चौथो वार्षिकोत्सव: बधाई तथा शुभकामना !

डा. डीबी सुनुवार

अनेकौं उकाली–ओराली र भन्ज्याङ–देउरालीहरू पार गर्दै ‘होलिस्टिक प्रकाशन–यात्रा’ ले यस अङ्कदेखि चौथो वर्षमा पदार्पण गरेको छ । र, आजसम्म आइपुग्दा यो यात्राले ‘होलिस्टिक सञ्चार–यात्रा’ को आयाम ग्रहण गरिसकेको छ । १ जनवरी, २०२० मा ‘होलिस्टिक मासिक’ को पहिलो अङ्क सार्वजनिक गर्दै ‘होलिस्टिक प्रकाशन–यात्रा’ सुरु गरिएको थियो । यो यात्राले त्यसयता ‘होलिस्टिकमन्थ्ली डटनेट’ नामक अनलाइन पोर्टल र ‘होलिस्टिक अनलाइन टिभी’ नामक युट्युब च्यानल समेत विधिवत्, व्यवस्थित र नियमितरूपले सञ्चालन गर्दै आइरहेको छ । आजसम्म आइपुग्दा ‘होलिस्टिक प्रकाशन–यात्रा’ ले जनचेतनामूलक सञ्चारका विभिन्न विधि–प्रविधिको प्याकेजकै रूपमा ‘होलिस्टिक सञ्चार–यात्रा’ मा फड्को मारेको छ ।

अरु जुनसुकै कर्म, यात्रा र अभियानमा जस्तै सञ्चार–यात्रामा पनि स्वाभाविकरूपले अनेकौं तिता–मिठा र दुःखद्–सुखद् दुवैखाले अनुभव र अनुभूति हुने नै भए । तर, यसबीच तिताभन्दा मिठा र दुखद् भन्दा सुखद् अनुभव र अनुभूति बढी भएकैले त यो यात्रा आजसम्म निरन्तर छ र भोलिका दिनमा पनि निरन्तर अघि बढ्दै दीर्घकालीन भविष्यतर्फ उन्मुख र अग्रसर हुँदैछ ।

‘होलिस्टिक सञ्चार–यात्रा’ को थालनीसँगै सिङ्गै मुलुक मात्र नभई विश्वलाई नै प्रभावित पार्ने गरी उत्पन्न भएको सवभन्दा ठूलो प्रतिकूलता थियो– ‘कोरोनाभाइरसको महामारी ।’ कोरोना महामारीबाट बच्ने र बचाउने क्रममा सर्वत्र अस्तव्यस्तता छाउने गरी पटक–पटक गर्दै विभिन्न स्वरूपसहित करिव दुईसम्म कायम रहेको ‘लकडाउन’, ‘निषेधाज्ञा’, विभिन्न खाले बन्देज र अवरोधहरूको बीचबाट गुज्रँदै निरन्तर अघि बढिरह्यो हाम्रो यो यात्रा । लुकाइरहनु पर्दैन, होलिस्टिक सञ्चार–यात्रालाई निश्चय नै यो अस्तव्यस्तताले गम्भीररूपमा प्रभावित तुल्यायो ।

सर्वविदितै छ कि नाम चलेका र स्थापित सञ्चारगृहहरू समेत केही वर्षयता अनेकौं समस्यामा फस्न थालेका छन् । प्रविधिमा आएको गुणात्मक परिवर्तन र सामाजिक विकासक्रमको सामयिक सन्दर्भका कारण नै हुनुपर्छ– पाठक/दर्शक/श्रोताको उल्लेख्य सङ्ख्या छापा माध्यमको तुलनामा सञ्चार तथा सूचना प्रविधिका अरु–अरु माध्यमतर्फ बढी आकर्षित हुँदै गएका छन् । ‘अडियन्स’ को बदलिँदो प्रवृत्तिका कारण छापा माध्यम स्वभावतः अस्तित्वको सङ्घर्षमा रुमल्लिन पुगेको हो कि भन्ने अनुभूति सर्वत्र हुँदै छ । र, ‘होलिस्टिक मासिक’ ले पनि यो अनुभूति राम्रैसँग गरेको छ ।

यी र यस्ता प्रतिकूलता, जटिलता र चुनौती आ–आफ्ना ठाउँमा भए तापनि हामीले भने कहीं–कतै अन्योलता, अन्धकार र असाध्य व्यवधान देखिरहेका छैनौं । साहसका साथ यी र यस्ता चुनौतीहरूको सामना गर्दै जनसाधारणको जीवनशैली स्वस्थ–सन्तुलित तुल्याउन र मानसिक एवम् शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्न हामी सधैं प्रतिबद्ध छौं । यसै उद्देश्यका साथ नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ अघि बढाइएको ‘होलिस्टिक प्रकाशन–यात्रा’ लाई झन् व्यवस्थित, समृद्ध र प्रभावकारी तुल्याउँदै अझ अगाडि बढ्न सङ्कल्पबद्ध छौं । अतः हामीले हाम्रो अगाडिको यात्रामा उज्यालै–उज्यालो र सफलतै–सफलता मात्र देखिरहेका छौं ।

अतः यस हालसम्मका कामहरूको सिंहावलोकन र समीक्षा गर्दै तथा देखिएका/महसुस भएका कमी–कमजोरी सच्याउँदै निरन्तर अघि बढ्नु नै हाम्रा सामु आज देखिएको एउटै मात्र बाटो हो । आ–आफ्नो योग्यता, क्षमता र भूमिकाद्वारा होलिस्टिक सञ्चार अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने सबैप्रति ‘होलिस्टिक सञ्चार–यात्रा’ को चौथो वार्षिकोत्सवको यस अवसरमा हार्दिक कृतज्ञता र धन्यवाद प्रकट गर्न चाहन्छौं । हालसम्मको सफलताका निम्ति सम्बद्ध सबैमा हार्दिक बधाई ज्ञापन गर्दै थप सफलताका निम्ति कृतसङ्कल्पित भएर अघि बढ्ने प्रेरणाका निम्ति सबैमा शुभकामना टक्र्याउँदछौं ।