यौनक्रियामा रक्तचापले निम्त्याउने जोखिम

प्रा.डा. दिनेश बाँस्तोला

स्वस्थ यौनकर्मका लागि शारीरिक तथा मानसिक स्वस्थता पहिलो अनिवार्यता हो । शारीरिक तथा मानसिक रूपमा अस्वस्थ व्यक्तिका निम्ति यौनकर्म टाढाको कुरा हुन्छ ।

यौनकर्मका लागि रक्तचाप समेत सन्तुलित हुनु आवश्यक हुन्छ । रक्तचाप असन्तुलित भए यौनकर्ममा समेत समस्या निम्तन्छ । स्वस्थ जीवनका लागि शिरा र धमनीमा रगतको चाप सामान्य अवस्थामा रहनु अनिवार्य हुन्छ । विभिन्न शारीरिक क्रियाकलाप गर्दा र अनेकौं परिस्थितिको सामना गर्दा रक्तचाप कहिले उच्च त कहिले न्यून हुन पुग्छ । शारीरिक क्रियाकलापअनुसार रक्तचापमा उतारचढाव हुन्छ ।

रक्तचाप घटी वा बढी भएमा यौनक्रीडा गर्दा सचेत हुनु आवश्यक हुन्छ । उच्च रक्तचाप भएको अवस्थामा यौनक्रीडा गरेमा रक्तचाप झन् बढ्ने भएकाले सचेत रहनुपर्छ । यस्तो समस्या भएमा मस्तिष्क, मुटु र मिर्गौलामा असर पर्न सक्छ । यसो भएमा शरीरका विभिन्न अङ्गले काम नगर्ने अवस्था निम्तन्छ ।

उच्च तथा न्यून रक्तचाप भएको समयमा यौन सम्पर्क गर्दा ज्यानै समेत जाने जोखिम हुन्छ । यस्तो समस्या भएको समयमा यौन सम्पर्क गरेमा शारीरिक एवम् मानसिक अपाङ्गता समेत निम्तन सक्ने जोखिम हुन्छ ।

न्यून रक्तचाप भएको अवस्थामा यौनाङ्ग तथा अन्य अङ्गमा रक्तसञ्चार कम भएर यौन–उत्साह नै हुँदैन । उच्च रक्तचाप भएको अवस्थामा मस्तिष्क र पिट्युटरी ग्रन्थीजस्ता अङ्गको क्रियाशीलतामा समेत रक्तसञ्चार कम हुन पुग्छ । यी दुवै समस्या भएको अवस्थामा यौनाङ्गमा समेत रक्तसञ्चार कम हुन पुग्छ, जसले गर्दा यौनकर्ममा असर पर्छ ।

यौनक्रीडा गर्दा मस्तिष्क र पिट्युटरी ग्रन्थी तथा यीद्वारा निर्देशित अङ्ग एवम् माङ्सपेशी चलायमान हुनु आवश्यक हुन्छ । रक्तचाप उच्च वा न्यून भएको खण्डमा यौनाङ्ग मात्र नभई शरीरका अरु विभिन्न अङ्ग समेत निस्क्रिय हुन पुग्दछन् । यस्तो अवस्थामा यौन सम्पर्क कसरी सम्भव हुनु र !

रक्तचापको गडबडी हुनबाट बच्न नियमित व्यायाम गर्न सकिन्छ । व्यायाम एवम् आवश्यक अरु उपचारात्मक विधि अपनाएर शारीरिक तथा मानसिक रूपले स्वस्थ रहन सकिन्छ । सन्तुलित व्यायामको माध्यमबाट शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

रक्तचापको समस्या भएमा त्यस्ता व्यक्तिले यौन सम्पर्क गर्दा चरमोत्तेजनाका बेला मुटु, मिर्गाैला, कलेजो, मस्तिष्कजस्ता अंगको चाल बढ्छ । यस्तो अवस्थामा रक्तचाप पनि बढ्ने र घट्ने हुन्छ । यस्तो अवस्थामा यौन सम्पर्क गरेमा उल्लेखित अङ्गहरूमा थप दबाब पर्न सक्छ । यस्तो अवस्थामा यौन सम्पर्क गर्दा हृदयाघात, मस्तिष्काघात, मिर्गौलाले काम गर्न छाड्ने आदिजस्ता जोखिम निम्तन सक्दछन् ।

हृदयाघातको उपचार गरेपछिको अवस्थामा भने चिकित्सकको सल्लाहअनुसार मात्रै यौन सम्पर्क गर्नु उचित हुन्छ । यौन सम्पर्क गर्दागर्दै पनि समस्या निम्तन सक्छ । यौन सम्पर्क गरिरहेको अवस्थामा छाती भारी भएको महसुस भएमा यौनक्रिया तत्कालै छाड्नुपर्छ । त्यसपछि केही बेर नबोली पूर्णरूपमा आराम गर्नुपर्ने हुन्छ ।