नेचुरल लाइफस्टाइल
डा. डीबी सुनुवार
‘आधुनिक’ जीवनशैलीसँगै मानव स्वास्थ्यमा अनेकौं प्राकृतिक प्रतिकूलता निम्तिइरहेका छन् ।
असन्तुलित मानवीय व्यवहारका कारण हावा, पानी, माटो, आकाश तथा वातावरण नै प्रदूषित भइरहेको छ । परिणामस्वरूप मान्छेले विभिन्न रोगको मारमा पर्नुपरेको छ ।
विगतकालमा पाको उमेरमा मात्रै देखापर्ने कतिपय रोग र स्वास्थ्य समस्या आजकल जवान व्यक्तिहरूमा समेत देखापर्न थालेका छन् । मधुमेहलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । पहिले–पहिले मधुमेह पाको उमेरमा लाग्ने रोगका रूपमा चिनिँदै आएको थियो तर आजकल यो समस्या जवानहरूमा समेत देखिने क्रम बढ्दै गएको पाइन्छ । रक्तचापको समस्या पनि सामान्यतया उमेर ढल्कँदै जाँदा देखापर्ने रोगका रूपमा चिनिन्थ्यो तर आजकल यो समस्या पनि जवान व्यक्तिहरूमा समेत देखिने क्रम बढ्दै गएको छ ।
प्राकृतिक जीवनशैलीको सट्टा कृत्रिम जीवनशैली अपनाउने क्रम बढेकैले यस्ता समस्या पनि बढ्दै गएको अनुमान लगाउन गाह्रो छैन । अहिले नयाँ–नयाँ आविष्कार भइरहेका छन् । र, नयाँ–नयाँ खोजसँगै कृत्रिम जीवनशैली अपनाउने पनि क्रम बढिरहेको छ । यसको प्रभावस्वरूप बस्ने बास, लगाउने लुगा र खाने खानाको जोहोमा पनि परेकै छ । त्यसैको सोझो प्रभावस्वरूप मानिसलाई अनेकौं स्वास्थ्य समस्याले गाँज्न थालेको छ ।
जीवन जिउने आधारभूत विषय समेत प्रकृतिबाट विमुख हुँदै जानु दुःखद् कुरा हो । बास बस्ने ठाउँ र सुत्ने ओछ्यान प्राकृतिक किसिमका हुनु आवश्यक हुन्छ । सुत्ने ओछ्यान गद्दीदार नहुनु नै उत्तम हुन्छ । लुगा–कपडा मौसम र शरीरको आवश्यकताअनुसार साधारण सुती, उलन र रेसमको हुनु राम्रो हुन्छ । सात्विक र साकाहारी खाना खानु उत्तम हुन्छ । सकभर साधारण तरिकाले पकाएको र नुन, तेल, अमिलो, पीरो तथा मरमसला कम हालिएका खाने कुरा खानु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ ।
यसरी यथासम्भव खानपान र लवाइ र समग्री जीवनशैलीमा प्राकृतिकपन अपनाउनु बुद्धमत्ता हुन्छ । प्राकृतिक जीवनशैली अपनाउने विभिन्न तरिका छन् । जसलाई सङ्क्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ–
- सेतो प्रजातिका भोजन (चामल, मैदा, नुन, चिनी र डाल्डा घ्यु एवम् तेल आदि) सकेसम्म कम उपयोग गर्ने बानी बसाल्नुपर्छ ।
- माङ्साहारजन्य भोजन (माछा, मासु, अण्डाजस्ता जीवजन्तुको हिंसा गरेर तयार परिएका) खाद्य सामग्री सकेसम्म कम खानु वा खाँदै नखानु उचित हुन्छ ।
- अधिक मरमसलाजन्य भोजन (रातो खुर्सानी, पुरानो अचार, मिठाइ तथा हानिकारक रङ्गको मिसावाट भएका) खाद्य पदार्थ नखाएर आफ्नो आयु बढाउन सकिन्छ ।
- मध्यपान (जाँड, रक्सी, छ्याङ, तोङ्बा, ह्वीस्की, ब्राण्डी, वाइन, बियर, कोक, फ्यान्टा, पेप्सी तथा रङ्ग र प्रिजर्भेटिभ हालेर तयार पारिएका अल्कोहलजन्य पदार्थ) को प्रयोग गर्नै हुँदैन ।
- धुमपान (बिँडी, चुरोट, सूर्ती, खैनी, तमाखु, गुट्का, पानपरागजस्ता सूर्तीजन्य अम्मलहरू) सेवन गर्नु हुँदैन ।
- दुखाइ कम गर्ने औषधि, निद्रा लगाउने औषधि, एन्टिबायोटिकजस्ता रासायनिक औषधिको प्रयोग कम गर्नुपर्छ ।
- भोक लागेका बेला खाना खाने, तिर्खा लागेका बेला पानी पिउने र निद्रा लागेका बेला सुत्ने बानी बसाल्नुपर्छ ।
- शारीरिक भाषा बुझेर थकानका बेला आराम, उमेर तथा मौसमअनुसारका शारीरिक मागहरूको पूर्ति गर्ने बानी बसाल्नुपर्छ ।
- सकरात्मक सोचाइ, शुभचिन्तन, उत्प्रेरणा, आशावादिता तथा जोसिलो भइरहने बानी बसाल्नुपर्छ ।
- बिहान सबेरै उठेर नित्यकर्म, प्रार्थना, योगासन, ध्यान, प्राणायाम, प्रात–भ्रमण, नृत्य, एरोबिक, ताइची, मार्सल आर्टजस्ता व्यायाम गर्नुपर्छ ।
- मौसमअनुसारका ताजा फलफूल, ताजा सागसब्जी, अङ्कुरित दानादार अन्न, खुदो, सक्खर, मह, रेशादार र नफलिएको खैरो चामल, चोकरयुक्त खस्रो पिठो, पालिस नलगाइएको दाल, दूध, दही, नौनी, घ्युजस्ता खाद्य पदार्थको सेवनमा जोड दिनुपर्छ ।
- बेलाबेला उपवास बस्नुपर्छ ।
- पूर्णरूपले स्वस्थ्य, खुसी, सिर्जनशील, आध्यात्मिक, मानवतावादी, प्रकृतिप्रेमी भएरै छाडछु भन्ने प्रणका साथ सुरुवात गर्नु लाभदायक हुन्छ ।
के हो प्राकृतिक जीवनशैली ?
सामान्य भाषामा भन्नुपर्दा प्राकृतिक जीवनशैली भनेको प्रकृतिको नजिक रहेर जीवनयापन गर्नु हो । प्रकृतिका नीति–नियमअनुसार जीवनयापन गर्दा स्वस्थ रहन मात्र होइन, आयु लम्ब्याउन समेत मद्धत मिल्छ ।
मानव शरीर र प्रकृतिबीच निकै राम्रो तालमेल हुन्छ । प्रकृतिसँगको सम्पर्कविना जीवन जिउनु सम्भव नै हुँदैन । यदि शरीरलाई ‘शक्ति’ मान्ने हो भने प्रकृतिचाहिँ ‘महाशक्ति’ हो । शरीरमा शक्ति क्षीण हुँदै गएमा अन्ततः त्यो प्रकृतिमा नै गएर बिलिन हुन्छ । यदि शरीरलाई शक्ति प्राप्त हुने हो भने त्यो प्रकृतिबाट नै प्राप्त हुन्छ । त्यसैले प्रकृतिसँग प्राणी शरीरको गहिरो नाता छ । यो यथार्थताको मर्मलाई सबैले बुझ्नु जरुरी छ ।
यौनशैली
प्रकृतिभित्रका प्राणी तथा वनस्पतिमा समेत स्त्री र पुलिङ्गी हुन्छन् । सिर्जना र विकासका लागि प्रकृतिभित्रका वनस्पति ‘स्त्रीकेशर’ र ‘पुङ्केशर’ ले मान्छेको स्त्री–पुरुषकै स्वरूपमा प्रजननजन्य भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
दैनिक, योजनाबद्ध र व्यवस्थित क्रियाकलपका कारण मानिसको खानपान तथा जीवनशैली विशेष प्रकारको रहँदै आएको छ । यौनजन्य क्रियाकलापलाई समेत स्वस्थ, मर्यादित एवम् सन्तुष्टिदायी तुल्याउन प्राकृतिकरूपमा सजग र सचेत हुनु पर्दछ । यही सजगता र सचेतताले पारिवारिक जीवनमा सन्तुष्टि दिन्छ । स्वास्थ्य रक्षाका दृष्टिले समेत स्वस्थ रहन सघाउ पु¥याउँछ ।
स्वस्थ यौनशैलीका निम्ति समेत भोजन, व्यायाम, आराम तथा वातावरण अनकूल हुनु पर्दछ । यही अनुकूलताले जीवनमा सफलता दिन्छ । यसले प्राकृतिकरूपमै जीवनशैलीलाई सरल बनाउँछ ।
प्राकृतिक जीवनशैली अपनाइएमा प्रजनन क्षमता तथा यौन क्रियाकलापमा समेत नकारात्मक प्रभाव पर्दछ ।
भोजनशैली
परम्परासँग वास्तविकरूपले मेल नखाएका कारण मानिसहरू अन्योलमा परेको जताततै देखिन्छ । प्राकृतिक जीवनशैली अनुसार सुखद् यौनका लागि बढी चिल्लो, पिरो, अमिलो र गुलियोखाले परिकार खानु राम्रो हुँदैन ।
स्वस्थ र सन्तुलित जीवनका लागि मात्र नभई जीवन जिउनकै लागि समेत भोजन सर्वाधिक महत्वपूर्ण र आधारभूत पक्ष हो । सुखद् यौनका लागि समेत सन्तुलित तथा प्राकृतिक भोजन आवश्यक पर्दछ ।
व्यायामशैली र आराम
शारीरिकरूपले तन्दुरुस्त रहनका लागि व्यायामको ठूलो महत्व हुन्छ । व्यायामका रूपमा सन्तुलित किसिमले विभिन्न किसिमका खेल खेल्न, प्रात–भ्रमण, पौडी, जिम, नृत्य र योगासन इत्यादि गर्न सकिन्छ । यसो गर्दा शारीकि तथा मनसिकरूपमा स्वस्थ रहन र सुखद् यौन क्रियाकलापका लागि समेत ऊर्जा मिल्दछ ।
यौन स्वास्थ्य कायम रहनका लागि आरामको पनि त्यत्तिकै महत्व हुन्छ । ध्यानमग्न भएर कुनै काम गर्न तथा सुखद् यौन क्रियाकलापका लागि समेत आरामले शक्ति–सञ्चय गरिदिन्छ । विश्राम वा ध्यानको अवस्थामा शारीरिकरूपले शक्ति–सञ्चय हुनुका साथै मानसिक शक्ति समेत प्राप्त भइरहेको हुन्छ ।