घरभित्रको धुलो खाने बिरुवा !

अनिता सुनुवार

बदलिँदो समाज र पर्यावरणसँगै जताततै स्वास्थ्य समस्या र जोखिम बढ्दो क्रममा छ । वातावरणीय प्रदूषण घरबाहिर मात्रै छैन; सर्वसाधारणको घर, व्यावसायिक एवम् कार्याललीय भवन, कार्यालय, सङ्घ–संस्था जताततै प्रदूषण बढ्दो छ ।

निवासमै वा काममा या कार्यालयमा रहँदा समेत मान्छेले धेरैजसो समय प्रायः घरभित्रै बिताउँछ । त्यसैले घरभित्रको प्रदूषण न्यूनीकरणका लागि अनेकौं उपयाको खोजी भैरहेछ ।

कार्यालय, भवन वा घरभित्रको प्रदूषण हटाउन घरभित्र सजाइने विभिन्न किसिमका बिरुवाहरू अर्थात् इनडोर प्लान्टहरू राख्न सकिन्छ । घरभित्र राखिने बिरुवाले कार्बन मोनोअक्साइड र ट्राइक्लोरेथिनिल, नाइट्रोजन डाइअक्साइडजस्ता विषाक्त तत्वहरू प्राकृतिक तरिकाबाटै हटाउन मद्धत पुर्‍याउँछन् ।

विभिन्न अध्ययनहरूले देखाएको तथ्यअनुसार घरभित्र राखिने विभिन्न बिरुवा अर्थात् इनडोर प्लान्टहरूमध्ये छनोट गरेर राख्न सकेमा घरको भित्री वातवरणलाई विषाक्त प्रदूषणबाट मुक्त राख्न सकिन्छ । घरभित्र राखिने बिरुवाले हानिकारक विषाक्त ग्यासहरूलाई अवशोषित गर्दछन् र वरपरको हावालाई सफा राख्ने काम गर्दछन् । यसले घरभित्र हुने वातावरणीय प्रदूषणको जोखिमबाट बचाउँछ ।

घरभित्र सजाउन रोपिने बिरुवा हेर्दा शारीरिक मात्र नभई मानसिकरूपमा समेत स्वस्थ्यलाभ हुन्छ । यी बिरुवाले मनलाई आनन्द दिलाउँछन् र शितलता प्रदान गर्छन् । आजकल विशेषतः सहरी क्षेत्र र आधुनिक तरिकाले बनाइएका घरमा कार्पेट बिच्छ्याइएको र सोफा राखिएको हुन्छ । यस्ता कार्पेट तथा सोफाबाट आउने धुलोले रुघा–खोकीलगायत लाग्ने र स्वास–प्रश्वासमा समेत असर गर्ने महसुस प्रायः सबैले गरेकै हुन्छौं । यस्तो धुलोले विभिन्न किसिमका एलर्जी हुने, टाउको दुख्ने, वाक्वाकी लाग्ने लगायतका समस्या निम्त्याएको पनि प्रायः सबैले भोगेका हुन सक्छौं ।

यस्तो धुलोबाट बच्नका लागि नै घरभित्र राख्न मिल्ने विभिन्न किसिमका बिरुवा राख्न सकिन्छ । घरभित्र राखिने यस्ता बिरुवाले प्राकृतिकरूपमा वायु शुद्धीकरणमा मद्धत पुर्‍याउँछन् । घरभित्र रोपिने बिरुवाबाट सास फेर्नका लागि अक्सिजन प्राप्त हुन्छ, जसले गर्दा सवास फेर्न सहज हुन्छ ।

घरभित्रको वातावरण मात्रै सफा गरेर पुग्दैन, बाहिरी वातारवण पनि सफा हुनैपर्छ । बाहिरी वातावरण सफा र स्वच्द्ध राख्नका लागि बाहिरी वातावरणमा पनि फूल–बिरुवा रोप्नु आवश्यक हुन्छ । त्यसैले इनडोर प्लान्टहरू घरभित्र राखेर र आउटडोर प्लान्ट रोपी घरबाहिर बगैंचा बनाएर हराभरा तुल्याउनु स्वास्थ्यका निम्ति निकै उपयोग हुन्छ ।

घरभित्र सानादेखि ठूलासम्मका विभिन्न खाले बिरुवा राख्न सकिन्छ, जसमध्ये पिस लिली, एलिफेन्ट बस, मनीप्लान्ट, सिन्गोनियम, क्लोरोफिटम स्पाइडर प्लान्ट, लक्की बेम्बो, जेट प्लान्ट, एरिका, चामाडोरा पाल्म, ड्रेसिना, क्याक्टस लगायत मुख्य हुन् । विभिन्न किसिमका यी बिरुवालाई गमलामा रोपेर घरभित्र सजाइन्छ । यस्ता बिरुवालाई चटक्क सिँगारपटार गरेर सुहाउने गरी घरभित्र रोपिन्छ । यसले घरभित्रको वातावरण र सुन्दरता बढाउन समेत राम्रो मद्धत मिल्छ; स्वास्थ्यका निम्ति लाभदायक हुनु अर्कातिर छँदै छ ।

त्यसो त सबै किसिमका बिरुवा घरभित्र राख्नु भने हुँदैन । कस्ता किसिमका बिरुवा घरभित्र राख्न मिल्छ भन्ने विषयमा बोटानिस्ट वा नर्सरी व्यवसायी या बिरुवाविज्ञसँग परामर्श लिन सकिन्छ ।

घरभित्र राखिएका बिरुवामा धेरै पानी हाल्नु हुँदैन । घरभित्रका बिरुवामा धेरै पानी हालिए जरा कुहिएर बिरुवा मर्ने डर हुन्छ । जराको माटो सुख्खा हुन दिनु हुँदैन तर सधैं धेरै चिसो भइरहन पनि दिनु हुँदैन; पानीको सन्तुलन मिलाउनुपर्छ ।

यसरी घरभित्र रोपिएका बिरुवाको पात कपडाले पुछ्नु हुँदैन । कपडाले पुछ्दा पातमा भएका रेसा काटिएर बिरुवा मर्ने जोखिम हुन्छ । त्यसैले स्प्रे गरेर बिरुवा र पातको धुलो पखाल्नुपर्छ ।