सुसभ्य होऔं, डेङ्गु महामारीलाई परास्त गरौं !
केदारनाथ गौतमदुई वर्षभन्दा लामो समयसम्म कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट आक्रान्त नागरिक अहिले फेरि डेङ्गु सङ्क्रमणको महामारी भोग्न विवश भएका छन् । कोरोनाभाइरसको तुलनामा मृत्युदर निकै कम भएको तथ्य विज्ञ र चिकित्सकहरूले पुष्टि गर्दै आइरहेका छन् । मृत्युदर कम भए तापनि यसले दिने शारीरिक एवम् मानसिक पीडा, स्वास्थ्य जटिलता र कामकाज तथा सामाजिक गतिविधिमा व्यवधान आदि–इत्यादि पक्षहरूका दृष्टिकोणबाट भने डेङ्गु महामारी पनि कोरोना महाभारीभन्दा कम देखिएको छैन । मुख्यतः रगतमा ह्वाइट ब्लड सेल्सको सङ्ख्या स्वाट्टै घटाउने डेङ्गु महामारीको सङ्क्रमण भएपछि केही दिन थला परेका नागरिक त्यसपछि तङ्ग्रँदै तन्दुरुस्त भएर नियमित जीवन–व्यवहारमा फर्कन हप्तौंसम्म लाग्ने गरेको पाइएको छ ।
अरु महामारी झैं डेङ्गु सङ्क्रमणका सन्दर्भमा पनि रोग लागिसकेपछि निको पार्ने उपायहरूको खोजीमा जुट्नुभन्दा रोग नै लाग्न नदिनु नै बुद्धिमत्तापूर्ण हुने कुरा स्वतः स्पष्ट नै छ । झाडापखाला, कोरोना, हैजा, आउँजस्ता अरु रोग र महामारी झैं डेङ्गुबाट पनि बच्ने मुख्य उपाय भनेको वातावरणी स्वच्छता र सरसफाइ नै हो । डेङ्गु सङ्क्रमणको एक मात्रै स्रोत लामखुट्टेको टोकाइ हो भन्ने तथ्यबारे विज्ञ र चिकित्सकहरूले बारम्बार प्रकाश पार्दै आइरहेका छन् ।
घर–डेरा, कार्यालय–कार्यस्थल वरिपरि जम्ने फोहोर मात्र नभई सफा पानी समेत सङ्क्रामक लामखुट्टेको मुख्य वासस्थल हो । विभिन्न सामग्रीका खालि बट्टा या डब्बा, बाल्टिन वा ड्रम, थोत्रा टायर, खाल्डाखुल्डी आदिमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने र छिटछिटो बच्चा जन्माउने भएकाले त्यस्ता स्रोतहरू रहन नदिनु नै डेङ्गुबाट बच्ने मुख्य उपाय मानिएको छ । डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेले रातिभन्दा दिउँसो बढ्ता सङ्क्रमण गराउने भएकाले दिउँसोको दिनचर्याका क्रममा यसबाट बच्नु महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ ।
यद्यपि लामखुट्टेले रातिचाहिँ नटोक्ने र रातको समयमा चाहिँ डेङ्गु नसर्ने भन्ने होइन । अतः झुलभित्र सुत्ने, लामखुट्टे भगाउने किसिमका धुप वा झोल प्रयोग गर्ने, शरीमा लामखुट्टे आउन नदिने किसिमको मलम लगाउने आदि तरिकाबाट राति बच्न दिउँसोको तुलनामा केही सहज हुन्छ । दिउँसो भने प्रायः बाहिरफेर नै व्यस्त रहनुपर्दा सङ्क्रामक लामखुट्टेले टोकीवरि बाटो तताइसकेको कुरा समेत पत्तो पाउन मुस्किल पर्छ । त्यसैले, दिउँसोको कार्यस्थल लामखुट्टमुक्त गराउन यथासम्भव उपायहरूको अवलम्बन, दिउँसै पनि शरीरमा मलम दलेर मात्र कामकाज गर्ने, खुट्टादेखि टाउकोसम्म शरीरका प्रायः सबै भाग ढाकिने/छोपिने गरी कपडा लगाउने र अन्य आवश्यक र सम्भव उपायहरू अपनाउने आदिजस्ता तरिकाद्वारा लामखुट्टेको टोकाइबाट बच्नु र अन्ततः डेङ्गु सङ्क्रमणबाट जोगिनु अहिलेका निम्ति आत्मरक्षाका अचुक उपाय हुन् ।
डेङ्गु भइहालेमा अत्यधिक ज्वरो आउने, वाक्वाकी लाग्ने, बान्ता हुने, माङ्शपेशी र हाडजोनीहरू दुख्ने, पखाला लाग्ने, खाना नरुच्ने, शारीरिकरूपले अत्यधिक कमजोरीको महसुस हुनेजस्ता लक्षणहरू देखा पर्दछन् । डेङ्गुको कुनै खास उपचार विधि, औषधि र भ्याक्सिन नभएकाले यसको सङ्क्रमण भएपछि देखा पर्ने समस्याअनुरूप उपचार विधि अपनाइने चिकित्सक र विज्ञहरूको भनाइ छ । कोरोनाजस्तो र्याल, सिँगान, थुकका छिटा, स्पर्श या यस्तै तरिकाले एक सङ्क्रमितबाट अर्को व्यक्तिमा डेङ्गु सर्दैन । डेङ्गु सङ्क्रमितलाई टोकेको लामखुट्टेले लगत्तै अर्को स्वस्थ व्यक्तिलाई टोकेमा मात्रै दोस्रो व्यक्तिमा डेङ्गु सङ्क्रमण हुने विज्ञहरूको भनाइ छ ।
डेङ्गुको सङ्क्रमण भइहालेमा पर्याप्त मनतातो पानी पिउने, झोलिला र पोषिला खाने कुरा खाने, पर्याप्त आराम गर्ने र शुद्ध सिटामोल मात्र खाने गरेमा छिटै निको हुने सुझाव चिकित्सकहरूले दिँदै आएका छन् । डेङ्गु सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्ने, सकेसम्म स्वास्थ्य केन्द्र/संस्थामै उपचार गराउने, चिकित्सकको परामर्शमा मात्रै थप औषधिको सेवन गर्नेजस्ता उपाय र सावधानी अपनाउनुपर्छ । यतिबेला राजधानी उपत्यकामा सवैभन्दा बढी र देशका प्रायः सवै क्षेत्रमा धेरथोर डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ । अरु महामारीहरूमा जस्तै यो महामारीको पनि कुशलतापूर्वक सामना र समाधान गर्नुको कुनै विकल्प छैन । आत्तिएर होइन, संयमित, धैर्य र सुसंस्कृत/सुसभ्य भएर डेङ्गु महामारीलाई परास्त गरौं !