अनिद्रा: कारण र समाधान
गोपाल ढकालनिदाउन गाह्रो हुने, निदाइहाले पनि बीच–बीचमा निद्रा टुटिरहने, बिहान चाँडै निद्रा खुल्ने र फेरि निदाउन कठिन हुनेजस्ता समस्यालाई अनिद्राको समस्याका रूपमा लिइन्छ । व्यस्त जीवनशैलीका कारण पछिल्लो समय मानिसहरुका दैनिक क्रियाकलाप, खानपान, यौनजीवन, निद्राजस्ता पक्षहरू व्यापक उतारचढाव आएको छ ।
जीवनका लागि खानापान जति आवश्यक हुन्छ, निद्राको पनि उत्तिकै आवश्यकता पर्दछ । मानिसलाई नभई नहुने अत्यावश्यकीय आवश्यकताहरूमध्ये निद्रा पनि एक हो । शारिरिक तथा मानसिकरूपमा स्वस्थ्य रहन पर्याप्त निद्रा जरुरी कुरा हो ।
निदाएका बेला मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुन्छ । यसले शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । जब कोही निदाउँछ, त्यसबेला शरीरले विषाक्त पदार्थहरू बाहिर निकाल्छ । त्यसैकारण बिहान उठेपछि मन र शरीर हल्का तथा फुर्तिलो बनेको अनुभूति हुन्छ ।
शरीरलाई ताजा, फुर्तिलो र तन्दुरुस्त राख्न तथा मनलाई चङ्गा र शान्त राख्न पर्याप्त निद्रा अपरिहार्य हुन्छ । राम्ररी निद्रा नपुग्दा टाउको दुख्ने, थाकेको महसुस हुने, खाना खान मन नलाग्ने, तनाव हुने, काम गर्न जाँगर नहुने, झर्को लाग्ने, चिटचिटाहट बढ्ने, स्मरणशक्ति कम हुने, रिस उठ्ने, छटपटी हुनेजस्ता समस्या हुन्छन् ।
अनिद्राको समस्याका कारण दैनिक जीवनमा नै अवरोध निम्तन्छ । सारतः अनिद्राले जीवनको गुणस्तर घटाउँछ । पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता समेत घटेर जान्छ । अनिद्राका कारण निम्तने केही प्रमुख समस्याहरूबारे सङ्क्षिप्त चर्चा गरौं–
अल्जाइमर्स र अरु अनेक समस्या
अनिद्राका कारण डिमेन्सिया, मुटु र धमनीसम्बन्धी रोगहरू (उच्च रक्तचाप तथा हृदयाघात) को सम्भावना बढ्छ । अनिद्राकै कारण मधुमेह, पेटको समस्या र मोटोपनको समेत जोखिम हुन्छ । यी समस्याका कारण स्नायु प्रणाली कमजोर हुनुका साथै डिप्रेसन, एन्जाइटी तथा अन्य मानसिक समस्या समेत निम्तन सक्दछन् ।
नेपाली समाजमा एउटा भनाइ नै छ– ‘एक दिनको अनिदोले सात दिन पिरोल्छ ।’ मान्छेले दैनिक औसत ७–८ घन्टा मस्तसँग निदाउनैपर्छ । यद्यपि कहिलेकहीं एक–दुई रात कुनै कारणवश निद्रा लागेन भने त्यसलाई चाहिँ सामान्य रूपमा नै लिनुपर्छ । यस्तो त प्रायः सबैलाई नै हुन्छ । हप्तौं वा महिनौंदेखि अनिद्राको समस्याले सताएको छ भने चाहिँ त्यसको समधान खोज्नुपर्छ ।
अनिद्राको समस्या आफैंमा एउटा रोग पनि हुन सक्छ वा यस्तो समस्या अन्य कुनै शारीरिक या मानसिक रोगको लक्षणका रूपमा देखा परेको पनि हुन सक्छ । अनिद्रा हुनुको कारण पत्ता लगाएर सोही अनुसारको समाधान खोज्नुपर्छ । निद्रा लागेन भनेर आफुखुसी ‘निद्रा लाग्ने औषधि’ भने खाने गर्नु हुँदैन ।
अनिद्राका कारणहरू
एक्कासि आइपरेको समस्या
जीवनमा उतार–चढावहरू आई नै रहन्छन् । एक्कासि घट्ने अप्रत्याशित घटनाहरूले मानिसमा तनाव, डर, चिन्ता, उत्तेजना, आवेग इत्यादि बढ्दछन् । यसो हुँदा छोटो समयका लागि अनिद्राको समस्या पनि हुन सक्छ ।
समस्या समाधान हुँदै जादा अनिद्रा पनि कम हुँदै जान्छ । यस्तो अवस्थामा स्व–हेरचाहमा भने ध्यान पुर्याउनु पर्छ ।
जीवनशैलीमा परिवर्तन
तथाकथित आधुनिकता र प्रविधिको बढ्दो प्रयोगसँगसँगै मानव जीवनशैली र क्रियाकलापमा परिवर्तन आएको छ । शारीरिक रूपमा त मान्छे निष्क्रियप्रायः हुँदै गइरहेको छ । तर, गहिरो निद्राका लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ ।
अनिद्राका समस्या निम्तन नदिनका लागि शारीरिक गतिविधिहरू बढाउनुपर्छ । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्नेजस्ता गतिविधि जारी राख्नुपर्छ । सुत्नुअघि हल्का व्यायाम गर्नु राम्रो हुन्छ । पर्याप्त शारीरिक मेहनत र कम तनाव नै गहिरो निद्राका अचुक प्राकृतिक तरिका हुन् ।
अस्वस्थ–असन्तुलित खानपान
खानपान र निद्राबीच गहिरो सम्बन्ध हुन्छ । गलत खानपानले निद्रामा असर गर्न सक्छ । खानामा पौष्टिक तत्वको कमी तथा जङ्कफुडहरूको अत्यधिक सेवनले अनिद्राको समस्या निम्त्याउने गरेको देखिन्छ ।
कार्बोहाइड्रेडयुक्त खाना बढी खाँदा अनिद्राको समस्या बढ्छ । चिनी, मैदा, सोडा, कुकिज, सेतो चामल र सेतै रोटीजस्ता खानाले अनिद्राको समस्या बढाउँछन् । धेरै चिया, कफी, सफ्ट ड्रिङ्क, अत्यधिक अमिलो–पिरो, मसलायुक्त खाना, धेरै चिल्ला खाने कुरा, चुरोट, रक्सी तथा लागू औषधको इत्यादिको सेवनले त अनिद्रा बढाउने नै भए ।
प्याकेटमा उपलब्ध हुने चाउचाउ, दालमोठजस्ता खाने कुरा सकेसम्म खानु हुँदैन । फास्टफुडलाई त निद्राको सत्रु नै मानिन्छ ।
सुत्ने–उठने मनपरी समय
आजभोलि प्रायः नागरिकको सुत्ने र उठ्ने समय नै ठेगान हुन छाडेको छ । राति अबेलासम्म टेलिभिजन हेरेर बस्ने वा इन्टरनेट, ल्यापटप, मोबाइल प्रयोग गर्ने र गेम खेलेर समय बिताउने अनि बिहान अबेलासम्म सुत्ने प्रचलन बढिरहेको पाइन्छ । यसो गर्दा निद्रा नराम्ररी खल्बलिन्छ ।
कहिले ढिलो सुत्ने त कहिले छिट्टै सुत्ने, कुनै दिन दिउँसो सुत्ने त कुनै दिन बेलुका सुत्नेजस्ता गतिविधि गर्नै हुँदैन । यसो गर्दा अनिद्राको समस्या बढ्ने उच्च जोखिम हुन्छ । निश्चित समयमा नै सुत्ने–उठ्ने गर्नुपर्छ ।
मानसिक रोग
मानसिक अवस्था नै निद्रा बिथोलिने प्रमुख कारण हो । मनोसामाजिक समस्या वा मानसिक रोग भएकाहरूमा एउटा मुख्य लक्षणकै रूपमा अनिद्राको समस्या देखिने गरेको छ । विशेषतः मानसिक आघात, डर–चिन्ताजन्य समस्याहरू तथा डिप्रेसनजस्ता मानसिक समस्या हुनेहरूमा अनिद्रा बढी नै देखिएको छ । तनाव, डर–चिन्ता, डिप्रेसन तथा अन्य मानसिक समस्या हुँदा मनमा धेरै कुरा खेल्ने, डर लाग्ने, छटपटी हुनेजस्ता लक्षणहरू देखिन्छन् । यस्ता समस्याले निद्रामा नराम्ररी अवरोध पुर्याउँछन् ।
यस्तो अवस्थामा मनलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुपर्छ । गहिरो सास लिने र छाड्ने तथा अन्य आरामदायी अभ्यास गर्नु फाइदाजनक हुन्छ । तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ । मानसिक रोग वा मनोवैज्ञानिक कारणले अनिद्रा देखिएको हो भने मनोविद्, मनोपरामर्शदाता वा मनोचिकित्सकमार्फत उपचार गर्नुपर्छ ।