‘झम्के फुली’ ले चम्काएका ध्रुवराज
केदारनाथ गौतम/शङ्कर क्षेत्रीपुरानो पुस्ताका स्थापित लोकगायक, सङ्गीतकार एवम् सर्जक हुन्– ध्रुवराज खड्का । ध्रुवराज तथा घमेश दुलाल र लोकगायिका सुनिता दुलालको स्वरलहरीमा सजिएको ‘झम्के फुली’ को तेस्रो रेकर्डिङ समेत दर्शक–श्रोतामाझ लोकप्रिय छ । ६ जनवरी, २०१६ मा युट्युबमा अपलोड भएको ‘झम्के फुली’ को पछिल्लो संस्करणको भिडियो यी पङ्क्ति लेखिँदासम्म ४९ लाख ९४ हजार ७ सय ३३ पटक हेरिसकिएको छ ।
‘झम्के फुली’ को भिडियोमा दिलिप रायमाझी र सुनितालगायतले ‘फिचरिङ’ गरेका छन् । भिडियोको विवरणमा उल्लेख भएअनुसार यस गीतको शब्दरचना एवम् सङ्गीतसिर्जना ध्रुवराज खड्का र सुरेश खड्काले संयुक्तरूपमा गरेका हुन् ।
वि.सं. ४० को दशक सुरु भएसँगै लोकप्रिय बनेको यो गीत पहिलेचाहिँ तीर्थकुमारी थापा, रचना जीसी, तारा सुवाल, ध्रुवराज खड्का, किरण एक्तेन र रविन्द्र बस्नेतको स्वरमा रेकर्ड भएको देखिन्छ । १८ नोभेम्बर, २०१९ मा युट्युबमा अपलोड भएको ‘तीर्थकुमारी थापा: एभरग्रीन एण्ड पपुलर नेपाली फल्क सङ्ग्स जुक बक्स’ मा समावेश यस गीतको विवरणमा यिनै कलाकारको नाम उल्लेख छ ।
झम्के फुली, नाकैमा बुलाकी
यसपालि त घरबार होला कि…
पटुकीले कम्मरमा बानेर
लैजाऊँ कि त मैयालाई तानेर…
लोकगायक एवम् सर्जक धु्र्रवराजले चार दर्जनभन्दा बढी लोकप्रिय गीतहरू गाएका छन् । आफैं शब्दरचना र सङ्गीतसिर्जना समेत गरी गीत गाउन सक्नु उनको विशेष खुबी हो । मुख्यतः ‘झम्के फुली’ नै त्यो गीत हो– जो दशकौंसम्म जनजिब्रोमा झुन्डिएर दर्शक–श्रोतामाझ लोकप्रियताको उचाइ चुम्न मात्रै सफल भएन; गायक–सर्जक ध्रुवराजलाई नेपाली सङ्गीताकाशमा चर्चित तुल्याउन समेत समर्थवान् भयो ।
यो गीत आफूले २०४१ मा गाएको ध्रुवराजले होलिस्टिकलाई सुनाए । आफ्नै शब्दरचना र सङ्गीतसिर्जनामा यो गीत गाएर रेकर्ड गराएको उनले बताए । यो गीत ‘नराम्रो त हुँदैन’ भन्ने लागे पनि यति धेरै चर्चा कमाउला भन्नेचाहिँ उतिबेला आफूले नसोचेको ध्रुवराजको भनाइ छ ।
निकै चर्चित बनेको र तुलनात्मकरूपले लामो समयसम्म सदाबहार झैं रहेको यसै गीतले गीत–सङ्गीतजगत्मा आफूलाई चिनाएको उनले सुनाए । यस गीतको माध्यमबाट आफू स्वदेशमा मात्र नभई विदेशमा समेत चिनिने अवसर जुरेको उनले बताए ।
शाही सेना (हाल नेपाली सेना) को जागिरे जीवनमा रहेकै बेला आफूले यो गीत फुराएको उनको भनाइ छ । यस गीतमा साथी सुरेश खड्काका समेत केही शब्दहरू समावेश भएकाले सङ्कलकका रूपमा उनको पनि नाम समावेश गरिएको ध्रुवराजले सुनाए ।
पहिलो पटक रेकर्ड भएको करिव दुई र तीन दशकपछि (२०६२ र २०७२ मा) यस गीतको दुई पटक पुनर्रेकर्डिङ भइसकेको उनले बताए । स्रोताको अनुरोध समेतलाई स्वीकार गर्दै पुनर्रेकर्डिङका क्रममा केही शब्दहरू थपेर गीतलाई सामान्य परिमार्जन गर्नुका साथै कतिपय बाजागाजा पनि थपिएको र प्राविधिक गुणस्तर पनि सुधार गरिएको उनको भनाइ छ । पहिले यो गीत अलि छोटो भएकाले समय थोरै तन्काउनका लागि समेत केही शब्द थप्नुपरेको ध्रुवराजले बताए ।
लोकगायिका सुनिता दुलालले आफूसँगै ‘झम्के फूली’ गाउने रहर गरेकाले यो गीत पछिल्लो पटक फेरि रेकर्ड गरिएको ध्रुवराजले बताए । आफ्नै शब्दरचना र स्वरमा २०३३ मा रेकर्ड भएको अर्को गीतले पनि राम्रै चर्चा बटुलेको जानकारी दिँदै ध्रुवराजले उक्त गीतका यी पङ्क्ति उद्धृत गरे–
नौ सय पर्वत काटेर,
नौ सय गङ्गा तरेर,
मनकी मेरी जुनकिरी,
जानैपर्यो तिमीलाई छोडेर …
२०३५ मा रेकर्डिङ भएको आफ्नो अर्को गीतले पनि सन्तोषजनकरूपमा चर्चा बटुलेको सम्झँदै उनले सन्तोष व्यक्त गरे । ध्रुवराजले त्यस गीतका निम्न पङ्क्ति पनि होलिस्टिकलाई सुनाए–
आजभोलि बैनी नानी के आयो चलन
वरको भन्दा बैनी नानी बधूको रटन…
त्यसैगरी, तीन महिना अति चलेर त्यसपछि भने स्वाट्टै हराएको अर्को गीतका यी पङ्क्ति समेत उनले उद्धृत गरे–
कति बोलौं सुसेली पुग्दैन,
कुरिबसौं भेट कहिल्यै हुँदैन…
पहिलो रेकर्डिङ २०३२ मा
उनी बाल्यकालदेखि नै नाचगानमा रुचि राख्थे । किशोरवयमै उनी नयाँ–नयाँ गीत सुन्थे र अरुका गीत गाउँथे । युवावस्थामा पनि उनले गाउन छाडेनन् । २०३२ मा रेडियो नेपालमा स्वर परीक्षा दिए र पास गरे । त्यसपछि त उनी औपचारिकरूपमै गायक बने र गीत गाउन थाले ।
त्यसबेला नयाँ कलाकारले रेडियो नेपालमा रेकर्डिङको समय पाउन निकै कठिन हुन्थ्यो । एउटा गीत रेकर्ड गराउन २–३ वर्ष नै कुर्नुपर्ने अवस्था थियो । तैपनि एउटा गीत रेकर्डिङ गराएर प्रशारण गराएपछि चर्चाको भने कमी नै नहुने अनुभव उनले सुनाए ।
त्यसबेला रचना–सिर्जना प्रशारण गर्ने एउटा मात्रै माध्यम रेडियो नेपाल नै थियो । रेकर्डिङ र प्रशारणको अवस्थाअनुसार ध्रुवले गाएका कुनै गीत चर्चित भए त कुनैचाहिँ चर्चामै आएनन् । लोकगायक ध्रुवले पहिलो पटक (२०३२ मा) रेडियो नेपालमा रेकर्ड गराएको (गाएको) गीतका शब्द यस्ता थिए–
सम्झन्छ मनले आँखा तिम्रो गाजले,
छड्के नजर लगाएर नभाग न माया लाजले
पहिलो गीतको रेकर्डिङपछि उनले निरन्तर गाउँदै र रेकर्ड गराउँदै गए । गीतको सङ्ख्या र प्रशारणको मात्रा बढ्दै जाने क्रममा उनी पनि बिस्तारै चर्चित हुँदै गए ।
‘छाडा गीत’ र लज्जाबोध
लोकगीतलाई जथाभावी बिगार्ने, काँटछाँट गर्ने र भ्रष्टीकरण गरेर विकृत पार्ने अनि लोकगीतकै नाममा ‘छाडा’ शब्द प्रयोग गरेर गाउने विसङ्गत अभ्यासप्रति कलाकार हुनुका नाताले आफू समेत जज्जित हुने गरेको ध्रुव बताउँछन् । यस्ता हर्कत देखेर उनी निकै दुःखी छन् र त्यस्ता ‘गीत’ सुन्दा उनलाई बडो चिन्ता लाग्छ । ‘त्यस्ता कतिपय गीतले त न्यूनतम अनुशासन, सामाजिक मर्यादा र सभ्यताको दायरा समेत नाघेका छन् अनि फेरि तिनै गीतहरूले बजार लिएका छन्; यो त दुःखद् विडम्बना नै हो’– ध्रुवले होलिस्टिकसँग भने ।
यस्तो विकृतिका कारण राम्रा गीतहरूले भने लगानी उठाउन समेत कठिन हुने गरेको उनको ठम्याइ छ । कयौं राम्रा गीतले सन्तोषजनकरूपमा चर्चा कमाए पनि आर्थिक लाभ नै हुने अवस्था अझै नदेखिएको ध्रुवराजको अनुभूति छ । ‘पूरै कलाकारिता जीवनभर नै मैले भने आर्थिक लाभ पाउने गरी काम गर्न सकिनँ’– उनले सुनाए ।
जमाना अडियो–भिज्युअलको
‘झम्के फुली’ को पछिल्लो रेकर्डिङको सिलसिलामा लोकगायिका सुनिताले एकमुष्ठ रकम दिन चाहिन् । तर, आफूले भने गीत चलेर लगानी उठेपछि नाफा भयो भने नाफाको आधा रकम मात्रै लिने गरी सहमति गरेको उनले बताए ।
अबको जमाना चाहिँ अडियो रेकर्ड गरेर गीत सुन्ने मात्र होइन । आजभोलि त प्रायः सबै गीतलाई भिज्युअलाइज गर्नुपर्छ, गीत भन्यो कि भिज्युअलसहित हेर्ने सामग्रीका रूपमा बुझ्न थालिएको छ । प्रविधि र प्रवृत्तिमा आएको यो परिवर्तनलाई ध्रुवराजले पनि राम्रैसँग महसुस गरेका छन् ।
ध्रुवराजका सबै गीत आफूले मात्रै गाएका छैनन्, उनले आफ्ना सिर्जना पस्कने अवसर अरुलाई पनि दिएका छन् । आफूले रचना/सङ्कलन र सङ्गीत गरेका केही गीत अरुले पनि गाएको उनको भनाइ छ । आफूले शब्द–सङ्कलन गरी दिएका गीतको पारिश्रमिक भने कहिल्यै नलिएको ध्रुवराजले सुनाए । आफू अहिलेसम्म पनि गीतिसिर्जना र गायनमा सक्रिय नै रहेको उनले बताए ।
सैन्य जीवनभित्रै एसएलसी
गायक–सर्जक ध्रुवराज काठमाडौंको हाल तारकेश्वर नगरपालिका– ११ मा पर्ने नेपालटारस्थित कोल्टीडाँडा भन्ने स्थानमा जन्मेका हुन् । वि.सं. २०१३ मा जन्मेका उनी आठौं कक्षा पढिसकेपछि सेनामा भर्ती भए ।
सेनाको जागिरे जीवनकै बीच २०३६ मा उनले ‘नेपाल युवक मावि’ बाट एसएलसी उत्तीर्ण गरे । सेनाको प्रशासनतर्फ ‘क्लर्क’ (नायक) बाट जागिर सुरु गरेका उनी त्यसमाथिका तीन तहसम्म बढुवा भए । सेनाभित्र उनले लेखा प्रमुखसम्मको भूमिका निभाए ।
उनको सैनिक जीवन दुई दशक निरन्तर कायम रह्यो । र, सेनाको जागिरबाट उनले स्वैच्छिक अवकाश लिएको पनि २९ वर्ष बितिसक्यो ।
नाटक–शृङ्खलामा लगातार सात वर्ष
बाल्यकालदेखि नै आफूले धनार्जनभन्दा नाम कमाउने कुरालाई प्राथमिकतामा राख्दै आएको ध्रुवराजको भनाइ छ । उनी अनेकौं सामाजिक कामहरूमा समेत निरन्तर सक्रिय छन् ।
सेनाको जागिरबाट २०५१ मा अवकाश लिएपछि उनको सरसङ्गत कुबेर गड्तौलासँग हुन थाल्यो । सामाजिक काममा तल्लिन रहने गड्तौला प्रचारमा भने आउनै नचाहने स्वभावका भएको ध्रुवराज बताउँछन् । गड्तौलाले ‘घाँटी हेरी हाड निलौं’ शीर्षकको स्वास्थ्य चेतनामूलक रेडियो नाटक बनाए । ध्रुवराजले त्यसमा अभिनय गरे ।
उक्त नाटकमा आफूले विश्वकर्माको भूमिका निभाएको ध्रुवराजले सुनाए । ‘गोरे’ का नाममा चौबाटोमा आरन चलाएर बस्नुपर्ने ध्रुवराजको भूमिका थियो । पछि–पछि त स्वर सुन्नासाथ कतिपयले ‘तपाईं गोरे हो त’ भन्दै आफूलाई सोध्न थालेको ध्रुवराजले सुनाए ।
उक्त नाटकमा ‘गोरे’ को भूमिका आफू आरनमा काम गर्ने अनि गर्भवती श्रीमतीको असाध्यै ख्याल राख्ने भूमिका थियो । अभिनयका क्रममा उनले ठीक–ठीक समयमा श्रीमतीलाई स्वास्थ्य चौकी या चिकित्सककहाँ लगेर गर्भावस्था जाँच गराउँथे । डाक्टरले प्रेस्क्राइब गरेअनुसार श्रीमतीलाई औषधि खुवाउँथे । नाटकमा उनी डाक्टरको सल्लाह राम्ररी पालना गर्ने पात्रको भूमिकामा थिए ।
नाटकमा अभिनय गर्न थाल्दा आफूलाई केही अप्ठ्यारो र अनौठो लागेको ध्रुवराज बताउँछन् । नाटकमा आफूले निकै राम्ररी भूमिका निभाएको देखिसकेपछि गड्तौला औधि खुसी भएकाले आत्मसन्तुष्टि मिलेको ध्रुवराजले सुनाए । त्यस रेडियो नाटक–शृङ्खलामा आफूले सात वर्षसम्म निरन्तर अभिनय गरेको उनले सुनाए ।
त्यस नाटकमार्फत रोचक ढङ्गबाट नजानिँदो किसिमले सन्देश दिने गरेको उनी बताउँछन् । त्यो नाटक–शृङ्खला निकै रमाइलो पनि र सुनौं–सुनौं लाग्ने किसिमकै भएको उनी सम्झन्छन् । ‘सुन्न थालिसकेपछि अब के आउँछ भनेर कौतुहलता जगाउने किसिमको नाटक थियो,’ विगत सम्झँदै उनले सुनाए– ‘गाउँले लवजको नाटक थियो ।’
अन्तिमसम्म पुग्दा त्यस नाटक–शृङ्खलाबाट आफू, दीपकराज गिरी, जितु नेपाल र शङ्कर आचार्यको भूमिकाले बढी चर्चा कमाएको सुनाउँदै ध्रुवराजले भने– ‘त्यस नाटकमा अभिनय गरेवापत हामीले पारिश्रमिक पनि राम्रै पाएका थियौं ।’
त्यसपछि आफूले ‘सेवा गरे मेवा पाइन्छ’ भन्ने अर्को रेडियो नाटक–शृङ्खलामा पनि फेरि सात वर्ष नै अभिनय गरेको ध्रुवराजले सुनाए । त्यस नाटकमा चाहिँ ध्रुवराजले शोषक–सामन्तको भूमिकामा अभिनय गरे । त्यस नाटकमा आफ्नो भूमिका गाउँलेहरूलाई दुःख दिने र सताउने किसिमको भएको उनले सुनाए ।
मूलतः लोकगीत सङ्कलक र गायकको परिचय परिचय बोकेका ध्रुवराज रेडियो नाटक, सडक नाटक र रङ्गमञ्च–कलाका समेत लेखक, निर्देशन र अभिनयकर्ता समेत हुन् ।
स्वास्थ्यप्रति सचेत: घ्युको भुटुन
आफ्नो स्वास्थ्यप्रति ध्रुवराज निकै नै सचेत छन् । स्वस्थ रहनकै लागि उनी सकभर बाहिरफेरो खाना–नास्ता खाँदैनन्, घरमै खान रुचाउँछन् । औषधिको प्रयोग गर्नुपर्दा पनि एलोपेथिकभन्दा सकेसम्म प्राकृतिक र जडीबुटीजन्यलाई नै प्राथमिकता दिन्छन् ।
उनी तेल प्रयोग गरिएका खाद्य परिकारहरू पनि सकेसम्म खाँदैनन्; घ्यु हालिएका खान्छन् । डेरीबाट नौनी घ्यु किनेर लगी त्यसलाई खारेर घ्युको बनाई भुटुन खाने गरेको उनले सुनाए । ‘तेलमा पाक्ने सबै आइटमहरू मेरो घरमा त घ्युमा पो पाक्छन्’– ध्रुवराजले भने ।
उनी सकभर गुलिया पदार्थ पनि खाँदैनन् । ‘म त सख्खर, चिनीजस्ता सामग्री हालिएका गुलिया पदार्थ केही पनि खाँदिनँ’– उनको भनाइ छ । नियमित औषधिका रूपमा रक्तचाप र सुगरको औषधि सेवन गरिरहेका उनी औषधिको मात्रा पनि क्रमशः घट्न थालेको बताउँछन् ।
सामाजिक तथा व्यक्तिगत काममा दैनिक व्यस्त नै रहने गरेका ध्रुवराजले आफ्नै नेतृत्वमा ‘मनमैजु महिला विद्यालय’ खोलेर चलाइरहेको सुनाए । यस विद्यालयमा चौध वर्षमाथिका महिला, आमा तथा हजूरआमाले कक्षा पाँचसम्म पढ्न पाउने उनको भनाइ छ । उक्त विद्यालयलाई अपग्रेड गरेर एसईईसम्म पढाउने आफ्नो इच्छा रहेको ध्रुवराजले सुनाए ।