रेबिज: यथार्थ र भ्रम

डा. शेरबहादुर पुन

रेबिज भाइरसका कारण रेबिज रोग लाग्छ । विशेषगरी सङ्क्रमित स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने जोखिम हुन्छ । यस्ता जनावरबाट रेबिज सर्ने जोखिम हुन्छ । रेबिज सङ्क्रमित कुकुर, स्याल, ब्वाँसो, गाईलगायतका जनावरले टोकेमा हेलचेक्र्याइँ गर्नु हुँदैन, तुरुन्तै एन्टिरेबिज भ्याक्सिन लगाइहाल्नु पर्छ ।

सङ्क्रमित जनावरले टोकेको एकदेखि तीन महिनासम्ममा रेबिज सङ्क्रमणको लक्षण देखिन्छ । तर, महिना नपुग्दै, तीन महिना वा एक वर्षसम्ममा पनि लक्षण देखिन नसक्ने भने होइन । नेपालमा भने सङ्क्रमित जनावरले टोकेको छदेखि आठ महिनासम्ममा रेबिज भाइरस सङ्क्रमणको लक्षण देखिने गरेको छ । सङ्क्रमित जनावरले टोकेको ठाउँ र टोकेको घाउको गहिराइ तथा प्रकृतिअनुसार लक्षण चाँडै वा ढिलो देखिन सक्छ । औंलाको टुप्पो, घाँटीभन्दा माथिको भाग र शरीरका अन्य भागमा समेत सङ्क्रमित जनावरले गहिरो गरी टोकेमा केही दिन तथा महिना अगाडि नै रेबिज सङ्क्रमणको लक्षण देखिन्छ ।

रेबिज भाइरस सङ्क्रमितमा मुख्यतः हावा र पानीदेखि डराउने, बेचैनी हुनेजस्ता लक्षण देखिन्छन् । टोकेको ठाउँमा झम्झमाउने, माङ्शपेशी दुखेको महसुस हुने, ढाडको तल्लो भाग दुखेको महसुस हुने, कहिलेकहीं शरीर दुख्ने र ज्वरो आउनेजस्ता लक्षण देखिन सक्छन् । रेबिज भाइरसको सङ्क्रमण भएर हावा र पानीदेखि डराउनेजस्ता लक्षण देखिएपछि सङ्क्रमितको मृत्य करिव–करिव सतप्रतिशत नै निश्चित जस्तै हुन्छ ।

रेबिज भाइरस लागेकाहरूको उपचार गर्ने कुनै विशेष औषधि छैन । त्यसैले कुनै पनि जनावरले टोकेमा रेबिज भाइरसविरुद्धको खोप लगाइहाल्नु पर्छ । रेबिज भाइरसबाट बच्ने एक मात्रै तर भरपर्दो उपाय नै यसको खोप हो ।

जनावरले टोकेको यति नै घन्टाभित्र खोप लगाउनुपर्छ भन्ने ठ्याक्कै यकिन समय छैन । तर, जनावरले टोकेपछि जतिसक्दो चाँडै रेबिज विद्धको खोप लगाउनुपर्छ । सकेसम्म तुरुन्तै खोप लगाउनु उचित हुन्छ । जनावरले टोकेपछि जति चाँडै खोप लगायो, त्यति नै फाइदा हुन्छ । खोप लगाउन जति ढिलो भयो, खोपको प्रभावकारिता त्यति नै कम हुँदै जान्छ ।

भौगौलिक विकटतालगायतका कारण जनावरले टोकेका कोही स्वास्थ्य संस्थासम्म आइपुग्न ढिलो पनि हुन सक्छ । यसो भएमा पनि ‘ढिलो भइहाल्यो’ भनेर खोप लगाउन छुटाउनु हुँदैन । तर, लक्षण देखिनुअघि नै खोप लगाइसक्नु पर्छ । लक्षण देखिइसकेपछि खोप लगाएर अर्थ हुँदैन ।

रेबिज सङ्क्रमित जनावरले टोकेपछि नसा हुँदै मस्तिस्कमा भाइरस जान्छ । मस्तिस्कमा भाइरस सङ्क्रमण भएपछि रेबिज भाइरस सङ्क्रमणका लक्षणहरू देखिन थाल्छन् । त्यसपछि उक्त भाइरस र्‍याल ग्रन्थीमा गएर बस्छ । भाइरस र्‍याल ग्रन्थीमा गएर बस्ने भएकाले नै सङ्क्रमितको र्‍यालको माध्यमबाट अर्को व्यक्तिमा रेबिज सर्ने जोखिम हुन्छ । त्यसैले रेबिज भाइरस सङ्क्रमित व्यक्तिको जुठो खानु हुँदैन ।

रेबिज विरुद्धको एक साइकल खोप लगाएको तीन महिनामा फेरि कुनै जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्छ । तर, रेबिजविरुद्धको खोप लगाएको तीन महिना वा त्यसपछि जनावरले टोकेमा भने बुस्टर खोप लगाइन्छ । एक पटक पूरा साइकल रेबिजविरुद्धको खोप लगाइसकेपछि फेरि जनावरले टोकेमा बुस्टर मात्रा नै लगाउनुपर्छ ।

रेबिज सर्ने जोखिमयुक्त ठाउँमा काम गर्ने व्यक्तिले जनावरले टोक्नुअघि समेत रेबिजविरुद्धको खोप लगाउन सकिन्छ । रेबिजबारे अनुसन्धानमा काम गर्ने, भेटेनरीमा काम गर्ने, जनावरको प्रत्यक्ष सम्पर्कमा हुनेजस्ता व्यक्तिहरूले जनावरले टोक्नुअघि नै रेबिजविरुद्धको खोप लगाउनु उचित हुन्छ ।

डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्