यौनासन: प्रकार, महत्व र सावधानी

प्रा.डा. दिनेश बाँस्तोला

मान्छेका भिन्न–भिन्न स्वभाव, रुचि र शैली हुन्छन् । फरक–फरक स्वभावका कारण मान्छेले अनेक किसिमका क्रियाकलापबाट आनन्दानुभूति गर्नु स्वाभाविकै हो । दैनिक क्रियाकलाप, रोजगारी, उद्योग, व्यवसाय होऊन् वा अध्ययन, भ्रमण–यात्रा, मनोरञ्जन या अरु कुनै गतिविधि नै किन नहोऊन् र यौनकर्मको मामला नै किन नहोस् मान्छेले बेग्लाबेग्लै स्वादको चाहना राख्नु र नयाँ अनुभव लिने चेष्टा गर्नुलाई अस्वाभाविक मान्न/ठान्न सकिँदैन ।

मान्छेका रुचि, स्वभाव र शैलीको चर्चाकै सन्दर्भमा यस आलेखमा भने थरीथरीका यौनासनबारे चर्चा गर्ने प्रयास गरिएको छ । यौनका आसन विभिन्न हुन्छन्, तीमध्येको एक हो– ‘सम्मुख’ आसन । सम्मुख आसनमा यौनजोडीका महिला–पुरुषमध्ये एक तल र अर्को माथि हुन्छन् । ‘कामधेनु’, ‘कर्कट’, ‘कैंची’ इत्यादि यौनका अरु आसन हुन् ।

हुन त विभिन्न किसिमका यौनासन तथा क्रीडा र क्रियाकलाप मनोरञ्जनका निम्ति सहायक पक्ष मात्रै हुन्छन् । चिकित्साशास्त्रमा भने सभ्य यौनजीवनलाई सृष्टि अर्थात् सन्तानोत्पादनको महवका रूपमा मात्र हेरिन्छ/हेर्ने गरिन्छ ।

यौन सम्पर्कका क्रममा यौनजोडीले सन्तुष्टि प्राप्त गर्नुपर्छ र आनन्दानुभूति गर्नुपर्छ । त्यसैकारण दुवै पक्षबीचको सहमतिमा यौनासन निर्धारण गर्नु जरुरी हुन्छ । शारीरिक तथा मानसिक र आध्यात्मिक अवस्थाबारे सुझबुझपूर्ण विवेक प्रयोग गरेर मात्रै अघि बढ्ने प्रक्रिया हो यौनकर्म ।

यौनकर्म अर्थात् यौन क्रियाकलापमा पनि ‘कला’ को आवश्यकता हुन्छ । नजानी–नजानी, जथाभावी आसनमा यौन क्रियाकलाप गर्नु उचित हुँदैन । सुझबुझपूर्ण तरिकाले राम्रोसँग यौनासन तय गर्नुपर्छ किनकि यो समवेदनशील विषय हो । यौनासन तय गर्दा जोडीका दुवैको इच्छा/चाहना तथा आकाङ्क्षालाई ध्यान दिनुपर्छ ।

सुखद् यौनका लागि यौनासन तय गर्नुअघि यौनजोडीका दुवैको बानी–व्यवहार तथा शारीरिक, मानसिक अवस्था र स्वास्थ्य स्थितिलगायतबारे जान्नु जरुरी हुन्छ । आसन निर्धारण गर्दा यौनजोडीका दुवैको तौल र शारीरिक अवस्था तथा उचाई आदिबारे समेत ख्याल राख्नुपर्छ । असमान तौल र उचाइ भएको अवस्थामा यौन असहज हुने जोखिम हुन्छ, यो पक्षमा ध्यान दिनुपर्छ ।

समुचित यौनासन प्रयोग गर्न नजान्दा पुरुष यौनाङ्गको टुप्पो घस्रने र यौनाङ्गमा नकारात्मक असर पर्ने जोखिम हुन सक्छ । उत्तानो–घोप्टो आसन तय गर्ने या उचिएर यौन सम्पर्क गर्ने, कोल्टे वा कुन यौनासन तय गर्ने भन्ने कुरा जोडीले आपसी सहमतिमा तय गर्नुपर्छ ।