पर्दा पछाडिका हिरो किशोर थापा

बीएन अधिकारी

म्युजिक स्टुडियोका प्रोप्राइटर, रेकर्डिस्ट तथा साउन्ड इन्जिनियर हुन् किशोर थापा । नेपाली साङ्गीतिक क्षेत्रमा उनलाई नचिन्ने र उनको नाम नसुन्ने व्यक्तिहरू शायदै होलान् । यस क्षेत्रमा उनले झन्डै तीन दशक बिताइसकेका छन् ।

लामो समयदेखि गीत रेकर्ड तथा मिक्सिङमा सक्रिय थापाका ‘नमूना बनाइदियौ, आफ्नो मन आफैंसँग ढाँट्न नमिल्ने’, ‘नाइँ नभन्नु ल’, ‘कम्मरमाथि पटुकी’ लगायतका गीतहरू चर्चित बनेका छन् । नेपालमा नाम चलेका गायक–गायिकाहरूको आवाजलाई उनले मिठो बनाएर स्रोतामाझ पुर्‍याउने काम गरिरहेका छन् । मिङ्मा लामाको स्वरमा सजिएको ‘नमूना बनाइदियौ’ मा उनले पहिलो काम गरेका थिए । उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ । त्यसपछि उनले प्राविधिक संयोजन गरेको राहुल वैद्यको ‘आफ्नो मन आफैंसँग ढाँट्न नमिल्ने’ र सोही एल्बममा समावेश अर्को गीत ‘लुकीछिपी’ हिट भएको थियो ।

त्यसपछि प्रमोद खरेलका अधिकाङ्श हिट गीतमा समेत उनले काम गरे । स्वरूपराज आचार्यको स्वरमा सजिएको गीत ‘बल गरेर त्यो मन यता मोड भन्दिनँ म’ अनि चलचित्र नाइँ नभन्नू ल’ को पहिलो शृङ्खलादेखि अहिलेसम्मका सबै गीत रेकर्डिङ र मिक्सिङको काम उनैले गरेका हुन् । ‘पागल म बन्न सक्छु’ बोलको गीतले किशोरलाई थप उचाइमा पुर्‍यायो । पछिल्लो समय अत्यधिक चलेको गीत ‘के गुलियो छ र सख्खर चिनी’ बाट थप किशोर थापा थप चिनिए ।

उनले २०५५ मा एसएलसी दिएका हुन् । गोरखास्थित सहिद लखन गाउँपालिकाका वासिन्दा हुन् किशोर । एसएलसी दिएपछि काठमाडौ आएका उनको त्यसपछि नै सुरु भए सङ्घर्ष नै सङ्घर्षका दिनहरू । साङ्गीतिक क्षेत्रमा आउन उनलाई मामा ज्योतिलाल रानाले डोर्‍याएका हुन् । उनैले किशोरलाई स्टुडियोमा गीत रेकर्डिङको काम लगाइदिए ।

त्यसबेला डिल्लीबजार (कालिकास्थान) मा एउटा रेकर्डिङ स्टुडियो थियो । त्यहींबाट सुरु भयो उनको करिअर । खासमा उनी ‘प्राक्टिल्ली सिक्न’ भनेर म त्यस स्टुडियोमा गएका थिए । तर, उनले त्यही स्टुडियोमा दुई वर्ष काम गर्ने अवसर पाए ।

त्यहाँ काम गर्दागर्दै ‘सिम्फोनिक रेकर्डिङ स्टुडियो’ मा काम गर्ने अर्को मौका पाए । त्यहाँबाट चाहिँ उनको विशेष करिअर अगाडि बढ्यो । सिम्फोनिकमा किशोरले त्यसका उनका गुरु समेत रहेका प्रोपाइटर दीप तुलाधरसँगको सङ्गतमा काम गरे । त्यहाँ चार–पाँच वर्षजति उनले काम गरे । त्यसपछि उनी फेरि ‘ड्रिम्स स्टुडियो’ मा काम गर्न पुगे । त्यहाँ उनले दुई वर्षभन्दा बढी काम गरे । त्यसपछि भने किशोर आफैंले खोले– ‘ए वान म्युजिक रेकर्डिङ स्टुडियो’ । अहिले उनी त्यही स्टुडियो चलाइरहेका छन् ।

सपना थिएन यो क्षेत्रमा जम्ने

‘म म्युजिक क्षेत्रमै यसरी जम्छु भन्ने त सपना नै थिएन,’ उनले होलिस्टिकलाई सुनाए– ‘गाउँमा हुँदा कहिलेकहीं दोहोरी गीतहरू गाउँथें । ती गीत यसो मनोरञ्जनका लागि मात्र, अलिक उट्पट्याङ– उट्पट्याङ खालका मात्रै हुन्थे । भोलिका दिनमा सङ्गीत क्षेत्रकै प्रोफेसनल बन्छु र यसैबाट जीविका चलाउँछु भन्ने चाहिँ पटक्कै थिएन । साँच्चै भन्ने हो भने त मलाई मादल बजाउन समेत आउँदैनथ्यो ।’

‘एसएलसी दिएपछिको खालि समयमा यसो कापीमा मुक्तक, कविता तथा गीतहरू लेख्ने गर्थें,’ उनले सुनाए– ‘काठमाडौं आउँदा ती कापीहरू पनि बोकेर आएँ । यहाँ आइसकेपछि त्यत्तिकै हल्लिएर हिँड्ने कुरा त भएन । जागिर खानुपर्‍यो, खोजिदिनोस् न भनें मामासँग । तिमीले के काम जानेका छौ र खोजिदिनु भन्नुभयो मामाले ।’

‘एसएलसी दिएर आऊ, काम खोजिदिउँला भन्नुभएको होइन ?’ ऊबेला मामासँग गरेको प्रश्न उद्धृत गर्दै किशोरले मामासँगको भलाकुसारी सम्झे– ‘काम त केही जानेको छैन, अब सिक्ने नि त ! सिकेर गर्ने अनि खाने ।’

भान्जाको इन्ट्रेस्ट म्युजिकतिर छ भन्ने अलिअलि जानकारी उनका मामालाई थियो । किशोरले लेखेका गीत, कविता र गजलको डायरी मायाले भेटेर हेरिसकेका रहेछन् । अब भान्जो म्युजिक लाइनमै लाग्दा बेस हुन्छ भनेर नै मामाले उनलाई कालिकास्थानको स्टुडियोमा पुर्‍याइदिएका थिए ।

मामा पनि यही लाइनमै भएका काम गर्न किशोरलाई अलिक सजिलो पनि भयो । यसरी उनी म्युजिकमा प्रवेश गरे तर त्यसबेलासम्म पनि यो पेशा उनको खास यो इन्ट्रेस्टको विषय थिएन । त्यसपछि भने उनले गीतार बजाउन सिक्ने क्लास लिए । गोपाल गुराँससँग चार–पाँच महिनाजति भोकल पनि सिके । उनले म भोकलिस्ट बन्छु भनेर सिकेका होइनन्, म्युजिकमा काम गर्न गायनकला पनि जान्नुपर्छ भनिठानेर त्यसो गरेका हुन् । भोकल सिकेपछि थोरै भए पनि हार्मोनियम बजाउन पनि सिकिन्छ, केही मात्रामा बेसिक ज्ञानहरू प्राप्त हुन्छ, कर्डस् थाहा हुन्छ भनेर मात्रै उनले भोकल सिकेका हुन् ।

‘अझै सिक्थें होला, उहाँ (गुराँस सर) पनि बित्नुभयो,’ सुरुआती दिनका स्मृति शेयर गर्दै किशोर भन्छन्– ‘स्टुडियोमा पनि व्यस्त भएँ, त्यसैकारण राम्ररी ज्ञान लिन भने सकिनँ । त्यसपछि चाहिँ मान्छेसँग भन्दा पनि युट्युब हेरेर नै सिकेको हुँ मैले । आफ्नो काम बेसिकल्ली रेकर्डिङ र मिक्सिङ भएकाले यतातिरै बढी व्यस्त भएँ ।’

उनलाई बाल्यकालमा भने चार्टड एकाउन्टेन्ट बन्ने इच्छा थियो । उनले सानैमा सुनेका थिए– ‘चार्टर्ड एकाउन्टेन्टले त धेरै पैसा कमाउँछ ।’ त्यसैकारण एसएलसी दिएपछिको उनको सोच त्यही विषय पढ्नेतिर थियो र उनमा चित्र बनाउने समेत खुबी थियो । तर, परिस्थितिले ती विषय पढ्ने त्यतातिर काम गर्ने अवसर जुराएन ।

म्युजिक छाडेर घरतिर

स्टुडियोमा काम गर्दा निकै तनाव हुन्छ । एक पटक अनेकौं लफडा एकैसाथ आइलोगपछि उनमा म्युजिकप्रति तीव्र विष्तृष्णा जाग्यो । अब घरै जान्छु भनेर लागे घरतिर । घर गएर बारीभरि सुन्तलालगायत धेरै बिरुवा रोपे । एक वर्षजति गाउँमा नै बसे ।

‘म गाउँ गएपछि त्यो समयमा चलेका म्युजिक डिरेक्टरलगायत मलाई माया गर्ने दाइहरूले मेरो खोजी गर्न थाल्नुभएछ,’ किशोर भन्छन्– ‘म घर गएको छु भन्ने थाहा पाएपछि घरमा नै फोन गरेको गर्‍यै गर्नुभएछ तर मसँग चाहिँ कुरा भएन बाबासँग कुरा हुँदो रहेछ ।’

‘यो मान्छे घर गएर बस्यो, साङ्गीतिक क्षेत्रमा निकै सम्भावना बोकेको मान्छे हो, किन यो लाइन छाडेको ?’ स्थापित सङ्गीतकारहरूले आफ्ना बासँग गरेको कुराकानी सुनाउँदै किशोर भन्छन्– ‘बरु हामी स्टुडियो खोल्दिन तयार छौं, काठमाडौं आएर काम गरोस् । काठमाडौंबाट बारम्बार कल आइरहेको जानकारी बाबा र दाइले सुनाउनुहुन्थ्यो । मचाहिँ नटेरी–नटेरी बसिरहेको थिएँ ।’

‘अचानक एउटा दसैंमा त गायक त्रिलोक रानाजी घरमै आइपुग्नुभयो । उहाँको पहिलो एल्बम ‘समय’ मा मैले नै काम गरेको थिएँ । त्यस एल्बमको ‘बरको छायाँले’ बोलको गीत हिट भएको थियो । उहाँले घरमै पुगेर मेरो ‘माइन्डवास’ गरिदिनुभयो ।

उनका दाइ इन्डियन आर्मी हुन् । किशोर घर फर्केका बेला उनका दाजु पनि छुट्टी मनाउन घर आएका थिए । गायक त्रिलोकले किशोरको भन्दा बढी उनका दाइ र बुबाको माइनन्डवास गरिदिए । ‘यो मान्छे गाउँमा बस्नै हुदैन,’ त्रिलोकले किशोरका बुबा र दाइसँग भने– ‘कहाँ यसरी गाउँमा बसेर हुन्छ ? यो मान्छेलाई त जे–जसरी भए पनि काठमाडौंमै पो पठाउनुुपर्छ ।’ त्रिलोकका कुरा सुनिसकेपछि उनका दाइ र बुबाले सल्लाह दिए– ‘अब तँ यसरी खेतीपाती गर्दै यहाँ बसेर हुँदैन, काठमाडौं नै जा ।’

त्यसबेला मैले बारीमा दुई सय बोट सुन्तला रोपेको थिएँ । म्युजिक क्षेत्र त्याग्दै मजाले सुन्तला खेती नै गर्छु भनेर लागिसकेको थिएँ । म्युजिक क्षेत्रमा न इज्जत पाइयो न त कामको जस् नै । जसरी भए पनि पैसा नै कमाउनु त हो भन्ने हिसाबले बलियो भएर गाउँमै जम्न थालिसकेको थिएँ ।

गायक त्रिलोकले अति नै बल गरेपछि मैले एउटा सर्त राखें– ‘म काठमाडौं त जान्छु तर जागिर नखाने हिसाबले । स्टुडियो खोलिदिने हो त ? मसँग त पैसा छैन ।’

‘मेरो प्रस्तावमा उहाँ सकारात्मक हुनुभयो र लगानी गरिदिनुभयो,’ किशोरले सुनाए– ‘उहाँले गरिदिएको लगानी मात्रैले त के पुग्थ्यो र ! पहिलेदेखि नै मलाई माया गर्ने अरु दाइहरूले पनि राम्रो सहयोग पुर्‍याउनुभयो । अन्ततः मैले आफ्नै स्टुडियो खोलें र चलाएँ । सुरुमा चार–पाँच जना म्युजिसियनले चलाका थियौं, अहिले भने यसलाई मैले एक्लै नै चलाइरहेको छु, राम्ररी चलेको पनि छ ।’

काम त भ्याई–नभ्याई

‘सिम्फोनिकमा काम गर्दादेखि नै सुत्ने समय पाउँदैनथें; रातको दुई–तीन बजेसम्म काममै व्यस्त हुन्थें,’ उनी भन्छन्– ‘उज्यालो नहुँदै म्युजिक डाइरेक्टरहरू चिया र डोनट बोकेर मेरो कोठामा आइपुग्नुहुन्थ्यो । त्यो समयमा एउटा गीत रेकर्ड र फाइनल गर्नका लागि तीन महिनाभन्दा बढी कुर्नुपर्थ्यो । रेकर्डिस्टलाई फकाउन सकियो भने अलि अगाडि नै पालो आउँछ कि भन्ने हुन्थ्यो ।’

‘म कतिबेला सुतें भन्ने उहाँहरूलाई थाहा नै हुँदैनथ्यो; उज्यालो नहुँदै डोनट–चिया बोकेर उठाउन आइपुग्नुहुन्थ्यो,’ त्यो बेलाको बाध्यता पोख्दै किशोरले सुनाए– ‘यसरी अर्काको चिया–डोनट खाइसकेपछि त उठेर काम गरिदिनै पर्‍यो । त्यतिबेला त न खानेको टुङ्गो, न त सुत्ने समयकै पत्तो– निकै बिजोक अवस्था थियो । सुताइ त दुई घन्टाको पनि हुँदैनथ्यो ।’

कुरा पर्दा अगाडिकै

‘पहिले–पहिले फिल्मका कामहरू धेरै नै हुन्थे । त्यो बेला मैले रेकर्ड गर्दै गरेका फोटा–भिडियोहरू टेलिभिजनले प्रशारण गथ्र्यो । टिभीमा देखेपछि नै धेरैले मलाई चिन्ने मौका पाउनु भएको थियो,’ उनी भन्छन्– ‘त्यो बेला गाउँघरतिरबाट पनि फोन आउँथ्यो । त्यतिबेला चाहिँ आफ्नो कामप्रति साह्रै खुसी लाग्थ्यो । घरगाउँमा जाँदा पनि सेलिब्रेटी जस्तै भइन्थ्यो । ओहो ! तिमीलाई त हामीले टिभीमा देखेको थियौं नि भन्दै धेरैले राम्रो मान्नुहुन्थ्यो । त्यतिबेला चाहिँ पर्दा अगाडि आउनुपर्दो रहेछ, पर्दा पछाडि बसेर नहुने रहेछ भनेजस्तो लाग्थ्यो । पछि–पछि बिस्तारै चाहिँ पर्दा पछाडि पनि ठीकै रहेछ भन्ने लाग्न थाल्यो ।’

‘मैले गीतहरू पनि गाएँ, दुई–तीनवटा रेकर्ड पनि गरें । तर, आफैंले गाएका ती गीत मैलाई मन परेनन्,’ उनले भने– ‘रेकर्ड गरेर सुनेपछि आफ्ना गीतबाट आफैंलाई दिक्क लाग्यो, त्यसपछि गाउन छाडिदिएँ ।’

किशोर मात्र होइन, गीत–सङ्गीतमा उनकी श्रीमती मीना थापाको पनि गहिरो लगाव छ । आफूलाई यो स्थानसम्म ल्याइपुर्‍याउन उनको ठूलो हात रहेको किशोरको ठम्याइ छ । ‘सङ्गीतमा लाग्नुभन्दा अघि नै मैले बिहे गरेको हो,’ कुराको बिट मार्दै किशोरले सुनाए– ‘म्युजिकप्रति उनको एकदमै लगाव छ । केही वर्षअघि उनले गाएको झलकमान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साइँला’ बोलको गीत निकै राम्रो भएको थियो, निकै स्रोताहरूले मन पराउनु भएको थियो ।’