यसकारण मिल्दैन यौनतृप्ति

प्रा.डा. दिनेश बाँस्तोला

पूर्णरूपले यौनतृप्ति प्राप्त हुन अर्थात् पूर्ण यौनानन्दका लागि शारीरिक तथा मानसिकरूपले जोडीका दुवै पक्ष यौन सम्पर्क गर्न तयार भएको हुनुपर्छ । जोडीमध्ये एक जना मात्रै तयार भएमा यौनतृप्ति प्राप्त हुँदैन । जोडीमध्ये एकमा यौनचाहना या यौनेच्छा वा यौनाकाङ्क्षा हुने तर अर्कोलाई नहुने अवस्था भएमा पहिलो कुरा त यौन सम्बन्ध सम्भव हुँदैन; र, यदि भइहालेमा पनि त्यो सुखद् एवम् सन्तुष्टिपूर्ण र तृप्तिदायी हुँदैन ।

जोडीमध्ये एकमा यौनचाहना भएको र अर्कोलाई नभएको अवस्थामा यौनसम्बन्ध राख्न खोजिए वा राखिए जोडीबीच वैमनस्यता बढ्ने जोखिम उच्च हुन्छ । यौन सम्बन्ध राख्ने–नराख्ने कुरामा पुरुषको तुलनामा सामान्यतः महिला नै बढी समवेदनशील हुन्छन् । पुरुषको तुलनामा महिला शारीरिक तथा मानसिक मात्र नभई प्राकृतिकरूपमै बढी समवेदनशील हुन्छन् ।

सुखद् एवम् सन्तुष्टिपूर्ण यौन सम्बन्धका लागि जोडीका दुवै पक्षले एकार्काको भावना बुझ्ने प्रयास गर्नुपर्छ । यौन समवेदनशीलता तथा भावना नबुझेमा जोडीबीचको सम्बन्धमा नै समस्या उत्पन्न हुन सक्ने जोखिम हुन्छ । विवाहित यौनजोडबीच अविश्वास, असमझदारी र मनोमालिन्य पैदा हुनु किमार्थ राम्रो कुरा हुँदैन ।

यौनचाहना अर्थात् यौनाकाङ्क्षा जागृत नहुनुका विभिन्न कारकतत्व हुन्छन् । कामको व्यस्तता, शारीरिक तथा मानसिक समस्यालगायतका अनेकौं कारणहरूले यौनेच्छा जागृत नगराउन सक्दछन् । विभिन्नखाले रोगका कारण पनि यौनप्रति अरुचि हुन सक्छ । उदाहरणका रूपमा भन्ने हो भने पुरुषमा चिनी रोग भएमा शिरा र धमनीको पर्खाल बाक्लिँदै जान्छ र रक्तसञ्चारमा समेत कमी आउँछ । यस्तो अवस्थामा यौनेच्छा कम हुन या नहुन सक्दछ ।

कतिपय अवस्थामा चाहिँ नियमितरूपमै यौन सम्पर्क भइरहे तापनि यौनजोडीको एउटा पक्ष अर्थात् मुख्यतः महिला सन्तुष्ट नहुन सक्दछन् । महिलामा प्राकृतिकरूपमै हुने उच्च यौनिक व्यवहारका कारण यस्तो हुन सक्दछ ।

पुरुष वा महिला या दुवैका यौनाङ्को मूत्रजन्य बाटामा कुनै सङ्क्रमण या ढुसीजस्ता समस्या भएमा पनि यौन सन्तुष्टि प्राप्त नभएको अनुभूति हुन सक्छ । जोडीका पुरुष–महिलामध्ये कुनैमा या दुवैमा यौनजोडी परिवर्तन गर्ने बानी बसिसकेको छ भने विवाहपछि वा कुनै खास परिवेशपछि एउटै जोडीबीच मात्र यौन सम्पर्क सीमित रहन पुग्दा समेत यौन सन्तुष्टि नमिलेको अनुभूनि हुन सक्दछ ।

यौनअतृप्तिको अनुभूति निरन्तर भइरहनुलाई शारीरिकभन्दा पनि मानसिक समस्याका रूपमा लिनु पर्दछ । यस्तो समस्यालाई एक प्रकारको मानसिक रोगकै रूपमा समेत लिन सकिन्छ ।

महिला वा पुरुषमध्ये कुनै एक वा दुवैमा यौनोत्तेजना बढी भएमा चिकित्सकको परामर्श लिन सकिन्छ । यौनजोडीबीच नियमति सहवास हुँदा समेत यौनतृप्ति नमिलेको अनुभूति भइरहेमा जोडीले एकापसमा छलफल गर्नुपर्छ र कारण पत्ता लगाएर समाधान गर्नुपर्छ ।

कुन ठाउँमा, कुन बेला र कसरी यौनसम्पर्क गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार ठाउँ, समय र तरिका तय गर्न सकिन्छ । जे–जसो गर्दा पूर्णरूपले यौन सन्तुष्टि मिल्छ, जोडीबीचको सल्लाह र सहमतिमा सोहीअनुसार यौन–व्यवस्थापन गर्न सकिन्छ । सन्तुष्टि नमिल्नुको कारण पत्ता लगाएर सन्तुष्टि प्राप्त हुने विभिन्न उपाय अपनाउन सकिन्छ ।

शारीरिक तथा मानसिक समस्या वा अन्य भौतिक कारणहरूमध्ये के कारणले यौन सन्तुष्टि नमिलेको हो भन्ने कुरा विषयविज्ञ या चिकित्सकसँगको परामर्शबाट पनि पत्ता लगाएर समाधान गर्न सकिन्छ । यौन सन्तुष्टि मिलेन भनेर अत्तालिनुको सट्टा कारण पत्ता लगाएर समस्या समाधानको बाटोमा लाग्नु बुद्धिमत्ता हुन्छ । सुखद् तथा आनन्दमय एवम् पूर्ण सन्तुष्टियुक्त यौन सम्पर्कका लागि जोडीले एकार्काबीच खुलेर आ–आफ्ना समस्याबारे कुरा गर्नुपर्छ ।