गायक नविनका नवीनतम कोसेलीहरू

बीएन अधिकारी

नेपाली गीत–सङ्गीतका पारखीहरूबीच चर्चा बटुलिरहेका गायक हुन्, नविनकिशोर कार्की । उनी श्रष्टा–सर्जक र दर्शक–श्रोताबीच नविन कार्कीका नाममा सुपरिचित छन् । नविनको आवाजमा ‘लाऊ माया चुनेर’, ‘महलमा राज होला तिम्रो’, ‘तिमीलाई रोजें’, ‘कुवाको पानी’ जस्ता दर्जनौ गीत स्रोतामाझ घन्किइरहेका छन् ।

स्रोतामाझ दुई वर्षअघि ‘नविन’ एल्बम पस्केका कार्की यतिबेला नयाँ–नयाँ गीतको रेकर्डिङमा व्यस्त छन् । उनका केही नयाँ गीत भर्खरै मात्र दर्शक–श्रोतामाझ पुगेका छन् त केहीको रेकर्ड हुँदैछ र केहीचाहिँ छायाङ्कनको क्रममा छन् ।

नविनले पहिले गाएका अधिकाङ्श गीतहरूको सङ्गीतसिर्जना वरिष्ठ सङ्गीतकार गुरुदेव कामत, शक्ति बल्लभलगायतले गरेका छन् । पछिल्लो समय उनले गाएका गीतहरू भने चर्चित सङ्गीतकारहरू राजनराज शिवाकोटी, रिमेश थापालगायतले सङ्गीतबद्ध गरेका छन् ।

गायनयात्रा: स्कुले जीवनदेखि नै

दोलखाको तामाकोशी गाउँपालिकास्थित जफे गाउँको रयाले भन्ने स्थानमा जन्मे–हुर्केका नविन बाल्यकालदेखि नै गायनप्रति लगाव राख्थे । स्कुलमा बेलाबखत आयोजना भइरहने गीत–सङ्गीतसम्बन्धी कार्यक्रम तथा प्रतियोगिताहरूमा निरन्तर सहभागी हुन्थे उनी । ‘स्कुलमा हुने साङ्गीतिक कार्यक्रमहरूमा सधैं नै गाउँथें–बजाउँथें’– आफ्नो किशोरवयका स्मृति शेयर गर्दै नविन भन्छन् ।

‘जन्मस्थान जफे छाडेर ०४७ मा काठमाडौं आएँ र लैनचौरस्थित शान्ति विद्यागृहमा भर्ना भएर सात, आठ र नौ कक्षा पढें,’ उनले सुनाए– ‘त्यसपछि दसौं कक्षा पढेर एसएलसी दिन भने गाउँकै विद्यालय फर्कें । कालिका मावि, हावामा आफ्नै बुबा ढुण्डीराज शिक्षक हुनुहुन्थ्यो, त्यसैले पनि एसएलसी दिन भने काठमाडौंबाट गाउँमै फर्केको हुँ ।’

‘बाल्यकालदेखि नै दिलदिमागमा बसिसकेको गीत–सङ्गीतप्रतिको मोह गाउँमै बसेर पूरा हुन सक्दैनथ्यो, त्यसैले एसएलसी दिएर फेरि काठमाडौंतिरै हान्निएँ,’ नविन भन्छन्– ‘म यता आएको केही पछि (२०५२ मा) बलराम थापाको अध्यक्षतामा अभियान कला–सांस्कृतिक मञ्च गठन भयो र म त्यसको सहसचिव बनें ।’

अभियान कला–सांस्कृतिक मञ्चको आयोजनामा ५ वैशाख, २०५२ मा राष्ट्रिय सभागृहमा नयाँ वर्षको वृहत् शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना भयो । त्यही कार्यक्रममा प्रस्तुति दिएर नै नविनले पहिलो पटक सार्वजनिक मञ्चमा पाइला अघि बढाएका हुन् ।

‘२०५२ मा रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भएँ सङ्गीत विषयकै अध्ययन गर्न थालें,’ उनले सुनाए– ‘त्यसको दुई वर्षपछि २०५४ मा रत्न बानियाँ (हाल दिवङ्गत) को शब्दसङ्कलनमा लाऊ माया चुनेर बोलको लोकदोहोरी गीत रेकर्ड गराएँ ।’

पहिलो एल्बममा सूर्यकुमारी र बिमाकुमारी

त्यो समयमा गीत निकाल्ने एउटै मात्र माध्यम थियो– क्यासेट चक्का (रिल) मा रेकर्ड । उनले निकालेको पहिलो क्यासेट एल्बमको साइड ‘ए’ मा नविन र सूर्यकुमारीको स्वरमा ‘लाऊ माया चुनेर’ बोलको लोकदोहोरी गीत थियो भने साइड ‘बी’ मा चाहिँ नविन र बिमाकुमारी दुराले आवाज दिएको अर्को गीत रेकर्ड भयो ।

नविनले आफ्नै लगानीमा निकालेको त्यो एल्बमले उनलाई देशैभर चर्चित गरायो । ऊ बेला एल्बम निकाल्न चार हजार रूपैयाँ लगानी गरेका नविनले त्यसको बिक्रीबाट दस हजार रूपैयाँ कमाए ।

एल्बम निकाल्ने रहर पछिसम्म पनि कायमै थियो उनमा । त्यसैकारण दुई वर्षअघि आफ्नै नामको ‘नविन’ एल्बम निकालेका हुन् । आठवटा गीत समावेश भएको त्यस एल्बमका केही गीतहरूले राम्रै चर्चा बटुले र उनलाई विभिन्न अवार्ड समेत दिलाए । ‘नविन’ एल्बम र त्यसमा समाविष्ट सिर्जनाहरूले ‘सर्वोत्कृष्ट गायन’, ‘सर्वोत्कृष्ट एल्बम’ र ‘जुरी अवार्ड सिङ्गर मोडर्न सङ’ लगायतका अवार्ड पाए ।

बीचमा ब्रेक, फेरि पिकअप

सङ्गीतयात्रामा पच्चीस वर्ष बिताइसकेका नविन लोक, आधुनिक, गजल, राष्ट्रिय– सबैखाले गीत गाउन रुचाउँछन् र जान्दछन् पनि । यसबीच केही समय गायनयात्राबाट ओझेलमा रहेका उनी व्यक्तिगत, पारिवारिक एवम् घरायसी व्यस्तताका कारण केही समय गायनयात्रा रोकिएको बताउँछन् ।

‘बीचमा अवरुद्ध भएको मेरो गायनयात्राले तीन वर्षयता फेरि निरन्तरता पाएको छ,’ नविनले सुनाए– ‘अन्य काममा समेत अल्झनु परेकाले बीचको केही अवधि गायनमा निरन्तरता दिन सकिएन, सङ्गीतयात्रा छाड्नु हुँदैन भनेर फर्किएँ, अब भने यसलाई निरन्तरता दिन्छु ।’

श्रोताबीच फटाफट ताजा गीतहरू

नविनले गुरुदेव कामत, शक्तिबल्लभ, सुशील विश्वकर्मालगायतका सङ्गीतकार तथा रत्नशमशेर थापा, डा. कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, राजुबाबु श्रेष्ठलगायतका गीतकारसँग लामै समय काम गरे । पछिल्लो समय उनी राजनराज शिवाकोटी, खड्ग गन्धर्व, रिमेश थापालगायतका चर्चित सङ्गीतकारहरूको सङ्गीत तथा देवेन्द्र केसी ‘देबु’, पुष्करराज बुढाथोकी, रमेश दाहाल, भोला पौडेललगायका गीतकारहरूका सिर्जनामा स्वर भर्न व्यस्त छन् ।

डा. कृष्णहरि बरालको शब्दरचना र रिमेश थापाको सङ्गीतमा नविनले आवाज दिएको नयाँ गीत भर्खरै रेकर्ड भएको छ । ‘सागरले मोति पायो’ बोलको यस गीतमा चर्चित गायिका मेलिना राईले उनलाई साथ दिएकी छन् ।

नविनकै आवाजमा अर्को गीत पनि भर्खरै रेकर्ड भएको छ । भोला पौडेलको रचना र रिमेश थापाको सङ्गीतमा अर्की चर्चित गायिका मिलन नेवारले नविनलाई साथ दिएको यो गीत श्रोतामाझ आउने तर्खरमा छ ।

देवेन्द्र केसी ‘देबु’ को शब्दरचना र राजनराज शिवाकोटीको सङ्गीतमा अर्को ताजा गीतको रेकर्डिङमा जुटिरहेका छन् नविन । यो गीत उनको एकल आवाजमा रेकर्ड हुँदै छ ।

फस्टाउँदो उद्योग: परिष्कृत प्रविधि

पहिलेको तुलनामा अहिले गीत–सङ्गीत क्षेत्र निकै फस्टाएको नविनको बुझाइ छ । प्रविधि, श्रोता, दर्शक, स्पोन्सर, लगानीकर्ता सबै हिसाबले विगतको तुलनामा अहिले काम गर्न निकै सजिलो भएको उनको ठम्याइ छ ।

पहिले गीत रेकर्ड गरेपछि अनिवार्यतः एल्बम निकाल्नै पर्थ्यो, नत्र दर्शक–श्रोतामाझ पुर्‍याउन सकिँदैनथ्यो । अहिलेजस्तो एउटा गीत रेकर्ड, छायाङ्कन आदि गरेर अनेकौं डिजिटल माध्यमबाट सार्वजनिक गर्ने र प्रचार–प्रसार गर्ने सुविधा ऊ बेला थिएन ।

एल्बम भरिने गरी सात–आठवटा गीत तयार पार्ने, रेकर्ड गर्ने र एल्बम उत्पादन गर्ने काम निकै गह्रुँगो, कठिन, महँगो र व्यावहारिकरूपले समेत अप्ठ्यारो थियो । अहिले त एउटा गीत तयार भयो कि त्यसलाई रेकर्ड गरिहाल्ने र कुनै प्लेटफर्मबाट सार्वजनिक गरिहाल्ने सुविधा छ । भिडियो निर्माण गर्न पनि पहिलेको तुलनामा अहिले निकै सहज र सस्तो हुने नविन बताउँछन् ।

दैनिकी र जीवनशैली

गायक नविन बिहानै सबेरै उठ्छन् । साँढे चार बजेतिरै उठिसक्ने उनी एक–डेढ घन्टा योगालगायतका व्यायाम गर्छन् । त्यसपछि केही समय रिजाय गर्छन् र खाना खाएर कामतिर लाग्छन् ।

आफ्नो व्यावसायिक काममा दिनभरजसो व्यस्त रहने उनी सेड्युलअनुसार रेकर्डिङलगायत साङ्गीतिक काममा केही समय खर्चन्छन् । खाजा–खानामा यो–यो खाने र त्यो नखाने भन्ने छनोट र छेकबार छैन । टिम र साथीभाइबीच जे–जस्ता परिकार उपलब्ध हुन्छन्, तिनै खाइदिन्छन् ।

उनी बेलुकी प्रायः दाल–भात खाँदैनन् । फलफूललगायत हल्का खाने कुराहरू खाएर सुत्ने गरेका छन् । अहिलेसम्मको स्थिति हेर्दा गायनले मात्र जीविका चलाउन कठिन देखिएकैले पेशा–व्यवसायमा समेत सक्रिय रहेको उनी बताउँछन् ।