो फूललाई सुन्दर ढङ्गबाट फुलाउन सकिन्छ । यसको बिरुवा रोपेको करिव १२ सातासम्ममा यसलाई फुलाउन सकिन्छ । यो फूल फुलिसकेर पनि केही महिना टिक्दछ ।

फ्रिजिया बहुवर्षीय बिरुवा हो । यसको एउटा बोट रोपिसकेपछि त्यही बोटबाट धेरैवटा बोट बनाउन समेत सकिन्छ । यसका बिरुवा १२ देखि २४ इञ्चसम्म उचाइका हुन्छन् । यसको डाँठमा फूल फुल्दै जान्छ । एउटा डाँठमा १२ वटासम्म फूल फुल्दछन् ।