लभ्ली लाओस

डा. डीबी सुनुवार

बैंककको ट्रेन स्टेसन हो, हुआलाम्फु । यो ठाउँ म्यान्मार, कम्बोडिया र भियतनाम पुग्ने केन्द्रको बोर्डर हो ।

बिहानको पाँच बजेको छ । ट्रेन स्टेसनमा मानिसहरूको ओहोरदोहोर बाक्लो छ । यो ट्रेन स्टेसन बैंककको इन्टरनेसनल गेटवे हो ।

यसपालि साथीभाइको निमन्त्रणामा भियन्तीयन भिजिटका लागि निस्किएको छु । लाओसको राजधानी सहर हो । यसपालिको अक्टोबरमा दुई साताको समय छुट्याउँदै नोङखाई निस्केको छु । यात्रा बडो आरामदायी र रोमाञ्चक छ ।

हुआलाम्फोङदेखि नोङखाईसम्मको रेलयात्रा बडो आरामदायी छ । साथी लेक र उनको परिवारसंँग भेटघाट गर्ने योजना छ । भियन्तीयन सिटी पुग्नका लागि लाओस थाइ बोर्डर नोङखाई पुग्नुपर्छ ।

करिव दस घन्टाको यात्रा तय भएको छ । थाइल्याण्डको उत्तरपूर्वी दिशातर्फ रेलमा हुइँकनु छ । बैंककमा रहँदा साथी लेकले धेरै काम–कुरामा सहयोग गरेकी छन् । सुरु–सुरुमा उनले आफ्नै दाजुजस्तो ठानेर मैले सिक्नुपर्ने धेरै जाँचोपाँजो मिलाइदिएकी छन् ।

लाओस र थाइल्याण्डका प्रायः भाषा, वेशभूषा, रीति, विधि, खानपान तथा रहनसहन मिल्दोजुल्दा छन् । लाओसमा घुम्नु नै पर्ने धेरै रमणीय ठाउँहरू छन् । भियन्सीयन सिटी, कोङलोर केभ, नोङ कियाओ, वात, फु, हुय साइ, फोन्साभान, सिफानडन, भाङभयाङ र क्वाडसी वाटरफल यहाँका आकर्षण हुन् ।

यहाँका रहनसहन, वेशभूषा तथा भाषा–संस्कृति लगभग नेपालसँग मिल्दोजुल्दा छन् । यहाँका प्रायः मानिसको सोचविचार पनि पनि मिल्दोजुल्दो नै छ ।

विश्वमै धेरै जवान जनशक्ति भएका देशहरूमध्येमा पर्छ यो देश । वरिपरि चीन, भियतनाम, म्यानमार, कम्बोडिया र थाइल्याण्डले घेरिएर रहेको नेपालजस्तै ‘ल्याण्डलक कन्ट्री’ हो लाओस । अर्थात्, लाओस दक्षिणपूर्वी एसियामा पर्ने एउटा भूपरिवेष्ठित मुलुक हो ।

यो मुलुकको उत्तरमा चीन, पूर्वमा भियतनाम, दक्षिणमा कम्बोडिया, पश्चिममा थाइल्याण्ड र म्यानमार पर्छ । लाओस इन्डो–चाइना प्रायद्वीपमा अवस्थित छ । यो मुलुकको कूल क्षेत्रफल करिव २ लाख ३६ हजार ८ सय वर्गमाइल (अर्थात्, ६१३,५०० वर्गकिलोमिटर) छ ।

यो देशमा जनसङ्ख्या कम छ । करिव ७० लाख मात्रै जनसङ्ख्या छ यहाँ । लाओसको राजधानी भेन्टियान हो । राजधानी त्यस देशको पश्चिमी भागमा पर्छ ।

भौगोलिकरूपमा चारैतिर अन्य देशले घेरिएको लाओसमा कम्युनिस्ट शासन चल्छ । शान्त महसुस भएको छ यहाँको यात्रामा । लाओसमा प्राकृतिक जीवनशैलमा नै बढी केन्द्रित भएर आनन्दको महसुस गरिरहेको छु म । चाहे उपचारका लागि चिकित्सकीय पद्धति अपनाउँदा होस् वा सामान्य जीवनशैली अपनाउँदा नै किन नहोस्, जताततै प्राकृतिककेन्द्रित व्यवहार नै देखिन्छ यहाँ ।

विभिन्न किसिमका जडीबुटीजन्य पदार्थहरूको व्यवस्थापन र यसको प्रयोग पनि बडो विधिसम्मत ढङ्गले गरिएको महसुस हुन्छ यहाँ । प्राकृतिक तथा परम्परागतरूपमा गरिने उपचार विधि यहाँ आज पनि उत्तिकै लोकप्रिय छ ।

अरोमा थेरापी, आमची, सौना, स्टिम बाथ, ज्याकुजीजस्ता थेरापीहरूको यहाँ धीत पुग्ने मज्जा लिन पाइन्छ । यहाँ स्टिकी राइस, मिन्सेड मिट, ग्रीन पपैया सलाद, स्टिम फिस, वेट नुडल्स, कृष्पी राइस सलाद, लाओ ससेजजस्ता परिकार धेरै मन पराइने परिकारमा पर्छन् ।

यहाँका खानपान परिकारको स्वाद कम्ति मिठो छैन । त्यसो त भेन्टियानको राजधानी सहर खानपान र जीवन्त रात्रि–बजारहरूका लागि समेत परिचित छ ।

सङ्गीत, नृत्य, र हस्त–शिल्पको राम्रो संरक्षण एवम् प्रवर्धन भएको देश हो यो । लाओस प्राकृतिक सौन्दर्यको मुलुकका रूपमा चिनिन्छ । यहाँका पहाड, जङ्गल र नदीहरूले मनै लोभ्याउँछ ।

लाओसको अर्थव्यवस्था विकासशील मिश्रित अर्थव्यवस्थामा पर्छ । यो कृषि, खानि र निर्माणमा बढ्ता आधारित छ । अर्थतन्त्रको प्रमुख क्षेत्र कृषि हो । चामल (धान), कफी र सूर्ती यहाँ मुख्य उत्पादन हुने बालीमा पर्छन् । यहाँबाट निर्यात हुने मुख्य खाद्यवस्तु पनि चामल, कफी र रबर लगायत नै हुन् ।

सुन र तामाजस्ता खनिज र जलविद्युतजस्ता प्राकृतिक स्रोतहरूमा पनि यो देश धनी छ । यहाँ जलविद्युत्का पावर प्लान्टहरू निकै नै छन् । लाओस पर्यटन अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँ पर्यटकले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, ट्रेकिङ र याफ्टिङजस्ता साहसिक गतिविधिहरूको अनुभव गर्न पाउँछन् । विभिन्न आकर्षण भएका कारणले नै लाओसको भ्रमण रोमाञ्चक हुन्छ ।

यहाँ विभिन्न राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू पनि छन् । लाओसमा विभिन्न किसिमका वन्यजन्तु तथा बोटबिरुवाको दृश्यावलोकनबाट पनि आनन्दानुभूति गर्न सकिन्छ । यी पनि यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।

लाओस भ्रमण गर्ने पर्यटकहरूले स्वादिष्ट परिकार खाँदै जीवन्त रात्रिकालीन मनोरञ्जन लिन पाउँछन् । त्यसैले, लाओसको यात्रा कम्ति रोमाञ्चक र कम रमाइलो छैन ।

लामो कामपछि आनन्दले रमाउँदै खुसी लिन सकिने ठाउँ हो लाओस । लाओसको एक अद्वितीय पुरातात्विक क्षेत्र ‘जारको मैदान’ पनि हो । यस ठाउँमा सयौं परम्परागत ढुङ्गाका जारहरूका घर छन् । टाँसिने किसिमको चामल, लाप (मसलेदार मासुको परिकार) र खाओ आदि यहाँका आकर्षक परिकार हुन् ।

प्राकृतिक सुन्दरता: लाओसमा पर्वत–शृङ्खला र झरनाहरूसहित सुन्दर प्राकृतिक परिदृश्यावलोकनले मोहित बनाउँछ । यहाँ पर्वतारोहण गर्ने, पैदल हिँड्ने, बाइकिङ गर्ने र र्‍याफ्टिङ गर्नेजस्ता गतिविधिमा सहभागी भएर रमाउन सकिन्छ ।

सांस्कृतिक परम्पराहरू: लाओसमा विभिन्न सांस्कृृतिक तथा कलात्मक मनोरम दृष्यावलोकन गर्न पाइन्छ ।

सस्तो र किफायती: लाओसको यात्रा खर्चको दृष्टिकोणले खासै महँगो हुँदैन । त्यसैले यो देश आकर्षक गन्तव्य हुनु स्वाभाविकै हो ।

लाओसको रोमाञ्चक यात्राले मन तानिरहेको छ । तर, लाओसको यात्रा यसपालिलाई यति नै !