मोटोपन: कारण, जोखिम र समाधान
डा. प्रतिक्षा बेल्बासे (भुसाल)‘मोटोपन’ लाई परम्परागतरूपले ‘स्वास्थ्यमा नकारात्मक असर पर्ने गरी शरीरमा अत्यधिक मात्रामा बोसो सञ्चित हुने अवस्था’ का रूपमा परिभाषित गरिँदै आएको छ । क्लिनिकल अभ्यासमा भने मोटोपनलाई सामान्यतः ‘बडी मास इन्डेक्स’ (बीएमआई) द्वारा मूल्याङ्कन गर्ने गरिन्छ । एकवर्ग मिटर उचाइमा शरीरको तौल कति (किलोग्राम) मा विभाजित छ भन्ने अनुपातका रूपमा यसलाई व्यक्त गर्ने गरिन्छ ।
शरीरको तौल उचाइको स्वास्थ्य अनुपातअनुरूप छ कि छैन भन्ने कुरा थाहा पाउने सवैभन्दा राम्रो तरिका बीएमआई नै हो । बीएमआईका आधारमा ‘ओभर वेट’ अर्थात् ‘मोटोपन’ लाई ‘सिभर अन्डर वेट’ (BMI<16.5 kg/m2), ‘अन्डर वेट’ (BMI<18.5 kg/m2), ‘नर्मल वेट’ (18.5 kg/m2<BMI<24.9 kg/m2), ‘ओभर वेट/अधिक तौल’ (25<BMI<29.9 kg/m2) र ‘मोटोपन’ (BMI>30 kg/m2) का रूपमा वर्गीकरण गर्ने गरिएको छ । यस आधारमा हेर्दा मोटोपनका तीन वर्गहरू छन्–
– वर्ग (क): ३० देखि ३४.९ किलोग्राम प्रति स्क्वायर मिटर
– वर्ग (ख): ३५ देखि ३४.९ किलोग्राम प्रति स्क्वायर मिटर
– वर्ग (ग): ४० किलोग्राम प्रति स्क्वायर मिटरभन्दा बढी
अधिक तौल अर्थात् मोटोपनले विभिन्न दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्दछ । विश्वभर एक अर्बभन्दा बढी मानिस अधिक तौल वा मोटोपनबाट पीडित छन् ।
सामान्यतया धेरै खाने तर निकै कम मात्र हिँड्ने या कमै मात्र शारीरिक श्रम गर्ने गर्दा मोटोपनको समस्या निम्तन्छ । स्वस्थ ढङ्गको तौल कायम राख्नका लागि औसतरूले शारीरिकरूपमा सक्रिय अवस्थाका पुरुषहरूलाई २,५०० र महिलाहरूलाई २,००० क्यालोरी (लगभग) आवश्यक पर्दछ ।
मोटोपन रातारात उत्पन्न हुने स्वास्थ्य समस्या होइन । यो समस्या आहारविहारमा असावधानी र अस्वस्थ खाद्य पदार्थहरूको सेवन, निस्क्रिय जीवनशैली, अत्यधिक जङ्क फुड/फास्ट फुड खाने बानी, अत्यधिक मदिरापान, चिनीयुक्त पेय पदार्थको बढी सेवन, उच्च फ्रक्टोजयुक्त आहारविहार र शारीरिक आवश्यकता भन्दा बढ्ता खाने बानीका कारण बिस्तारै मोटोपन बढ्दै जान्छ ।
‘आधुनिकता’ को परिणति
सन् १९८० को दशकसम्म मानिसहरूमा मोटोपनको समस्या तुलनात्मकरूपले कमै मात्र थियो । त्यसयता भने यो समस्या उल्लेखनीयरूपले बढ्दै आएको छ । ९० को दशक सुरुआतको आसपासदेखि तथाकथित ‘कृत्रिम वातावरण’ का नाममा महत्वपूर्ण र व्यापक परिवर्तनहरू सुरु भए । र, त्यसै क्रममा मान्छेहरूमा मोटोपनको समस्या ह्वात्तै बढ्न थाल्यो ।
कृत्रिम सहरी वातावरणमा भर्याङ्सट्टा लिफ्ट या एस्केलेटर, नजिकैको दूरीमा समेत पैदलयात्राको सट्टा सवारी साधनहरूको प्रयोग, भौतिक मजदुरीको सट्टा औजार–उपकरणरूको प्रयोग र अन्य किसिमका ‘श्रम वचत गर्ने यन्त्र र उपकरणहरू’ का कारण शारीरिक श्रमयुक्त गतिविधिहरू निकै कम भए । यसैको परिणामस्वरूप मोटोपनको समस्या उल्लेख्यरूपले बढ्न पुग्यो ।
नयाँ अवधारणाअनुसार शरीरको प्रतिरक्षा प्रकार्य र मेटाबोलिज्म प्रक्रियामा पाचन प्रणालीमा भएका विभिन्न सूक्ष्म जीवाणुहरू (गट फ्लोरा) सङ्लग्न रहन्छन् । यी जीवाणुहरूले मोटोपनसहित विभिन्न इन्फ्लामेटरी डिसअर्डरमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । सामान्यतया ‘सिजरियन’ विधिबाट जन्मने बच्चाहरूको तुलनामा योनीबाट जन्मिएका बच्चाहरूमा गट फ्लोराको सङ्ख्या बढी हुन्छ । त्यसैकारण अप्रेसनविना जन्मेका बच्चाहरूमा रोग प्रतिरोधात्मक क्षमता तुलनात्मकरूपले बढी हुन्छ ।
निम्तने समस्या
मोटोपन आफैंमा कुनै रोग होइन तर अस्वाभाविकरूपले मोटाउन थालेपछि शरीरमा अनेकौं रोगहरूले डेरा जमाउन थाल्दछन् । हर्मोनल असन्तुलन भएका र स्टेरोइड, एन्टिडिप्रेसेन्टजस्ता औषधि सेवन गर्नेहरूमा मोटोपनको जोखिम अझ बढी हुन्छ ।
तौल अत्यधिक बढेपछि उच्च रक्तचाप, मेटाबोलिक सिन्ड्रोम, एलडीएल कोलेस्ट्रोलको वृद्धि, टाइप– २ डायबेटिज, विभिन्न किसिमका क्यान्सर, हड्डी खिइने समस्या, कलेजोमा बोसो जम्ने समस्या, मस्तिस्काघात, युरिक एसिडको वृद्धि, डिपभेन थ्रोम्बोसिस, अम्लपित्त, मुटुरोग, पक्षाघातजस्ता शारीरिक तथा मानसिक रोगहरूले शरीरमा घरजम बसाउन थाल्दछन् । मोटोपनका कारण महिलाहरूमा विशेषतः प्रजनन क्षमतमा असर पुर्याउनुका साथै बाँझोपन, महिनावारीमा गढबढी, थाइरोइड, पोलीसिस्ट ओभरीजस्ता समस्याहरू निम्तन्छन् ।
बच्ने उपाय
मोटोपन कम गर्न अनुसन्धाता–विशेषज्ञहरूले विभिन्न उपायहरू सुझाएका छन् । मूलतः राति कम्तिमा पनि ७–८ घन्टा सुत्ने गर्नुपर्छ । अपर्याप्त निद्राले शरीरमा ‘भोक र तृप्ति सन्तुलनमा राख्ने हर्मोन’ को मात्रामा परिवर्तन ल्याउँछ, जसले गर्दा थप खानपानको लालसा बढ्न जान्छ । त्यसैगरी, सम्भव भएसम्म दैनिकरूपले र त्यो सम्भव नहुँदा पनि साताका बढीजसो दिन कम्तिमा पनि दैनिक आधा घन्टा मध्यमखाले व्यायाम गर्नुपर्छ । सातामा दुई दिन भने दैनिक आधा घन्टाजति कडाखाले (कार्डियो) व्यायाम पनि गर्नुपर्छ । सन्तुलित व्यायाम गर्दा माङ्सपेशीहरूलाई सुगठित राख्न वा निर्माण गर्न राम्रो मद्दत पुग्छ । माङ्शपेशी तन्दुरुस्त रहँदा मेटाबोलिज्म अधिक सक्रिय रहन्छन् र र इन्सुलिन समेत थप समवेदनशील बन्दछन् ।
मिठाइ, तारेका, प्रशोधित, प्याकेज गरिएका फास्ट फुड र मासु, अल्कोहल र उच्च फ्रक्टोजयुक्त आहार आदिजस्ता खाने कुराहरू मुखका निम्ति स्वादिला हुन्छन् तर तिनमा पोषक तत्वहरूको भने निकै कमी हुन्छ । अतः यस्ता खाद्य पदार्थ सकभर नखानु नै उचित हुन्छ । हरियो पातयुक्त तरकारीहरूमा पर्याप्त पानी र फाइबर हुने भएकाले मोटोपन नियन्त्रण गर्न र समग्र स्वास्थ्य सन्तुलित राख्न लाभदायी हुन्छन् । कम क्यालोरी भएका तर पोषक तत्वले भरिपूर्ण परिकार र खाद्य सामग्रीमा प्राथमिकता दिने गर्नुपर्छ ।
स्वस्थ र सन्तुलित खानपानमा ध्यान दिनुपर्छ । बिहानको खाजा वा खानाबाट ४.५ गुणासम्म मोटोपन बढ्ने जोखिम रहेको पाइएको छ । खाना–खाजा खाँदा आफैंलाई पूर्ण महसुस हुने गरी बिस्तारै खानुपर्छ; ध्यान दिएर खानु महत्वपूर्ण हुन्छ । लगभग–लगभग तृप्तिको महसुस हुँदानहुँदै खाने क्रम पूरा गरिदिनुपर्छ किनकि खाना खाइसकेको १५–२० मिनेटपछि मात्रै पूर्ण सन्तुष्टिको महसुस हुन्छ र हल्का महसुस गर्न सकिन्छ ।
प्राकृतिक तेलहरूलाइ धेरै तताउँदा ती ट्रान्स–फ्याटमा परिवर्तित हुन्छन् । र, ट्रान्स–फ्याटले ब्याड कोलेस्ट्रोल बढाउन मद्दत पुर्याउँछ । त्यसैले ट्रान्स–फ्याटयुक्त (तेलमा तरिएका) खाने कुराहरू सकेसम्म खानु हुँदैन । उच्च प्रोटिनयुक्त खाने कुराहरू खान जोड दिनुपर्छ । यस्ता खाद्य पदार्थले तृप्तिकारक हर्मोन उत्सर्जन गर्न सहयोग गर्दछन् । यस्ता खाद्य सामग्री खाइएमा थोरै खाँदा पनि तृप्ति–अनुभूति हुन्छ र चाँडै भोक पनि लाग्दैन । यस्ता खाद्य पदार्थले खाना कम खान सहयोग पुर्याउँछन् ।
तनाव व्यवस्थापन गर्न सक्षम हुनुपर्छ । तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हर्मन उत्पादिछ हुन्छ । रगतमा यसको मात्रा बढेपछि धेरै भोक लाग्छ र भोकअनुसार खाँदै जाँदा तौल बढ्न थाल्दछ । तनाव व्यवस्थापनका लागि योग, ध्यान र प्राकृतिक उपचार विधिहरू उपनाउनुपर्छ । यसका लागि उपवास गर्ने बानी बसाल्न सकिन्छ । उपवास धेरै किसिमका हुन्छन् । तौल सन्तुलित राख्नका लागि साताको एक दिन अथवा आवधिक उपवास (इन्टरमिट्टेन्ट फास्टिङ) सबैभन्दा उत्तम विधि हो । यसो गर्दा तौल सन्तुलित राख्नुका साथै ब्याड कोलेस्ट्रोल घटाउन र इन्सुलिन सेन्सिटिभिटी बढाउन सहयोग पुग्छ ।
चिकित्सक वा पोषणविद्को सल्लाहमा आहारविहार, जीवनशैली र उपवासशैली परिवर्तन गरेर तथा प्राकृतिक चिकित्साका उपायहरू अवलम्बन गरेर शरीरको मोटाइ एवम् तौल सन्तुलित राख्न सकिन्छ ।
प्राकृतिक चिकित्सक डा. प्रतिक्षा ‘होलिस्टिक युनिभर्सल हस्पिटल’ मा कार्यरत छिन्