बगैंचामा हेबिस्कसको सुन्दरता

अनिता सुनुवार

घर, बगैंचा र वातावरणको सुन्दरता बढाउने एक प्रजातिको सुन्दर फूल हो हेबिस्कस । यो फूल नेपालमा भने घन्टीफूलका नामले समेत चिनिन्छ । बाह्रैमासजसो फुल्ने लगभग सदाबहार खालको फूल निकै सुन्दर हुन्छ ।

हेबिस्कस फूल डबल वा सिङ्गल गरी सामान्यतया दुई प्रकारका हुन्छन् । त्यसो त यसका अरु विभिन्न किसिम समेत हुन्छन् । हेबिस्कसका रङ्ग पनि विभिन्न हुन्छन् । सेतो, पिङ्क, रातो, नीलो, सुन्तले, पहेंलो, पर्पल लगायत विभिन्न आकर्षक रङ्गका हेबिस्कस पाइन्छन् । रातो, पिङ्क, पहेंलो र सेतो रङ्गका हेबिस्कस नेपालमा बढी मन पराइन्छन् ।

आकर्षक रङ्गका हेबिस्कस हेर्दा निकै सुन्दर देखिन्छन् तर यसको आयु भने निकै नै छोटो हुन्छ । सामान्यतया हेबिस्कस फूल दुई दिन पनि टिक्दैन तर बोटमा भने निरन्तर फुलिरहन्छ । बोटमा फूल भने खालि हुँदैन । हेबिस्कसको बोट बहुवर्षीय हुन्छ, एक पटक रोपेपछि यो १५ वर्षभन्दा लामो समयसम्म फुलिरहन्छ । जाडो मौसमका केही साताबाहेक सबैजसो समयमा यो फूल फुली नै रहन्छ ।

गमलामा रोपेर होस् वा जमिनमा नै किन नहोस्, यो फूल मजाले फुलाउन सकिन्छ । आजकल त हाइब्र्रिड गरेर स–साना गमलामा पनि यसलाई चटक्क फूलाउन सकिन्छ । नेपालमा पनि स–साना गमलामा चटक्क फुलाउन सकिने किसिमका हाइब्रिड हेबिस्कस सहजै पाइन थालेका छन् । होचा बोटमा फुलाउन सकिने हेबिस्कस कम्ता आकर्षक हुँदैनन् । मनै लोभ्याउने यस्ता हेबिस्कसका १०–१२ वटा स–साना गमला लहरै राखेर फुलाउँदा निकैै सुन्दर देखिन्छ ।

हेबिस्कस फूलका पत्रहरू सामान्यतया दिउँसो खुल्ने र राति बन्द हुने गर्दछन् । डबल किसिमको हेबिस्कसमा पनि कतिपय फूलमा यस्तो हुन्छ भने कतिपयमा हुँदैन । यो फूल लामो समय नटिक्ने भएकाले बिहान फुल्न सुरु गरेर बेलुकी ओइलाउँदै जान्छन् । सुन्दर फुल्नु तर छोटो समयमै ओइलाउनु यस फूलको विशेषता नै हो ।

विशेषगरी पहाडी क्षेत्रमा यो फूल राम्ररी फुल्छ । यो फूल काठमाडौं उपत्यकामा पनि राम्रैसँग फुल्छ । काठमाडौंका धेरै घरहरू र बगैंचामा यो फूल निकै आकर्षक रूपमा फुलेको देख्न पाइन्छ ।

जाडोयाम सुरु हुने बेला (पुस–माघतिर) यसका बोटलाई छाँटकाँट गर्नुपर्छ । जाडो सकिएपछि फुल्न थाल्छ । फूल फुलेको समयमा फूल तथा कोपिलामा पानी हाल्नु हुँदैन । फूल तथा कोपिलामा पानी हालेमा फूल चाँडो ओइलाउने तथा बिग्रने डर हुन्छ ।

यस फूलको बिरुवालाई बेला–बेलामा गोडमेल गरिरहनुपर्छ । गमलामा रोपिएको हेबिस्कसको बिरुवामा सामान्यतया तीन–तीन महिनामा एक पटक मल हाल्नु उचित हुन्छ । जमिनमा रोपिएको ठूलोखाले रुखमा भने छ–छ महिनामा एक पटक मल हाल्दा पनि हुन्छ । यसमा पिना, गाईको गोबर र कम्पोस्ट मल हाल्नु उचित हुन्छ ।

गमलामा रोपिएको हेबिस्कसको बोटलाई धेरै चिसो ठाउँमा राख्नु हुँदैन । धेरै चिसो ठाउँमा रोपेमा या अन्यत्र बिरुवा हुर्किसकेको गमलालाई चिसो ठाउँमा ल्याएर राखिएमा बिरुवा मर्ने जोखिम हुन्छ ।