मिठा–मिठा दुई परिकार यसरी बनाउनोस्

होलिस्टिक संवाददाता

टिक्का मसला सुप

आवश्यक सामग्री

नरिवलको तेल– २ (ठूलो) चम्चा, प्याज– (सानो आकारको, क्युब आकारमा काटेको) एउटा, लसुन (मसिनो गरी काटेको)– ३ केस्रा, खुर्सानी (रातो)– आधा (सानो) चम्चा, गरम मसला– १ (ठूलो) चम्चा, अदुवा (धुलो पारेको)– १ (सानो) चम्चा, जिरा– आधा (सानो) चम्चा, दालचिनी– आधा (सानो) चम्चा, चिकेन स्टक– २ कप, गोलभेंडा (थिचेको, ठीक्क आकारका)– ५ वटा, कोकोनट मिल्क– ४०० मिलिलिटर, नुन– १–२ (सानो) चम्चा, स्रेडेड चिकेन– ५०० ग्राम ।

बनाउने तरिका

एउटा गहिरो सुप पटमा नरिवलको तेललाई मध्यम तापमा तताउने । तेल तातेपछि करिव ४ मिनेटसम्म प्याजलाई फ्राई गर्ने । यसमा अब मसिनो गरी काटेको लसुन हालेर करिव ३ मिनेटजति फेरि फ्राई गर्ने ।

त्यसैमा अब रातो खुर्सानी, गरम मसला, अदुवाको पाउडर, जिरा, बेसार र दालचिनी हाल्ने र करिव ३ मिनेटसम्म फ्राई गर्ने । मसलाको बासना आउन थालेपछि त्यसमा चिकेन स्टक, थिचेको गोलभेंडा र कोकोनट मिल्क हाली करिव ३० मिनेटसम्म उमाल्ने ।

सुप बाक्लो भएपछि इमर्सन ब्लेन्डर वा स्ट्याण्ड ब्लेन्डर प्रयोग गरी उक्त सुपलाइ स्मुथ र क्रिमी बनाउने । त्यसपछि थोरै नुन थपेर स्वाद चाख्ने । अन्त्यमा, यसमा स्रेडेड चिकेन हाल्ने र केहीबेर पकाउने । यति सामग्रीद्वारा तपार पारिएको सुप ६ जनाजतिलाई सर्भ गर्न पुग्छ ।

********************************************************

लेमन राइस

आवश्यक सामग्री

राइसका लागिः चामल– १ कप (१२८ ग्राम) पानी– २ कप, नुन– चौथाई (सानो) चम्चा ।

थप सामग्रीहरूः कागतीको रस– डेढदेखि २ (ठूलो) चम्चा, तोरीको दाना– १ (सानो) चम्चा, चनाको दाल– १ (सानो) चम्चा, सुकाइएको रातो खुर्सानी (बियाँ निकालेको)– २ वटा, हरियो खुर्सानी (मसिनो गरी काटेको)– २ वटा, कडी पत्ता– १२–१५ वटा, हिङ– एक चिम्टी, बेसार– आधा (सानो) चम्चा, बदाम (टुक्रा पारिएको)– २ (ठूलो) चम्चा, काजु (ठूलो, स–साना टुक्रा पारी काटिएको)– १ चम्चा, तिलको तेल– ३ (ठूलो) चम्चा, नुन– स्वादअनुसार ।

बनाउने तरिका

चामललाई २–३ पटक पखालेर २०–३० मिनेटजति भिजाउन छाडिदने । चामल राम्ररी भिजेपछि त्यसबाट सबै पानी तर्काउने र उक्त चामल प्रेसर कुकरमा हाल्ने । त्यसमा थोरै नुन हाल्ने, अलिकति पानी पनि हाल्ने । अब २–३ सिट्ठी लागुन्जेल (८–१० मिनेट) सम्म मध्यमदेखि उच्च तापमा पकाउने ।

त्यसपछि आगोबाट निकालेर केहीबेर सेलाउन दिने । सेलाएपछि कुकरको बिर्को खोल्ने र पाकेको राइसलाइ प्लेट वा कचौरामा खन्याउने । अब एउटा फ्राइङ प्यानमा तिलको तेल (२ ठूलो चम्चा) तताउने । तेल तातेपछि बदाम फ्राई गर्ने र एक छेउमा राख्ने । सोही तेलमा काजुलाई गोल्डेन कलरको होउन्जेलसम्म फ्राई गरी त्यसलाई पनि एक साइडमा राख्ने ।

अब बाँकी तिलको तेल प्यानमा हाल्ने र कम आँचको आगोमा तताउने । तातेको तेलमा तोरीका दाना राखेर पड्काउने । दाना पड्कन थालेपछि त्यसमा चनाको दाल हाल्ने र त्यसलाई पनि गोल्डेन कलरको होउन्जेलसम्म फ्राई गर्ने ।

अब आगो थोरै घटाउने अनि सोही प्यानमा रातो खुर्सानी, हरियो खुर्सानी र कडी पत्ता हाली केहीबेर फ्राई गर्ने । त्यसपछि आगो बन्द गरेर हिङ र बेसार हाली राम्ररी मिक्स गर्ने । यसरी तयार पारिएको मिश्रणलाइ यसअघि पकाएर सेलाउन राखिएको राइसमाथि खन्याउने । त्यसपछि अघि फ्राई गरी साइडमा राखिएको बदाम र काजु त्यसैमा हाल्ने र माथिबाट कागतीको रस तथा नुन पनि हाल्ने ।

अब यी सबै सामग्रीलाई मजाले मिक्स गर्ने र करिव ४–५ मिनेटसम्म छोपेर राख्ने । लेमन राइस तयार भयो । यसलाई कुनै साइड भेजिटेबल, सलाद वा चटनीसँग सर्भ गर्न सकिन्छ । यो परिकार लाइट डिस भएकाले यसलाई खाजा वा नास्तामा खान सकिन्छ ।