सर्वोत्कृष्ट समाजभित्रका निकष्ट व्यवहार
केदारनाथ गौतमप्रकृतिको सुन्दरतम, भव्यतम र सर्वोत्कृष्ट उपहार मानिन्छ पृथ्वीलाई । पृथ्वीमा अस्तित्ववान् सजीव र निर्जीवहरूका आ-आफ्नै विशेषता, उपयोगिता, मौलिकता र भव्यता छन् । सजीव वस्तुहरू पनि वनस्पति र प्राणी गरी दुई भिन्न स्वरूपमा अस्तित्वशील छन् । र, मानवजगतलाई प्राणीमध्येको सर्वोत्कृष्ट जाति मानिन्छ/ठानिन्छ ।
यति सुन्दर र भव्य संसारको सबैभन्दा उत्कृष्ट प्राणी अर्थात् मान्छे हुनुका नाताले मानव समाजलाई एकदमै शिष्ट, सौम्य, सभ्य, निष्कलङ्क र सुसंस्कृत मानिन्छ/गनिन्छ । र, यसरी हेर्दा मानव समाजमा कलह, झैझगडा, वैमनश्य, काटमार, लुटपाट या कुनै पनि किसिमका विद्वेष, विखण्डन र विसङ्गतिको अपेक्षा गरिँदैन ।
यो त भयो सिद्धान्त र आदर्शको कुरा | व्यवहारमा भने सर्वत्र र सधै नै ठीक उल्टो स्थिति देखिंदै आएको छ । २६ फेबुअरी, १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्दै कार्ल मार्क्स-फ्रेडरिक एङ्गेल्सले लेखेका थिए- ‘मानवसमुदायको अहिलेसम्मको इतिहास भनेको वर्गसङ्घर्षको इतिहास हो।
मानिसकै अविवेकीपन, आपराधिक मानसिकता, अस्वाभाविक र अनावश्यक लोभ-लालचा, ईर्ष्या, विद्वेष, कुण्ठा, आवेग र हीनताबोधका कारण मान्छेले मान्छेमाथि नै विभेदको बीऊ रोप्यो । प्राकृतिक-भौगोलिक एवम् पर्यावरणीय असन्तुलन र असमानताका कारण त्यस्तो विभेद झन्-झन् झाङ्गिदै गयो ।
लालचा, ईर्ष्या, विद्वेष, कुण्ठा, आवेग र हीनताबोधलाई नेपाली बृहत् शब्दकोश मा यसप्रकार अर्थ्याइएको छ-
- लालच/लालचा- १. कुनै वस्तु पाउने तीव्र इच्छा; लालसा; तिर्सना; २. अति लोभ; अनुचित इच्छा।
- ईष्या- अर्काको बनिबनाउ वा समृद्धि देखेर मनमा उब्जने डाह; द्वेष; ईख; मात्सर्य ।
- विद्वेष- १. आपसी मनमुटाव; वैरभाव; शत्रुता । २. विरोध; झगडा । ३. द्वेष; ईर्ष्या; डाह ।
- कुण्ठा- १. कुनै व्यक्तिमा शुषुप्तरूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना । २. प्रगतिका कार्यमा बाधा पुर्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव । ३ बाधा-अड्काउ; अवरोध ।
- आवेग- १. कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; झोक; मनोविकार | २. मानसिक उत्तेजनाको प्रभावले गरिएको काम । ३. मनको असामान्य अवस्था; चेतनमाथि परेको अचेतनको प्रभुत्व । ४. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद ।
- हीनताबोध-आफूलाई हीन सम्झने वा आफू सानो हुँ भन्ठान्ने मानसिक भावना: हीन भावनाको बोध: हीनताग्रन्थि।
यी शब्दावलीहरूका शाब्दिक अर्थबाटै स्पष्ट हुन्छ- सर्वश्रेष्ठ समाजमा निकृष्ट कर्म गराउन मान्छेलाई उद्यत गराउने मुख्य पक्ष या कारक नै यिनै हुन् । यथार्थतः आपसी सद्भाव, सहिष्णुता, मानवीयता र कर्तव्यबोधले नै मान्छेलाई मान्छे बनाउँदछ । सचेत, स्वतन्त्र र विवेकशील मान्छेको जातलाई पशु-वस्तु झैं किलो-दाम्लोमा बाँधेर या खोरमा थुनेर कजिंदैन र सुध्रँदैन । ज्ञान, विवेक र कर्तव्यबोधले डोरिंदै सत्मार्ग र सत्कर्ममा लाग्नुपर्ने जाति हो, मानवजाति ।
यद्यपि मान्छेलाई कज्याउने, डोर्याउने र सुधार्ने सामाजिक एवम् संस्थागत संयन्त्रहरू भने नभएका होइनन् । सामाजिक-धार्मिक मूल्य-मान्यता र नियम; पाप-धर्मको विश्वास; विद्यालय-कलेज, क्लब, सङ्घसंस्था, सङ्गठन-दल आदिका विधान, निर्णय, निर्देशन, मुलुकका संविधान, ऐन, नियम-विनियम, नियमावली, निर्णय, निर्देशन आदि यथार्थतः मान्छेलाई ‘कज्याउने’ वा ‘थुन्ने’ व्यवस्थापन र संयन्त्र नै हुन् । अझ तिनको परिपालना भए-नभएको निगरानी गर्ने र पालना नभएमा सजाय गर्ने संयन्त्र समेत क्रियाशील छन्/हुन्छन् । र, यसका निम्ति राज्य र समाज र व्यक्तिका तर्फबाट निकै ठूलो जनशक्ति र धनराशि समेत खर्च हुँदै आएको छ।
यति हुँदाहुँदै पनि व्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्र र विश्व अशान्त छन्; कलह र युद्धको विभीषिकाबाट गुज्रिरहेका छन् । कुनै शास्त्र, शस्त्र र संयन्त्रले वैमनश्यता, अशान्ति. कलह र युद्धलाई रोक्न/टार्न सकिरहेका छैनन् । अतः स्पष्ट छ- मान्छे स्वयम्ले आफूलाई मान्छे बनाउन सक्नुपर्छ, तब मात्र यी र यस्ता सबै अनिष्ट रोकिन्छन्/टर्दछन् । यसो हुन सक्दा मात्र समाज र पृथ्वी प्राकृतिकरूपले जति सुन्दर छन्, सबै हिसाबले त्यत्तिकै सुन्दर बन्दछन्/ रहन्छन् ।