नयाँ वर्ष, नयाँ सन्देश र नयाँ उमङ्ग

केदारनाथ गौतम

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० को थालनीसँगै होलिस्टिक मासिकको प्रकाशनारम्भ भएको थियो । होलिस्टिक मासिकले तीनवर्षे यात्रा पूरा गरेको छ र यस अङ्कदेखि चौथो वर्षारम्भ भएको छ ।

पछिल्लो वर्ष रूस-युक्रेन युद्धले विश्वव्यापी प्रभाव पायो । सात समुद्रपारिको युक्रेन युद्ध र त्यस सन्दर्भको अन्तर्देशीय नाकाबन्दी एवम् आपूर्ति व्यवस्थामा भएको व्यवधानका कारण संसारभरि नै धेरथोर प्रभाव पर्यो; प्रतिकूलता थपियो । युक्रेन युद्धका कारण मुख्यतः अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको अद्वितीय मूल्यवृद्धि भयो र समग्र जनजीविकामै त्यसको प्रत्यक्ष प्रभाव पर्यो; चौतर्फी मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभावको स्थिति सिर्जना भयो ।

यसै अवधिमा चीन-भारत, चीन-अमेरिका र अरू विभिन्न मुलुकबीच कूटनीतिक व्यापारिक द्वन्द्व कतै उत्कर्षमा त कतै सुषुप्तरूपमै भए पनि जारी रह्यो । छिमेकी एवम् विदेशी राष्ट्रहरूसँग नेपालको सम्बन्धमा समेत उतार-चढाव आइरह्यो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), इन्डो-प्यासिफिक स्ट्राटेजी (आईपीएस), स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी), बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) जस्ता अन्तर्राष्ट्रिय मामिलाहरुले नेपाल र नेपालीलाई झस्काइरहे; झमेला, द्वन्द्व र विवाद बल्झाइरहे ।

यी तीन वर्षबीच नेपालमा पनि धेरैथरी कच्याङमच्याङ भए । यसबीच दुई-दुई पटक संसद् ( प्रतिनिधिभा) विघटन गरिए; दुवै पटक अदालतबाट पुनर्स्थापित भए । बितेका तीन वर्षबीच राष्ट्रपति – उपराष्ट्रपति पुनर्नियुक्त भए; सभामुख उपसभामुख फेरिए; राष्ट्रियसभाका अध्यक्ष चुनिए; सङ्घीय सरकार पटक-पटक विघटित भए र गठन गरिए । पटक-पटक प्रदेश प्रमुख फेरिए; मुख्यमन्त्री फेरिए र प्रदेश सरकारहरु समेत पुनर्गठित भए । यतिसम्म कि, लुम्बिनी प्रदेशको त राजधानी समेत परिवर्तित / स्थानान्तरित भयो । सन् २०२२ को मध्यान्तरदेखि उत्तरार्द्धसम्म आइपुग्दा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनहरु सम्पन्न भए । यतिबेला भने मुलुक नयाँ राष्ट्रपति-उपराष्ट्रपति, नयाँ प्रधानमन्त्री, नयाँ सरकार, नयाँ सभामुख–उपसभामुख, नयाँ प्रदेश प्रमुख, नयाँ मुख्यमन्त्री र नयाँ प्रदेश सरकार चयनको सङ्घारमा छ ।

होलिस्टिक मासिकको प्रकाशनारम्भ भएर १ जनवरी, २०२० मा पहिलो अङ्क विमोचन गरिएलगत्तै कोरोनाभाइरस महामारीको विश्वव्यापी सन्त्रास फैलियो । संसारभरका प्रायः देशहरूका साथसाथै नेपालमा समेत लामो समयसम्म लकडाउन निषेधाज्ञा र अरू अनेकौं प्रतिकूलता कायम रहे । कोरोना महामारी केही मत्थर भएपछि नेपालीले फेरि अर्को ठूलै महामारीको सामना गर्नुपर्यो । डेङ्गु सङ्क्रमणको यो महामारीले पनि जनजीवन र दैनिकीमा ठूलै उथलपुथल ल्याइदियो । यी दुवै महामारीको जोखिम अझै पनि कायमै छ; यद्यपि विगतको तुलनामा भने निकै सुषुप्त र मत्थर भएको छ ।

विशेषतः कोरोना महामारीअघि नागरिक, नेपाली समाज, नेपाल राष्ट्र र यहाँको राजनीतिक वृत्तले स्वास्थ्य सचेतना र स्वाथ्य क्षेत्रमा लगानी तथा राज्यको समवेदनशीलताप्रति खासै महत्त्व दिएको थिएन । त्यसयता भने जीवनशैलीमा सुधार तथा सतर्कताबारे नागरिक निकै हदसम्म सुसूचित र सचेत भएका छन् । स्वास्थ्य क्षेत्रमा कयौं पूर्वाधार, जनशक्ति, उपकरण र सुविधाहरूको बढोत्तरी भएको छ; केही हदसम्म मात्र भए पनि स्वास्थ्य क्षेत्रप्रति समाज र राज्य – निकायहरुको समवेदनशीलता बढेको छ ।

विश्व अवस्था र राष्ट्रिय परिवेशका यी र यस्ता अनेकौं प्रतिकूलताको सामना गर्दै र प्राप्त थोरै अनुकूलतालाई आत्मसात् गर्दै होलिस्टिक प्रकाशन-यात्रा जारी छ । होलिस्टिक मासिकको चौथो वर्षारम्भ र अङ्ग्रेजी नयाँ वर्ष, सन् २०२३ को सुरूआतसँगै पाठकवर्गमा नयाँ उत्साह र सन्देश प्रवाहित गर्न चाहन्छौं । दृढ आत्मविश्वास र नयाँ उमङ्गसहित सन् २०२३ लाई सर्वत्र सफलताको वर्ष सावित गर्न सबैमा प्रेरणा मिलोस्, होलिस्टिक टिमका तर्फबाट यही शुभकामना !