जाकर्ता टापुको रमणीय यात्रा

डा. डीबी सुनुवार

यात्राका क्रममा आज छनौट भएको छ, इन्डोनेसियाको जाकर्ता । यात्रा जहिल्यै रोचक, प्रेरक र अविष्मरणीय नै हुन्छ । र, यो यात्रा पनि एकदमै रमाइलो छ, अविष्मरणीय छ ।

‘नमस्कार ! के छ हालखबर ?’ भेट हुँदाका बखत हामीले दर्शाउने शिष्टाचारका यस्तै–यस्तै वाक्याङ्शको सट्टा इन्डोनेसियन भाषामा ‘सलामतपागी’, ‘आपाकवर’, ‘कवर वाइक’, ‘तेरिमाकाशीलाहात’, ‘जुम्पालागिइतु वहासा’… इत्यादि भनिन्छ ।

‘आइल्याण्ड अफ सेभेन्टिन थाउजेन्ड’ का रूपमा सुपरिचित राष्ट्र हो, इन्डोनेसिया । जवानहरूको जनसङ्ख्या धेरै भएको राष्ट्रमध्येमा पर्छ यो मुलुक । जुन देशमा जवान जनसङ्ख्या बढी हुन्छ, स्वभावतः समृद्धितर्फ अगाडि बढ्न त्यस देशलाई सहज नै हुन्छ र बढ्छ पनि ।

ऐतिहासिक एवम् पुरातात्विक, भौगोलिकलगायतका विषयमा अध्ययन–अनुसन्धान गर्न र मनोरञ्जनका लागि समेत निकै उपयुक्त र सुन्दर ठाउँ हो इन्डोनेसिया । यहाँका अनेकौं रमणीयस्थलहरूले जो–कसैको ध्यान नतान्ने त कुरै भएन !

सामुद्रिक टापुमा अवस्थित जाकर्ता सहर बिस्तारै पानीमा डुब्दै गइरहेको रहेछ । सहर डुबिरहेको सुन्दा त मेरो मन पनि अनेकथरी सोच्न पो बाध्य भयो । मनमा कुरा खेल्यो– यस्तो सुन्दर सहर कसरी पो डुब्ला र ! अनि डुबी नै हाल्यो भने यसको अस्तित्व कहाँ पुग्ला ? यहाँका भौगालिक, धार्मिक तथा ऐतिहासिकलगायतका सम्पदा र वैभव के होलान् ? यहाँका नागरिक, व्यापारी, प्रशासक र बसोवास कहाँ सर्लान् ?!

अन्ततः यस विषयमा पनि विस्तृत जानकारी पाइयो । टापुका रूपमा अवस्थित जाकर्ता सहर सन् २०२४ सम्ममा ‘कालिमोन्तान’ भन्ने स्थानमा सरिसक्ने योजना बनिसकेको रहेछ । विज्ञहरूको अनुमानअनुसार यस सहरको करिव ९५ प्रतिशत भूभाग पानीमा डुब्ने रहेछ । पानीमै डुब्ने भइसकेपछि त सहर पनि अन्यत्र सर्ने नै भयो । तर, यति भव्य सहर पानीमा डुब्ने र पूरै थातथलो अन्यत्रै सर्ने कुराले मेरो मथिङ्गल भने अझैसम्म पनि रिङ्ग्याइरहेको छ; मनमा खुल्दुली चली नै रहेको छ ।

एक सय तीस वटाभन्दा बढी ठूला सपिङ मल छन् जाकर्तामा । टापु नै डुबेपछि ती सपिङ मल कसरी लुप्त होलान् ? यस सहरमा चौरहत्तर वटाभन्दा बढी ऐतिहासिक सङ्ग्रहालयहरू छन् । खोज–अनुसन्धानको विराट् एवम् उपयुक्त थलो पनि त हो यो सहर ।

इशा र इनाको निमन्त्रणामा भ्रमणका निम्ति जाकर्ता आइपुगेको छु । हामी सिङ्गापुरमा परिचित र चिनजान भएका असल मित्र हौं । ‘बाली त घुम्नैपर्छ’– इनाले बारम्बार भनिरहेको म अहिले पनि सम्झिरहेकै छु ।

विश्वकै चौथो ठूलो क्षेत्रफलयुक्त देश हो इन्डोनेसिया । विश्वकै चौथो ठूलो जनसङ्ख्या पनि यहीं छ । विश्वमै सबैभन्दा धेरै टापु भएको देश पनि हो यो । र, विश्वमै सबैभन्दा धेरै इश्लाम धर्मावलम्बी रहेको देश पनि हो यो ।

सबै भाषाभाषी तथा धर्मावलम्बीहरू मिलेर बसेको सहिष्णुतायुक्त मुलुक हो इन्डोनेसिया । कम्ति लोभलाग्दो छैन यहाँको धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भाव ।

पुरानो देश र संसारको धेरै भूभाग ओगटेको इन्डोनेसियामा सत्र हजारभन्दा बढी आइल्यान्ड छन् । यहाँ सात सयजति फरक–फरक भाषाहरू प्रचलनमा छन् । अतः भाषा–संस्कृतिका हिसाबले समेत निकै समृद्ध मुलुक हो इन्डोनेसिया ।

‘सोतो’, ‘वाक्सो’, ‘नासिगारेड’, ‘नासिउडुक’, ‘नासिपाडाड’, ‘साम्बाल सते आयाम’, ‘रेन्डाड’ आदि निकै लोकप्रिय इन्डोनेसियन खाना हुन् । यहाँको खाद्य परिकार निकै स्वादिष्ट र त्यत्तिकै स्वस्थकर लागे । यहाँ आइस जुस, लुवाक (ब्ल्याक कफी) पनि कम प्रसिद्ध छैनन् ।

यस ठाउँमा खानपान गर्ने कुनै खास सेड्युल नै हुँदैन । जतिखेर, जसलाई जे मन लाग्यो– त्यही खाने हो । यहाँको खानपानमा केही दिन भुलेको त पत्तै पो भएन ।

जीवनयात्राले जता–जता तान्छ, त्यतै–त्यतै तानिन्छ हाम्रो जीवन । इन्डोनेसिया घुम्दाघुम्दै नोभेम्बरको आधाआधी घर्किसकेको छ । जाकर्ताका पर्यटकीय आकर्षणयुक्त धेरै ठाउँको घुमघामले अझै पनि यतै तानिइरहेको छ मेरो मन । ज्वालमुखीका ताता धेरै स्थान छन् यहाँ ।

होटल ‘चेक–इन’ पछि दिउँसोको खानपानका लागि टिपिकल कल्चरल फुडकोर्टमा छिरियो । इन्डोनेसियन फुडमा मन रमाइरहेको छ । निकै रमणीय र आनन्ददायी लागिरहेको छ जाकर्ताको बसाइ ।

धेरै त पुरानै साथीभाइ नै भेटिएका छन् यहाँ । सिङ्गापुरमा पाइने जस्तै छ खानपिन पनि । मानिसहरूको अनुहार र बोली–व्यवहार देख्दा कुनै नौलो सहरमा पुगेजस्तो लागेको छैन पटक्कै । ओल्ड टाउन, चाइना टाउन र नेसनल मोनुमेन्टको भ्रमणबाट पनि मन त्यत्तिकै प्रफुल्ल भएको छ ।

झिलिमिली सजिएका बोट (डुङ्गा) हरूले बोर्डिङ लिइरहेका छन् । यहाँको वातावरणले नै मन गद्-गद्  भएको छ । आनन्दित बनिरहेको छ मन । मलाई तानिरहेको छ यहाँको दृश्यले ।

क्या सुन्दर र आनन्दमयी इन्डोनेसिया यात्रा ! अबको यात्रा पनि इन्डोनेसियामै जारी नै छ । अब भने मेदान, बाली र सुराबयाको यात्रा तय भएको छ ।