यसो हुँदा यौनसँगै दुखाइ…

प्रा.डा. दिनेश बाँस्तोला

सामान्यतया पुरुषको तुलनामा महिला शारीरिकरूपले कमजोर हुनु स्वाभाविकै हो । प्राकृतिक एवम् जैविक भिन्नताका कारण कतिपय पक्षबाट हेर्दा पुरुषको तुलनामा महिला शारीरिकरूपले कमजोर हुन सक्दछन् । यसैकारण यौन सम्पर्क गर्दा महिलाको तुलनामा पुरुष नै बढी संयमित हुनु आवश्यक हुन्छ ।

जीवनचक्र चल्न यौन अनिवार्य हुन्छ । त्यसैले यौनलाई मनोरञ्जनको माध्यमका रूपमा लिनु हुँदैन । यौन सम्पर्क अर्थात् यौनक्रिडा र यससम्बन्धी क्रियाकलाप कस्तो व्यक्तिसँग हुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । यौन सम्पर्कका लागि जोडी, स्थान र समयको छनोटमा निकै ध्यान पुर्‍याउनु जरुरी हुन्छ । यौन सम्पर्कअघि जोडीको बानी–व्यवहार तथा अभ्यासबारे थाहा पाउनु अत्यावश्यक हुन्छ ।

यौन हर्मोनको खेल

पुरुष र महिलाको शरीरमा बोसोको मात्रा र वितरण असमान किसिमले भएको हुन्छ । पुरुषको तुलनामा सामान्यतया महिलाको शरीरमा बोसो बढी हुन्छ र त्यसले यौन मामिलामा पर्याप्त भूमिका खेलेको हुन्छ ।

यौन हर्मनको मात्रा तथा सङ्ख्या समेत पुरुषको तुलनामा महिलामा बढी हुन्छ । महिलाको शरीरमा एस्ट्रोजेन, प्रोल्याक्टिन र प्रोजेस्टेरोन तथा रिल्याक्सिन हर्मोनको बाहुल्यता हुन्छ । पुरुषको शरीरमा भने टेस्टोस्टेरन हर्मोन हुन्छ ।

अतः पुरुष र महिलामा शारीरिक तथा मानसिक बनावट, बानी–व्यवहार, सम्मिश्रण, बोसोको वितरण र हर्मोनजस्ता कारकतत्वले शारीरिक तथा मानसिक भिन्नता कायम गरेको हुन्छ । महिलाको शरीरमा हुने कतिपय हर्मोन पुरुषको शरीरमा हुँदैन र निषेचन भएको अवस्थामा पनि थोरै मात्रामा हुन्छ ।

यौनमा पीडा हुने कारण

सामान्यतया महिलामा रजश्वला हुनुभन्दा केही अघिदेखि तल्लो पेट दुख्ने, टाउको दुख्नेजस्ता पीडा हुन्छन् । रजश्वला भएको समयमा असजिलो अनुभूति हुने भएकाले समेत महिलामा पीडा महसुस हुन्छ ।

त्यसैगरी, भ्रुणाशयबाट भ्रुण निस्कने समयमा महिलाको तल्लो कोखा दुख्नेजस्ता लक्षण हुन्छन् । भ्रुण निस्किसकेपछि समेत थोरै रगत बग्न सक्छ र तल्लो पेट दुख्छ । रजश्वला बन्द हुनुअघि र रजश्वला बन्द हुने समयमा समेत महिलालाई शारीरिक तथा मानसिक पीडा हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा किशोरीहरूमा सामान्यतया बाह्र वर्षको उमेरमा रजश्वला सुरु भएर करिव पचास वर्षको उमेरमा बन्द हुन्छ । पहिलो पटक रजश्वला हुँदा र अन्तिम पटक रजश्वला हुँदा समेत महिलामा शारीरिक तथा मानसिक पीडाको अनुभूति हुन्छ ।

स्त्री प्रजननजन्य यस्ता अवस्थाहरू र समस्याबारे प्रायः पुरुषलाई जानकारी हुँदैन । तर, यौनजोडी पुरुषमा यी कुराहरूको जानकारी हुनु आवश्यक छ । यस्तो अवस्थामा पुरुषले महिलालाई सहयोग गर्न सकेमा महिलाले पनि पुरुषलाई सकारात्क दृष्टिकोणले हेर्ने अवस्था सिर्जना हुन्छ । यो अवस्थामा आपसी प्रेमभावको अभिवृद्धि हुन्छ । महिलाको शारीरिक तथा मानसिक समस्याबारे पुरुष जानकार भएमा पारिवारिक जीवनको सफलता तथा यौनानन्दमा समेत मद्धत मिल्छ ।

रजश्वला भएको अवस्थामा यौन सम्पर्क गर्न हतारिनु हुँदैन । सामान्यतया रजश्वला भएको सात दिनपछि यौन सम्पर्क गर्नु उचित हुन्छ । रजश्वला भएको सात दिनसम्म यौन सम्पर्क नगर्नु नै उत्तम हुन्छ । रजश्वला भएका बेला महिलामा शारीरिक तथा मानसिक दबाब परेको हुन्छ । त्यसो त रजश्वलापछिको समयमा समेत महिलामा प्राकृतिक दुखाइ हुन्छ । त्यस्ता समस्यालाई भने गौण समस्याका रूपमा लिनुपर्ने हुन्छ । रजश्वलाको सात दिन पछि भने महिलामा प्राकृतिक पीडा कायमै रहे तापनि यौनानन्दका कारण त्यस्तो दुखाइ गौण हुन जान्छ ।

कतिबेला र किन हुन्छ दुखाइ ?

यौन सम्पर्क, यौनानन्द र यौनाभूतिमा उमेरले पनि पनि महत्वपूर्ण भूमिका खेल्दछ । पाको उमेरका यौनजोडीबीच यौन सम्पर्कका क्रममा बीर्य स्खलनका बेला पुरुषमा असह्य दुखाइ हुन सक्छ । यस्तो अवस्थामा पुरुष चिच्याउने वा कराउने समेत सम्भावना हुन्छ ।

उमेर पाको हुँदै जाँदा क्रमशः पुरुषमा प्रोस्टेट ग्रन्थी बढ्ने र महिलाको योनीका ग्रन्थीहरूबाट रसायन निस्काशन कम हुँदै जाने भएकाले यौन सम्पर्कका बेला दुखाइको क्रम समेत बढ्दै जान्छ । प्रोस्टेट ग्रन्थी बढ्ने कारणले नै पाको उमेरमा बीर्य स्खलन हुँदा पुरुषका लागि पीडादायी अवस्था निम्तने हो । महिलामा भने यौन सम्पर्कका बेला योनी–झिल्ली तोडिँदा र पाको उमेरमा ग्रन्थीबाट रसायन निस्कासन नहुँदाको पीडा वर्णन गरिनसक्नु नै हुन्छ ।

अतः यौनजोडीले एकार्काको अवस्था, समस्या र उमेर समेतको ख्याल गरेर आपसी सहमतिमा नै सन्तुलित यौनक्रिया गर्नुपर्छ । जोडीको यौनेच्छा, यौनाकाङ्क्षा र मनोभावना बुझेर मात्रै यौन क्रियाकलाप गर्नु वाञ्छनीय हुन्छ ।