यसरी बनाऔं गज्जबका परिकार
होलिस्टिक संवाददाता
आलु–टमाटर मसला
आवश्यक सामग्री
आलु (काटेको)– मध्यम आकारका ६ वटा, तेल (सूर्यमुखी)– २ (ठूलो) चम्चा, तोरीको दाना– १ (सानो) चम्चा, कडी पत्ता– ६–८ वटा, हरियो खुर्सानी– एउटा (मसिनो गरी काटेको), लसुन– २ केस्रा (मसिनो गरी काटेको), अदुवा– १ (सानो) चम्चा (मसिनो गरी काटेको), टमाटर– ५ वटा (मध्यम आकारका, मसिनो गरी काटेको), गरम मसला– १ (सानो) चम्चा, खुर्सानीको धुलो– आधा (सानो) चम्चा, बेसार– आधा (सानो) चम्चा, धनियाको पत्ता– २ (ठूलो) चम्चा ।
बनाउने तरिका
एउटा प्यानमा पानी उमाल्ने र त्यसमा काटेको आलु हाल्ने । करिव १०–१५ मिनेटसम्म मध्यम आगोमा आलु पकाउने । आलु पाकेर नरम भएपछि आगो बन्द गरी पानी तर्काउने र एउटा भाँडामा राख्ने ।
अब ठूलो प्यानमा तेल तताउने । तेल तातेपछि त्यसमा तोरीका दाना हाल्ने । दाना पड्कन थालेपछि कडी पत्ता, खुर्सानी, लसुन र अदुवा हालेर करिव १ मिनेटसम्म पकाउने । मसलाको बासना आउन थालेपछि काटेको टमाटर हाली हल्का चलाउने । त्यसपछि छोपेर करिव १० मिनेटजति (नरम होउन्जेलसम्म) पाक्न दिने ।
अब त्यसमा गरम मसला, खुर्सानीको धुलो, बेसार र नुन हाल्ने । ती सबैलाई मजाले मिसाएर फेरि १ मिनेटजति पकाउने । त्यसपछि माथि उल्लेख गरिएअनुसार तयार पारिएको आलु राख्ने र करिव २०० मिलिलिटर पानी थप्ने । अब त्यसलाई छोपेर उम्लन दिने र करिव १० मिनेटजति पकाउने ।
केही आलुलाई मसिनो हुने गरी म्यास गर्ने र बाँकीलाई त्यसै छाड्ने । त्यसमाथि धनियाको पत्ता राखेर गार्निस गर्ने । यसलाई तरकारीका रूपमा भात वा रोटीसँग खान सकिन्छ ।
एग राइता
आवश्यक सामग्री
अण्डा– ६ वटा, दही– ४ कप, तोरीको दाना– अढाइ (ठूलो) चम्चा, हिङ– आधा (सानो) चम्चा, बेसार– आधा चम्चा, हरियो खुर्सानी– ६ वटा, तोरीको तेल– २ (सानो) चम्चा, कडी पत्ता– ५–७ वटा, नुन– स्वाद अनुसार ।
बनाउने तरिका
अण्डालाइ एउटा गहिरो भाँडामा राखेर उमाल्ने । उम्लेको अण्डालाई केहीबेर सेलाउन दिई बोक्रा हटाउने । त्यसपछि आण्डा काटेर आधा–आधा पारी छेउमा राख्ने ।
त्यसपछि तोरीको दाना, हरियो खुर्सानी र बेसारलाई ग्राइन्डरमा राखेर थोरै पानी हाली पिस्ने । एउटा भाँडामा दही राख्ने र त्यसमा पिसेको यो पेस्ट र नुन हाली मजाले ह्विप गर्ने । दही–मसलाको मिश्रणमा माथि भनिएवमोजिम तयार पारिएको अण्डा हाल्ने ।
अब एउटा सानो प्यानमा तेल तताउने । तातेको तेलमा हिङ, तोरीको दाना, कडी पत्ता र एक चिम्टी बेसार हाल्ने । कडी पत्ता हल्का खैरो हुन थालेपछि, यो मिश्रण र माथि उल्लेखित दही–अण्डाको मिश्रणलाई एकै ठाउँमा मिलाउने ।
एग राइता तयार भयो । यसलाई भात र दालसँग साइड डिसका रूपमा खान सकिन्छ ।
सिनामन बनाना योगर्ट
आवश्यक सामग्री
दही– ५०० मिलिलिटर, केरा– २ वटा (एउटा मसिनो पारी काटेको र अर्को एउटा स्लाइस पारिएको), आइसिङ सुगर– १०० ग्राम, दालचिनी– आधा (सानो) चम्चा, पेस्ता, काजु, किसमिस– १ (ठूलो) चम्चा ।
बनाउने तरिका
आइसिङ सुगर र दालचिनीको धुलोलाई दहीसँग मिक्स गर्ने । मसिनो गरी काटेको केरा यसमा राखेर मजाले मिक्स गर्ने । यसरी तयार भएको मिश्रणलाई गिलासमा खन्याउने ।
अब यसलाई स्लाइस गरेको केराले गार्निस गर्ने । यसको माथि पेस्ता, काजु, किसमिस राखेर सर्भ गर्ने । दही र केराको मिश्रण भएकाले यस परिकारलाई दिउँसो रेफ्रेसिङ ड्रिङ्क्सका रूपमा समेत सेवन गर्न सकिन्छ ।