वैकल्पिक चिकित्सा: विधि र चुनौती

होलिस्टिक टिम

एलोपेथी विधिलाई आधुनिक चिकित्साको मुख्य विधाका रूपमा लिने गरिएको छ । संसारकै सवैभन्दा पुरानो आयुर्वेद उपचार पद्धति, प्राकृतिक चिकित्सा तथा होमियोपथी अर्थात् हालको ‘वैकल्पिक चिकित्सा’ समेत अझ प्रभावकारी चिकित्सकीय विधि भएकामा यस विधाका चिकित्सकहरूबीच बलियो मतैक्यता छ ।

विश्वस्तरमै एलोपेथी चिकित्सा विधिलाई आधुनिक चिकित्सकीय पद्धतिका रूपमा अँगालेर अरु विधिहरूलाई भने वैकल्पिक चिकित्सकीय विधिका रूपमा लिने गरिएको चिकित्सकहरूको भनाइ छ । अहिलेको युगमा विश्वभर नै एलोपेथी विधि नै प्रभावकारी उपचार पद्धतिका रूपमा रहँदै आएको पनि यत्रतत्र देखिन्छ । त्यसैले एलोपेथी बाहेकका उपचार पद्धति या चिकत्सकीय विधिलाई वैकल्पिक चिकित्साका रूपमा लिने गरिएको पाइन्छ ।

कतिपयले भने आयुर्वेदिक उपचार पद्धति र वैकल्पिक चिकित्सा एउटै नभएकामा जोड दिने गरेका छन् । आयुर्वेदिक विधिलाई वैकल्पिक चिकित्साभन्दा बेग्लै चिकित्सकीय पद्धति मान्नेहरूको पनि जबर्जस्त मत छँदै छ । ‘आयुर्वेदिक उपचार पद्धति र वैकल्पिक चिकित्सा एउटै विधा होइनन्, यी छुट्टाछुट्टै विषय हुन्,’ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय भन्छन्– ‘हामीले बुझ्दा आयुर्वेद राष्ट्रिय चिकित्सा पद्धति हो भने एलोपेथीचाहिँ मेनस्ट्रिमको चिकित्सा पद्धति हो ।’

नेपालमा होमियोपेथी चिकित्सा, अकुपञ्चर चिकित्सा, आमची सेवा, प्राकृतिक चिकित्सा, परम्परागत चिनियाँ उपचार पद्धति (टीसीएम), युनानी उपचार पद्धतिजस्ता चिकित्सकीय विधिहरू भने वैकल्पिक चिकित्सकीय विधिका रूपमा रहेको डा. उपाध्यायको भनाइ छ । ‘नेपालमा सरकारीस्तरमा आधुनिक चिकित्सकीय पद्धति, आयुर्वेदिक चिकित्सा पद्धति, होमियोपेथी चिकित्सा पद्धति, प्राकृतिक चिकित्सा पद्धति, युनानी र आमचीजस्ता चिकित्सा पद्धति मान्यता प्राप्त छन्,’ उनी भन्छन्– ‘आयुर्वेदिक चिकित्सा नेपालको मौलिक चिकित्सकीय विधि भएकाले यसलाई हाम्रो आफ्नै राष्ट्रिय र मौलिक चिकित्सा पद्धतिको रूपमा लिनुपर्छ ।’

समयको माग र आवश्यकताअनुरूप नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबारे पर्याप्त खोज–अनुसन्धान र प्रचारप्रसार नहुनाले यी विधिहरू ओझेलमा परिरहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकहरूको गुनासो छ । आर्थिक अभाव र सरोकारवाला निकायहरूको उपेक्षाभावका कारण आयुर्वेद तथा वैकल्पिक चिकित्साबारे पर्याप्त खोज तथा अनुसन्धान हुन नसकेकाले यी विधिको विकासमा चुनौती रहेको डा. उपाध्याय बताउँछन् ।

नेपाललाई जडीबुटीको धनी देशका रूपमा लिइए तापनि यिनको विकासका लागि नेतृत्वदायी तहको गम्भीरता र राजनीतिक तत्परता समेत खासै नदेखिएको चिकित्सकहरू बताउँछन् । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा क्षेत्रको विकासका लागि राजनीतिक तत्परताको अभाव नै प्रमुख चुनौतीका रूपमा देखिएको र पूर्वाधारको अभाव तथा आधुनिक समाजले गर्ने अविश्वास पनि थप चुनौतीका रूपमा रहेको चिकित्सकहरूको भनाइ छ ।

प्रमाण तथा अनुसन्धानमा आधारित भएर आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा काम गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको भनाइ छ । यो उपचार पद्धति वास्तवमै प्रभावकारी भएकाले यसको अध्ययन–अनुसन्धानमा आधारित भएर विकास, विस्तार र सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता डा. अधिकारीले औंल्याए ।

पछिल्लो समय भने एलोपेथीसँगसँगै आयुर्वेदिक तथा वैकल्पिक विधिले पनि राम्रै स्थान पाउन थालेको देखिन्छ । एकैसाथ धेरै र कतिपय विशिष्ट खालका स्वास्थ्य समस्या भएको अवस्थामा एलोपेथी उपचार विधिबाट मात्रै पूर्ण उपचार सम्भव नहुने भएकाले एलेपेथीसँगसँगै आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधि समेत अपनाउन थालिएको चिकित्सकहरू बताउँछन् ।

‘आज संसारभर नै एकै थलोमा एलोपेथी, आयुर्वेदिक तथा वैकल्पिक उपचार विधि अपनाएर सम्पूर्ण उपचार गर्ने अवधारणाको विकास भइरहेको’ उल्लेख गर्दै प्राकृतिक चिकित्सक डा. डीबी सुनुवार ‘होलिस्टक भिजन’ तथा ‘होलिस्टिक लाइफस्टाइल’ शीर्षकका पुस्तकमा लेख्छन्– ‘एकै थलोमा समग्र उपचार गर्ने विधि भनेकै होलिस्टिक उपचार विधि हो र यो मूलतः एलेपेथीका साथसाथै वैकल्पिक चिकित्सकीय पद्धतिबीचको सहकार्य र सहअस्तित्वमा आधारित छ ।’

डा. सुनुवार लेख्छन्– ‘आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विधिमा सर्वप्रथम त रोग लाग्नै नदिने विषयमा जोड दिइन्छ । यदि रोग लागिसकेको अवस्था भए आवश्यकताअनुसार एलेपेथी, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथीलगायतका विधिहरूमध्ये कुनै वा केही विधिको संयोजनमा शारीरिक तथा मानसिक दुवै खाले स्वास्थ्य समस्याको उपचार गर्नु होलिस्टिक उपचार विधिको मुख्य विशेषता हो ।’

त्यसो त सबै चिकित्सकीय विधिका आ–आफ्नै सबलता र दुर्बलता छँदैछन् । भिन्न–भिन्न क्षेत्रमा आबद्ध चिकित्सक र खोजकर्ता–अध्येताहरूका आ–आफ्नै तर्क र दाबीहरू पनि छन् ।

विभिन्न परिस्थितिजन्य समस्या तथा वातावरणीय प्रदूषणलगायतका कारण जति नै चिकित्सकीय विधिहरूको विकास भए तापनि रोगको चुनौती दिनानुदिन बढ्दै जानु चिन्ताको विषय भएकामा सबै विधिका चिकित्सकहरू एकतम छन् ।

अनेकौं रोग र महामारीहरूले सिर्जना गरेका चुनौतीको सामनाका लागि सबै चिकित्सकीय विधिबीच एकापसमा समन्वय हुनुपर्नेमा ‘होलिस्टिक भिजन’ मार्फत डा. सुनुवारले जोड दिएका छन् ।

आवश्यकताअनुसार एकै थलोमा सबै चिकित्सकीय पद्धतिलाई मिलाएर उपचार विधि अपनाउँदा सबै रोगको उपचार सम्भव हुने र बिरामीलाई समेत धेरै हदसम्म सहजता, सुलभता र सन्तुष्टि प्रदान गर्न सकिने कतिपय चिकित्सकको मत छ । यद्यपि, यस सम्बन्धमा विभिन्न चिकित्सकीय विधिका विशेषज्ञ–विज्ञहरूका आ–आफ्नै मत–मतान्तर र तर्क–वितर्क पनि कायमै छन् ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा (६) मा स्वास्थ्य सेवाअन्तर्गत रहने चिकित्सा प्रणालीहरूबारे उल्लेख छ । उक्त दफाअन्तर्गत उपदफा (१) मा स्वास्थ्य सेवाअन्तर्गत ‘एलोपेथी, आयुर्वेद र होमियोपेथी चिकित्सा प्रणाली रहने’ व्यवस्था छ ।

ऐनको सोही दफाको उपदफा (२) मा उल्लेख छ– ‘उपदफा (१) मा उल्लेख भएका चिकित्सा प्रणालीबाहेक नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अन्य चिकित्सा प्रणाली तोक्न सक्नेछ ।’

कोरोनाभाइरस महामारीका बेला आयुर्वेद तथा वैकल्पिक चिकित्सकीय विधिको प्रभावकारिताबारे मनग्गे चर्चा–परिचर्चा र बहस भए । यद्यपि, कोरोनाभाइरस सङ्क्रमण कम हुँदै गएसँगै यी विधिहरूबारेको चर्चा पनि क्रमशः सेलाउँदै गएको देखियो । सरोकारवाला सरकारी निकायले वैकल्पिक विधिहरूलाई पनि एलोपेथी चिकित्सकीय विधिअनुरूप नै विकास गरेर लैजानुपर्ने आवाज आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय क्षेत्रका विज्ञहरूले उठाउँदै आएका छन् ।

वैकल्पिक चिकित्सा पुरानो चिकित्सकीय विधि भए तापनि यस विधिबारे गहन अध्ययन–अनुसन्धान, परीक्षण–परिष्कार र सचेतनापूर्ण कामहरू हुन नसकेकामा सरोधारवालाहरू चिन्तित रहँदै आएका छन् । वैकल्पिक चिकित्सकीय विधिलाई एकीकृतरूपमा अघि बढाउने हो कि बेग्लाबेग्लै ढङ्गबाट स्थापित गर्ने भन्नेबारे क्रमशः बहस–विमर्श हुन थालेको देखिन्छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सामा अनुसन्धान र लगानीको कमी

नेपालमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधिको विकासका लागि अनुसन्धानको कमी छ । अनुसन्धानका लागि लगानीको अभाव छ । यो नै यस सन्दर्भको मुख्य चुनौती हो ।

राजनीतिक तत्परता, पूर्वाधारको व्यवस्थापन, लगानी अभिवृद्धि, अनुसन्धान र जनशक्ति विकासजस्ता विषय आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधिको विकासका निम्ति अरु चुनौती हुन् । यी विषयमा प्राथमिकता दिएइमा नेपालमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधिले फड्को मार्ने निश्चित छ ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधिको अनुसन्धानका परम्परागत मापदण्डहरू मात्रैले अब पुग्दैन । आधुनिक मापदण्डहरू निर्धारित गरेर सोहीअनुसार अध्ययन–अनुसन्धान तथा लगानी गर्नुपर्ने आवश्यकता छ । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधि प्राथमिकतामा पर्दै नपरेको भने होइन । यस विधिमा सक्रिय जनशक्ति पनि बढ्दै जान थालेको छ । विगतको तुलनामा यस क्षेत्रमा सरकारको लगानी पनि केही बढ्दै गएको छ । नयाँ सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशहरूमा समेत यस विधिको विकासका लागि विभिन्न पहल भइरहेका छन् । भविष्यमा पनि यस विधिबाट स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने बाटो खुलिरहेको छ ।

सातै प्रदेशमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधिका रिफरल अस्पताल आवश्यक पर्छन् । कोरोनाभाइरस सङ्क्रमणको महामारीका बेला हामीले देखिसकेको छौं, कुनै पनि चिकित्सकीय पद्धति आफैंमा पूर्ण छैन । त्यसैले आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय पद्धतिमा समेत लगानी गर्न सकियो भने स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिन्छ ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकीय विधिको विकास र विस्तार गर्न सकिएमा नसर्ने रोगहरूको रोकथामका लागि प्रभावकारी सेवा सुलभ ढङ्गले उपलब्ध गराउन सकिन्छ । स्वास्थ्यसँगसँगै जीवनशैलीको कुरा अभिन्नरूपले जोडिएर आउँछ । अतः सरकार र स्वास्थ्य संस्थाहरूले सेवा दिएर मात्र पुग्दैन, नागरिक स्वयम् पनि सचेत, जागरुक र समवेदनशील हुनु जरुरी हुन्छ । स्वस्थ जीवनशैली त्याग्दै अस्वस्थ जीवनशैली अपनाउँदा विभिन्न रोगको जोखिम बढिरहेको यथार्थतालाई बिर्सनु हुँदैन ।