गायिका विन्दुको गायन–सङ्घर्ष

भोलानाथ अधिकारी

नेपाली गीत–सङ्गीतमा केही वर्ष यता निकै चर्चामा रहेका गीत हुन्– ‘पर्ख पर्ख मायालु’ र ‘पहिलो नम्बरमा’ । यी गीत मेला–महोत्सव तथा विज्ञापनमा समेत खुब बजे । सडकमा साइकल गुडाउँदै भाँडावर्तन साट्ने/बेच्नेले समेत कहिलेकहीं ‘पर्ख–पर्ख मायालु…’ बजाउँदै आफ्ना सामानको व्यापार गरिरहेको भेटिन्छ ।

यिनै चर्चित गीतकी गायिका हुन्, विन्दु परियार । सयौं गीतमा आवाज भरिसकेकी विन्दु ‘राप्ती आइडल’ को विजेता हुँदै साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । दशकअघि आयोजित उक्त प्रतियोगितामा उनले आफ्नो गायनकला स्रोतामाझ पस्किइन् र सबैको मन जितिन् । सोही उत्साहले उनलाई काठमाडौंसम्म डोर्‍यायो ।

‘राप्ती आइडल’ भएलगत्तै उनले एउटा फिल्ममा गीत रेकर्ड गराउने मौका पाइन् । ‘त्यो समयमा म गीत गाउनमा खुब मेहनत गर्थें, स्कुल र स्थानीय क्षेत्रमा हुने साङ्गीतिक कार्यक्रमहरूमा समेत सबैले मेरै नाम लिनुहुन्थ्यो,’ दशक अघिको सङ्घर्ष र मेहनत सम्झँदै गायिका विन्दु भन्छिन्– ‘त्यसैको प्रतिफलस्वरूप अहिले यो स्थान हासिल गर्न सफल भएकी हुँ ।’

‘राप्ती आइडल विजेताले फिल्मका लागि एउटा गीत गाउने अवसर थियो, सोही अवसरको सदुपयोग गर्दै काठमाडौं आएर पहिलो पटक ‘अप्रिल फूल’ को ‘तेरो–मेरो पिरती’ बोलको गीत गाएकी थिएँ,’ गायिका विन्दुले सुनाइन्– ‘यही गीतपछि नै मेरो गायनयात्राको गति अगाडि बढेको हो ।’

काठमाडौं आउनै कठिन, आएपछि टिक्नै मुश्किल

दाङको एउटा सामान्य परिवारमा जन्मे–हुर्किएकी विन्दु काठमाडौं आएर पहिलो गीत रेकर्ड गराएपछि घरै फर्किइन् । त्यतिबेला काठमाडौंमा बस्न उनलाई निकै समस्या थियो । एक्ली छोरी मान्छेलाई काठमाडौं बस्न परिवारले अनुमति दिएन । काठमाडौंमा कोठा लिएर छोरी मान्छे एक्लै बस्न कठिन होला भनेर घरपरिवारले उनको निर्णय मानेन । तर, साङ्गीतिक क्षेत्रमा अगाडि बढ्नका लागि भने उनले काठमाडौंमै बस्नुपर्ने आवश्यकता थियो ।

विन्दुले ‘राप्ती आइडल’ जितिसकेपछि सङ्गीतकार दीपक शर्माले उनलाई काठमाडौँ आएर सङ्घर्ष गर्न र सङ्गीतयात्रा अघि बढाउन सुझाव दिए । विन्दुकी दिदी काठमाडौंमा नै भएकाले उनी यतै फर्कने र केही समय दिदीकहाँ नै बसेर सङ्गीतयात्रा अघि बढाउने सोचिन् ।

त्यसपछि विन्दुले दिदीकै सहयोगमा काठमाडौं बसेर साङ्गीतिक यात्रा अगाडि बढाउने निर्णय बुबा–आमालाई सुनाइन् । बुबा–आमा भने छोरीलाई एक्लै काठमाडौं पठाउन सहमत भएनन् । विन्दुका बुबा–आमा तत्पर नभएपछि उनलाई एक्लै काठमाडौं पठाउन सङ्गीतकार शर्माले सम्झाइ–बुझाइ गरे । सङ्गीतकार दीपकको निकै गहिरो सम्झाइ–बुझाइ र अनुरोधपछि बल्लतल्ल विन्दुका बुबा–आमा छोरीलाई राजधानी पठाउन सहमत भए ।

आफ्नो रुचिको क्षेत्रमा जम्न र साङ्गीतिक क्षेत्रमा अघि बढ्न विन्दु परियार दाङबाट काठमाडौं आइन् । केही समय दिदीको डेरामा बसिन् र त्यसपछि बेग्लै कोठा लिएर एक्लै बस्न थालिन् ।

विन्दु काठमाडौंमा त बस्न थालिन् तर कहिलेकहीं गीत गाएर मात्रै त जीविका चल्दैनथ्यो । कोठा भाडा तिर्न, खाना–नास्ता खान र बसभाडा तिरेर यताउति हिँडडुल गर्न चाहिने खर्चको कुनै बन्दोबस्त थिएन । त्यसैले, उनी कामको खोजीमा लागिन् ।

पहिले घरमा छँदा नै विन्दुले सिलाइ–बुनाइ सिकिसकेकी थिइन् । सिलाइ–बुनाइमा सिपालु भएकाले अन्ततः उनले टेलरमा काम पाइन् । दिनभर टेलरमा काम गर्दै र बिहान–बेलुकी सङ्गीत सिक्दै उनी अघि बढ्न थालिन् । उनले केही सङ्गीतकारहरू चिनिसकेकी थिइन्; अर्थात्, केही सङ्गीतकारहरूले विन्दुलाई चिनिसकेका थिए । त्यसैकारण उनले बिस्तारै केही गीतमा ‘कोरस’ गाउन थालिन् ।

पारिश्रमिकविनै गायन–सङ्घर्ष

सङ्गीतयात्राका सुरुआती दिनमा उनी पारिश्रमिक पाउँदैनथिन् । सङ्घर्षरत नयाँ कलाकारलाई पारिश्रमिकभन्दा पनि अवसरको खाँचो हुने भएकाले विन्दु पनि पैसाको पछि दौडिइनन् । पारिश्रमिकविनै विभिन्न गीतहरूमा ‘कोरस’ स्वर दिइरहिन् । ‘कोरस’ गाएर पहिलो पटक उनले दुई सय रूपैयाँ पाएकी थिइन् ।

‘सुरु–सुरुमा मैले ‘कोरस’ गाउँदा त पैसा नै पाइँदैनथ्यो, अलि पछि–पछि भने एउटा कोरस गाउँदा दुई–तीन सय रूपैयाँ पाउन थालियो,’ सुरुआती दिनका सम्झनाहरू सुनाउँदै विन्दु भन्छिन्– ‘त्यसपछिचाहिँ बिस्तारै पारिश्रमिक बढ्दै जान थाल्यो र ‘कोरस’ गाउँदा मैले पाँच सय रूपैयाँसम्म पारिश्रमिक लिएँ । शायद एउटै गीतमा धेरै जनाले गाउनुपर्ने भएकाले पनि ‘कोरस’ गायनको पारिश्रमिक यति कम भएको हुन सक्छ ।’

सिलाइको काम गर्दै सङ्गीत सिक्ने क्रम लामै समयसम्म चलिरह्यो । त्यसपछि बिस्तारै उनले आफ्नै एकल स्वरमा पनि गीत रेकर्ड गराउन थालिन् । उनका गीतहरूले राम्रैसँग स्रोता त बटुल्दै थिए तर विन्दुलाई चर्चामै ल्याउन भने सकिरहेका थिएनन् ।

सङ्गीतकार दीपक शर्माले पनि निकै गीतहरूमा विन्दुलाई अवसर दिए । विन्दुको स्वर मिठो भएकाले दीपकले अरु–अरुका गीत पनि विन्दुलाई नै गाउन लगाए । विन्दुको स्वर र गायनकलाले बिस्तारै–बिस्तारै चर्चा कमाउँदै थियो ।

पहिलो पटक नै फिल्मको गीत गाएर साङ्गीतिक क्षेत्रमा लागेकी विन्दु निरन्तर गायनयात्रामा जमिरहिन् । उनले चलचित्र, कलेक्सन एल्बम र फुटकर गरी लगभग दुई सय वटाभन्दा बढी गीतमा स्वर भरिसकेकी छन् ।

टर्निङ प्वाइन्ट: ‘पर्ख–पर्ख मायालु’

गायिका विन्दुले गीतहरू त निरन्तररूपमा गाइरहिन् । दर्जनौं गीतमा स्वर भरिसक्दा पनि अपेक्षित चर्चा कमाउन नसकेकी विन्दुलाई साङ्गीतिक क्षेत्रमा र स्रोता–दर्शकमाझ चिनाउने पहिलो गीत भने ‘पर्ख–पर्ख मायालु’ बन्यो ।

नवल नेपाल निर्देशित चलचित्र ‘मङ्गलम्’ मा स्वर दिएपछि भने विन्दुको चर्चा चुलियो । चार वर्षअघि उनले गाएको ‘पर्ख–पर्ख मायालु’ ले नै विन्दु परियारलाई चर्चित गायिकाका रूपमा स्थापित गरायो । दीपक शर्माकै शब्द–सङ्गीतको यस गीतमा विन्दुलाई कृष्ण काफ्लेले साथ दिएका छन् ।

‘पर्ख–पर्ख मायालु’ को सफलतापछि भने विन्दुले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । त्यसपछि त उनले दर्जनौ फिल्मका गीत गाउने अवसर पाइन् । नेपालमै सर्वाधिक हिट भनिएका चलचित्र बनाउने दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा– ३’ मा समावेश ‘पहिलो नम्बरमा’ समेत उनै विन्दुले गाएकी हुन् ।

दीपक–दीपाको चलचित्रमा चर्चित बनेको यस गीतको गायनपछि त विन्दुको चर्चा थप चुलियो । त्यसयता नेपाली साङ्गीतिक क्षेत्रकै सर्वाधिक हिट गायिकाका रूपमा चिनिएकी विन्दुले स्टेज कार्यक्रमहरूमा समेत उत्तिकै मात्रामा पर्फम गरिसकेकी छन् ।

साङ्गीतिक यात्रामै देश–विदेश

आफ्ना गीत–सङ्गीत हिट भएर साङ्गीतिक क्षेत्रमा स्थापित भइसकेपछि जुनसुकै गायक–गायिकाहरूलाई मेला–महोत्वसमा पनि भ्याई–नभ्याई हुने गरेको छ । लोकप्रिय कलाकारको दर्जा पाइसकेपछि उनीहरू देश–विदेशमा हुने साङ्गीतिक कार्यक्रमहरू समेत उत्तिकै व्यस्त हुन्छन् । अहिले विन्दुलाई पनि देश–विदेशका कार्यक्रम भ्याउन हम्मे–हम्मे नै पर्ने गरेको छ ।

नेपालमा पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका अधिकाङ्श ठाउँमा विन्दुले आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेकी छन् । विदेशमा पनि यूएईसम्म पुगेर उनले आफ्नो कला र गला प्रस्तुत गरिसकेकी छन् । अरु थुप्रै कार्यक्रमहरू तय भइरहेका बेला विश्वभर फैलिएको कोरोना महामारीका कारण थुप्रै कार्यक्रम रोकिए र क्यान्सिल पनि भए ।

‘देश तथा विदेशका विभिन्न स्थानमा कार्यक्रम फिक्स भइसकेका थिए, त्यही बेला कोरोना महामारी उत्कर्षमा पुगेर संसारका धेरैजसो ठाउँमा लकडाउन भएका कारण विदेशका अधिकाङ्श कार्यक्रमहरू क्यान्सिल हुन पुगे,’ विन्दुले सुनाइन्– ‘अहिले फेरि थुप्रै कार्यक्रमहरूबारे कुराकानी चलिरहेका छन्, अहिलेचाहिँ विदेशभन्दा पनि नेपालमै कार्यक्रम गर्दैछु । विदेशका लागि पनि कुराकानी त भइरहेका छन् तर टुङ्गोचाहिँ लागिसकेका छैनन् ।’

गायनयात्रामै विवाह, सङ्गीतकारको साथ

आफ्नो गायनयात्रा अगाडि बढाइरहेका बेला सङ्गीतकार तथा एरेन्जर सुदीप सागरसँग विन्दुको भेट भयो । उनीहरूबीच चिनजान भयो र बिस्तारै एकापसमा नजिकिन थाले । उनीहरूबीच नजानिँदो किसिमले झाँगिँदै गएको प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भयो ।

‘यही गीत–सङ्गीतकै सिलसिलामा हामीबीच भेटघाट र चिनजान भएको हो,’ विन्दुले सुनाइन्– ‘हामी दुईबीच प्रेम बस्यो र त्यसपछि विवाह गर्‍यौं । उहाँ र मैले विवाह गर्दा मङ्गलम् चलचित्रको ‘पर्ख–पर्ख मायालु’ बजारमा आएकै थिएन । हामीबीच विवाह भएको लामै अन्तरालपछि त्यो गीत बाहिर आएको हो ।’

गायिका विन्दु र सङ्गीतकार सुदीपको घरबार राम्रैसँग चलिरहेको छ । एक–अर्काले एकापसमा मिलेर नै घरका काम र बाहिरका जिम्मेवारी पूरा गर्ने गरेका छन् । नेपाली गीत–सङ्गीतका क्षेत्रमा विन्दु–सुदीपको जोडीलाई उदाहरणीय रूपमा लिने गरिएको छ ।

दैनिकी र जीवनशैली

केही वर्ष अघिसम्म भने विन्दु बिहान ८–९ बजेसम्म सुत्ने गर्दथिन् । अहिले भने उनको दिनचर्या फेरिएको छ । उनी बिहान ५–६ बजेभित्रै  उठिसक्छिन् ।

उठ्नासाथ उनी मनतातो पानी पिउँछिन् । त्यसपछि ब्रेकफास्ट खान्छिन् । आफ्नो शरीरको तौल बढेको उनलाई मन पर्दैन । त्यसैले केही बेर व्यायाम गर्छिन् । त्यसपछि खाना बनाएर छोरालाई खुवाउँछिन् र स्कुल पुर्‍याउँछिन् ।

कार्यक्रमको सिलसिलामा बाहिर कतै जानुपर्दा भने यो दैनिकी लागू हुने कुरै भएन । घरमै हुँदा भने यही रुटिनमा चल्ने गरेकी छन् उनी । घरायसी काम सकेपछि दिउँसो भने साथीभाइसँग भेटघाट गर्छिन् । फुर्सद भएमा घरैमा रियाज गर्छिन् ।