खुसीरामले नभेटेका खुसी

केदारनाथ गौतम

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर १० वैशाख, २००६ (२२ अप्रिल, १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापनाको केही समयमै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजङ्ग रायमाझीलगायत पनि नेकपामा आबद्ध भए । केही समयपछि निर्मल लामा, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत पनि सोही पार्टीमा जोडिदै गए।

पुष्पलाल श्रेष्ठ संस्थापक महामन्त्री (हालको शब्दावलीमा महासचिव) रहेको नेकपामा मनमोहन दोस्रो र तुलसीलाल तेस्रो महामन्त्री बने। वि.सं. २००८ को पहिलो राष्ट्रिय सम्मेलन लगत्तैदेखि विभाजनको रेखा कोरिएको नेपाल कम्युनिस्ट पार्टी २०१९ मा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनलगत्तैको फुट पछि दुई धारमा विभक्त भयो । ‘माले स्कुलिङ’ का रूपमा चिनिने एउटा धार को-अर्डिनेसन केन्द्र, माले-मार्क्सवादी हुँदै एमालेका रूपमा अगाडि आयो; ‘चौम स्कुलिङ’ का रूपमा चिनिने अर्को धार चौम, मसाल, मशाल, एकताकेन्द्र हुँदै माओवादीका रूपमा अगाडि आयो।

नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रसँगसँगै प्रगतिशील एवम् जनवादी साहित्य-कला-संस्कृति पनि विकसित हुँदै आएको छ । कम्युनिस्ट आन्दोलनकै अभिन्न अङ्गका रूपमा हुर्कंदै आएको जनवादी गीत-सङ्गीतका क्षेत्रमा रामेश श्रेष्ठ, रायन श्रेष्ठ, जेबी टुहुरे, खुसीराम पाख्रिन, मणि थापा, जीवन शर्मालगायतको निकै ठूलो योगदान छ। यीमध्ये रामेश र जेबी ‘माले स्कुलिङ तर्फका सांस्कृतिक हस्ती थिए भने रायन, खुसीराम, मणि, जीवनहरू ‘चौम स्कुलिङ’ तर्फका सांस्कृतिक हस्ती हुन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको ‘यडिकल’ धारतर्फका अग्रणी स्रष्टा, सर्जक, गायक एवम् सङ्गीतकार खुसीराम पाख्रिको जन्म ९ कात्तिक, २००९ (वि.सं.) मा गोरखामा भएको थियो । पछि उनको परिवार चितवन बसाइँ सरेको थियो । चितनवनको एक कार्यक्रममा गीत गाउँदागाउँदै ५ मङ्सिर, २०७४ मा (६४ वर्षको उमेरमा) उनको निधन भयो । साढे तीन दशक अनवरतरूपमा गरिव, दुःखी र निमुखाको पक्षमा गीत लेखेका, सङ्गीतसिर्जना गरेका अनि गाएका पाख्रिनको निधनसँगै नेपाली प्रगतिशील-जनवादी सांस्कृतिक आन्दोलनको एउटा धरोहर गुम्यो, वस्तुतः एउटा पुस्ता नै ढल्यो । चौमकालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध खुसीराम नेकपा (मशाल) को गठनसँगै थप सक्रिय भए। नेकपा (एकताकेन्द्र) कालदेखि क्रियाशील रहँदै आएको सो पार्टीसम्बद्ध ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ मा आबद्ध रहेका खुसीराम सोही मोर्चा अन्तर्गतको जनसांस्कृतिक टोली ‘सामना परिवार’ का मुख्य हस्ती थिए । खुसीरामका छोरा अमर पाख्रिन ‘दोर्जे’ लाई लमजुङको नाल्मा भन्ने ठाउँमा सेनाले गोली हानी २०५८ मा हत्या गर्यो । माओवादी जनमुक्ति सेना र जनकलाकार समेत रहेका उनका एक मात्र छोरा सहिद बने । दोस्रो संविधानसभा (२०६४) मा माओवादीबाट समानुपातिक सभासद् बनेका पाख्रिनले अरु कुनै राजकीय ओहोदा र ‘लाभका पद’ हासिल गरेनन् ।

पाख्रिनले पञ्चायतकालको उतरार्द्धतिरै आफ्ना सयवटा गीतहरू सङ्ग्रह गरी ‘आँशुको भाका’ शीर्षकको कृति (गीतिसङ्ग्रह) प्रकाशित गरेका थिए । बहुचर्चित चुनबाङ बैठकपछि सोही स्थानमा प्रदर्शित माओवादीका शीर्ष नेताहरूलाई धरधरी रुवाएको सांस्कृतिक कार्यक्रममा ‘युद्धभूमिबाट फर्कंदा’ शीर्षक गीतिनाटक (अपेरा) पाख्रिनकै रचना, सङ्गीत, गायन र निर्देशनमा प्रस्तुत भएको थियो । उक्त प्रस्तुति निकै पछिसम्म चर्चित रह्यो; क्रान्तिकारी सांस्कृतिक आन्दोलनको एउटा महत्त्वपूर्ण कोशेढुङ्गा नै बन्न पुग्यो।

नेपालका सबैजसो गाउँवस्ती र भुपडीसम्म डुलेर जनताका गीत गाएका पाख्रिनले श्रम गरेर नेपालीहरू बसेका कयौं भारतीय गाउँ, सहर र गल्लीसम्म पनि पुगेर क्रान्तिकारी गीत घन्काए; जागरणको सन्देश फैलाए । ‘सामना’ का श्रृङ्खलाबद्ध एल्बमहरू र अरु अनेकौं सङ्ग्रहहरूमा उनको रचना, सङ्गीत र स्वरमा सयौं गीत रेकर्डेड छन् । रेकर्ड नगरिएका पनि अरु सयौं जनवादी गीत पाख्रिनले सिर्जेका छन् ; गाएका छन् । पाख्रिनका गीत सुनेरै आफू माओवादी बनेको बताउने दर्जनौं केन्द्रीय र विभिन्न स्तरका सयौं नेता-कार्यकर्ता राजनीतिमा सक्रिय भेटिन्छन् । पाख्रिनको निकै पुरानो र सर्वाधिक लोकप्रिय एउटा गीतका पङ्क्ति यस्ता छन्

गैंती–बेल्चा उचालेर
पहरालाई छिचोलेर
डाँडाकाँडा बाटो बनायो
के पायो नि कुल्ली दाइले
खे खायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो…

उनको अर्को लोकप्रिय गीतका यी पङ्क्ति पनि हेरौं-

कालो वनको बीचैमा खेतालाको गाउँ
साना–साना झुपडी छैनन् आमा–बाउ
साना–साना नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको अवस्था हेर्न त्यहाँ जाऊँ…

आफूले जीवनभर गरेको सङ्घर्ष र त्यागबाट अपेक्षित उपलब्धि भने हासिल नभएको पाख्रिनको बुझाइ थियो । ‘अझै पनि अरुभन्दा त यही पार्टी असल छ,’ जीवनकालको अत्यतिर यस पङ्क्तिकारसँग पाखिनले भनेका थिए- ‘तर, नयाँ जनवाद स्थापना गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्नु हाम्रो मुख्य आदर्श हो, हाम्रो जीवनकालमा त्योचाहिँ सम्भव हुने छाँट देखिएन ।’

केन्द्रीकृत सामन्ती राजतन्त्रको त अन्त्य भयो तर छोटे राजाहरू अझै पनि छ्यापछ्याप्ती बाँकी नै छन्,’ पाख्रिनले भनेका थिए- ‘हामी आफै पनि बरालियौं र बिग्रियौं, कता हरायौं-हरायौं ।’ त्यो वार्तालाप र पाख्रिनका भनाइको निष्कर्ष हो- खुसीरामले खोजेको खुसी जीवनकालमा उनले भेटेनन् ।