अचम्मको अस्ट्रिया
डा. डीबी सुनुवारभौतिक चिजबिज परिवर्तन हुन सक्दछन् । सबै अवस्थामा साथीको साथ मिलिरहन्छ भन्ने पनि हुँदैन; साथीको साथ छुट्न सक्दछ । तर, जीवन–यात्रा भने निरन्तर चलिरहन्छ । जीवन रहुञ्जेल चलिरहन्छ, जिन्दगीको यात्रा ।
आरोह–अवरोह छिचोल्दै अघि बढिहन्छ जीवनको यात्रा । जिन्दगीमा कहिले छोटा–छोटा यात्रा चल्दछन् त कहिले चाहिँ कुनै ठाउँको लामो यात्रा तय हुन्छ । अघि बढ्छ यात्रा । सुःख तथा आनन्दको खोजीमा जिन्दगीको यात्रा क्षितिजवारि भौंतारिइरहेको हुन्छ । मिठो सपना साकार पार्ने उद्देश्यले पाइला अघि बढाउँदै जाँदा यसपालि तय भएको छ, अस्ट्रियाको यात्रा ।
जनवरी १५ । मध्याह्नको करिव एक बजे । अस्ट्रियाको साल्सबर्ग हुँदै भियना पुग्नु छ । सुस्त गतिमा अघि बढिरहेका छन् गाडीहरू ।
वारिपारि अग्ला डाँडाकाँडा देखिन्छन् । सल्ला तथा धूपीका पाइन–ट्रीहरू । मानिसले सेतो बर्को ओढे झैं हिउँले ढाकिएका छन् छपक्कै । डाँडाकाँडा पनि हिउँले सेतेम्मे छन् ।
बसको झ्यालबाट हेर्दा ट्रेनहरू मुसाको प्लामा छिरेर बाहिर निस्के झैं देखिन्छन् । एकातिरबाट फुत्त–फुत्त छिरेर सननन गर्दै अकोतर्फ निस्किरहको दृश्यले भुतुक्कै हुने गरी लोभ्याएको छ मन ।
अस्ट्रिया मध्यपूर्वमा पर्ने युरोपियन मुलुक हो । यो जर्मनीको पूर्वतर्फ पर्छ । जर्मन भाषाको ‘ओस्ट्रो’ शब्दबाट रहन गएको रहेछ यसको नाम– ‘अस्ट्रिया’ ।
यसअघि अस्ट्रेलियाको यात्रामा रमाएजसरी नै अस्ट्रियाको यात्रामा रमाउँदैछु आज । अस्ट्रियाको राजधानी सहर हो भियना । युरोपको पुरानो र ऐतिहासिक मुलुक हो अस्ट्रिया । यहाँ विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्पदाको दृश्यावलोकन गर्न पाइन्छ ।
यो सहर जीवनमा एक पटक त पुग्नैपर्ने ठाउँ हो । त्यसैले त यहीं तय भएको हो, यसपालिको यात्रा । युरोप यात्राका क्रममा विभिन्न देशको भ्रमणपछि फर्कर्ने क्रममा अस्ट्रियाको साल्सबर्ग, भियना हुँदै पुग्नु छ, जर्मनीको फ्र्याङ्कफर्ट ।
प्राकृतिक चिकित्सा तथा समग्र चिकित्सा क्षेत्रमै ठूलो योगदान गरेका प्राचीनकालका हिपोक्रेट्स् र बर्नाड क्लाउडपछिका भिन्सेन्ज प्रिस्निज यही मुलुकका नागरिक हुन् । प्राकृतिक चिकित्सा विधालाई संसारभरि फैलाउने कामको श्रेय उनैलाई जान्छ । बर्नाड क्लाउड, हिटलर, अर्नाल्ड स्वार्जस, सिग्मण्ड फ्रायडजस्ता विश्वप्रख्यात व्यक्तित्वहरू पनि अस्ट्रियामै जन्मिएका हुन् ।
देशमा प्राकृतिक सम्पदाको परिमाण बढी वा घटी हुनुले त्यति ठूलो अन्तर पार्दो रहेनछ । अस्ट्रिया संसारमै सवैभन्दा पहिले अग्र्यानिक फार्मिङसम्बन्धी नियम–कानुन बनाउने मुलकका रूपमा समेत चिनिन्छ । त्यसैले यस मुलकले प्राकृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिएको देखिन्छ ।
प्राकृतिक संरक्षणमा जोड दिएकैले यस मुलुकमा प्रचुर मात्रा हरियाली तथा वनजङ्गल देख्न पाइन्छ ।
यहाँ ठूलठूला रुख–बिरुवा भएका घना जङ्गल छन् । स्विट्जरल्याण्डले कोकाको खेती गर्न सक्दैन । तर, ऊससँग संसारकै सवैभन्दा उत्तम चकलेट छ । वर्षमा चार महिना मात्र माटोको अनुहार देख्न पाइन्छ त्यहाँ । तर, उसले संसारकै सवैभन्दा उत्तम डेरी उत्पादन गर्छ ।
आर्थिक रूपमा सम्पन्न अस्ट्रियाका बहुसङ्ख्यक जनताले आफ्नो दैनिक जीवनमा उपयोग गरेका केही तथ्यहरूको रोचक सन्दर्भ छन् । विकासका लागि हामीले युरोपबाट धेरै शिक्षा लिन सक्दछौं ।
अस्ट्रियामा रेल र बस यात्रा गर्ने यात्रुले आफ्नो मोबाइलमा टिकट नम्बर देखाएर नै यात्रा गर्न सक्दछन् । कति सजिलो छ सुविधा ! यहाँ अरु अनेकौं सेवा–सुविधा पनि कार्डबाट नै चलाउन पाइन्छ । कमाइको पैसा सिधै खातामा जम्मा हुन्छ र त्यसलाई कार्डमार्फत खर्च गर्न सकिन्छ । यहाँ त वास्तविक नगदमा कारोबार गर्नुपर्ने आवश्यकता नै रहेनछ ।
करिव आधा दर्जन व्यक्तिले शारीरिक रूपमा गर्नुपर्ने काम एकै जनाले गर्न सकिने प्रविधि पनि देखियो यहाँ । समय र शक्तिको बचत हुने भएपछि देशको विकास किन नहुनु र ! अस्ट्रियामा विकास छ, पैसा छ, सुविधा छ, सबै कुरा व्यवस्थित छ ।
नयाँपनको महसुस भइरहेको छ । नौलो ठाउँमा कौतुहलता त हुने नै भयो ।