स्वस्थ खानपान र आयुर्वेदिक पोषण
डा. डीबी सुनुवार
खाना र पोषण एकापसमा अन्तर्सम्बन्धित छन् भन्ने विषयमा दुईमत भएन । खानाले पोषणको आपूर्ति गर्छ भन्ने कुरा पनि नौलो र अनौठो भएन । स्थान, परिवेश तथा मौसम इत्यादिका आधारमा के–कस्तो खानपान उपलब्ध र उपयुक्त हुन्छ भन्ने कुरा निर्धारित हुन्छ ।
उपभोक्ताको शारीरिक तथा मानसिक अवस्थाअनुसार समेत खानपानको छनोट हुने गर्छ/हुनुपर्छ । खानपानको छनोटमा उमेरसमूहलाई पनि मध्यनजर गरिने नै भयो । खाना तयार पार्ने विभिन्न विधि हुन्छन् । खाद्य सामग्रीको सङ्कलन, भण्डारणदेखि पकाउँदा र खाँदा समेत विभिन्न विधि या प्रक्रिया अवलम्बन गरिन्छन् ।
आयुर्वेद चिकित्सा विधिमा बताइएअनुसार शरीरमा शक्तिशाली रोगलाई स्वतः निको पार्ने क्षमता हुन्छ । अर्थात्, शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ, जसले रोग लाग्नबाट बचाउनुका साथै रोग लागिहालेमा समेत निको पार्न (प्रतिरोध गर्न) मद्धत पुर्याउँदछ । र, रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनका लागि प्राकृतिक तथा स्वस्थ खानपान आवश्यक हुन्छ । त्यसैले खानपानलाई नै ‘मुख्य औषधि’ मानिन्छ/भनिन्छ ।
खानपान गर्दा पोषणका दृष्टिले विभिन्न नियम अपनाउनु पर्ने आयुर्वेद चिकित्साशास्त्रको मान्यता छ । यस आलेखमा तीमध्येका केही महत्वपूर्ण पक्षबारे चर्चा गरिएको छ ।
रोगअनुसार छनोट
शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर खानपान छनोट गर्नुपर्छ । स्वास्थ्य अवस्था ख्याल नगरी खानपान गर्नाले स्वास्थ्यमा प्रतिकूलता थपिन सक्दछ ।
चिसो समयमा घाँटी दुखेका बेला चिसोजन्य पदार्थ खानु हुँदैन । कफ, बाथ, पित्त अर्थात स्वास–प्रश्वास, हाडजोर्नी र पाचन प्रत्रिक्रयासम्बन्धी कुनै समस्या भए त्यहीअनुसार खानपान गर्नुपर्छ ।
बिहानको खाजा नखाऔं
शारीरिक श्रम नगर्नेहरूले सामान्यतः बिहानको खाजा नखाएकै राम्रो हुन्छ । विशेषतः सहरी क्षेत्रमा आयुर्वेदको यो नियम लागू हुन्छ । आजकल ‘इन्टरमिटेन्ट फास्टिङ’ को अवधारणा लागू हुने क्रम बढिरहेको छ ।
इन्टरमिटेन्ट फास्टिङ भन्नाले दिनमा छ घन्टाभित्रमा खानपान गरिसक्ने र बाँकी १८ घन्टाभित्र केही पनि नखाने भन्ने बुझिन्छ । यो विधिमा पनि उक्त १८ घन्टाभित्र पानी, चिया, कफी, जुसजस्ता पेय पदार्थ भने आवश्यकताअनुसार/बेला–बेलामा पिउनुपर्छ ।
पेटमा खालि ठाउँ छाड्ने
खाना कहिल्यै पनि पेटभरि कोचेर खानु हुँदैन; पेटको केही भाग खालि छाड्नुपर्छ । अर्थात् उकुसमुकुस हुने गरी टन्न खानु हुँदैन । यसरी खाँदा पाचन प्रक्रियाले राम्ररी काम गर्न असहज भई अपचलगायतका समस्या हुन सक्दछन् ।
जहिल्यै ताजा खाने
जहिल्यै ताजा खानपान गर्नुपर्ने कुरा त कुनै नौलो, विशेष र प्राविधिक विषय नै होइन । तर, जानी–नजानी, हतार वा विभिन्न बाध्यताका कारण ताजा खानपानको अवसरबाट वञ्चित रहनु परेको हुन सक्छ ।
यथार्थतः ताजा खानपान नगर्नु भनेको आफ्नो आयु छोट्याउनु नै हो । सकेसम्म अग्र्यानिक खानपान नै गर्नुपर्छ । त्यो सम्भव नभए पनि सकेसम्म प्रशोधन नगरिएका र स्थानीय खाद्य पदार्थमा नै जोड दिनुपर्छ । ताजा फलफूल तथा सागसब्जीलगायत मौसमी खानपानमा नै जोड दिनुपर्छ ।
छ स्वादमा प्राथमिकता
हरेक पटक खानपान गर्दा छ किसिमका खाद्य सामग्रीमा प्राथमिकता दिनुपर्ने आयुर्वेदिक सिद्धान्त छ । गुलियो, अमिलो, नुनिलो, तितो, चिसो र तातो गरी छ स्वादका खाद्य सामग्री शारीरिक तथा मानसिक स्वास्थ्यका निम्ति आधारभूत आवश्यकता नै हुन् । यी उत्तेजक स्वादअन्तर्गत समेत पर्दछन् ।
यी छ स्वादलाई यसरी अर्थ्याउन सकिन्छ– स्वीट: ग्राउन्डिङ, स्ट्रेन्दनिङ, नोरिसिङ; सावरः क्लिन्सिङ, प्युरिफाइङ; साल्टीः ब्यालेन्सिङ, रेगुलेटिङ; बिटरः डिटक्सिफाइङ, मिनिरलाइजिङ; अस्ट्रिन्जेन्टः एन्टिइन्फ्लामेटरी, कुलिङ; पन्जेन्टः वार्मिङ, स्टिमुलेटिङ ।
चिसो पेय नपिउने
चिसो किसिमका पेय पदार्थले शरीरमा नाकारात्मक असर गर्ने जोखिम बढी नै भएकाले सकभर यस्ता पदार्थ सेवन गर्नु हुँदैन । धेरै चिसो पिउनाले शारीरिक तथा मानसिकरूपमा नै नकारात्मक असर पर्ने जोखिम हुन्छ । पानी पिउँदा समेत मनतातो नै पिउनु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ ।
काम/कुरा गर्दै नखाने
कुनै काम गर्दै वा कुराकानी गर्दै खानपान गर्नु राम्रो हुँदैन । सामाजिक हिसाबले समेत यो तरिकालाई सभ्य मानिदैन भने यसो गर्दा खाना अड्कने या सर्कने लगायतका जोखिम हुन्छन् ।
खाना या खाजा खाँदा खानपानमा मात्र ध्यान दिनुपर्छ । एकाग्रता भएर नखाँदा शरीरमा भरपूर पोषण समेत पुग्दैन । खानपानका क्रममा एकाग्रता नभएमा कुपोषित भई विभिन्न रोग लाग्ने जोखिम हुन्छ ।
सुत्नुभन्दा तीन घन्टाअघि नै खाने
सुत्नुभन्दा तीन घन्टा अगाडि नै खानपान गरेमा मात्र पाचन प्रक्रियाले राम्ररी काम गर्न सक्दछ । यसो गर्दा रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ र निद्रा पनि राम्ररी लाग्दछ ।
खानपिनपछि शारीरिक रुपमा हल्का भएर सुत्दा शरीरलाई आराम समेत राम्ररी मिल्दछ । शरीरले पर्याप्त आराम पाउँदा र राम्ररी निद्रा पुग्दा शारीरिक एवम् मानसिक स्वस्थताका निम्ति राम्रो सहयोग मिल्छ ।
बेला–बेलामा जडीबुटी चिया
बेला–बेलामा जडीबुटीजन्य चिया र विभिन्न किसिमका झोलिला पदार्थ पिइराख्नु स्वास्थ्यका निम्ति निकै लाभदायक हुन्छ । आजभोलि त गानोदर्मा, जिन्सेङ, क्यामोमाइल इत्यादिबाट बनाइएका प्राकृतिक जडीबुटीजन्य चिया समेत बजारमा उपलब्ध छन् ।
नियमितरूपले र सन्तुलित ढङ्गबाट झोलिला पदार्थ पिउँदा डिहाइड्रेसनबाट बच्न मद्धत पुग्दछ । शरीरका निम्ति अत्यावश्यक पानीको मात्रा कायम राख्न विशेष ध्यानरूपले पुर्याउनैपर्छ ।
दिउँसोको खाना विशेष बनाउने
दिउँसोको खानपान राम्रोसँग गर्नुपर्छ । दैनिक छ घन्टाभित्र मात्रै खानपान गरिने भएकाले सन्तुलित भोजनको व्यवस्थापन गर्नुपर्छ । स्वस्थ, सन्तुलित र आयुर्वेदिक तरिकाले भोजन गर्दा बिहान खाजा खाइँदैन र बेलुकी पनि सुत्नुभन्दा तीन घन्टा अगाडि नै खाइन्छ । अतः ‘लञ्च’ का रूपमा खाइने दिउँसोको खाना भने मजबुत, सन्तुलित र स्वादिलो एवम् सन्तृप्तापूर्ण हुनुपर्छ ।
स्वास्थ्यका दृष्टिले यी र यस्ता सजगता अपनाउनु स्वस्थ खानपानशैली र आयुर्वेदिक खानपानका आधारभूत पक्ष हुन् ।