‘बोल माया’ ले फेरिदिएको अञ्जलीको जीवन
भोलानाथ अधिकारीदुई वर्षअघि रिलिज भएको ‘गलबन्दी च्यातियो, तिमीले तानेर’ र ‘बोल माया’ गीतले निकै चर्चा पाए । लोकदोहोरी गीतमध्ये एदकमै धेरै हेरिएको गीतका रूपमा समेत परिचित भए यी गीत । यी गीतले तिनका गायक–गायिका प्रकाश सपूत र शान्तिश्री परियारलाई त दर्शकमाझ झन् बढी चिनाए नै, साथसाथै मोडल अञ्जली अधिकारीलाई समेत चर्चाको शिखरमा उकाले ।
‘गलबन्दी’ र ‘बोल माया’ अघि नै थुप्रै म्युजिक भिडियोमा नाचिसकेकी अञ्जलीलाई त्यतिबेलासम्म सीमित दर्शकले मात्रै चिन्दथे । उनी २०७३ मै म्युजिक भिडियोमा प्रवेश गरिसकेकी थिइन् । तर, यो गीतमा जत्तिको नोटिस यसअघि उनलाई कसैले गरेनन् ।
यिनै गीतपछि भने अञ्जलीको दैनिकी पहिलेकोसँग तुलनै हुन नसक्ने गरी व्यस्त हुन पुग्यो । ‘खरबारीमा घाँस काट्दा मायाले डोको समाइदियो’ बोलको गीतमा उनले पहिलो अभिनय गरेकी थिइन् । चर्चित गायक बद्री पङ्गेनी र मीरा गिरीले गाएको यो गीत निकै चलेको पनि थियो । पहिलो गीतबाटै चर्चा कमाउन थालेकी अञ्जली पछिल्लो समय निकै चर्चित र व्यस्त मोडलका रूपमा दरिइन् । उनले अभिनय गरेको अघिल्लो वर्षको तीज–गीतको भिडियो पनि राम्रै चल्यो । उनले असीभन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् ।
बाल्यकालदेखिकै रुचि, घरपरिवारमा बन्देज
सोरहवा– ७, बर्दियामा जन्मिएकी अञ्जलीलाई घरपरिवारबाट नाचगानमा अनुमति थिएन । गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम तथा भजनहरूमा नाच्दा समेत बुबा–दाजुहरूले उनलाई गाली गर्थे । नाचगानभन्दा पढाइमा ध्यान दिन घरपरिवारले जोड दिँदा पनि उनी भने यही क्षेत्रमा स्थापित भइन् ।
‘मलाई सानैदेखि नै नाच्न एकदमै मन पर्ने । स्कुलमा हुने डान्स कम्पिटिसनमा भाग लिन्थें र मजाले नाच्थें,’ किशोरवयका अनुभूति सुनाउँदै अञ्जलीले भनिन्– ‘स्कुलमा हुने हरेक कार्यक्रममा म नाच्थें र प्रथम हुन्थें । सर–मिसहरूले पनि मलाई एकदमै सपोर्ट गर्नुहुन्थ्यो । स्कुलमा छउन्जेल पढाइसँगसँगै नाचलाई पनि अगाडि बढाइरहें । सरहरूले पछि तिमी काठमाडौं जानुपर्छ र हिरोइन हुने प्रतिस्पर्धामा भाग लिनुपर्छ भन्दै सुझावहरू दिइरहनुहुन्थ्यो । पढाइमा भने म ठीकठीकै मात्र थिएँ ।’
‘मनमाचाहिँ कलाकार नै बन्छु भन्ने थियो तर कसरी बन्ने, के बन्ने भन्ने कुनै मेलोमेसो थिएन,’ उनले सुनाइन्– ‘हाम्रोतिर मेला–महोत्सव हुँदा राष्ट्रिय कलाकारहरू आउने गर्नुहुन्थ्यो । म १३–१४ वर्षजतिकी हुँदा बढैयातालमा मेला–महोत्सव भइरहन्थ्यो । यति ठूलो महोत्सवमा स्टेज चढेर मैलेचाहिँ कहिले नाच्ने होला भन्ने लाग्दथ्यो । राष्ट्रिय कलाकारहरू जसरी नै स्टेजमा नाचेर दर्शकलाई कहिले देखाउने होला, म पनि अरु कलाकारजस्तै कहिले बन्छु होला भन्ने लाग्थ्यो । घरपरिवारमा भने मलाई नाचगानतिर पूरै बन्देज थियो । क्यासेट बजाएर घरैमा नाच्दा त गाली गर्नुहुन्थ्यो भने झन् स्टेजमा नाच्न त के दिनुहुन्थ्यो र ! घर र स्कुलमा चाहिँ लुकी–लुकी नाच्थें ।’
‘बर्दियाकै बास्कडी भन्ने ठाउँमा दिदीको घर छ । म कान्छी छोरी हुँ, मभन्दा माथि दिदी र दाइ हुनुहुन्छ । त्यो समयमै दिदीको बिहे भइसकेको थियो,’ कलाकारिता सुरु हुनुअघिको स्मृति शेयर गर्दै अञ्जली भन्छिन्– ‘म दिदी घर पुग्दा त्यो गाउँमा मेला–महोत्सव चलिरहेको थियो । आज पशुपति शर्मा आउँदै हुनुहुन्छ भन्ने हल्ला चल्यो । दिदीको परिवारका सबैजना सल्लाह ग¥यौं र महोत्सवमा गयौं । पशुपति शर्मा त त्यस दिन नभई भोलिपल्ट पो आउनुहुने रहेछ । त्यस दिनचाहिँ बद्री पङ्गेनी दाइको पालो रहेछ । अन्य कलाकारहरू पनि हुनुहुन्थ्यो, हामी पुग्दा भने बद्री दाइ गाउँदै हुनुहुन्थ्यो ।’
‘गाउने क्रममै बद्री दाइले उद्घोष गर्नुभयो– स्टेजमा आएर जसले राम्रो नाच्छ, उसलाई पुरस्कार दिइने छ । नाच्न भनेपछि हुरुक्कै हुने म दौडेर गइहालें । मलाई त पुरस्कार जित्नुभन्दा पनि आफ्नो नाच देखाउनु चाहिँ मुख्य कुरा थियो ।
अगाडि गएर नाचें । नभन्दै म पहिलो पनि भएँ तर आयोजकले झेल गरेर अरुलाई नै पहिलो बनाए,’ विगतका तीता–मिठा स्मरण पस्कँदै अञ्जली भन्छिन्– ‘म नाचेको बद्री दाइने हेरिरहनु भएको रहेछ । उहाँले अर्को गीत ‘सुर्खेत बुलबुल ताल’ गाउँदा नाच्नेलाई आफैंले पुरस्कार दिने घोषणा गर्नुभयो । तर, बद्री दाइले सर्त राख्नुभयो– उहाँले गाउन्जेल नाचेको नाच्यै गर्नुपर्ने । उहाँले गीत गाउन्जेल म नाचिरहें । बद्री दाइले स्टेजमा बोलाएर पाँच सय रुपैयाँ पुरस्कार दिनुभयो र नाम सोध्नुभयो । तिम्रो इच्छा के हो भनेर पनि सोध्नुभयो । मैले सुनाएँ– मोडल बन्न चाहन्छु तर मलाई घरपरिवारबाट मलाई सपोर्ट छैन । खासमा मलाई आमाबाहेक कसैले पनि सपोर्ट गर्नुहुन्नथ्यो ।’
‘त्यसबेला म कक्षा ८ मा पढ्दै थिए । उहाँले एसएलसी यतै देऊ, त्यसपछि कलेजचाहिँ काठमाडौंतिरै भर्ना गर, कामको रूपमा डान्स नै गरे पनि पढ्नचाहिँ पढ्नुपर्छ भन्नुभयो । ममा प्रतिभा छ भन्ने देखेर नै उहाँले मेरा बुबा–आमा र दाइसँग कुरा गर्नुभयो,’ उनले सुनाइन्– ‘बुबा–आमालाई नाच भन्ने कुरै पटक्कै मन नपर्नेभएकाले मान्नु भएन । मेरो एसएलसी सकिएलगत्तै बद्री दाइ फेरि घरमै पुग्नुभयो र बा–आमालाई सम्झाउनुभयो । छोरी–बहिनी ‘बिग्रन्छे’ भनेर बुबा र दाजुले काठमाडौं पठाउन मान्नु भएन । बद्री दाइ त्यत्तिकै फर्कनुभयो । २०७१ मा एसएलसी दिएपछि म आफ्नै ढिपीले काठमाडौं आएँ ।’
‘काठमाडौं आएपछि मेरा सङ्घर्षका दिन सुरु भए । मैले बद्री दाइकै ‘नीरमाया दोहोरी साँझ’ मा नाच्ने काम गरें । त्यसबेला मसँग कोठाभाडा तिर्ने समेत पैसा थिएन । लोक तथा दोहोरी गायिका कल्पना दाहालसँग कोठा सेयर गरेर ६–७ महिना बसें,’ उनको धाराप्रवाह रोकिएन– ‘त्यसपछि म अर्की गायिका मीरा गिरीको कोठामा तीन महिनाजति बसें । काठमाडौं मेरो पहिलो वर्ष यसरी नै बित्यो ।’
‘त्यसपछि फेमिली प्रब्लम बढ्दै गयो, बुबा एकदमै बिरामी हुनुभयो; अहिले पनि बिरामी नै हुनुहुन्छ,’ उनी भन्छिन्– ‘एसएलसी सकेपछि उच्च शिक्षा हासिल गर्ने कुरा सपनामै सीमित रह्यो । कहिले हस्पिटल, कहिले कता त कहिले कता– समय त्यत्तिकै बित्यो । समय मिलाएर कलेज भर्ना हुन्छु भन्ने थियो, आर्थिक स्थिति कमजोर भएकाले सम्भवै भएन । पढ्न नपाए पनि डान्स र कामलाई भने निरन्तरता दिइरहें ।’
दोहोरी साँझमा हेपाहा व्यवहार
‘दोहोरी साँझमा काम गर्दा निकै हेपाइ सहियो । कयौं कुराले मन दुख्थ्यो तर कसैलाई भन्न सक्ने अवस्था थिएन,’ कामका सन्दर्भको समस्या सुनाउँदै अञ्जली भन्छिन्– ‘दोहोरी साँझमा काम गर्नेहरूप्रति हेर्ने दृष्टिकोण नै फरक पाएँ । हुन त म आफैंले आफूलाई त सही सोच्न सक्दिनँ भने अरुले मलाई सही सोच्छन् भन्ने पनि त छैन ।’
दोहोरी साँझबाट आफ्नो नृत्य परिष्कृत भएको सुनाउँदै उनले भनिन्– ‘पहिल्यैदेखि गर्दै आएको नृत्यकलामा पछिल्लो समय मैले जे–जति सिकें, त्यो दोहोरी साँझमा नाचेर नै सिकेकी हुँ । दोहोरी साँझ मेरा लागि कल्चर सेन्टरजस्तो भयो । अहिलेसम्म कुनै डान्स सेन्टरमा नाच सिकेकी छैन, अबचाहिँ सिक्ने मन छ ।’
शुल्क तिर्न आमाको मङ्गलसूत्र बिक्री
परिवारको आर्थिक दूरावस्थाबारे सुनाउँदै अञ्जली भन्छिन्– ‘मेरो पढाइ अलि कमजोर थियो । एसएलसीमा विज्ञान र गणितमा फेल भएँ । यी दुई विषयको ट्युसन पढ्दा ९ हजार ५ सय रूपैयाँ बुझाउनुपर्ने भयो, तर त्यो रकम हामीसँग थिएन । त्यही शुल्क जुटाउनका नेपालगञ्ज बजारमा पुगेर आमाको मङ्गलसूत्र बेच्यौ । त्यसबाट ९ हजार रुपैयाँ मात्रै आयो, अझै पाँच सय पुगेन । आमाले खोजखाज पार्नु भयो र ट्युसन फी बुझाइयो । ब्याक लागेको विषय राम्ररी पढें र पास गरे ।’
काठमाडौं आएको दुई वर्षपछि बद्री पङ्गेनी र मीरा गिरीले गाउनुभएको ‘खरबारीमा’ बोलको गीतमा नाच्दा निकै प्रेसर महसुस गरेको बताउँदै उनले भनिन्– ‘तिमीले यो गीतमा राम्रो गर्न सकिनौ भने घर जाँदा हुन्छ भन्नुभयो बद्री दाइले । उता पढाइ छाडिसकें, यता करिअरकै पहिलो पाइलामा बद्री दाइ यसो भन्नुहुन्छ । दबावकै बीच यो गीतमा मैले जसरी पनि राम्रो गर्नुपर्छ भनेर काम गरें । भिडियो रिलिज हुँदा राम्रै प्रतिक्रिया आयो, त्यसपछि झन् बढ्ता मेहनत गर्न थालें ।’
परिवारमा बोलचाल बन्द, ‘गलबन्दी’ पछि बल्ल नजिक
‘पढाइमा राम्रो गर्न नसके पनि अरु काम त हुन्छ नि भनेर यतै लागिरहें । पढाइमा तेज थिएँ भने शायद म स्टाफ नर्स बन्थें या अरु नै केही हुन्थें होला । नायिका बन्ने वा एयर होस्टेज बन्ने सपना थियो, शायद त्यही पो बन्थें कि ! पढाइकै कारण यी केही बन्न नपाएपछि मोडल बन्न पुगें,’ करिअरको सिक्वेन्स सुनाउँदै अञ्जली भन्छिन्– ‘अरुले पढेर अन्त काम गर्नुभयो, त्यो क्षेत्र उहाँहरूकै भयो, मैले नाचें, यतैबाट कमाएँ । दोहोरी साँझमा काम गर्दा राति १–२ बजेसम्म ड्युटी हुन्थ्यो ।
त्यहाँबाट कोठामा फर्केपछि बिहानै ५ बजे सुटिङस्थल पुग्नुपथ्र्यो । सुत्ने समय पनि दुई घन्टाभन्दा बढी हुँदैनथ्यो । कहिलेकहीं त भो, अब घरतिरै फर्कौं क्यारे भन्ने पनि लाग्थ्यो । तैपनि मैले हिम्मत हारिनँ, काम गरिरहें । मैले राम्रो काम गरेकी छु है भनेर घर परिवारलाई समेत देखाउनु थियो ।’
‘म काठमाडौं आएपछि मेरा बुबा र दाजु मसँग बोल्नै छाड्नुभयो । आमाबाहेक पूरै घरपरिवारसँग चार वर्षजति बोलचालै बन्द भयो,’ विगतका कठोर दिन सम्झँदै उनले सुनाइन्– ‘मैले थुप्रै म्युजिक भिडियोमा काम गरिसक्दा पनि घरपरिवारका मान्छेले राम्रो मान्नु भएन । चार वर्षपछि भने मैले खेलेका ‘गलबन्दी’ र ‘बोला माया’ जस्ता गीत सुपरहिट भएपछि भने उहाँहरू मसँग नजिक हुनुभयो ।’
म्युजिक भिडियो खेल्दा पारिश्रमिक न्युन
‘म्युजिक भिडियोमा काम गर्दा सुरु सुरुमा त मैले पैसा नै पाउँदैथें । कुनै–कुनैमा चाहिँ पाँच सय रुपैयाँ मात्र पाएकी छु । सङ्घर्षका दिनहरूमै भएकाले पैसा नदिएका होलान् । पैसा नपाए पनि सुरु–सुरुका दिनमा थुप्रै म्युजिक भिडियोमा काम गरें । कडिकडाउ गरेर पारिश्रमिक माग्ने कुरा पनि भएन, जसरी भए पनि आफू स्थापित हुनु थियो । चल्नकै लागि भए पनि पारिश्रमिक माग्ने आँट आएन,’ जीवनसङ्घर्षका क्षणहरू खोतल्दै अञ्जलीले सुनाइन्– ‘दिनभरि सुटिङमा र साँझ परेपछि दोहोरी साँझ धाएरै मेरो समय बित्दै गयो । खानाचाहिँ घरमा भन्दा बाहिर नै बढी खाइयो । साँझ दोहोरी साँझमा खाइन्थ्यो भने दिउँसो सुटिङस्पटमै । दोहोरी साँझमा पनि पैसा खासै हुँदैनथ्यो । टिप्सकै भरमा गुजारा चलाउनुपर्ने अवस्था थियो ।’
‘मैले साइड डान्सर भएरचाहिँ कहिल्यै काम गरिनँ, मुख्य रोलमै मात्र काम गरें । त्यो समयमा अहिलेजस्तो सजिलै तरिकाले भिडियो पाउन मुस्किल थियो । त्यसैले डिमाण्ड गर्न पनि गाह्रो । अहिले त १५ सेकेन्डको टिकटकमा भिडियो भाइरल भए पनि मेरो पारिश्रमिक यति–उति भनेर डिमाण्ड गरेको पाउँछु,’ उनी भन्छिन्– ‘पहिले त यस्तो कहाँ थियो र ! सबै एकसे एक मोडलहरू थिए । आफूले उनीहरूसँगै प्रतिस्पर्धा गर्नुपथ्र्यो । पाँच हजारभन्दा बढी पारिश्रमिक त कसैले पनि दिएको मलाई थाहा छैन । तर, नाचेको नाच्यै गरेर मेरो खुट्टामा त खिल नै पल्टिएको थियो । दोस्रो लकडाउनका बेला त्यो खिलको उपचार गरें ।’