रुसी गोर्बाचेभ: हेर्ने दुई नजर

होलिस्टिक संवाददाता

शीतयुद्धकालीन दुई विश्व महाशक्तिमध्येको एक सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ३० अगस्ट, २०२२ मा निधन भयो । तत्कालीन सोभियत सङ्घको उत्तरी क्षेत्रमा अवस्थित प्रिभोल्नोइ गाउँमा २ मार्च, १९३१ मा जन्मेका उनी ९१ वर्ष बाँचे।

गोर्बाचेभ बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वभरकै सर्वाधिक विवादास्पद व्यक्तिका रूपमा देखापरे । र, ९० को दशकसम्मको द्विध्रुवीय विश्व गोर्बाचेभमार्फत सोभियत सङ्घको विघटनपछि एकध्रुवीयमा बदलियो।

गोर्बाचेभको सुरुआती नाम ‘भिक्टर’ थियो । तर, उनका हजुरबाले क्रिश्चियन परम्पराअनुरूपको ‘बप्तिस्मा’ का क्रममा उनको नाम बदले र ‘मिखाइल’ राखिदिए । उनका बुबाको नाम सर्गेई एन्ड्रिएबिच गोर्बाचेभ र आमाको नाम मारिया पेन्टेलेयेभना गोर्बाचेभ हो।

जुन, १९५० मा गोर्बाचेभ कम्युनिस्ट पार्टीको ‘उम्मेदवार सदस्य’ बने । सोही वर्ष उनले रसियाकै सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय ‘मस्को स्टेट युनिभर्सिटी’ को कानुन स्कूलमा अध्ययन गर्न आवेदन दिई छनोट भए । १९ वर्षे किशोरवयमा उनी पहिलो पटक आफ्नो गृहक्षेत्र छाडी मस्को जाने रेल चढे ।

नोभेम्बर, १९७८ मा गोर्बाचोभ सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिव बने । केन्द्रीय सदस्यहरूको सर्वसम्मतिमा उनी सो पदमा चयन भए । १० मार्च, १९८५ मा सोभियत कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव चर्नेन्कोको निधन भयो । त्यसको केही समयमै पोलिटब्युरोको सर्वसम्मतिले गोर्बाचेभलाई महासचिव (पार्टी प्रमुख) चयन गरियो । र, उनी १९९० मा सोभियत सङ्घको विघटन नहुँदासम्म सोभियत कम्युनिस्ट पार्टी र सत्ताको नेतृत्वमा रहे।

१९८५ देखि १९९१ सम्म ६ वर्ष सोभियत सङ्घको राष्ट्रपतिका रूपमा सत्ता समालेका गोर्बाचेभले ‘ग्लास्तनोस्त’ र ‘पेरेस्त्रोइका’ अर्थात ‘खुलापन’ र ‘पुनर्संरचना’ को नीति अघि सारे । समाजवादी-साम्यवादी राजनीतिक प्रणाली र सिद्धान्तमा ‘सुधार’ आवश्यक रहेको दावी गर्ने गोर्बाचेभले लागू गरेको यही नीतिकै कारण सोभियत सङ्घमा ७२ वर्ष नमूनायोग्य शासन गरेको कम्युनिस्ट सत्ता गामगुर्लम्म ढल्यो । र, सोभियत सङ्घ समेत टुक्रा-टुक्रामा विभाजित भई क्षतविक्षत बन्यो।

त्यसपछि गोर्बाचेभलाई पश्चिमा मुलुकले ‘महानायक’ को दर्जा दिए । उनलाई गैरकम्युनिस्ट ध्रुव अर्थात् पश्चिमा मुलुकहरूले ‘इतिहासको नायक’ र ‘पश्चिमी युरोपको स्वतन्त्रता र जर्मनीको एकीकरणमा साथ दिने नेता’ का रूपमा महिमामण्डित गरे । तर, सोभियत कम्युनिस्टहरू र विश्वभरकै कम्युनिस्टहरूका दृष्टिमा भने गोर्बाचेभ इतिहासकै सवैभन्दा ठूलो ‘गद्धार’ र ‘अमेरिकी एजेन्ट’ का रूपमा बदनाम भए।

एजेन्सीहरुको  सहयोगमा केदारनाथ गौतम