स्वार्थी मान्छेको अन्धविश्वास
निर्दोष बगालेबगेडीको काल
कृष्णप्रसाद भुसालहाम्रो समाजमा भ्रामक र तथ्यहीन तर सनसनीपूर्ण बनाइएका समाचार अथवा परम्परागत कथनहरूको प्रचार–प्रसार अत्यन्तै तीव्र गतिमा प्रशारित हुन्छ । र, आम मानिसले त्यसलाई तत्कालै र सहजै विश्वास समेत गरिहाल्छन् । यसखाले अन्धविश्वास र तिनले निम्त्याएका दुःखद् घटनाहरू सय, हजार होइन; लाखौं भेटिन्छन् । यस्तो अन्धविश्वास र कुरीति हाम्रो समाजमा मात्र छैन, कुनै न कुनै तहमा संसारभर नै भेटिन्छन् । कुरा यत्ति हो, अरुभन्दा हामी यस मामिलामा अघि नै छौं ।
यस्तै भ्रमपूर्ण प्रचारबाजी र अन्धविश्वासपूर्ण जनविश्वासका कारण धर्तीबाटै लोप हुने अवस्थामा पुगेको सुन्दर चरा बगालेबगेडीबारे यस आलेखमा चर्चा गरौं । भँगेरा आकारको रङ्गीन र आर्कषक बगालेबगेडी नेपालमा वर्षभरि पाइने चरा होइनन् । जाडो याममा रुस, मङ्गोलिया, उत्तरी चीन, जापानलगायतका देशहरूबाट यी चरा चिसो छल्न बसाइँसराइ गरेर नेपाल आउँछन् । उत्तरी भूगोलमा प्रजनन गर्ने साना र आकर्षक यी चरा हजारौं माइलको दूरी पार गरी हिउँद बिताउन नेपालसहित दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकतिर आउँछन ।
तर, विडम्बना ! अनुकूल मौसम र चरनको खोजी गर्दै पाहुना बनेर हाम्रो ठाँउमा आउने यी चरा हाम्रै सिकारको जालोमा पर्दछन् । यी चरा करिव डेढ दशक अघिसम्म पनि संसारभर र नेपालमा समेत बगालका बगाल देखिन्थे । बगालका बगाल उड्ने, बस्ने र भेटिने भएकैले यस प्रजातिको चराको नाम नै ‘बगालेबगेडी’ रहन पुगेको हो । अत्यधिक सिकारकै कारण पछिल्लो दशकमा मात्र ९० प्रतिशतभन्दा बढी सङ्ख्या घटेर बगालेबगेडी लोप हुने अवस्थामा पुगेका छन् ।
पूर्वी तराईका कयौं होटल र रेस्टुराँहरूको ‘मेन्यु’ मा (प्रायः जाडो यामामा) एउटा विशेष र आकर्षक परिकारका रूपमा ‘बगालेबगेडीको मासु’ समावेश हुन्छ । तराईमा मात्र होइन, राजधानी काठमाडौं र अन्य ठूला सहरका नाम चलेका होटल तथा रेस्टुराँहरूमा समेत बगेडीको मासु पाइने प्रचार गरिन्छ, बेचिन्छ । बगेडीको मासु खाँदा शरीर न्यानो हुने र यौनशक्ति बढ्ने भ्रमपूर्ण प्रचार गर्ने गरिएको पाइन्छ । यो प्रचारबाजी केवल अन्धविश्वास मात्र हो; कुनै वैज्ञानिक अध्ययन, अनुसन्धान र चिकित्सालयको प्रयोगशालामा परीक्षणबाट प्रमाणित तथ्य होइन । तर, मान्छेहरू हल्लैहल्लाको भरमा बगेडीको मासु खान लालायित हुन्छन् ।
सिमसार क्षेत्र, आसपासका खेतबारी र उखु बारीहरूमा समूहमा बस्ने बगेडी चरालाई जाल (पासो) थापी छोपेर बजारसम्म पुर्याउन जाडो मौसममा पेशेवर समूहहरू नै सक्रिय हुन्छन् । तराईका अन्य जिल्लाको तुलनामा सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्साबाट उनीहरूले ठूलो सङ्ख्याका बगालेबगेडीको सिकार गरेर राजमार्ग, सहर र राजधानीसम्म पुर्याउँछन् । पूर्व–पश्चिम राजमार्गका होटल–रेस्टुराँमा ‘यहाँ बगेडीको मासु पाइन्छ’ लेखिएका बोर्ड र सिङ्गो बगेडी चरा नै प्लेटमा राखेर खुल्लमखुला बेच्ने गरेको सहजै भेटिन्छ । जबकि, बगेडी घरपालुवा चरा होइन, त्यसैले यसलाई समात्नु, बेच्नु, ओसारपसार गर्नु, व्यापारिक प्रयोजनमा प्रचारप्रसार गर्नु र खानुजस्ता सबै काम अवैध, गैरकानुनी र दण्डनीय अपराध हुन् ।
नेपालमा अभिलेख भएका चराका ८ सय ९२ प्रजातिमध्ये सर्वाधिक सङ्कटमा दस प्रजातिका चरा पर्छन्, जसमध्येका दुई प्रजाति त नेपालबाट लोप नै भइसकेका छन् । हाल जीवित रहेका अतिसङ्कटापन्न आठ प्रजातिमध्ये बगालेबगेडी पनि एक हो । यदि यसको संरक्षणमा अहिले नै ध्यान दिइएन भने आउँदो दस वर्षभित्र लोप भइसक्ने सम्भावना ५० प्रतिशतभन्दा बढी नै छ । तर, यसको सिकार रोकथाममा कुनै पहल भएको छैन । हिउँद बिताउन नेपालमा अहिले पनि हरेक वर्ष करिव दुई हजार आसपास सङ्ख्याका बागालेबगेडी बसाइँसराइ गरेर आउने गरेको अनुमान छ ।
बगेडीको मासु खाँदा यौनशक्ति बढ्नेजस्तो अन्धविश्वासका कारण बजारमा यसको माग बढ्दै जानु र अवैधानिक चोरीसिकार रोक्नका लागि कुनै पहल नहुनुका कारण हरेक हिउँदमा बगेडीका नाममा त्यत्रै आकारका अरु २५ प्रजातिका लाखभन्दा बढी साना चरा मारिने गरेको तथ्य अनुसन्धाता हेमबहादुर कटुवालको अध्ययनले देखाएको छ । व्यापारीहरूले बगेडीका नाममा अन्य चरा समेत मार्ने र बेच्ने गर्छन् । बगालेबगेडीलाई नेपालभित्र मात्र होइन, ती बसाइँसराइ गरी आउने बाटोमै समेत समातेर मारिन्छ । यसको सबैभन्दा बढी सिकार चीनमा हुन्छ, जहाँ हरेक वर्ष ‘बाउल फेस्टिबल’ पर्व मनाउने क्रममा खान मात्रै करिव दस लाख बगालेबगेडी मारिन्छ । आफ्नो स्वाद, प्रचलन र भ्रमका कारण मान्छेले यो प्रजातिलाई यसरी संसारबाटै नामेट पार्दैछन् ।
मध्यपूर्वी तराईका अलवा काठमाडाैं उपत्यकाको मनोहरा किनारका खेतहरू, काभ्रेको पनौती, झापाको मेचीनगर, कोसी, चितवन, पोखराका ताल र सिमसार क्षेत्र, कपिलवस्तु, रसुवा र कैलालीमा पनि बगालेबगेडी अभिलेख भएका छन् । पोखराको सिमसार क्षेत्रमा हरेक वर्ष करिव पाँच सय बगालेबगेडी हिउँद बिताउन आउने गरेको त्यस क्षेत्रमा चार वर्षदेखि अनुसन्धानरत मिलन बराल बताउँछन् ।
खेतबारीमा चर्ने बगालेबगेडीले विभिन्न हानिकारक कीरा खाइदिएर किसानलाई सहयोग गरिरहेका हुन्छन् । मध्यएसियाली उडानमार्ग भएर मङ्गोलियाबाट बसाइँसराइ गरी नेपालसम्म आइपुग्ने बगालेबगेडीहरूले खासमा यस क्षेत्रका मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जैविकरूपमा जोडिरहेका छन् ।
करिव २० ग्राम तौल र चार वर्ष मात्र आयु हुने यति सानो चराले वर्षेनि मानवीय सिकारको जाल छल्दै हरेक वर्ष आफ्नो प्रजनन क्षेत्रबाट चरन क्षेत्रसम्म पूरा गर्ने हजारौं किलोमिटर लामो साहसिक र जोखिमपूर्ण यात्रा कम्ति प्रेरणादायक छैन । बसाइँसराइका लागि उत्प्रेरित गराउने र मार्गदर्शन गर्ने वङ्शाणुगत गुणहरूका साथै गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा ताराहरूको अवस्थिति, नदी, भौगोलिक श्रृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने यी चराका विशिष्ट गुणहरू रोचक र खोजलायक छन् । कुनै वैज्ञानिक तथ्य र प्रमाणविना केवल भ्रम र प्रचारमा विश्वास गर्दै यी चराको अवैधानिक व्यापार र प्रयोगमा लिप्त हुनुले मानव समुदायको सोच, बुझाइ र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
बसाँइसराइ–यात्रा चराको जीवनका निम्ति महत्वपूर्ण तर कठिन अवस्था हो । प्रजननस्थल, आश्रयस्थल, उडानमार्ग र बाटामा विश्राम गर्ने स्थानहरूमा आइपर्ने स–साना अवरोधले पनि तिनलाई ठूलो असर पार्दछन् । चोरीसिकारसँगै चराको वासस्थान विनास र बसाइँसराइ गर्ने बाटामा पैदा हुने प्रतिकूलताले यी चरालाई झन् बढी सङ्कटमा पारिरहेको छ । आगन्तुक चराको आश्रयस्थलका रूपमा रहेका हाम्रा सिमसार क्षेत्र र तीसँग जोडिएका जमिनहरू धमाधम मासिँदै छन् भने कृषिमा पनि अनियन्त्रित र अव्यवस्थितरूपमा विषादी प्रयोग बढ्दो छ । त्यसैको बहुआयामिक र दूरगामी असर जमिनको दिगो उत्पादकत्व र मानव स्वास्थ्यसँगै पाहुना चरामा समेत परिरहेको छ ।
बसाइँसराइ गर्ने पाहुना चराले आफूलाई अनुकूल लाग्ने र सुरक्षित महसुस गर्ने ठाउँमा मात्र आश्रय लिन्छन् । अतः पाहुना चराको आवागमन र बसाइको प्रवृत्तिले कुनै खास पर्यावरणीय संरचनामा आएको परिवर्तनलाई सङ्केत गर्दछ । पछिल्ला दिनहरूमा ‘सिमसारको सौन्दर्यीकरण’ का नाममा तालतलैया भित्रका झारपात तथा विरुवालाई सम्पूर्णरूपमा निकाल्ने तथा पर्यटन प्रवद्र्धनका नाममा डुङ्गा सञ्चालन गर्ने, सिमेन्ट पेटीलगायतका भौतिक संरचना निर्माण गर्ने र अनियन्त्रितरूपमा वनभोजजस्ता पर्यावरण अमैत्री क्रियाकलापहरू सञ्चालन गर्नेजस्ता कार्यले व्यापकता पाएको छ । यस्ता कार्यले सिमसारको गुणस्तर र आयु मात्र छोट्याएको छैन, बगालेबगेडीजस्ता आगन्तुक चराहरूलाई पनि विस्थापित गरिरहेको छ ।
रातको झिलिमिली उज्यालोलाई हामी आकर्षण ठान्छौं, अझ विकासको प्रतिक मान्छौं तर यसले राति बसाँइसराइ गर्ने चराहरूलाई नराम्ररी असर गरिरहेको हुन्छ । रातको चकमन्नताबीच कृत्रिम उज्यालोमा चराहरूले गन्तव्यसम्म पुग्ने बाटो पहिचान गर्न सक्दैनन्; अर्कातिर उडिरहेका ती चरा अग्ला भौतिक संरचनाहरूमा ठोक्किने जोखिम पनि हुन्छ । चहकिलो बत्तीतर्फ आकर्षित भएर चराहरू त्यतै जाँदा बाटो बिराउने, हराउने र ठोक्किने मात्र होइन, त्यहाँ ढुकेर बसेका शिकारीको निसानामा समेत पर्न सक्दछन् ।
बसाइँसराइ गर्ने चरा र अन्य वन्यजन्तुको दिगो संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घको एक महासन्धि छ– ‘कन्भेन्सन अन माइग्रेटरी स्पिसेज (सीएमएस)’ । यसमा बगालेबगेडीसहित नेपालमा पाइने ७५ प्रजातिका चराहरू समेटिएका छन् । सीएमएसमा १ सय ३० मुलुकले हस्ताक्षर गरेर पक्ष राष्ट्र बनिसकेका छन् तापनि नेपालले भने अझै त्यसमा हस्ताक्षर गरेको छैन । नेपाल पनि बसाइँसराइ गर्ने चरा र वन्यजन्तुको बाटोमा पर्ने भएकाले उक्त महासन्धिमा हस्ताक्षर गरी यस प्रकारका दुर्लभ चरा र अन्य वन्यजन्तु जोगाउन अग्रसरता लिनुपर्छ । यसका निम्ति नेपाल सरकार र सरोकारवाला निकाय/संस्थाहरूले पहल गर्नुपर्छ । सीएमएसले बगालेबगेडीको दिगो संरक्षणका लागि विश्व संरक्षण कार्ययोजना बनाउँदै छ । त्यसको निर्माण र कार्यवन्यनमा पनि हामीले अग्रसरता लिनुपर्छ र अपनत्व ग्रहण गर्नुपर्छ ।
गैंडा, बाघ, हाब्रे, सालकजस्ता ठूला जनावरको चोरीसिकार नियन्त्रणमा नेपालले सफलता हात पारिरहेको भए तापनि बगालेबगेडीजस्ता साना चराहरूको व्यापार र सिकार नियन्त्रणमा कुनै ध्यान दिएको देखिँदैन । खुल्लमखुला चराहरू छोपेर बजारसम्म पुर्याउने, होटलहरूमा स्वतन्त्ररूपमा बेच्ने र सञ्चार माध्यममा विज्ञापन समेत गर्नेजस्ता गैरकानुनी कामले सारतः कानुनी राजको मान्यतालाई नै चुनौती दिइरहेको छ ।
वन्यजन्तुको चोरीसिकार नियन्त्रणमा सम्बन्धित निकायहरूले चासो दिनु जरुरी छ । संरक्षण सङ्घ–सस्थाले पनि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारसँग समन्वय तथा सहकार्य गरेर सचेतना अभिवृद्धि कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनु जरुरी छ । दुर्लभ चरा बगालेबगेडी संरक्षण अभियानमा निरन्तर लागिरहँदा खड्किएको विषय हो– चराको बेचबिखन र प्रयोग गैरकानुनी हो भन्ने कुरा नै आम मानिसलाई थाहै छैन । सरोकारवाला निकायहरूले समेत नजरअन्दाज गरिरहनु त दुःखद् पक्ष हुँदै हो । दुर्लभ चराको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय समन्वय र सहकार्य जरुरी छ ।
यी चराको बसाइँसराइ मान्छेको उद्विकास, वस्ती विस्तार र भौतिक प्रगतिभन्दा सदियौ वर्ष पहिलेदेखि नै हुँदै आएकाले तिनको सनातन यात्रा जोगाइराख्न हामी जिम्मेवार बन्नैपर्छ । भ्रमपूर्ण प्रचारको प्रभाव, क्षणिक स्वादको आनन्द र हाम्रो अन्धविश्वासका कारण एउटा सहजीवी संसारबाट लोप हुँदै त छैन ? सचेत र जिम्मेवार बन्ने बेला आएको छ । भ्रमपूर्ण प्रचारमा होइन, विज्ञानमा विश्वास गरौं ! धर्ती बगालेबगेडीजस्ता चराको पनि हो, तिनलाई पनि बाँच्न दिऊँ !!
लेखक पन्छीविज्ञ हुन्