बहुविधाविद् बाङ्देलको वृत्तान्त
केदारनाथ गौतम
नेपाली कला र साहित्यका क्षेत्रको एउटा सुपरिचत नाम हो– लैनसिंह बाङ्देल । दर्जनौं कृतिहरूको लेखन र कयौंको सम्पादन समेत गरेका बाङ्देलका केही रचना विद्यालय–विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश छन् । यसैकाण धेरैजसोले बाङ्देललाई साहित्यकारका रूपमा मात्रै चिन्दछन् । तर, यथार्थमा बाङ्देल लेखक–साहित्यकारभन्दा बढी त चित्रकार, मूर्तिकार, सम्पदा–संरक्षणक एवम् पुरातत्वविद् हुन् । कतिपयले त उनलाई ‘नेपाली आधुनिक कलाका पिता’ समेत भन्दछन् ।
रङ्गलाल राई र बिमला राईका छोरा लैनसिंह ७ पुस, १९८१ (वि.सं.) मा जन्मेका हुन् । कामको सिलसिलामा उनका हजुरबा रत्नध्वज थातथलो खोटाङबाट दार्जलिङ पुगेका र बुबा रङ्गलालाल समेत प्रवासी नेपालीका रूपमा उतै रहेका बेला ‘तकभर चियाबगान’ मा जन्मेका हुन् लैनसिङ । जीवनको उत्तर्रार्धमा सानेपा (ललितपुर) मा बस्ने गरेका बाङ्देलको २९ असोज, २०५९ मा निधन भयो ।
बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि र जिज्ञासु, सक्रिय एवम् सिर्जनात्मक स्वभावका लैनसिंहले ऊ बेलाका प्रखर गुरुहरू धरणीधर कोइराला, पारसमणि प्रधान, सूर्यप्रसाद ज्ञवालीलगायतबाट शिक्षा र सामिप्यता पाए । बाङ्देल बाल्यकालदेखि नै राम्रा चित्र बनाउँथे । उनले विद्यालयस्तरको चित्रकला प्रतियोगितामा बनाएको चित्रको एक बेलायतीले निकै प्रशङ्सा गरे । त्यसै दिनदेखि बाङ्देलले कलाकै क्षेत्रमा जीवन समर्पित गर्ने प्रण गरेका थिए ।
कलाक्षेत्रमै गम्भीर ढङ्गबाट अघि बढ्न चाहने बाङ्देल सन् १९४८ मा एसएससी उत्तीर्ण गरेपछि सोही अभिरुचिका कारण कलकत्तास्थित ‘गर्भमेन्ट कलेज अफ आर्ट्स एण्ड क्राफ्ट्स’ मा भर्ना भए र त्यहाँ छ वर्ष अध्ययन गरे । पढाइकै बीच दुई वर्षसम्म उनले व्यावसायिक कला समेत सिके ।
त्यसपछि बाङ्देलले चार वर्ष (सन् १९४८ देखि १९५२) कलकत्तास्थित बेलायती विज्ञापन कम्पनीमा काम (चित्रकारिता) गरे । उक्त कम्पनीमा विश्वप्रसिद्ध सिनेनिर्देशक सत्यजीत रे उनका सहकर्मी थिए । चित्रकला अध्ययन गरेका र सोही पेशामा सङ्लग्न रहेका भए तापनि साहित्यमा समेत गहिरो अभिरुचिका कारण त्यसबेला बाङ्देलले ‘प्रभात’ साहित्यिक पत्रिका निकाली दुई वर्षसम्म सम्पादन गरे ।
चित्रकारितामा थप निखार ल्याउने भोकले बाङ्देललाई अझै सताइरहेको थियो । सोही अभिलाषा पूरा गर्न सहकर्मी उत्यजीत समेतको सल्लाह लिएर कला क्षेत्रमै उच्चशिक्षा हासिल गर्ने उद्देश्यका साथ उनी युरोप हान्निए । सन् १९५२ मा पेरिस गएका उनले दुःख र अभावकै बीच चार वर्षसम्म कलाकारिता अध्ययन गरे । त्यहाँ भारतीय कलाकार परितोष सेन र पदमशीलगायतसँग उनको सङ्गत भयो ।
लन्डन (बेलायत) स्थित ‘रोयल फ्री अस्पताल’ मा स्टाफ नर्सका रूपमा कार्यरत मनुकुमारी थापा (क्षेत्री) सँग १९ वैशाख, २०१० (वि.सं.) मा पेरिसमै उनको विवाह भयो । त्यहाँको पढाइ सकेर बाङ्देल बेलायत पुगे र पहिले कलकत्तामा काम गरेकै कम्पनीको त्यहाँस्थित कार्यालयमा काम गर्न थाले । उनी स्पेनी कलाकार प्याब्लो पिकासोको चित्रकारिताबाट निकै प्रभावित थिए । सोही कारण प्रायः अमूर्त चित्रहरू बनाउने बाङ्देल चित्रमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउँथे । बाङ्देल नै पश्चिमा चित्रकारिता नेपाल भित्र्याउने पहिलो व्यक्ति मानिन्छन् ।
सन् १९६१ मा बेलायत भ्रमणमा गएका तत्कालीन राजा महेन्द्रसित बाङ्देलको भेट भयो । राजाले उनलाई नेपाल आएर काम गर्न आग्रह गरे । महेन्द्रको सोही आग्रहवमोजिम नेपाल फर्केका बाङ्देल त्यसपछि नेपाली कला–साहित्यको पुनर्जागरणमा निरन्तर क्रियाशील रहे । त्यही बेला लक्ष्मीप्रसाद देवकोटाको निधन भएकाले खालि हुन गएको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य पद उनैले पाए । अमेरिकास्थित डेनिसन युनिभर्सिटीमा प्रोफेसर बनेर सन् १९६८ देखि ६९ सम्म नेपाली कलाको इतिहास समेत पढाएका बाङ्देल प्रज्ञा–प्रतिष्ठाानको आजीवन सदस्य समेत थिए । उनी पछिल्लो समय प्रज्ञा–प्रतिष्ठानको उपकुलपति र कुलपति समेत भए ।
पहिलो रचनाका रूपमा सन् १९३८ मा ‘अमावस्याको रात्रि’ शीर्षक कथा प्रकाशित गरेका बाङ्देलका थुप्रै उपन्यास र यात्रा संस्मरणलगायतका कृति एवम् रचनाहरू चर्चित छन् । ‘मुलुक बाहिर’ (उपन्यास/२००४), ‘माइतघर’ (उपन्यास/२००६), ‘लङ्गडाको साथी’ (उपन्यास/२००८), ‘रेम्ब्रान्ट’ (उपन्यास/२०२३) , ‘स्पेनको सम्झनामा’ (यात्रा संस्मरण/२०२०), ‘युरोपको चिट्ठी’ (यात्रा संस्मरण/२०२४), ‘विश्वका महान् कलाकार’ (जीवनी/२०२०), ‘प्राचीन नेपाली चित्रकला’ (२०३४), ‘नेपाली प्रस्तरकलाको इतिहास’ (२०३५), ‘नेपाल चराहरू’ आदि उनका प्रकाशित कृतिहरू हुन् ।
सन्दर्भ–सामग्रीहरूको आधारमा
केदारनाथ गौतम