नयाँपन खोज्दै साधनारत रामु

बीएन अधिकारी

मान्छेको दिमाग रसिलो पार्ने, मनलाई शान्ति दिलाउने र जीवनमा ऊर्जा भर्ने तत्व हो, सङ्गीत । गीत–सङ्गीतले मानिसको दुःख भुलाउने र सुखमा समेत साथ दिने काम गर्दछ । अहिलेको समयमा जो–कसैले सङ्गीतसिर्जना गरेर मात्र पुग्दैन, तिनमा नयाँपन समेत दिन सक्नुपर्छ । यसै यथार्थतालाई आत्मसात् गरेर नेपाली सङ्गीतमा नयाँपन खोज्न र स्रोतालाई नयाँ–नयाँ साङ्गीतिक स्वाद पस्कन साधनारत सङ्गीतकार हुन्– रामु खड्का ।

पश्चिम नेपालमा अवस्थित सल्यानमा जन्मिएका रामु २०६३ मा काठमाडौं छिरे । त्यसयता उनी अवनरतरूपमा सङ्गीतसिर्जना गरिरहेका छन् । काठमाडौं आएलगत्तै उनी पढाइका साथसाथै गीत–सङ्गीतमा व्यस्त हुन थाले ।

उनले अहिलेसम्म आफ्ना सयौं सिर्जना स्रोतामाझ पस्किसकेका छन् । रामुका सिर्जना सङ्ख्यात्मकरूपमा धेरै मात्र छैनन्, उनका सङ्गीत त्यत्तिकै मात्रामा लोकप्रिय समेत छन् । ‘मर्ने मिति’, ‘साथी बनेर’, ‘आजभन्दा भोलि माया’, ‘कसको सिन्दुर’, ‘रित्तो झोला’, ‘बरु यसै दुःखी छु’, ‘भदौरे झरी’, ‘खोली किनार’, ‘अब त पागल भै’, ‘नियति’, ‘स्वर्णपदक’, ‘सोझोपन’, ‘हार्दिक श्रद्धाञ्जली’, ‘तिम्लाई सम्झी–सम्झी’, ‘नक्कली सासुमा’ जस्ता लोकलयमा चर्चित गीतहरूलाई रामुले नै लयबद्ध गरेर सङ्गीत भर्दै स्रोतामाझ पस्किएका हुन् । उनी अभिनयमा समेत अब्बल मानिएका छन् ।

लय–शैलीको कठिनाइ

रामु बाल्यकालदेखि नै गाउँघरमा हुने गायन प्रतियोगिताहरूमा सहभागी हुन्थे । उतिबेलै धेरैको मन जितिसकेका उनले सङ्गीतकार नै बन्ने सपना भने साँचिसकेका थिएनन् । गायक बन्छु भन्ने उद्देश्य बोकेर रामु काठमाडौं हान्निएका थिए ।

समय–परिस्थितिले भने रामुलाई सङ्गीतकारको परिचय दियो । ‘ममा सङ्गीतकार बन्नेभन्दा पनि गायनमा बढ्ता रुचि थियो त्यसैले राम्रो गायक बन्छु भन्ने सपना बोकेर काठमाडौं छिरेको थिएँ,’ रामुले होलिस्टिकलाई सुनाए– ‘तर, बिस्तारै गायनभन्दा पनि सङ्गीतसिर्जनातर्फ झुकाव बढ्दै गयो र यतैतिर लागें; समयक्रममा यसमै सफल भएँ ।’

रामुले सङ्गीतसिर्जना गरेका अधिकाङ्श गीत विष्णु माझीको स्वरमा रेकर्ड भएका छन् । उनी सङ्गीतसिर्जना मात्र होइन, गीतलेखनमा पनि उत्तिकै सक्रिय छन् । ‘एउटा सङ्गीतकारका निम्ति नयाँ सङ्गीतसिर्जना गर्नु भनेको आमाले बच्चा जन्माउनुसरह नै गाह्रो काम हो,’ अनुभूति शेयर गर्दै उनी भन्छन्– ‘किनभने कुनै पनि लय र सङ्गीत एकातिर शब्दहरूको भावअनुसार हुनुपर्छ भने अर्कातिर कसैको पनि लय र सङ्गीतसँग नमिल्ने हुनु पर्दछ ।’

सम्मान, पुरस्कार र अवार्ड

स्रोता–दर्शकको मन जित्दै गएका सङ्गीतकार रामु खड्काका सिर्जनाहरूले राष्ट्रियस्तरका थुप्रै अवार्डहरू समेत पाइसकेका छन् । ‘कसको सिन्दुर’ ले २०७१ मा चौथो राप्ती म्युजिक अवार्ड प्राप्त गर्‍यो । ‘आजभन्दा भोलि माया’ गीतमार्फत उनले सातौं विन्ध्यावासिनी म्युजिक अवार्ड, २०७३ हात पारे । सङ्गीतकार रामु यही गीतमार्फत चौथो राष्ट्रिय लोकदोहोरी अवार्ड, २०७३ समेत थाप्न सफल भए ।

उनको ‘भदौरे झरी’ ले पाँचौं छायाँछवि तीज म्युजिक अवार्ड, २०७५ प्राप्त गर्‍यो भने ‘सोझोपन’ ले रामुलाई सातौं नेसनल क्यापिटल म्युजिक अवार्ड, २०७७ दिलायो । यही गीतमार्फत रामु नेपाल म्युजिक एण्ड फेसन अवार्ड, २०७७ मा अवार्ड चुम्न सफल भए । यीबाहेक पनि अरु थुप्रै अवार्ड, पुरस्कार र सम्मान प्रात गरेका रामु आफ्नो मेहनत र प्रतिभाको कदर गर्दै दिइएका अवार्ड र सम्मानले झन् बढी ऊर्जा थप्ने गरेको बताउँछन् ।

युवापुस्ता समेट्नुपर्छ

अहिलेका गीत–सङ्गीतले पछिल्लो पुस्तालाई छुन सक्नुपर्ने बताउँछन् रामु । त्यसैले नयाँ पुस्ता अर्थात् युवापुस्ताको रुचि र मनोभावअनुसारकै गीत–सङ्गीत तयार पार्नुपर्ने उनको ठम्याइ छ ।

नेपाली लोकदोहोरी क्षेत्रमा कयौं विकृति–विसङ्गति समेत भित्रिएको आरोप लागिरहेका बेला रामुले भने स्रोतामाझ धेरै राम्रा सिर्जना पस्किएका छन् । त्यस्ता विकृति–विसङ्गतिबाट बच्दै गीत–सङ्गीतलाई नयाँपन दिने र युवापुस्ताको ढुकढुकी छाम्ने काम सजिलो नभएको उनको भनाइ छ । यही कठिनाइका बीच आफ्ना गीत–सङ्गीतले नेपाली साङ्गीतिक क्षेत्रलाई नै थप उचाइमा उठाएको रामुको दावी छ ।

‘नेपाली लोकदोहोरी क्षेत्रका सङ्गीत सधैं पुरानै धारमा मात्र चलिरहेको अवस्था थियो, दर्शक–श्रोता र बजारले नयाँपन खोजिरहेका थिए,’ रामु दावी गर्छन्– ‘त्यो अभावको पूर्ति मैले गरिदिएँ, सोहीअनुसार गीतको भाव बदलें र सङ्गीतको शैली पनि बदलें ।’

‘श्रोता–दर्शक र समाजले, विशेषतः नयाँ पुस्ताले पनि पुरानो धार छाडेर नयाँपन र नयाँ धारलाई नै स्वीकारे । पुरानो पुस्ताका सङ्गीतकारलाई यो पुस्ताले कस्तो गीत–सङ्गीत मन पराउँछ भन्नेमा ध्यानै थिएन । म भने सङ्गीतको शैली परिवर्तन गर्ने अठोटका साथ लागिपरें ।’

सङ्गीत सधैं एकैनासको हुनु नहुने रामुको मान्यता छ । पुस्ता परिवर्तनशील छन्, त्यसैकारण सङ्गीतमा पनि नयाँपन ल्याउनुपर्छ भन्ने उनको धारणा छ । नयाँ पुस्ताले पुराना संस्कार र संस्कृति छाड्दै जाने भएकाले चलिआएको र चल्दै गरेको जेनेरेसन र प्रविधिबीच सुमधुर सम्बन्ध स्थापित गर्न सके मात्रै नेपाली कला–संस्कृतिको संरक्षण र विकास गर्न सकिने कुरामा उनको जोड छ ।