डाइबिटिज: प्रकार, लक्षण र सावधानी

डा. प्रतिक्षा बेल्बासे (भुसाल)

डाइबिटिजलाई मधुमेह, चिनीरोग र सुगरजस्ता नामले समेत चिन्ने गरिएको छ । यथार्थतः रगतमा ग्लुकोजको मात्रा बढ्नु नै डाइबिटिज हो । ग्लुकोज भनेको शरीरको इन्धन हो । खाइएको खाना पाचन प्रक्रियामार्फत ग्लुकोज बन्दछ र अवशोषित भएर त्यो रगतमा पुग्दछ ।

स्वस्थ व्यक्तिको शरीरमा ८० देखि ११० मिलिग्राम प्रतिडेसिलिटर ग्लुकोज पाइन्छ । शरीरमा योभन्दा बढी मात्रामा ग्लुकोज भएमा हाइपर ग्लाइसिमिया र कम भएमा हाइपो ग्लाइसिमिया भएको भनिन्छ । रातभर (आठदेखि दस घन्टा) को उपवासपछि लिइएको रगतमा (फास्टिङ ब्लड ग्लुकोज) को मात्रा ११० देखि १२५ मिलिग्राम प्रतिडेसिलिटर र खाना खाएको दुई घन्टापछि लिइएको रगतमा (पोस्टप्र्यान्डियल ब्लड ग्लुकोज) को मात्रा १४० देखि १९९ मिलिग्राम प्रतिडेसिलिटर भएमा मधुमेहको जोखिम भएको भनिन्छ । फास्टिङ ब्लड ग्लुकोजको मात्रा १२५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि र पोस्टप्र्यान्डियल ब्लड ग्लुकोजको मात्रा २०० मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि भएमा मधुमेह भएको पुष्टि हुन्छ ।

डाइबिटिज: वर्गीकरण र प्रकार

मधुमेहलाई मुख्यतः टाइप वन, टाइप टु, जेस्टासनल र सेकेन्डरी (अरु रोगका कारण हुने) गरी चार प्रकारले वर्गीकरण गरिएको छ । टाइप वन डाइबिटिजलाई इन्सुलिन डिपेन्डेन्ट अर्थात् जुभेनाइल र टाइप टुलाई इन्सुलिन इन्डिपेन्डेन्ट डाइबिटिज भनिन्छ । प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न नसकेर ब्लड ग्लुकोज बढ्न जाँदा टाइप वन मधुमेह हुने भएकाले यसलाई इन्सुलिन डिपेन्डेन्ट भन्ने गरिएको हो । यो अटो इम्युन रोग हो । प्याङ्क्रियाजको सङ्क्रमण वा अन्य कारणले हुने यो रोग एक्कासि देखा पर्दछ ।

यसखाले डाइबिटिज बाल्यावस्थामा देखापर्छ र शरीरको तौल घट्दै जान्छ । यो रोगबाट पीडितहरूमा इन्सुलिन उत्पादन हुँदै नहुने वा एकदम कमै हुने समस्या हुन्छ । यसखाले डाइबिटिज हुँदा छिनछिनमा पिसाब लागिरहने, अचानक तौल घट्ने, मुख र छाला सुख्खा हुने, अत्यधिक थकाइ लाग्नेजस्ता लक्षणहरू देखा पर्दछन् ।

प्याङ्क्रियाजले इन्सुलिन नबनाउने वा राम्ररी र पर्याप्त बनाउने अवस्थाका कारण कोषहरूले इन्सुलिन लिन नपाउने भएकाले टाइप टु डाइबिटिजलाई इन्सुलिन नन–डिपेन्डेन्ट डाइबेटिज भनिन्छ । यसखाले मधुमेह प्रायः वङ्शाणुगत कारण, अस्वस्थ र असन्तुलित खानपान, अव्यवस्थित जीवनशैली र अत्यधिक मोटोपन एवम् शरीरको बढ्ता तौलका कारण लाग्ने गरेको देखिन्छ ।

परीक्षण र निर्क्यौल

मधुमेह रोगले सुरुआती समयमा कुनै पनि लक्षणहरू देखाउँदैन । त्यसकारण प्रायः पीडितहरूलाई रोगले राम्रैसँग नच्यापेसम्म आफूलाई मधुमेह भएको पत्तै हुँदैन । अतः यस रोगको जोखिमयुक्त पारिवारिक पृष्ठभूमिका व्यक्तिहरूले नियमितरूपमा रगत जाँच गरिराख्नुपर्छ ।

मधुमेह भए–नभएको निर्क्यौल गर्नका लागि माथि उल्लेख गरिएअनुरूप आठ–दस घन्टाको उपवासपछि लिइएको रगत र खाना खाएको दुई घन्टापछि लिइएको रगतको परीक्षण गर्नुपर्छ । यसका लागि ग्लाइकोसिलेटेड हेमोग्लोबिन एचबीएवनसी टेस्ट गर्न पनि सकिन्छ । यो टेस्टले रगतमा पछिल्लो तीन महिनाको एभरेज ब्लड ग्लुकोज लेभल पत्ता लगाउँछ । मधुमेह लागिसकेर औषधि सेवन गरिरहेकाहरूमा औषधिको प्रभाव या असर थाहा पाउन पनि यस्तो परीक्षण गर्न सकिन्छ ।

रगतमा ग्लाइकोसिलेटेड हेमोग्लोबिन ४.५ देखि ६ प्रतिशतसम्म भएमा मधुमेह नभएको मानिन्छ । ग्लाइकोसिलेटेड हेमोग्लोबिन ५.७ देखि ६.४ प्रतिशतसम्म छ भने प्रि–डाइबिटिजको अवस्था मानिन्छ भने यो ६.५ प्रतिशतभन्दा माथि भएमा मधुमेह पुष्टि भएको मानिन्छ ।

मधुमेह लागिसकेर औषधि सेवन गरिरहेकाहरूले घरमै आफैंले ब्लड ग्लुकोज जाँच गर्नका लागि ‘ग्लुकोमिटर’ नामक सानो यन्त्र किनेर राख्न सकिन्छ । प्रत्येक ठोस पदार्थको सेवनपछि ब्लड ग्लुकोज कति भयो त भनेर आफैंले छोटो समयमै घरमै जाँच गर्न सकिन्छ । यसो गर्नाले आफूले खाइरहेको खाना आफ्नो स्वास्थ्यका निम्ति के–कति मात्रामा ठीक–बेठीक छ भन्ने कुरा पत्ता लगाएर ब्लड ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

समस्या र लक्षणहरू

माथि नै उल्लेख गरिसकियो कि मधुमेह एउटा सुषुप्त रोग भएकाले प्रारम्भिक चरणमा यसका लक्षणहरू खासै देखिँदैनन् । यो एक प्रकारको ‘सिस्टमिक समस्या’ भएकाले डाइबिटिजले फरक–फरक सिस्टममा अलग–अलग लक्षणहरू देखाउँछ ।

यो रोग लागेर क्रमशः बढ्दै गएपछि धेरै भोक लाग्ने, धेरै तिर्खा लाग्ने, घेरै पिसाब लाग्ने, धेरै थकाइ लाग्ने, मानसिक जडता बढ्ने, पेटको गोलाई बढ्ने, डर लाग्ने, कुनै कारणविनै रिस उठ्नेजस्ता समस्याहरू देखा पर्दछन् । मधुमेह हुँदा तौल घट्ने, नैराश्यताको अनुभव हुने, कमजोरी महसुस हुने, हात–खुट्टाहरू गल्नेजस्ता लक्षणहरू देखा पर्दछन् ।

यो रोग अझ बढ्दै गएमा आँखा कमजोर भई दृष्टि धुमिल हुने, छालाका समस्याहरू ( योनी, औंलाका काप र स्तनमुनि चिलाउने, छालामा दाद वा घाउ–खटिरा आउने, छालाको रङ्ग, कान्ति, मोटाइ र सुन्दरतामा ह्रास हुने आदि) देखा पर्दछन् । मधुमेह बढ्दै जाँदा स्वासमा एसिटोनको गन्ध आउने, दम बढ्ने, वाक्वाकी लाग्ने, बमन हुने, पेट दुख्ने, प्रतिरक्षा प्रणाली कमजोर हुने, घाउ–चोट चाँडै निको नहुने, पिसाबमा कमिला लाग्नेजस्ता लक्षणहरू समेत देखा पर्दछन् ।

निम्त्याउने जटिल समस्या

डाइबिटिज या मधुमेह रोग झन् बढ्दै गएमा हृदयाघात, मस्तिष्काघात, मिर्गौला फेल, दृष्टिनास, नसा–नाडी सुक्ने, छालाको समवेदनशीलतामा ह्रास हुने र अन्ततः रोग अनियन्त्रित अवस्थामा पुगेर मृत्यु नै समेत पनि हुन सक्दछ ।

मधुमेह लागिसकेपछि राम्रोसँग ख्याल नगरिएमा धेरै जटिलताहरू निम्तन सक्छन् । मधुमेह भएकाहरूलाई मुख्यतः मिर्गौला फेल, हार्टएट्याक (हृदयाघात), स्ट्रोक, प्यारालाइसिस (मस्तिष्काघात), घाउ निको नहुने, गुप्ताङ्गको इन्फेक्सन, दृष्टिनाश, छालाका रोगहरू, खुट्टामा घाउ आउने एवम् अल्सर हुनेजस्ता समस्याहरू देखापर्न सक्दछन् ।

मधुमेहबाट पीडितहरूलाई दाँतको समस्या, पुरुषमा नपुङ्सकता र महिलामा बाँझोपन, काँधको जोर्नी जाम हुने, नशा–नाडीहरूको क्षय भई समवेदनशीलता कम हुने, मानसिक तथा भावनात्मक विकलता, अनिद्रा, अपच, कब्जियत र तनाव, चिन्ता, भय, उदासिनताजस्ता समस्याहरूले समेत सताइरहन्छ ।

उपचार र जीवनशैली

मधुमेह एक प्रकारको दीर्घकालीन रोग (मेटाबोलिक डिजिज) हो । यसका पीडितहरूले अवस्था हेरी औषधि सेवन गर्नुपर्छ र जीवनशैली बदल्नुपर्छ ।

मधुमेहको उपचारमा एलोपेथी र आयुर्वेदजस्ता उपचार पद्धति लाभदायक हुन्छन् । योग, प्राकृतिक चिकित्साजस्ता जीवनशैलीजन्य अभ्यासहरूद्वारा पनि यसलाई निकै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । जीवनशैली परिवर्तन भनेको मुख्यतः भोजन, व्यायाम, विश्राम, विचार र व्यवहार स्वस्थ बनाएर स्वास्थ्यमैत्री तुल्याउनु या ठीक ढङ्गले समायोजन गर्नु हो ।

इन्सुलिन र सावधानी

इन्सुलिन डिपेन्डेन्ट अर्थात् टाइप वान मधुमेहको उपचार इन्सुलिन थेरापीबाटै गर्नुपर्ने हुन्छ । इन्सुलिन इन्डिपेन्डेन्ट अर्थात् टाइप टु मधुमेहको उपचारमा जीवनशैली परिवर्तन र औषधिको सेवन गरेर पनि रोग नियन्त्रणमा आएन भने इन्सुलिन नै लगाउनुपर्ने हुन्छ ।

इन्सुलिन लिनेहरूले जथावाभीरूपमा लिनु हुँदैन; चिकित्सकको परामर्शअनुसार तोकिएको युनिट (मात्रा) मात्रै लिनु पर्दछ । इन्सुलिन लिन ‘इन्सुलिन पेन’ को प्रयोग गर्न सकिन्छ । खाना खानुभन्दा १० देखि १५ मिनेटअघि इन्सुलिन लिनुपर्छ । इन्सुलिनलाई सुरक्षितरूपले सुख्खा र चिसो ठाउँमा राख्नुपर्छ ।

यी चिजहरू खाने

मधुमेहबाट बच्न खानपानको ठूलो भूमिका हुन्छ । मधुमेहबाट बच्न र यसलाई नियन्त्रणमा राख्न अमला, कागती, सुन्तला, मेवा, नास्पाती, मौसमजस्ता फलफूलहरू खान सकिन्छ ।

रायो, तोरीजस्ता हरिया सागपात र तितेकरेला, फर्सीको मुन्टा, घिरौंला, लौका, सलगम, मुला, सिमी, बोडी, लसुनजस्ता तरकारीहरू खान सकिन्छ । गेडागुडी, चामल, गहुँको पिठो, मकैको आँटो, कोदो, फापर, दलिया, कागुनो, चिनो, चनाजस्ता अङ्कुरित गेडागुडीहरू खानु राम्रो हुन्छ ।

यी चिजहरू नखाने

मधुमेहका बिरामीहरूले खानामा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मिठाइ, चकलेट, चिनी, आइसक्रिम इत्यादिजस्ता सुगर सिरप राखिएका र गुलिया खाने कुराहरू खानु हुँदैन ।

चिया, कफी, मिल्कसेकहरू पनि नखानु राम्रो हुन्छ । मःम, चाउमिन, बिस्कुट, समोसा, पाउरोटी, पप, तेलमा तारिएका र मैदाका परिकारहरू नखाँदा राम्रो हुन्छ । केरा, स्याउ, आँप, लिची, भुइँकटहरजस्ता गुलिया फलफूलहरू भने नखाँदा राम्रो हुन्छ ।

नियमित व्यायाम लाभदायी

मधुमेहका बिरामीहरूले दिनहुँ २० देखि ४५ मिनेटसम्म ब्रिस्क वाकिङ, साइक्लिङ, ट्रेडमिलजस्ता व्यायामहरू गर्दा राम्रो हुन्छ । सूर्य नमस्कार, अङ्ग व्यायाम, प्राणायामहरू गर्दा पनि हुन्छ ।

डाइबिटिज भएको अवस्थामा स्ट्रेस म्यानेजमेन्ट अत्यन्तै लाभदायी हुन्छ । त्यसका लागि रिल्याक्सेसन टेक्निकहरू र योग, मालिस सौना र स्टिम स्नान इत्यादि गर्न सकिन्छ ।

थप सावधानी

मधुमेहको पारिवारिक इतिहास भएकाहरू यसको जोखिम सूचीमा पर्दछन् । यसबाट बच्न तौल (मोटोपन) को नियन्त्रण अत्यन्तै जरुरी हुन्छ; उचाइअनुसारको तौल कायम राख्नुपर्छ । पेट लागेमा मधुमेहको जोखिम बढी हुन्छ ।

तनाव व्यवस्थापन मधुमेह र यसले निम्त्याउने समस्याहरूबाट बच्ने अर्को प्रभावकारी उपाय हो । मधुमेह पीडितहरूले आँखा, खुट्टा, मिर्गौला र छालाको विशेष ध्यान दिनुपर्छ । चिनीयुक्त, स्याचुरेटेड र ढिलो पच्ने खाने कुराहरू खान छाड्नुपर्छ । एकै पटकमा धेरै खाने कुराहरू खानुभन्दा पटक–पटक गरेर खाने बानी बसाल्नुपर्छ ।

डा. प्रतिक्षा होलिस्टिक युनिभर्सल हस्पिटलमा कार्यरत छिन्