उत्तम कोदेको कला–यात्रा

शङ्कर क्षेत्री

उत्तम अर्याल (कोदे) नेपाली रङ्गक्षेत्रका एक सक्रिय कलाकार हुन् । काठमाडौंको जितपुरफेदीमा २०३३ मा जन्मिएका हुन् उत्तम । आफू जन्मिएको करिव दुई महिनामै बुबाको न्यानो अँगालो गुमाउन विवश भए उनी । बालाजुस्थित मावलीमा बाल्यकाल बिताएका उनले मामाघरमै हुर्कंदै पढे ।

विद्यालय पढ्दादेखि नै कलाकारितामा लागिसकेका थिए उत्तम । त्यसैबेला गाउँमा एउटा नाटक आयोजना भयो । ‘सामन्तीको अन्त्य’ शीर्षकको त्यस जनचेतनामूलक नाटकमा उत्तमले काजीको ‘चम्चे’ का रूपमा ‘चतुरे’ को भूमिका निभाए । १६ वर्षको उमेरमा उनले गरेको त्यो अभिनय धेरैले मन पराए ।

त्यसको केही समयपछि उत्तमले प्रज्ञाभवनमा आयोजित नाटक महोत्सवमा सहभागी हुने अवसर पाए । ध्रुवराज खड्का र रामप्रसाद जितपुरेका माध्यमबाट पाएका थिए उनले त्यो अवसर । ‘मृत वस्तीहरू’ शीर्षकको नाटकमा ७० वर्षीय बाजेको भूमिका निभाए उत्तमले । १७ वर्षको उमेरमा आफूले गरेको त्यो अभिनय झन् बढीले मन पराएपछि कलाक्षेत्रमा अघि बढ्न अझै हौसिए उनी ।

१८ वर्षमा एसएलसी दिएका उनी नेपालीमा अनुत्तीर्ण भए । ‘नेपाली भएर नेपालीमै फेल भएँ भनेपछि त अब के पढ्नु र’ भनेर झोक चलेछ उनलाई । मौका परीक्षा समेत नदिई पढाइ छाडे । एसएलसी परीक्षाकै बेला आमालाई प्यारालाइसिस भएकाले पनि राम्ररी पढ्न नपाएको उनले सुनाए ।

केही न केही उद्यम, व्यापार, उत्पादन या सेवा गरेर पैसा कमाउनुपर्छ र सामाजिक हिसाबले समेत केही न केही गरेर नाम कमाउनुपर्छ भन्ने सोच उनमा बाल्यकालदेखि नै थियो । युवावस्था घर्कंदै जाँदा भने उनलाई लाग्न थाल्यो– पैसा त सबैले कमाउँदा रहेछन्; तर ‘ठूलो मान्छे’ बन्नका लागि त पढ्नैपर्ने रहेछ । पढाइ छाडेको दस वर्षपछि उनलाई फेरि पढ्नुपर्ने महसुस भयो । दस वर्षपछि फेरि एसएलसी दिए र उत्तीर्ण गरे ।

एसएलसी उत्तीर्ण हुँदासम्म उत्तमले कलाकारिताबाट राम्रै चर्चा बटुलिसकेका थिए । त्यसबेला उनको घरमा कोदो टन्नै हुन्थ्यो । त्यसैबेला एक जना दाइ उनको घरमा आए र भने– ‘तँ त कोदे साहु पो रहिछस् ! हरेकजसो कलाकारले केही न केही टाइटल नाम राख्ने चलन छ, तँ पनि ‘कोदे’ भनेर टाइटल राख् ।’ त्यसपछि आफूले ‘कोदे’ टाइटल राख्न थालेको उत्तमले सुनाए ।

बाल्यकालदेखिकै हँसिला–रसिला

सानैदेखि रमाइलो स्वभावका थिए उत्तम । मान्छेहरूलाई हँसाउन उनी उहिल्यैदेखि खप्पिस थिए । कलाकार उत्तमले उतिबेला गाउँमा चिया पसल पनि चलाए । त्यसबेला उनी उधारो चिया पिउनेलाई स्टिलको गिलासमा र नगदै चिया पिउनेलाई सिसाको कपमा चिया दिन्थे । सकेसम्म उधारो नखाऊन् भनेर त्यसो गरेको उनले सुनाए । त्यति मात्र कहाँ हो र ! कसैले तीन मोहोर पैसा तिरेन भने एक मोहर थपेर दुई रूपैयाँ पारी उल्टै उसैलाई दिँदारहेछन् उनी ।

चिया पसल चलाइरहेकै बेला ‘अमरसिंह’ नाटकमा ‘गाइँने’ को भूमिकामा अभिनयको अवसर आयो उत्तमलाई । त्यो अवसर उनले गुमाउने कुरै भएन । स्टेज नाटकमा जमेका कलाकारहरूसँग नाटक खेल्ने मौका पाए । गाइँनेका रूपमा सो नाटकमा उनले गीत गाए–

‘नेपाली दाजु, नेपाली भाइ, लौ हात समाऔं,
नेपाललाई स्वतन्त्र राखौं, तरबार उठाऔं…’

अनि यात्रा टेलिश्रृङ्खलातर्फ

त्यसपछि उत्तमले ‘बाउन्न घुस्सा, त्रिपन्न ठक्कर’, ‘मह चौतारी’, ‘मदनबहादुर–हरिबहादुर’, ‘डा. सुनिता’ जस्ता अनेकौं टेलिश्रृङ्खलामा अभिनय गरिसकेका छन् । ‘जिरे खुर्सानी’ मा उनले गरेको गिरिजाप्रसाद कोइरालाको भूमिका सर्वाधिक मन पराइएको उनले सुनाए ।

त्यसबेला स्टेज नाटकमा गिरिजाबाबुको भूमिकामा अभिनय गर्दा एक पटकमा ५० हजार रूपैयाँसम्म पारिश्रमिक पाएको उनले खुलाए । ‘जिरे खुर्सानी’ मा ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ भन्ने ‘नेता बा’ को छोरा (बले) का रूपमा उनले निभाएको भूमिकाले पनि राम्रै चर्चा कमायो ।

यसवर्ष ‘र्‍याले सरकार’ शीर्षकमा उत्तमले गरेको गाईजात्राको अभिनय पनि दर्शक–श्रोताले राम्रै मन पराएको उनको भनाइ छ । ‘मेरी बास्सै’ मा माग्ने बुढाको ससुरा बनेर खेलेको भूमिकाले पनि राम्रै चर्चा कमाएको उनी सम्झन्छन् । ‘झ्याईंकुटी झ्याइँ’, ‘र्‍याङ कि ठ्याङ’, ‘तीतो सत्य’, ‘सिस्नुपानी झ्याम्मै’, ‘घोक्रेठ्याक’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्ने मौका पाएको उत्तमले सुनाए ।

त्यसपछि चलचित्र अनि युट्युबमा

उनले ‘पिरिम पर्‍याछन्’, ‘ढुकुटी’, ‘ईकु’, ‘मैले भुल्नै सकिन’ लगायतका दर्जन आसपास चलचित्रमा समेत अभिनय गरे । उत्तमले केही म्युजिक भिडियोहरूमा पनि काम गरे । विभिन्न जनचेतामूलक सडक नाटक देखाउने क्रममा करिव ६२ जिल्लाका कयौं गाउँ पुगेको उनले सुनाए ।

स्वास्थ्योपचार सेवाबाट वञ्चित र अरु विभिन्न समस्यामा परेकाहरूको सहयोगार्थ पनि केही सडक नाटक खेलेर सहयोग जुटाएको उनले सुनाए । पैसा कमाउने किसिमका कार्यक्रममा पैसा लिएर काम गरे पनि कसैलाई सहयोगका निम्ति भनेर आयोजना गरिएका कार्यक्रममा पारिश्रमिक नलिई नाटक खेल्ने गरेको उनको भनाइ छ ।

उत्तम आजभोलि चाहिँ ‘कोदे युट्युब च्यानल’ मार्फत पनि अभिनय देखाउँछन् । अहिले ‘मसाने किरो’ टेलिनाटक युट्युबमा प्रशारण गर्ने तयारीमा रहेको उनले बताए । देशको समृद्धि तथा सुशासनका लागि कलाकारको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यसप्रति आफू सचेत रहेको उनको भनाइ छ ।

बाल्यकालमा केही पटक बिरामी परे पनि १०–१२ वर्षको उमेरपछि चाहिँ सामान्य रुघा–खोकी लाग्नेबाहेक आफू खासै बिरामी नभएको उत्तमले सुनाए ।