‘लादेनका मास्टर माइन्ड”

अलकायदा नेता जवाहिरी: जीवनीदेखि मृत्युसम्म

केदारनाथ गौतम

संयुक्त राज्य अमेरिकाले ‘खतरनाक आतंकवादी’ ठान्दै आएको अन्तर्राष्ट्रिय विद्रोही सगठन ‘अलकायदा’ का सर्वोच्च नेता आयमन अल जवाहिरीलाई आफूहरुले मारिदिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । जवाहिरी अलकायदाका मुख्य नेता, विचारक र नीति निर्माता अर्थात् ‘मास्टर माइन्ड’ नै मानिन्थे । उनी लादेनको नेतृत्वकालमा पनि प्रमुख रणनीतिकार र मुख्य सहकर्मी ठानिन्थे।

अमेरिकाले नै सन् २०११ मा अलकायदाका संस्थापक एवम् जवाहिरीका पूर्ववर्ती नेता ओसामा बिन लादेनको समेत हत्या गरिसकेको छ । लादेन र जवाहिरी हत्यालाई अमेरिकाले आफ्नो ठूलै ‘बहादुरी’ का रूपमा प्रचार गरिरहेको छ। जवाहिरी हत्यालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘ठूलो सफलता’ र ‘अलकायदाविरुद्ध लादेनको हत्यापछिको ठूलो धक्का’ भनेका छन् ।

अफगानिस्तानको राजधानी काबुलस्थित निकै सुरक्षित मानिएको डाउनटाउन क्षेत्रमा अवस्थित एक घरमा बसिरहेका ७१ वर्षीय जवाहिरी २१ जुलाई, २०२२ को बिहानै बार्दलीमा देखापरे । सोही बेला ड्रोनमार्फत ‘निन्जा’ नामक मिसाइल प्रहार गरी उनको हत्या गरियो । जवाहिरी त्यतै रहेको सूचना पाइसकेको कुख्यात अमेरिकी खुफिया एजेन्सी सीआईए उनको ‘सफाया’ गर्न छ महिनादेखि त्यही ‘स्ट्याण्डबाइ’ रहेको अमेरिकी भनाइ छ।

नेत्र-शल्यचिकित्सक जवाहिरी इजिप्सियन नागरिक हुन् । सुरुमा उनले ‘ इजिप्सियन इस्लामिक जेहाद मिलिट्यान्ट ग्रुप’ स्थापना गरेका थिए। १९ जुन, १९५१ मा कायरोमा जन्मिएका जवाहिरी चिकित्सक तर विद्रोही परिवारकै सदस्य हुन् । उनका हजुबा रविया अल जवाहिरी मध्यपूर्वकै सुन्नी इस्लामिक सिकाइ केन्द्र ‘अल-अजर’ का ‘ग्रायन्ड इमाम’ थिए भने उनका काका समेत ‘अरब लिग’ का महासचिव थिए।

ओसामा बिन लादेनको हत्यापछि जवाहिरीले नै अलकायदाको मुख्य नेतृत्व समाल्दै आएको बताइन्छ । सीआईएले जवाहिरीको ‘टाउकाको मूल्य’ २५ मिलियन डलर तोकेको थियो । ११, सेप्टेम्बर २००१ मा अमेरिकी ‘ट्विन टावर’ माथिको हमलाका क्रममा जवाहिरी ‘अपरेसनल ब्रेन’ रहेको अमेरिकी दावी छ। सर्वाधिक खोजीका वाईस आतंकवादी’ भनिएको अमेरिकी सूचीमा दोस्रो नम्बरमा थिए जवाहिरी।

ट्विन टावर हमलापछि जवाहिरी अलकायदा प्रवक्ताका रूपमा देखापरे । सन् २००७ भित्र मात्रै पनि उनी विन लादेनभन्दा चार गुणा बढी अर्थात् १६ पटक भिडियो र अडियो टेपमा प्रकट भए । जवाहिरीलाई लक्षित गरी २००६ मै अमेरिकाले पाकिस्तान-अफगानिस्तान सीमा क्षेत्रमा भीषण मिसाइल आक्रमण गर्यो । उक्त आक्रमणमा चार तालिबान नेता मारिए पनि जवाहिरी भने बच्न सफल भए। सो आक्रमणको दुई सातापछि भिडियो सन्देश जारी गर्दै जवाहिरीले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई लल्कारे । त्यसबेला उनले ‘विश्वका सबै तागत लागे पनि आफूलाई मार्न नसक्ने’ दावी गरे।

‘मुस्लिम ब्रदरहुड’ मा सहभागी हुँदा जवाहिरी १५ वर्षकै उमेरमै पक्राउ परेका थिए । १९७४ मा कायरो विश्वविद्यालयको मेडिकल स्कुलबाट स्नातक उत्तीर्ण उनले चार वर्षपछि स्नातकोत्तर गरे । उनकी पत्नी सोही स्कुलमा फर्माकोलोजीकी प्रध्यापक थिइन् । १९९५ मा उनको मृत्यु भयो । पारिवारिक पेसालाई निरन्तरता दिंदै कायरोमा क्लिनिक सञ्चालन गरेका उनी इजिप्सियन सरकार अपदस्थ गर्न गठित ‘इस्लामिक समूह’ मा आवद्ध भए । अन्ततः १९७२ मा स्थापित ‘इस्लामिक जिहाद’ मा जोडिएका जवाहिरी पेसा छाडेर विश्व भ्रमणतिर लागे।

जवाहिरी १९९७ मा जलालाबाद पुगे, जहाँ ओसामा बिन लादेन बस्थे । केही समयपछि लादेन नेतृत्वको अलकायदा र जवाहिरी नेतृत्वको इस्लामिक जिहादसहित अन्य पाँच संगठन मिलेर वर्ल्ड इस्लामिक फ्रन्ट फर जिहाद एगेन्स्ट जिउज एण्ड क्रुसेडर’ गठन भयो । यही संगठनले केन्या र तान्जानियास्थित अमेरिकी दूतावासमा आक्रमण गर्यो, जसमा २२३ को ज्यान गयो । उक्त आक्रमणको दुई सातापछि उनीहरुको तालिम केन्द्रमा अमेरिकाले आक्रमण गर्यो । भोलिपल्ट पाकिस्तानी पत्रकारसँग जवाहिरीले भनेका थिए- ‘अमेरिकालाई भनिदेऊ कि यो बमबारी, चेतावनी र आक्रमणबाट हामी डराउँदैनौं; युद्ध त बल्ल सुरु भएको छ!’