पहरा–छहरा फड्कँदै हिमालपारि पुग्दा

डा. डीबी सुनुवार

मन रमाएको छ पहरासँग । यतिबेला रमाएको छ मन छहरासँग । हिँड्नु छ सखारै, लमजुङको तालगाउँबाट । र, अघि बढ्दै छु छ्योर्तेनलाई नमस्कार गर्दै ।

नजिकै देखिएका छहरा–पहराले तान्दैछन् मेरो मन । सुस्केरा हाल्दै, सुन्दर छहराको दृश्यमा रमाइरहेको छु । हुलका हुल क्याम्पिङ र टी हाउसका बटुवाहरू आ–आफ्ना सहयोगी वा खच्चडहरूलाई भारी बोकाएर अघि–अघि बढिरहेका छन् । एउटै मर्स्याङ्दी नदीलाई फलामे पुलको सहाराले छ–सात पटक तर्दै अघि बढ्दैछ यात्रा ।

वारि तर्दा पारिको र पारि तर्दा वारिको दृश्य कैद गर्दैछु आँखामा । अझै निकै नै बाँकी छ उकालो चढ्न । धारापानीमा पुगेर खाना खाने योजना छ ।

झोलाको खकनले काँधमा डामिसकेको छ नराम्रोसँग । बेला–बेला उचाल्नु छ खकनलाई ।

अलिकति सजिलो महसुस हुन्छ यसरी उचाल्दा । बोक्दा–बोक्दा झोलाको तल्लो भागले ढाडमा समेत डाम्न थालिसकेको छ ।

दिउँसोको करिव १२ बजेको छ । धारापानीको पुच्छरमै अवस्थित होटलमा बिसाइयो ज्यान र झोला एकैसाथ । तात्तातो सुप र भात खानु छ यहाँ ।

फेरि पनि अगाडि बढ्दै छ यात्रा । मर्स्याङ्दीलाई बायाँ पार्दै अघि बढ्दा नागबेली परेको ठाडो उकालो बाटो करिव दुई घन्टा हिँडियो । भोलि बिहान मनासलु हेर्ने गरी आजको बास तिमाङको होटलमा बस्ने निधो भएको छ ।

मरितरी पुगिएको छ तिमाङको होटलमा । यहीं खानपान गर्नु छ र सुत्नु छ । निकै थकित छ आज ज्यान । निदाएछु भुसुक्कै ।

बिहान सखारै खुलेको छ निद्रा । छ बजे आँखा खुल्नेबित्तिकै झललल्ल बलेझैं झ्यालबाट देखिएको छ मनासलु हिमाल । आँखा मिच्दै र ठिहीमा ज्याकेटको टाँक पनि लगाउन नभ्याई के–के नै छोपुला झैं गरेर हत्त न पत्त क्यामरामा केही स्न्याप लिँदैछु मनास्लुको ।

आच्छुछुछु… ! कति चीसो हावा । आठ हजार एक सय त्रिसट्ठी मिटर उचाईको मनास्लु हिमाल विश्वकै दसौं अग्लो हिमालका रूपमा परिचित छ । यो नेपालको आठौं अग्लो हिमाल हो ।

यस पटक यात्रा थालेको चौथो रातको बास हो आज । सुन्दर हिमालले बिस्तारै बादलको पछ्यौरी ओढेको देखिँदै छ । यहाँको हावापानी र जडीबुटीबारे पनि जान्ने मौका मिलेको छ । यस जङ्गलमा पाइने च्याउको भाउ तोलाको चार रूपैयाँ रहेको जानकारी पाइयो ।

अझ अगाडि बढ्दैछ यात्रा । तिमाङका घरहरूका छाना काठको फल्याकले छाइएका छन् । काठबाटै तयार भएका छन् धाराका बेसिनहरू समेत । अनौठोजस्तो लागिरहेको छ यहाँको दृश्य । विभिन्न मोडल र डिजाइनयुक्त काठका घरहरू रङ्ग्याएर झिलिमिली पारिएका छन् ।

रोयल गार्डेनका स्टाफहरूसँग बिदा भयौं । त्यसपछि घोडा र खच्चडको लिदी टेक्दै अगाडि बढ्यौं । वारिपारिको वनजङ्गल नै थर्काउने किसिमको छ मर्स्याङ्दीको हुङ्कार । अघि बढ्दै छौं पहाराको डिलैडिल । निरन्तर उक्लँदै छौं उकालो । समूहमा छौं हामी र साथमा छन् साथीहरू ।

तल, कहाँ हो कहाँ– सुसाइरहेको छ मर्स्याङ्दी। तीन किसिमका दृश्यहरू देखिइरहेका छन् पारिपट्टि– माथिल्लो भागमा नाङ्गो चट्टान; बीच भागमा माला गढे झैं पातलो हिउँ र तल्लो भागमा डढेलोले खाएका सल्लाका नाङ्गा बोट र मसिना झ्याङ ।

पहाड नै फुटाएर आएजस्ता देखिने छाँगाहरूले सुनमा सुगन्ध थपे झैं प्रकृतिको सुन्दरतामाथि सुन्दरता थपिदिएका छन् । बाटामा भेटिएका विभिन्न गाउँहरू छिचोल्दै अघि बढिरहेछन् पाइला ।

तिमाङ र चामेबीच अवस्थित यस गाउँमा घोडा चढ्न निषेध रहेछ । कसैले घोडा चढिहाले एक हजार रूपैयाँसम्म जरिवाना लिइँदो रहेछ । ‘त्यति राम्ररी, कुरुङ–कुरुङ घन्टी बजाउँदै आउने घोडासवारलाई किन जरिवाना गरिएको होला ?’ मनमा स्वाभाविक कौतुहलता जाग्यो ।

यता कतिपय मान्छेले आफू रक्सी पिउने अनि घोडालाई पनि रक्सी पियाएर कुदाउने गर्दा रहेछन् । घोडा र घोडसवार दुवै नै रक्सीले उन्मत्त भएपछि दुर्घटनाको भय उच्च भएछ । त्यसैकारण, यस क्षेत्रमा घोडा चढ्न प्रतिबन्ध लगाइएको रहेछ ।

चामे पुगिएको छ यतिबेला । मनाङ जिल्लाको सदरमुकाम हो चामे । तिलिचो होटल पुग्दा खानपानको पूरै तयारी भइसकेको छ । बास यहीं नै भएकाले खाना खाएर विश्राम लिएको छु ।

कुहिरो फाटेर सिमसिम पानी पर्न थालेको छ । माथि लेकमा भने हिउँ पर्न थाल्यो । भोलि बिहानसम्म नै पानी पर्‍यो भने त कसरी हिँड्ने होला र चिप्लो बाटामा ? चिन्ता छ मनमा । धेरै नै बढेको छ चिसोे ।

भोलिपल्ट बिहानै उठ्यौं चिया–खाजा खायौं । हिँड्न लागेका छौं यहाँबाट । निधारमाथि हिमाल सुन झैं चम्केको बडो रोमाञ्चक दृश्य छ यहाँको । खुब मन परेको छ यो दृश्य मलाई ।

अघि बढिरहेकै छ यात्रा । पसाङको चिसोले स्वागतमा पर्खिरहेको हुनुपर्छ यतिबेला । उकालो उक्लेर ब्रताङमा लामो सास फेरियो । बोटबाटै टिपेर पाँच रूपैयाँमा किनेको स्याउ टोक्दैछु । यहाँ चियापान गरेपछि खाना खान पुग्नुपर्ने छ ढुकुरपोखरी ।

फेरि मर्स्याङ्दीलाई छेकारा मार्दै र उकालो काट्दै लम्कँदै छु । हाँसो–ठट्टा गर्दै; माटो, पानी, ढुङ्गा र हावाको बासनामा रमाउँदै पाइला चालिरहेको छु ।

गद्-गद् छु अब । यतिबेला आइपुगिएको छ ढुकुरपोखरी । यहाँ खाना खाएर पिसाङतर्फ अघि बढिरहेको छ यात्रा । सल्लाका बोटले भरिएको फराकिलो बाटो हुँदै वारिपारिका नाङ्गा डाँडा हेर्दै उकालो–उकालो नै अघि बढ्दैछ यात्रा ।

हिमालको टुप्पी रसाएर झरेको कल्कलाउँदो खोला काठेपुलबाट तरिसकेपछि स्वागत गरेको छ पिसाङको छ्योर्तेनले । अपर पिसाङमा तय भएको थियो आजको बास । तर, हाई–सिकनेस मेन्टेनका लागि लोअर पिसाङमा अवस्थित उत्से होटलमा गरियो हाम्रो व्यवस्थापन ।

लोअर पिसाङमा खानपिनपछि लागियो अपर पिसाङतिरै । भोलि मनाङ भ्यालीको यात्रा गर्ने योजनासहित शरीरलाई विश्राम दिई थकाइ मार्ने तरखरमा छौं । यहीं बसिएको छ आजको बास ।

बिहान पाँच बजे नै निद्रा खुलिसकेको छ । क्याम्पिङ ग्रुपका थुप्रै मानिसहरूले भरिएको छ होटल उत्से । अब भने पिसाङले पनि बिदाई गर्दैछ हामीलाई ।

यस यात्राका अरू सबै दिनको तुलनामा आज अलिक बढी नै हिँड्नु पर्नेछ । पाँचौं र छैटौं दिन केही सजिलो महसुस भएको थियो । तर, आज सातौं दिन भने हिड्न केही गाह्रो महसुस हुँदै छ ।

पिसाङबाट सल्लैसल्लाको वन हुँदै उकालो लागेका छौं । जानुपर्ने रुट त घ्यारु भएर हो तर हुम्दे हुँदै मनाङ निस्कने बाटोबाट अघि बढिरहेको छ यात्रा । करिव दुई घन्टाको उकालोपछि आइपुगिएको छ भन्ज्यांगमा ।

चुलु हिमालका केही सुन्दर स्न्याप लिइयो यहाँबाट । नजिकैबाट ‘अन्नपूर्ण–चार’ र ‘तिलिचो हिमाल’ राम्ररी देख्ने मौका पाइएको छ । हुम्दे विमानस्थल प्रस्टै देखिएको छ यहाँबाट ।

केही बेरको आरामपछि जङ्गलैजङ्गल अघि बढिरहेको छ तेर्सो बाटोको यात्रा । टाउकै दुख्ने गरी चिसो सिरेटो र सिरसिरे हावाले हानेको छ । हावा चल्न थालेको छ उडाउला झैं गरी ।

टाउको छोप्ने बाक्ला कपडा लगाउँदै निरन्तर अघि बढेको छ यात्रा । हुम्दे एयरपोर्ट पुगेर ‘स्नोल्याण्ड’ होटलमा खानपान गरियो । माया बहिनीका मायालु हातले पस्केर दिएको ढिँडो र लाङ्स्या खाइयो ।

खानपिनपछि अघि बढेको छ मनाङतर्फको यात्रा । हिमालपारि छु अहिले म । हिजोसम्म उत्तरमा देखिन्थ्यो हिमाल तर आजदेखि देखिएको छ दक्षिणमा । आँखै अगाडि देखिएको छ सेतो हिमाल ।

पाइला अघि बढ्दैछन् गन्तव्य मनाङतर्फ । बायाँ सेतो हिमाल र दाँयातर्फ नाङ्गोे पहाडको बीचबाट अघि बढ्दै जाँदा पुगिएको छ ब्राका । एउटा राम्रो होटल रहेछ यहाँ; एकैछिन सुस्ताएका छौं तातो–चिसो लिन ।

अझै बढी उचाइमा उक्लनु छ हामीले । तीन हजार दुई सय मिटरको उचाईमा त यत्तिको चिसो छ भने झन् अग्लो ठाउँ त कति चिसो होला ! कौतुहलता छाएको छ मनमा ।

उडाउला नै जस्तो गरी चलिरहेको छ हावा । तीन हजार पाँच सय मिटरको उचाईमा अवस्थित मनाङ आइपुगेका छौं । यहाँको ‘आइस ग्ल्यासियर लेक’ मा रमाउँदै विभिन्न पोजमा थुप्प्रै स्न्याप लिँदै छु । आज भोगिएका बाटाका अप्ठ्याराहरू र सम्पूर्ण पट्यारलाग्दा पलहरू सम्झन थालेको छु ।

तर, मलाई तानिरहेको छ यहींको सुन्दरताले । क्या आनन्द ! अझै बाँकी छ थोराङपासको कठिन यात्रा । बाँकी यात्रा–सन्दर्भलाई कल्पना गरिरहेको छु मनमनै ।

भिडिओ सामग्री: