मानसिक स्वास्थ्यका लागि खेल
गोपाल ढकालफुटबलको विश्व–महासङ्ग्रामका रूपमा लिइने ‘वर्ल्डकप ’ भर्खरै मात्र सकिएको छ । र, अर्जेन्टिना यो महासङ्ग्रामबाट विश्वविजयी घोषित भएको छ । यो प्रतिस्पर्धा चलिरहँदा विश्वभर नै करोडौं खेलप्रेमीहरू टेलिभिजनको स्क्रिन वा कुनै डिजिटल डिस्प्ले अगाडि झुम्मिइरहेका थिए । नेपालमा पनि ठूलो सङ्ख्यामा फुटबलका ‘फ्यान’ छन् । सबै उमेरसमूहका नागरिकको प्यारो खेल हो फुटबल । विशेषतः किशोर–किशोरी र बालबालिकामा यसको ‘क्रेज’ अझै ज्यादा छ । धेरै किशोर–किशोरी र बालबालिकादेखि युवा र प्रौढसम्मले आफूलाई मन पर्ने टिम वा खेलाडीको नम्बर अङ्कित जर्सी लगाएर हिँड्ने रहर प्रदर्शन गरेको जताततै देखिन्छ/देखियो ।
मानसिक स्वास्थ्यका दृष्टिले खेलको भूमिका महत्वपूर्ण हुन्छ । शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत खेलकुदले ठूलो सहयोग पुर्याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वारा आफ्नो सम्वेग, इच्छा, सोचाइ, भावना, असन्तुष्टि, कुण्ठा आदि व्यक्त गरिरहेका हुन्छन् । प्रायः मान्छेले आफ्नो मनका गोप्य कुरा समते खेलको माध्यमद्वारा व्यक्त गरिरहेका हुन्छन् ।
यसैले खेललाई मानसिक रोग तथा मनोवैज्ञानिक समस्याको उपचार पद्धतिकै रूपमा अङ्गीकार गरिन्छ; जसलाई ‘प्ले थेरापी’ भनिन्छ । खेलमा सहभागी हुँदा मस्तिष्कबाट निस्कने ‘एन्डोर्फिन, डोपामाइनजस्ता रासायनिक तत्वले ‘मुड’ राम्रो बनाउँछ, तनाव घटाउँछ, र सकारात्मक सोच बढाउँछ अनि गहिरो निद्रा लाग्न सहयोग समेत पुर्याउँछ ।
खेलले डिप्रेसनलगायतका मानसिक रोगको उपचारमा मद्दत गर्छ । खेलले आफू र अरूप्रति सकारात्मक सोच र आत्मविश्वास बढाउँछ । आफूले सपोर्ट गरेको टिम र खेलाडीले जित्दा खेल हेर्ने दर्शकमा समेत आत्मविश्वास बढ्ने र मानसिक तथा शारीरिक स्वास्थ्यमा राम्रो प्रभाव पर्ने तथ्य अध्ययनले देखाएका छन् । जितमा पुरुषको सेक्स हर्मोन २० प्रतिशतसम्म बढ्ने समेत एक अध्ययनले देखाएको छ । यसकारण हुन सक्छ, विश्वकप फुटबलजस्तो प्रतियोगितामा सेक्स र यौन व्यवसायको वृद्धि हुने गरेको चर्चा सुन्नमा आउँछ ।
खेलले शारीरिक–मानसिक स्वास्थ्यमा सकारात्मक योगदान गर्ने भए तापनि रातभर नसुती–नसुती अबेरसम्म खेल हेर्दा अनिद्राका कारण अनेकौं समस्या देखिन सक्छन् । खेलमा हुने हार–जितका कारण तनाव बढ्दा रक्तचाप, मधुमेहजस्ता जोखिम पनि बढ्न सक्छन् । रक्सी खाएर खेल हेर्दा नजानिँदो तरिकाले बिस्तारै कुलतमा फस्ने सम्भावना पनि रहन्छ ।
शारीरिक विकासमा खेलको सहयोग
शारीरिकरूपमा तन्दुरुस्त रहन खेलकुद निकै महत्वपूर्ण छ । खेलकुदले राम्रो व्यायाम गराउँछ र शरीरका सबै अङ्ग सक्रिय हुन पुग्दछन् । यसो हुँदा शारीरिक–मानसिकरूपले ताजापनको महसुस गर्न सकिन्छ ।
खेल खेल्ने मानिसको माङ्शपेशी बलियो हुन्छ र हड्डी समेत मजबुत हुन्छ । खेल खेल्ने क्रममा कुद्ने, हिँड्ने र उफ्रने गर्दा माङ्शपेशीहरू अत्यधिक सक्रिय हुन्छन्, क्यालोरी खर्च हुन्छ र शरीर लचकदार हुन्छ । खेल खेल्नेहरूमा रक्तसञ्चार र शरीरका अङ्गहरूबीचको संयोजन पनि राम्रो हुन्छ; मस्तिष्कको कार्यक्षमता पनि बढेर जान्छ र शरीरलाई पर्याप्त कसरत गराउँछ अनि मानसिक ऊर्जा भर्ने काम गर्छ । खेलले मधुमेह, मोटोपनलगायतका समस्याबाट टाढा राख्न सहयोग पुर्याउँछ ।
खेल: मानवीय स्वाभाव
खेल मानवीय स्वाभावभित्र नै पर्ने कुरा हो । खेलमा रुचि नराख्ने मान्छे शायदै होलान् । प्रायः सबैको बाल्यकाल खेल खेलेर नै बित्ने गर्दछ । मानवजीवनको पहिलो रुचि भनेकै खेल हो ।
तर, समय, समाज र परिवेशअनुसार रुचिका खेलहरू भने फरक–फरक हुन सक्छन् । नेपालका प्रायः बालबालिका भाँडाकुटी, गुच्चा, पुतलीखेल, भकुन्डो, खोपी, डन्डीबियो, आँखाछोपी आदिजस्ता खेल खेल्दै हुर्के–बढेका हुन् ।
खेलले बढाउँछ क्षमता
खेल सिकाइको एउटा दरिलो माध्यम पनि हो । बालबालिकाहरूले त खेलकै माध्यमद्वारा धेरै कुरा सिकिरहेका हुन्छन् । समाजमा घुलमिल हुने, अनुशासनमा चल्ने, समय र अवसरको महत्व बुझ्ने, सहयोग–सहकार्य आदान–प्रदान गर्ने, नैतिकता र इमानदारितामा रहने, सफलता–असफलतामा धैर्यता कायम राख्नेजस्ता सिपको विकास खेलको माध्यमद्वारा हुने गर्छ ।
खेल खेली हुर्केका बालबालिकाहरू हँसिला, मिलनसार, रमाइला, सहयोगी, आत्मविश्वासी हुने गर्दछन् । खेल हार्दा असफलतामा पनि खेलाडीहरू अरु क्षेत्रका व्यक्तिहरू स्तो ज्यादै निराश हुने, डिप्रेसनमा जाने, आत्महत्या गर्नेजस्ता गरेको घटना प्रायः सुनिँदैन ।
तनाव बहन गर्ने क्षमता, आत्मबलजस्ता सिप उनीहरूले खेलबाट नै सिक्ने गर्दछन् । खेलाडीहरूमा असहज अवस्थामा आफुलाई सम्हाल्न सक्ने क्षमता हुने गर्दछ । खेलले स्वस्थ प्रतिस्पर्धा र मित्रताको भावना विकास हुन्छ ।
खेलले बढाउँछ सकारात्मक सोच
खेलले सकारात्मक सोच र आत्मीयता बढाउँछ; नकारात्मक सोचबाट टाढा राख्छ । खलले आनन्दित महसुस गराउँछ र जीवनमा आइपर्ने हरेक चुनौतीलाई सकारात्मक सोच र ऊर्जाका साथ सामना गर्ने आत्मबल दिन्छ ।
खेल र प्रतिष्ठा
खेल मनोरञ्जनको सशक्त माध्यम हो । खेल खेल्ने र हेर्ने दुवैलाई यसले आनन्द प्रदान गर्छ । मानसिक स्वास्थ्यका लागि मनोरञ्जन अति नै आवश्यक छ । तर, खेल मनोरञ्जनमा मात्र सीमित छैन; यो प्रतिष्ठा, मानसम्मान, जीवनयापन, व्यवसायजस्ता कुरासँग पनि जोडिएर आउने गर्छ ।
विश्वकप फुटबल, क्रिकेटका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आदिजस्ता खेलमा हार–जित ठूलै प्रतिष्ठाको विषय हुने गर्छ । यस्ता खेलहरूको आयोजना गर्नु र सहभागितासम्म जनाउन पाउनु राष्ट्रकै लागि ठूलो प्रतिष्ठाको विषय बन्ने गरेको छ ।
खेल, शक्ति, क्षमता, कला र प्रदर्शन गर्ने अवसर पनि हो । ऊ जमानामा गोर्खाको लिगलिगकोटमा राजा छान्न समेत दौड प्रतियोगिता आयोजना गरिन्थ्यो । दौड जित्ने व्यक्ति त्यहाँको राजा हुन्थे । उनको नाम र चर्चा त्यस ठाउँमा अहिलेका मेस्सी, रोनाल्डोभन्दा कम हुँदैनथ्यो । खेलले समाजलाई जोड्न र ऐक्यबद्धता ल्याउनुका साथै कतिपय अवस्थामा समाजलाई विभाजित गर्न समेत सक्दछ ।
खेलका नाममा विकृति
खेलका नाममा जुवा खेलाउने, बाजी राख्ने, रक्सी खाने, हो–हल्ला गरेर अरुलाई बाधा पुर्याउने, झै–झगडा र मारपिट गर्नेजस्ता विकृति पनि देखिने गरेको छ ।
आफूभन्दा फरक टिम र खेलाडीको सर्मथन गर्ने व्यक्तिलाई छेडछाड गर्ने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र पोस्ट गर्ने, आफ्नो टिमले जित्यो भन्दै घमण्ड गर्ने, बढी उत्तेजित हुने र अराजकतापूर्ण व्यवहार देखाउने, आफुले समर्थन गरेको टिमले हार्दा खेलाडीप्रति आक्रोश व्यक्त गर्नेजस्ता व्यवहार खेलका नाममा विकृति हुन् ।
खेल हार्दा दर्शकमा निराशा
खेल जित्दा खेल जित्ने टिम, खेलाडी र उनका सर्मथकहरू खुसी हुनु स्वाभाविकै हो । त्यसैगरी, हार्ने टिम, खेलाडी र उनका समर्थकहरूलाई पराजयले स्वभावतः निराश समेत बनाउँछ । कति खेलाडीहरू त निराश भएर खेलजीवनबाट सन्यास समेत लिन्छन् । आफूले सपोर्ट गरेको टिम र खेलाडीले हार्दा उनका समर्थकहरू ज्यादै निराश भएर आत्महत्या समेत गर्ने गरेका घटनाहरू देखिन्छन् ।
आफूले समर्थन गरेको टिम र खेलाडीप्रति अनि नै विश्वास गर्नु, हारको परिणामलाई स्वीकार्न नसक्नु र रक्सी खाएर खेल हेर्दा नशाका कारण निर्णय लिने क्षमता कम हुनुजस्ता कारणबाट दुःखद् घटनाहरू हुन पुग्दछन् । नेपालमै पनि यसभन्दा अगाडिको विश्वकप फुटबलमा आफूले सर्पार्ट गरेका टिमले हार्दा पन्ध्रवर्षीया एक बालिकाले आत्महत्या गरेकी थिइन् ।
खेल हेर्दा बनाउने यस्तो मानसिकता
आफूले भनेको टिमले जित्दा खुसी लाग्छ, आफ्नो अनुमान मिल्न जादाँ आत्मविश्वास समेत बढ्छ । तर, हामीले बिर्सनै नहुने कुरा के हो भने प्रतिस्पर्धात्मक खेलहरू अन्त्यमा हार–जितमै पुगेर टुङ्गिन्छन् । हारजित खेलको अनिवार्य परिणति नै हो । यो सत्यतालाई सबैले स्वीकार्नुपर्छ ।
खेल समर्थकहरूको मनोविज्ञान गजब र अजीवको हुने गर्छ । उनीहरूमध्ये कति त ‘डाइहार्ट’ फ्रेन्ड पनि हुन्छन् । आफ्नो प्रिय खेलाडीको झैं कपाल काट्ने, उसैको जर्सी लगाउने, उसले देखाउने जस्तै हाउभाउ र व्यवहार देखाउने अनि मानसिकरूपमा आफू ऊ नै हुँ जस्तो ठान्ने समेत गर्दछन् । यस्तो अवस्थामा त्यो खेलाडीले हार्दा आफू नै हारेजस्तो गरेर निराश पनि हुन सक्छन् ।
खेल हेर्दा मनोरञ्जनका साथै ज्ञान, सिप र खेलको रणनीति सिक्ने उद्देश्य राखेर हेर्नुपर्छ; हार–जितलाई मूल विषय बनाउनु हुँदैन । खेलमा जति तीव्र प्रतिस्पर्धा भयो, हेर्नेलाई त्यति नै रमाइलो हुन्छ/हुनुपर्छ । कडा प्रतिस्पर्धाले नै खेलको स्तरमा सुधार आउने हो । आफूले रोजेको टिमले जसरी पनि जित्नैपर्छ भन्ने मानसिकता हुनु राम्रो होइन । राम्रो टिम र खेलाडीको प्रशङ्शा गर्नु र जित–हारलाई स्वीकार गर्नु सच्चा दर्शक/समर्थकको कर्तव्य र इमानदारिता हो । खेल हेर्दा यस कुरालाई ख्याल गर्ने हो भने तनाव झोल्नुपर्ने र निराश हुनुपर्ने अवस्था आउँदैन ।